सुजाता बाह्रमा पढ्छिन् । आज उनको अठारौं जन्मदिन । सुजाता बिहान सबेरै उठिन् । नुहाइधुवाइ गरेर शिव भगवानको आराधना गरिन् । आमाले भन्नुभयो ‘हे महादेव हजुर जस्तै पति पाऊँ भनेर मागिस् कि नाई ?’ सुजाताले भनिन्, ‘आमा पनि ! म त भगवानसँग अर्कै कुरा माग्छु । म भगवानसँग निवेदन गर्दछु कि ‘हे भगवान ! म सदा सर्वदा करुणा र परोपकारको भावनाले ओतप्रोत रहन सकूँ । म मेरी जननी र जन्मभूमिको सेवामा सदा तत्पर रहन समर्थ बनूँ ।’
सुजाता विद्यालय गइन् । आज उनी विशेष सुन्दरी देखिएकी थिइन् । साथीहरूले शुभकामना दिए । गुरु गुरुमाहरूले आशीर्वाद दिए । उनी विद्यालयकी सबैभन्दा प्रतिभाशाली छात्रा हुन् । शीलस्वभाव र शालीनताले परिपूर्ण ।
आमाले भन्नुभएको थियो, ‘छिट्टै घर आउनू, आज अष्ट चिरञ्जीवीको पूजा गर्नुपर्छ ।’
साँझ पर्यो । आठ बज्यो, नौ बज्यो, दस बज्यो, तर सुजाता आइनन् ।
एघार बज्यो, सुजाताको अत्तोपत्तो थिएन । बुवा बाहिर निस्केर यताउता खोज्नुभयो, तर सबै व्यर्थ ।
बुवाले भन्नुभयो - कुनै साथीको घरमा बसेकी छे कि ? बस्दाबस्दै अबेर भएर उतै अडिएको पनि त हुनसक्छ । प्रमिता, निम्बा, जीवा या सुमात्रालाई फोन गरौं । केही न केही पत्ता लाग्ला । आमा केहीबेर घोरिनुभयो । ‘फोन त गर्ने तर उनीहरूसँग गएकी रहिनछ भने ? एक कान दुईकान हुँदै मैदान हुन्छ ।’
बिहान चार बजे सुजाता आइपुगिन् । सुजाताको गालामा, ओठमा र निधारमा दाँतले टोकेका नीलडाम थिए । पोशाक च्यातिएर क्षतविक्षत थिए । शरीरका भित्री अङ्गहरू छरपस्ट देखिइरहेका । उनी ढोकाभित्र पस्नासाथ गर्ल्याम्म लडेर बेहोस भइन् । अष्ट चिरञ्जीवीलाई पूजा गर्न सजाइएको सामग्री तितरबितर भयो । छोरीको बीभत्स मूर्च्छनाले हजारौं शब्दहरू बोलिरहेको थियो ।
बुवाले छोरीको शरीरमा चिसो पानी छम्कनुभयो । सुजाता थोरै चल्मलाइन् । ‘के भयो छोरी यो ?; सुजाताका आँखाहरूले माथि आकाशतिर हेरिरहेका थिए । आमाले भन्नुभयो ,‘कसको कर्तुत हो यो ?’
सुजाता - आमाऽऽ ! म बरबाद भएँ ।
बुवा - सल्लाहले हो कि जबर्जस्ती ?
पिताको प्रश्न सुनेर सुजाताका आँखा आँसुले लुछुप्प भिजे I
बुवा - मैले तँलाई सधै सुरक्षित रहनु भनेको हो कि हैन ? अब मैले दुनियाँको अगाडि कसरी मुख देखाउने ?
पिताका शब्दहरूले सुजाताको शरीरभरि हजार बिच्छी बनेर टोकिरहे ।
आमा - छोरी मान्छे भएपछि सतर्क रहनुपर्थ्यो । आधुनिक जमाना भनेर हुन्छ ?
