निराशापूर्ण दिनहरूमा
निकै प्रयत्न गरें एक ईश्वरीय आवाज सुन्न
धेरै होहल्ला भयो दिनमा औ निशामा
त्यो सुनिएन
सुन्दर सपना देख्ने अभिलाषा थियो
तर
धेरै देखिए भयानक सपनाहरू
ती सबै बिपना बनेर गर्जे
बबण्डर आँधी आँसु र आसुरीहरू
समय बित्त्दै गयो तुफानहरू आइरहे
दिवास्वप्नहरू भङ्ग हुँदै गए
तितरबितर भयो जिन्दगी
कोमलता नसिबमा थिएन
एक स्वर्गीय परिकल्पना
संसारी आनन्दका अनेकौं आयामहरू
जन्मन नपाई मरेर गए
पारी क्षितिजतिर हेर्छु
अब त बादल पनि चाँदीको घेराहीन
सर्वाङ्ग कालो भएछ
निर्वस्त्र निर्वाङ्ग निर्लज्ज बादल
घनघटाहरू यसरी गर्जिरहेछन्
मानौ तिनको इरादा नै मेरो मस्तकमा ओला बर्साउनु हो
एउटा घनघोर जङ्गलमा कैद यो जिन्दगी
अँध्यारो कुम्भीपाकमा पाकिरह्यो
साँघुरो गुफाभित्र थुनेर मलाई
खुर्सानीको धूप बालिरहेछ नियति
यस्तै हालमा बितिरह्यो अस्तित्व
न ब्रह्म न ईश्वर न वरदान न प्रोत्सा्हन
न अनुराग न प्रेरणा न त जीवन्तता
एक व्यतीत सन्दर्भमा सीमित
ससाना भेटघाटहरू
निम्छरो चिनजानबिच
केही बात र प्रसङ्गहरू
अग्लो विकराल सुकेको तरु झैँ
नि:रस निष्पन्द मुस्कानहीन चोला
जिन्दगी दिनेवालाको करुणाहीन सृजना
एक महामरुको निर्मम यात्रा
एक उपहासपूर्ण प्रहसन मात्र
अनेक खेला अनेक झेला औ मेला भयो
नमिल्दो बेला जुरेको भेला हेला भयो
भिराइएको कर्म हृदयमा मर्म बनियो बेसर्म
आफ्नै लागि तमासा बन्यो जिन्दगी
निरन्तर कोलाहल निरन्तर ठोलाहल
चिरा परेको पिरो र प्रभाहीन
लामो प्रतीत हुने क्षणभङ्गुर अस्तित्व
हेरिरहेछु टाढाटाढा दिगन्तमा एक्लै उभिएर
परन्तु
उज्यालोको संकेत कतै थिएन
अस्तित्व सर्वत्र आभाहीन देखियो
अब त रात पनि परिसकेछ
प्रतिक्रिया