बिन्दा आचार्य
हरेक वर्ष विश्वमा लैंगिक हिंसाविरुद्धको अभियान चलाइन्छ । नेपालमा पनि विभिन्न संघसंस्था र महिला अगुवाहरुले लैगिक हिंसा र महिला हिंसाविरुद्ध विभिन्न कार्यक्रमको आयोजना गरिरहेका हुन्छन् । महिला वर्गमा यसले पक्कै पनि जागरण ल्याएको छ, तर लैंगिक हिंसा भने समाजमा घटन सकेको छैन ।
हरेक दिन बोक्सीको आरोपमा महिला कुटीएकादेखि दाइजोको निहुँमा अवला नारीमाथि अत्याचारका खबर आइरहेकै छन् । अड्डा अदालतदेखि प्रहरी चौकीसम्म श्रीमानको अत्याचार सहन नसकेका महिलाहरुको बेदना छरपस्ट भइरहेकै हुन्छ । एसिड अट्याकदेखि बलात्कारसम्म, यौन दुव्र्यबहारदेखि भेदभावसम्मका घटना भइरहेको सन्दर्भमा अब हामीले लैंगिक विभेदको विषयलाई नारा, गोष्ठी या आवधिक अभियानमा मात्र सिमित नगरी यसलाई अझ विराट कोणबाट हेर्दै समस्याको चुरोमै पुग्नुपर्ने भएको छ ।
लैगिक विभेदविरुद्धको अभियानमा विगतको परम्परामा निरन्तरता दिने खालको उत्सवमा मात्र सिमित नभई गाँउमा रक्सी खाएर स्वास्नी कुट्ने मूर्खदेखि शहरमा श्रीमती कार्यालयबाट ढिलो आईन भनेर आखा तर्ने आधुनिक श्रीमानको हृदयसम्म पुग्ने गरी चलाउनुपर्ने बेला भइसकेको छ । विभेदमा परेकाहरुप्रति सहानुभूति र विभेद गर्ने या पिडकहरुको आलोचना मात्र गरेर हुँदैन । अब पिडकको हृदय परिवर्तनको सार्वभौम एवं अचुक उपाय अपनाउनतर्फ हाम्रो चेतना उन्मुख हुनैपर्छ । र, जो कसैको हृदय परिवर्तनको एक मात्र शास्वत उपाय हो, प्रेम र करुणा । अनि यसका लागि चाहिन्छ, आध्यात्मिक चेत ।
सधै एउटै प्रकृयाले फरक नतिजा आउँदैन् । यसको दुइमत छैन कि हिंसा कोही कसै माथी हुनु हुँदैन् । संसारमा केवल दुई जात छन्, स्त्री र पुरुष । केवल एउटा धर्म छ, मानवताको धर्म । यस विश्व ब्रम्हाण्को आदिशक्ति स्त्री शक्ति हुन् । हरेक मनुष्यभित्र नारीत्व र पुरुषत्वका गुण लुकेर रहेका हुन्छन् । पुरुष र नारी तत्व मिलेर बनेको ईश्वर अर्धनारेश्वर स्वरुप हो ।
मानिस जन्मजात अपराधिक प्रवृत्तिको हुँदैन । कोही व्यक्ति अध्यात्मिक स्वभावको छ भने उसले हिंसा गर्नै सक्दैन् । पूर्ण रुपमा हिंसा अन्त्य हुन सबैमा आध्यात्मिक चेत हुनु जरुरी छ । आध्यात्मिक चेतना भएको मानिसले सबैको हृदयमा ईश्वरको बास छ भन्ने कुरामा विश्वास गर्दछ र यस्तो अनुभुति समेत गरेको हुन्छ । एउटा ईश्वरले आफ्नै स्वरुपको अर्को ईश्वर माथि हिंसा गर्नै सक्दैन् ।
वास्तवमै मानिसहरु सम्मानित जीवन बाँच्न चाहन्छन भने अध्यात्मिक बन्नु गतिलो उपाय हो । अध्यात्मले मानिसलाई अहिंसावादी बनाउँछ । यसले हरेक व्यक्तिलाई आफ्नो दिब्य स्वरुप चिनाईदिन्छ ।
समाजशास्त्री पनि भन्दछन् कि हिंसाको मानसिकता र ब्यवहारको पुस्ता हस्तान्तरण हुन्छ । ‘मलाई हिंसा छैन, म हिंसा गर्दिन’ भनेर आफ्नो वरीपरी भएका शारीरिक, मानसिक, भाषिक हिंसाको विरुद्धमा नबोल्ने हो र यसलाई तत्काल नरोक्ने हो भने हिंसाले प्रश्रय पाइरहन्छ । सामाजिक बहिस्कार, कानुनी उपचार, हिंस्रक या पिडितलाई दण्ड त दिनैपर्छ, साथमा आध्यात्मिक मार्गमा लाग्न पनि प्रेरणा दिनुपर्छ । मानिसलाई रुपान्तरीत हुने मार्ग प्रशस्त गर्नुपर्छ ।