अहो ! आमा पनि ? सुजातालाई अब कसैको भरोसा रहेन । मातापिताका शब्द सुनेपछि त दर्द पनि हराए झैँ भयो । एउटा जीवन्तताहीन जीवन मुढो सरी ढलिरहेको थियो मझेरीमा। बाँकी थियो त फगत संवेदनहीन श्वासप्रश्वास मात्र । सुजाताले जताततै महाशून्य महसुस गरिन् ।
सधै झैँ सूर्योदय भयो । मानिसहरू जम्मा भए । सबैले सुजाताले केके गर्नुहुन्नथ्यो भन्ने व्याख्या र विश्लेषण गरे । उनको उमेर, पहिरन , शृङ्गार, रूप र मिजासबारे विस्तारमा चर्चा भयो । सुजाताले सपनामा झैँ ती सारा अभिव्यक्तिहरू सुनिरहिन् । कसैले पनि बलात्कारीहरूबारे एक शब्द चर्चा गरेन । सुजाताले आफैलाई प्रश्न गरिन्, ‘के यस जगतमा छोरी भएर जन्मनु नै अभिशाप हो ? के म छोरी भएर जन्मनु मेरो रोजाई थियो ?’
प्रहरी आयो । सुजातालाई गोप्य कोठामा राखेर लामो बयान लियो । ‘उनीहरूले सुरुमा
के गरे ? फेरि त्यसपछि के गरे ? तिमीले प्रतिकारमा के गर्यौ ? अरु केके भयो ? कति समयसम्म त्यो काम गरे ? नाम थाहा छ ?’ अवाञ्छित र पीडक प्रश्नहरू ।
सुजाताका साथीहरू पनि नारा लाउन र धर्ना बस्न गए I परन्तु उनलाई भेट्न कोही पनि आएन I क्रमशः सुजाताको जीवन उनको हातबाट फुत्केर परिवार, प्रहरी, डाक्टर, समाज , वकिल र पत्रकारको हातमा पुग्यो । हेर्दाहेर्दै एउटा निर्दोष जीवन तमासामा परिणत भयो ।
समय बित्दै गयो । बलात्कारी पक्राउ गर्न नसकेकोमा प्रहरीको निर्मम आलोचना भइरहेको थियो I फेरि अचानक हल्ला चल्यो, बलात्कारी समातियो रे । पातकीले साबिती बयान दियो रे । प्रहरीले केही दिनमा बलात्कारीलाई सार्वजनिक गरिने घोषणा गर्यो । फेरि एक दिन सुजातालाई बलात्कारी देखाउन भनेर गोप्य तवरमा लिएर गए । एकजना ‘नियति’ उपनाम गरेको युवकलाई हतकडी लगाएर राखिएको रहेछ ।
सुजाताले आँखा उठाएर हेरिन् । नियतिको एउटा हातमा हतकडी थियो भने अर्को हातमा प्लास्टर । बलात्कार गरेर भाग्दा भर्याङबाट लडेर हात भाँचिएको रे I बाहिर तमासेहरू चुइङ्गम चपाइरहेका थिए I सुजाताले तमासेहरू र तत्पश्चात हिरासतभित्रको अभियुक्तलाई हेरिन् I उनी अकस्मात चिच्याइन् , ‘हे भगवान !’ सुजाता फेरि बेहोस भइन् । स्वास्थ्य परीक्षणपछि डाक्टरले भन्यो, ‘सुजातालाई ठूलो मानसिक चोट परेको छ । होस ठेगानमा छैन ।’
मानिसहरू नारा लगाइरहेका थिए । भिडले अभियुक्ततर्फ ढुङ्गा बर्साउन थाल्यो । प्रहरीले नियतिलाई नेपथ्यमा लिएर गयो । भिड चिच्याइरहेको थियो, ‘बलत्कारीलाई फाँसी दे ।’
घर पुगेपछि पिताले सन्तोषको सास फेर्दै भन्नुभयो ‘जे होस् पापीले सजाय पाउने भयो I’ किन्तु भर्खरै होस खुलेकी सुजाताले कम्पित आवाजमा भनिन्, ‘बाबा नियति बलात्कारी होइन I’ आमाले भन्नुभयो, ‘पापीले मेरी छोरीको शरीर मात्र नभई दिमागसमेत क्षतविक्षत पारिदियो ।’ सुजाता फेरि बेहोस भइन् I
पत्रपत्रिकामा नियतिको फोटो छापियो । उसलाई मृत्युदण्डको माग गर्दै जुलुसहरू निस्किरहे ।
अदालतले नियतिलाई दस वर्षको कैद सजाय सुनायो । यसरी एउटा जघन्य बलात्कार काण्डको किनारा लाग्यो I
परिवार , प्रहरी , समाज र पत्रकार जगतले सन्तोषको लामो सास फेरे । परन्तु सुजाता फेरि बेहोस भइन् I
प्रतिक्रिया