ऋतुमध्ये कान्छो शिशिर फागुन १५ गतेदेखि हामीबाट विदा भयो। आजदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ। दुई महिना अवधिको आफ्नो यात्रामा चीसा दिनका सम्झना ओढाएर आफ्नो अवधिको मसान्तको दिन हल्का वर्षा गराएर हामीबाट विदा भयो शिशिर।
छ वटा ऋतु समेटिएका ३ सय ६५ दिन बिताउने हामी, तर चलनचल्तिमा हिउँद र वर्षा मात्र भन्छौँ। हिउँदका पछिल्ला दिनहरू शिशिरका दिन हुन्।
यो ऋतु मञ्चन भइरहँदा आकाशबाट वर्षा भएन। सबैभन्दा चिन्तित तुल्याएको छ, देशका ६० प्रतिशत हाराहारीका जनतालाई।
शिवरात्रिमा सदाझैँ चीसोले धुमिलिने आकाश यसपटक चम्किलो घामले तात्यो। अनुमान लगाउन थालिसके, यो खडेरीको संकेत हो। चीसो, कठ्याङ्ग्रिने मौसममा जति धेरै वर्षा भयो त्यतिनै माटोको उब्जनी क्षमतामा बृद्धि हुने वैज्ञानिक तथ्य छ।
कृषि उत्पादनका सबै वस्तु बाहिरी राष्ट्रबाट किनेर खानुपर्ने अवस्थामा रहेका हाम्रा लागि खडेरी परे अभिसाप बन्ने निश्चित छ।
नदी किनारामा शिशिर अस्ताउँदै गर्दा
शिशिरका अन्तिम साँझ नारायणी नदी किनारामा टहलिँदा, तुवाँलो छेँडेर बल्लतल्ल आइपुगेको घामको पातलो तातो ओढ्न नारायणी किनारमा झुम्मिएका मानिसहरू यो ऋतुको अन्तिम उत्सव मनाउँदै थिए। र किनारमा शिशिरले आफ्ना अन्तिम दिन बिसाउँदै गरेको प्रतीत हुन्थ्यो।
पुसको १६ देखि फागुन १५ सम्ममा आफ्नो यात्रा पूरा गर्ने शिशिरले ६० दिन अवधिमा मुटु कमाउने जाडो, पतझड र उजाड चिन्ह छाडेर गएको छ। दुई महिनामा एक ऋतुका दरले ६ मौसम बिताउँछौ हामी।
हेमन्त ऋतुमा झर्न सुरु गरेका रुखका पातहरू शिशिरका दिनहरूमा नाङ्गिन्छन्। म नारायणी किनारमा पातविहिन रुखहरू निर्वस्त्र उभिएको देख्छु। नाङ्गो र उजाड दृश्यले जीवनमा शुन्यता र वैराग्य भाव उत्पन्न गराउँछ भनिन्छ।
कुहिरो, तुवाँलो र हुस्सुले प्राकृतिक दृश्य विलुप्त छ। नारायणी धजा धजा भएर बहेकी छन्। नदीको रंगबाहेक अरु रंग देख्न मुश्किल लाग्छ। नाङ्गो आँखाले हेर्न सकिने तुँवालोभित्रको मघुरो सूर्यले नारायणीमाथि सिउँदोमा झैं सिन्दूर रंग भरिरहेको छ।
यूरोपीय मुलुक बेल्जियममा वसोबास गर्ने बाबुछोरी नेपाल आएपछि नारायणी किनारालाई पहिलो गन्तव्य बनाएका छन्। नदीको पूरै किनारा पैदल हिँड्दै शिशिरको दृश्य मोबाइलमा सञ्चय गर्दै निकै भावुक बने। नदी किनारामा फालिएका फोहोर देखेर चाहिँ उतै जन्मिहुर्केकी छोरीले थोरै नाक खुम्च्याइन्। “बेल्जियमको ‘ओस्टेण्ड’ समुद्री किनाराभन्दा यो त कति सुन्दर कति।” बेल्जियममा छँदा बिताउने समुद्री किनारसँग तुलना गर्दै पिता दयासागर कारंजितले भने “मलाई यही नारायणी किनारा अपूर्व प्यारो र हेरिरहुँ जस्तो लाग्यो।”