कुनै परिबारमा कुनै महिला माथि हिंसा भईरहेको हुन्छ । घरको बच्चाले त्यो देखिरहेको हुन्छ । पिडितले आफुमाथिको अत्याचार स्वीकार गरिरहेका छन् भने त्यो बाल मस्तिष्कमा हिंसा गर्नु स्वभाविक र सामान्य कुरा हो भन्ने छाप पर्नसक्छ । भोली उसले पनि हिंसा गर्नसक्छ । उसले पनि आफ्ना इच्छा, आकांक्षा पुरा गराउन हिंसाकै सहारा लिनसक्छ । अतः पिडितले हिंसा नसहने, पिडकलाई हिंसाको बाटो त्याग्न प्रेम र करुणाको बाटोतर्फ अग्रसर गराउने, यी दुबै उपाय प्रभावकारी हुनसक्छ ।
दाम्पत्य जीवन संकटमा पर्नुका मुख्यतया तीनवटा कारण हुन्छन्–
१) एक अर्काप्रति ज्यादा आशा अपेक्षा ।
२) आपरी शंका सन्देह ।
३) नियन्त्रण गर्ने प्रवृत्ति ।
आशा, शँका र नियन्त्रको प्रवृत्तिले नै सम्बन्धहरुमा समस्या ल्याउने गरेको छ । अति आशक्तिले अपेक्षा जन्माउने, यसले नै शंका र सन्देश पैदा गर्छ अनि पती या पत्नीलाई आफ्नो निजी स्वामित्वको सम्पत्ति या वस्तु ठान्ने प्रवृत्तिले उसमाथि नियन्त्र गर्ने प्रवृत्ति बढदै जान्छ । यही नै समस्याको कारण हो, दुःखको कारण हो । सम्बन्धलाई खुला, स्वतन्त्र, उदात्त र प्रेमल बनाउने हो र एकअर्काको भावना बुझ्ने हो भने समस्या नै रहँदैन ।
परिवारमा बेमेल, झैझगडा, हिंसा हुनुमा सर्वथा प्रेमको अभाव नै हो । प्रेम र विश्वास नहुँदा नै हिंसा मौलाउने हो । हिंसा न्यूनीकरण गर्न सचेतना जगाउनु र पिडकलाई दण्ड दिनु राम्रो हो तर सदाको लागि हिंसा अन्त्य गर्न, अहिंसात्मक समाज बनाउने उत्तम उपाय चाहिँ सबैमा अध्यात्मिक चेतना जागृत गर्नु हो ।
एकपटक नेपाल राष्ट्रिय महिला उद्यमी महासंघको राष्ट्रब्यापि उद्यमी भेलामा वक्ताको रुपमा केही सफल उद्यमी व्यवसायी महिला बोलाईएको थियो । राष्ट्रिय सभागृहमा देशभरीका एकहजार भन्दा बढी महिला उद्यमी व्यवसायी थिए । फाईभ स्टार होटलमा महिला उद्यमीहरु आफ्ना संघर्ष र सफलताका कथा अनि महिलाका समस्या उजागर गरिरहेका थिए ।
कार्यक्रममा आक्रोस पोख्ने, गुनासो गर्ने, कथा सुन्ने र सुनाउने सबै महिला मात्र थिए । जसले सुन्नु पर्ने थियो, उनी नै थिएन । जसले सत्ता हाँकेको थियो, जसले महिला उद्यमीका मुद्दालाई संवोधन गर्नु पर्ने थियो, उही त्यहाँ उपस्थित थिएन ।
लैंगिक हिंसा विरुद्धको अभियान जसले सुन्नु पर्ने हो, उसले नसुनेझैं लाग्छ । सामाजिक सुधार अभियानका आवाज समाज विकृत बनाउनेका कानमा पुग्नुपर्छ । युवाहरु हिंसामा प्रवृत्त भैरहेका छन् । उर्जाशिल युवाहरुको जीवन उर्जा हिंसामै खर्च भैरहेको छ । व्यक्तित्व निर्माण, चरित्र निर्माण, विकास निर्माण, सिर्जनशिलता, नवप्रवर्तनतर्फ लम्किनु पर्ने हातहरु हिंसातर्फ अघि बढीरहेका छन् । यो दुर्भाग्य हो । राज्यको विकास निर्माणमा उपयोग गर्न सकिने जनसांख्यिक लाभ हिंसात्मक उर्जामा खेर गैरहेकाले अब यसलाई सार्थक दिशातर्फ मोडनु जरुरी भइसकेको छ ।
गरिबी, बेरोजगारी, अशिक्षा र नशाजन्य पदार्थ सेवनले हिंसा बढेको छ भन्नु अधुरो निष्कर्ष हो । यहाँ त गरिबले मात्र होईन धनीले पनि हिंसा गरेका छन् । बेरोजगारीले मात्र होईन, रोजगारीवालाले पनि हिंसा गरेका छन् । अशिक्षितले मात्र होईन शिक्षितबाट पनि हिंसा भइरहेको छ । जाँडरक्सी खानेले मात्र होईन पंचामृत खानेले पनि हिंसा गरेका छन् ।
