-कृष्णभूषण बल
नक्षत्रमा साँढे डुक्रिएको कथा सुनेर तर्सिएकी मेरी छोरी
नेपाली धरती हल्लिने गरी आकाश पड्क्यो उसैको आँखामा अशान्ति
चञ्चल नानी स्वभाव,
निबुवाको फूलमा भरिएका शितको गुलियो चाख्दै खेल्दै थिई
फेरि एकै छिनमा पहेंलपुर तोरीबारीभित्र उफ्रिँदै खेल्दै थिई
अचानक मेरो आँखाको निन्द्रा बोकेर हराई!
मौरीको घारबाट निकालेको आलो मह जस्तै बोलीले सजिएकी
उषाको पछ्यौरीले छोप्दाछोप्दै पनि प्रष्टै देखिने नानी आँखा बोकेकी
मेरो प्राणको सञ्जीवनी बोकेर कोशी गण्डकीको निनादमा मलाई ब्युँझाउने
कवितामा आफू खेलेर मलाई सधैँसधैँ कुत्कुती लगाई रहने
हिमाली आस्थाको रंगीन जामा लाएकी
वर्ष सातकी मेरी सानी छोरी
अचानक मेरो गीतको भाकासँगै हराएकी छे
भेट्नु भएमा,
पँधेरीमा गाग्री बोकेर गुन्यु चोलीमा बिहानै पानी भर्न आउने
कुनै पनि दिदीरबहिनी
अथवा त्यस्तै हुलिया भएकी आमालाई खबर गरिदिनु होला
धेरै त भन्दिन,
यो छोरी भेटिए सिंगै नेपाल भेटिएको सम्झनु होला।
प्रतिक्रिया