यही ऋुतमा हो अग्ला टाकुरामा हिउँ जम्मा हुने। अग्ला डाँडाकाँडामा हिउँ पर्ने, तर यस पटक उपत्यकावासीले वरपर फुलचोकी, शिवपुरी, चन्द्रागिरी, दामनमा हिउँको सेतो चीसोमा उफ्रन, रमाउन पाएनन्। सेता हिउँ र निर्मल नीलो आकाशको संगममा आनन्द अनुभव गर्न पाएनन्। विशेषगरी उपत्यकाका युवायुवतीहरूका लागि पर्व जस्तै बन्ने क्षण, यो शिशिरमा चुकेको छ।
कला स्रष्टा अशोकमान सिंह आफ्नो पुस्तक ‘रङ’मा उल्लेख गर्छन्– शिशिर ऋतुको प्राकृतिक रङमा पाइने प्रभाव र नीलो र सेतो रङको चारीत्रिक गुणमा पाइने प्रभाव एउटै भएको हुनाले यो ऋतुमा शीत समूहभित्र पर्ने ‘नीलो र सेतो रङ’को प्राधान्य रहन्छ। त्यसैले शीत मौसमको अन्तिम यस ऋतु बढी नीलो र सेतो रङको प्रभाव पार्ने ऋतु मानिन्छ।
हरेक कर्म किनारामा
डेढ महिना वर्षाताक नारायणीले अधिनमा राख्छिन्। त्यसपछि मान्छेको रजगज चल्छ उनको यो किनारा।
अनि यहाँ विभिन्न व्यक्ति, संघ संस्था, समूह व्यापारी, राजनीतिक संगठनको उत्सव, महोत्सव, मेला, भाषण, सभा सम्मेलन, यज्ञ, महायज्ञ, विराटयज्ञ, होमजस्ता धार्मिक अनुष्ठान र कन्सर्ट, फुड फेस्टिवल, प्रदर्शनीको लहर चल्छ बाँकी दिनमा।
किनारा कमाइ गर्ने ठाउँ भएको छ। र जीवनको अन्त्यष्टि पनि यहीँ नै। विभिन्न नाम लेखिएका सयौं ठेलाको लस्कर देखिन्छन्। पानीपुरी, मम, चाउमिन, चटपटे बेचिन्छ ठेलामा। पीरो र चटपटे स्वाद लिने उपभोक्ताको कमी छैन। क्षणक्षणमा खचाखच यात्रु बोकेका मोटरबोट नदीको विपरित धारमा हुँइकिरहन्छन्। जल पर्यटन किनाराको सबैभन्दा आकर्षक केन्द्र बन्दै गएको छ।
चितवन र नवलपरासी (नवलपुर) जिल्ला जोड्ने नारायणी नदी पुलबाट पश्चिम दाहिनेतर्फ करिब एक डेढ किलोमिटर लम्बाई र ४० मिटर जति चौडाइ क्षेत्रमा फैलिएको किनारा पूरै चितवनको आन्तरिक र बाह्य पर्यटक लोभ्याउने स्थानको रुपमा परिचित नारायणी नदी किनार हो।
समुद्री किनारबाट बञ्चित हामीलाई त्यसैको झझल्को दिन्छ नारायणी किनाराले। यही किनारसँगै जोडिएको नारायणघाट बजारका वासिन्दाका लागि विहानीपख पैदल र दौडँदै स्वास्थ्यलाभ गर्ने थलो पनि हो। गर्मीमा चीसो हावा र जाडोमा घाम ताप्ने प्रयोजन बनेको छ यो किनारा।
किनाराको जगेर्ना