महिलाहरु यस धर्तीको एउटा कुनामा अत्यन्त सम्मानित र सुरक्षित जीवन बाचिरहेका छन् भने यही धर्तीको अर्को कुनामा अत्यन्त हिंसा खेपिरहेका छन् । चारखुट्टे पशुको भन्दा पनि गए गुज्रिएको जीवन बाचिरहेका छन् । चरम श्रम शोषण, यौन शोषण, घरेलु हिंसा, असुरक्षा, अपमानको नारकीय जीवन बिताई रहेका छन् ।
संरचनागत रुपमा हेर्ने हो भने पितृसत्ताले नै हिंसाको बिउ रोपेको हो । घरेलु हिंसा हुनुको मूल कारणमा यौन र सम्पत्तिको विषय अगाडि आउँछ । हिंसा बढ्नुमा शिक्षा नीतिलाई दोष दिने गरिन्छ । बाहिरबाट थोपरिएको ज्ञानले चित्त शुद्ध हुँदैन । शिक्षाले कुशल र असल बन्न प्रेरित गर्नुपर्छ । हिंसाका मुख्य श्रोत हुन्, लोभ, मोह र क्रोध । यीनलाई नर्कका तीन द्धार भनिएको छ ।
सहअस्तित्व, स्वीकार्यता, स्व–नियन्त्रण र स्व–सुरक्षाको ज्ञान अध्यात्मबाट पाईन्छ । यसले हरेक मनुष्यलाई आफ्नो स्वभावमा बाच्न सिकाउँछ । आन्तरिक विवेकको उजागरबाट अहिंसा तर्फ प्रेरित गर्दछ । अहिंसा भावमा रहन केही गर्नु पर्दैन । तर, हिंसा गर्न क्रोधित हुनुपर्छ, आक्रामक हुनुपर्छ । प्रेम गर्न केही गर्नु पर्दैन स्वतः हुन्छ तर घृणा गर्न अनेकौं हानीकारक विचार गर्नुपर्छ । अहिंसा र प्रेम स्वभाव हो भने हिंसा र घृणा खराव प्रभाव हो ।
राजनीतिक, सामाजिक र धार्मिक चेतनाले मात्र कहिल्यै हिंसाको अन्त्य हुँदैन, किनभने यिनमा दृष्टि खण्डित र मतभेद हुन्छ । भेदभाव ब्याप्त समाजमा शासक–शोसित, पिडक– पिडित रहेसम्म शान्ति र अमनचैन हुँदैन । कसैमाथि हिंसा गरेर हिंसा गर्नेवालाले सदाको लागि मनको शान्ति गुमाउँछ । स्वयं दण्डित बन्छ । हिंसा पिडितलाई जे जती क्षतिपूर्ति दिएपनि त्यो अपुग नै हुन्छ । भरसक हिंसा हुनै नपाउने अवस्थाको सिर्जना गर्नु पर्दछ । राज्यद्धारा पिडितलाई न्याय प्रदान गर्नु र पिडकलाई दण्ड प्रदान गर्नु राज्य धर्म हो । अनि ‘अहिसां हि परमो धर्मः धर्म हिंसा तथैव चः ’ अर्थात यस सृष्टिको सनातन सत्य यही हो कि अहिंसा नै परम धर्म हो तर धर्मको रक्षाको लागि हिंसा गर्नु त्यो भन्दा श्रेष्ठ हो ।
श्रीमद् भगवतगीतामा निर्धोको रक्षा गर्नु र पापीलाई दण्ड दिनुलाई धर्म मानिएको छ । शान्ति र अहिंसाका अग्रदुत युगधर्म प्रवर्तक भगवान गौतम बुद्धले गृहस्थ मनुष्यको लागि बनाउनु भएको पचंशिलको सिद्धान्तको पहिलो नम्बरमा हिंसा नगर्नु भन्नु भएको छ ।
अष्टाङ्ग योगका सुत्रकार महर्षि पतन्जलीले पातन्जल योगसुत्रमा योगका आठ अङ्गहरुमध्ये पहिलो यम अन्तर्गत योगको शुरुवात अहिंसाबाट गर्नु भएको छ । मनुष्य हुनुको पहिलो चरित्र अहिसां हो । यदि मनुष्य भएर हिंसा गर्दछ भने त्यो मान्छेको स्वरुप भएको हिंस्रक प्राणी हो, जंगली जनावर बराबर हो । एउटा शिकारी हो । अध्यात्म र योगले अहिंसालाई मनुष्यताको पहिलो खुटकिलो बनाएका छन् । अतः हामीले लैंगिक हिंसाको समूल अन्त्य गर्नुछ भने आध्यात्मिक हुने बाटोमा लागौ ।
(लेखिका आचार्य ध्यान र योग साधक एवं जिवन विज्ञान अभियानकी अभियन्ता हुन्)
प्रतिक्रिया