नारायणगढबाट चार किलोमिटरजति उत्तरतर्फ सँगै बहेको त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्दी, दरौंदी, मादी र सेतीको जब मुक्तिनाथ क्षेत्रबाट बहँदै आएकी काली (कृष्ण) गण्डकीसित देवघाटमा भेट हुन्छ तब पहाडको खोंचबाट समतल भूभागमा बहँदै गरेको सप्तगण्डकीलाई नारायणी नामले पुकारिन्छ। फराकिएर बहँदा देखिने नदीको अभूतपूर्व सौन्दर्यले सबैको मन तान्छ। नारायणगढबाट त्यो समुद्रजस्तै फैलिएको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ।
नारायणगढ बजारको पोखरा बसपार्कदेखि नारायणीनदी पुल, पुलचोकसम्मको साढे एक किलोमिटरको क्षेत्रभित्र पर्ने नारायणी किनारको विकास, विस्तार र पर्यटकीयस्थलको रुपमा चिनाउन धेरै उत्साहित व्यक्तित्वहरूको योगदान र अनेकन प्रयास हुँदै आए।
बजारक्षेत्र लगायत जो कोहीले फोहोर फाल्ने र दिसापिसाब गर्ने, मरेका मारिएका जनावरका हाडछाला फाल्ने दुर्गन्घित स्थान थियो, नारायणी किनारा। हेर्नेभन्दा पनि फोहोर फाल्ने ठाउँ थियो। कुनै गतिविधि, चहलपहल हुँदैनथ्यो।
स्थानीय वासिन्दा आशा श्रेष्ठ बज्राचार्य, बजारका केही लब्धप्रतिष्ठित व्यक्तिहरूको निरन्तर प्रयासबाट किनाराको सौन्दर्य स्थापित गर्न सकिएको बताउँछिन्। रामप्रसाद श्रेष्ठ, कल्याण जोशी, प्रचण्डलाल प्रधान, रमेशकुमार पिया, र मदनलाल जोशी लगायत धेरैको अमूल्य योगदान रहेको छ। उद्योग बाणिज्य महासंघमा लामो समय प्रशासकीय अधिकृत समेत रहेकी बज्राचार्यले भनिन् “संघका पूर्व अध्यक्षहरूले नेतृत्व लिएर किनारा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएका हुन्।”
सबैजसो सार्वजनिक कार्यक्रम बालकुमारी क्याम्पसअगाडिको क्याम्पाचौरमा हुन्थ्यो। चितवन महोत्सव पहिलो पटक ०५९ मा यो किनारामा भएपछि विस्तारै सबैजसो कार्यक्रम यहीँ हुन थालेको हो। महोत्सवबाट हुने आम्दानी नदी किनारको संरक्षणका लागि राखिने व्यवस्था संघले गरेको थियो।
नदीको सौन्दर्य र किनारा सफाइका अग्रणीमध्ये रामप्रसाद श्रेष्ठ एक हुन्। संघका पूर्व अध्यक्ष उनले २०५६ देखि दुई वर्षे आफ्नो कार्यकालमा नदी किनारा संरक्षणका लागि गुुरु योजनानै बनाए। आफ्नो कार्यकालपछि पनि नदी संरक्षणमा निरन्तर लागी परेका उनले भने “धेरै महत्वपूर्ण ठाउँ हो, हामीले नदी किनारामा फोहोर फाल्न रोक मात्र लगाएनौं विज्ञहरूमार्फत गुरु योजनानै बनाएर संरक्षणको थालनी गर्यौँ।”
हरेक वर्ष वर्षात्पछि नदी किनारा सम्याइन्थ्यो। लाखौं खर्च हुन्थ्यो। किनारा सौन्दर्यकरण गर्ने प्रयासमा कमी हुन दिइएन। उद्योग बाणिज्य संघले यसलाई निरन्तरता दिईरह्यो। किनारामा बसोबास गर्नेहरूले टोल समिति बनाए। पाँच टोल समितिले नदी सफाइ र संरक्षणमा जिम्मा लिए।
संघ र टोल समितिलाई जिम्मामा किन दिने भनी पछि नगरपालिकाल हस्तक्षप गर्यो। श्रेष्ठले भने “विवाद भएपछि मैले राजिनामा दिएँ।” संघले बनाएको गुरु योजनाअनुसार नगरपालिकाले काम गरोस् वा विकास समिति बनाएर नदी किनारा संरक्षण र प्रबद्र्धन, तर नगरपालिकाले फेरि छुट्टै विज्ञ राखेर योजना बनायो।
मास्टर प्लान हुँदाहुँदै किन अर्को बनाउनेभन्ने विवाद चर्र्किएपछि श्रेष्ठसमेत बसेर संयुक्त रुपमा नयाँ योजना बनाइयो।
संघको गुरु योजनामा बाल उमेरदेखि किशोर युवा हुँदै बृद्ध र मृत्यु झल्कने प्रतिक बनाउने योजना थियो। तर त्यो बन्न सकेन। एक बुद्धको मुर्तिभने देखिन्छ।
बजारवासीलाई डर थियो नदी किनारमा बनाइने संरचनाका लागि नगरपालिकाले ठेक्का टेण्डर गर्ला नभन्दै नगरपालिकाले त्यसै गरे “त्यसको विरुद्धमा ४-५सयको जुलुस लिएर नगरपालिकामा पुग्यौं र विरोध गर्यौं। ठेक्का खारेज गरायौं।” श्रेष्ठले भने।
“सालनी एक करोडको हाराहारीमा अहिले महानगरले कर उठाउँछ।” श्रेष्ठले भने “नारायणी किनारको प्रबद्र्धनमा स्थानीय निकायको प्रयास राम्रो छ, तर जुन रुपमा त्यहाँ ठेलामा अस्वस्थकर खानाको व्यापार भइरहेको छ त्यो चाहिँ महानगरले सुपरीवेक्षण गर्नुपर्छ। पैसा आउँछ भनेर त्यसै छाड्नु हुन्न।”
महानगरले मानिस हिँड्ने ट्रयक बनाएको छ, नदीसम्म पुग्ने पेटी बनाएको छ। तथापि किनार फोहोररहित छैन। किनारालाई थप सुन्दर बनाउने प्रयत्न भइरहेका छन्। एक सृजनशील र अवलोकनयोग्य स्थान बनाउनेतर्फ प्रयत्न भइरहेको देखिन्छ।
नदी किनारको सफाइ, सम्बद्र्धन, प्रबद्र्धन र पर्यटकीय केन्द्र बनाउने प्रयासमा स्थानीयवासी र स्थानीय निकायबाट भएका निरन्तर प्रयत्नको उदाहरणका रुपमा लिन सकिन्छ नारायणी किनारा।
क्यामेरामेनको लर्को
आश्यर्च त त्यतिखेर लाग्यो नारायणी नदी किनारामा ओहोरदोहोर गर्ने अधिकांशका काँधमा क्यानन क्यामेरा झुण्डिएको देख्दा। र क्यामेरामा जोडिएको ७०–२०० एमएमको सेता लेन्स।
एक युवतीको फोटो खिच्दै गरेका युवालाई म सोध्न पुग्छु। अजय कुमाल हो उसको नाम। २१ उमेरका उनी व्यवसायिक फोटो ग्राफर रहेछन्। नारायणी किनारमा बिहानदेखि साँझसम्म फोटो खिच्ने उनको व्यवसाय हो। केही महिनाअघि उनले यो पेसा शुरु गरेका थिए। म एकपछि अर्कोलाई हेर्छु सबैलाई क्यामेरासँगै देख्छु। अजयले भने “सबै जना फोटो ग्राफर हुन्।” नारायणी किनार घुम्न आएका पर्यटक होइनन्। म चकित हुन्छु। यति धेरै फोटो ग्राफर। उनले फेरि भने “घुम्न आउनेभन्दा बढी यहाँ क्यामेराम्यान छन्।”
देख्छु, क्यामेरा बोक्ने सबै १८ देखि २५ उमेर समूहका युवाहरू। अजयले आफ्नै साथीसँग फोटो खिच्न सिकेका थिए। बिहानदेखि साँझसम्म फोटो खिच्दा दिनभरमा कम्तिमा दुई हजार कमाइ हुन्छ। एक क्लिकको बीस रुपैयाँ। खिच्नासाथ तुरुन्तै सामाजिक सञ्जाल भाइबर, म्यासेन्जर, वाट्सस्याप आदिबाट फोटो ट्रान्सफर गरिदिन्छन्।
“सबैका हातमा एक से एक मोइबाइल हुन्छ” अजय व्यापार कम हुनुको गुनासो गर्छन् “फोटो खिच्न अनुरोध गर्दा ग्राहकले मोबाइल देखाउँदै तिम्रो क्यामेराभन्दा यसले राम्रो खिच्छ भनेर मान्दैनन् ।”
अजयसँगै उनका साथी अञ्जित, सचिन र किसान थिए। उनीहरू सबै धेरै अघिदेखि फोटोग्राफी थालेका उनका साथीहरू हुन्। नदी किनारमा दिनहुँ मानिस बढ्न थालेपछि फोटोग्राफी पेसा सुरु गरेका थिए युवाहरूले।
किनारमा पुग्नासाथ ‘फोटो खिच्ने’ भन्दै क्यामेरामेन आइहाल्छन्। अर्को समूह आइपुग्छन् मेरा नजिक, विश्व सुनुवार र मनिष श्रेष्ठ। ऊनीहरूको ठुलै झुण्ड देख्छु। साँझ परिसकेको हुँदा घरजाने तरखरमा रहेका उनीहरू “दाइ फोटो खिच्ने?” भन्दै आइपुगे। जता हेर्यो उतै फोटो ग्राफर। विश्वले पनि उल्टै मलाई औंलाले देखाउँदै भन्यो “यहाँ अहिले देखिएका सबै फोटो खिच्ने नै हुन्।” चारैतिर हेरेँ साच्चिनै सबैको काँधमा क्यामेरा झुण्डिएका थिए। कतिले नदी किनारमा फोटो सुट गर्दै थिए। ‘किन यति धेरै’ भन्ने प्रश्नमा सबै जनाको एकैखाले उत्तर थियो “केही काम पाइन्न कि जानुप¥यो विदेश” युवाहरू आफैंले रोजगारीको अवसर बनाएका थिए। चाहना र इच्छाभन्दा पनि आवश्यकता थियो। अन्य ठाउँमा रोजगारी नपाएपछि बैकल्पिक उपाय थियो फोटोग्राफी। दिनहुँ युवाहरूको यो पेसाप्रतिको संख्या बढोत्तरीले यस्तो लाग्थ्यो कति दिनसम्म यो पेसा यी युवाले गर्लान्।
उनीहरू किनारामा क्यामेरा बोकेर आउन पाउँदैनन्। त्यसका लागि नगरपालिकासित अनुमति लिनुपर्छ। अनुमतिपत्र भएकाले मात्र किनारामा आएर व्यवसायिक रुपमा फोटो खिच्न पाउँछन्। मैले पनि अनुमतिपत्र देखाउन भने। उनीहरुले तुरुन्तै देखाए। कति छन् दर्ता भएका “सयभन्दा बढी नाघिसके” विश्वले भने “कमाए पनि नकमाए पनि मासिक दुई हजार कर भरतपुर महानगरपालिकालाई बुझाउनु पर्छ।” नदी किनारमै महानगरले ‘नारायणी नदी किनार व्यवस्थापन उप समिति’ को कार्यालय राखेको छ।
चीसो हुस्सु र तुवाँलो अनि रुखका पात नङ्ग्याउने शिशिरले जति मनलाई धुमिल र निराश बनाउँदैथ्यो रहर र चाहनाले भन्दा वाध्यताले क्यामेरा समाउन पुगेका युवाहरूको जीवन त्यतिकै मुटु कमाउने कठ्याङ्ग्रिने चीसो थियो।
नारायणीमा सिउँदोमा झैं सिन्दूर रंग भर्ने सूर्य तुँवालोभित्र लुप्त भइसकेको थियो। मेरा आँखामा भने तिनै सेता ७०–२०० एमएमको क्यानन् लेन्स अड्किरह्यो।
प्रतिक्रिया