वास्तवमा रामचन्द्र पौडेल चाहन्थे पाँचदलीय गठबन्धनले उनलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरोस् र निर्वाचनमा जाओस्।
प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएपछि केही सम्पादकसँग बत्तीसपुतलीमा चिया गफमा उनले यस्तो आशय पोखेका थिए। गफैगफमा उनले भने पनि ‘मर्नुअघि देशका लागि केही गर्न चाहन्छु।’ जिब्रो चपाएर बोले तर आफ्नो मनको असली इच्छा खुलाएनन्। ‘निर्वाचन अघि नै प्रधानमन्त्री हुन चाहन्छु भन्यो भने चौतर्फि आलोचना र विरोध हुने’ भय थियो रामचन्द्रलाई। मनको कुरा मनमै दवाएर उनी तनहुँमा निर्वाचन लड्न गए, जितेर पनि आए। त्यसपछि पनि रामचन्द्रले प्रधानमन्त्री हुन घरदैलो नगरेका होइनन्। तर त्यो पार लाग्ने बिषय थिएन, भएन।
राजनीतिले रातारात ‘कर्बट’ बदल्दै जाँदा आज रामचन्द्रको पासा पल्टिएको छ, उनी देशको अभिभावकीय भूमिकामा स्थापित भएका छन्। पृथ्वी राजमार्गसँग सीमा जोडिएको तनहुँको निर्वाचन क्षेत्रको सीमित आकाशबाट विस्तारित भएर रामचन्द्र सिंगो नेपाली आकाशबाट ओतिन पुगेका छन्।
उमेरले अठहत्तर टेकीसकेका रामचन्द्रले राजनीतिको उत्तरार्ध्दमा देशकै नेतृत्व गर्ने सुअवसर पाएका छन्। रामचन्द्रका मनमा नेपाली कांग्रेसको सभापति हुने र प्रधानमन्त्री पनि बन्ने चाहना थियो भने अब त्यसको बीट मरेको छ। किनभने राष्ट्रप्रमुख भैसकेको व्यक्ति अरु कुनै राजनीतिक पदमा फेरि क्रियाशील भएको इतिहास छैन।
प्रधानमन्त्री बन्न रामचन्द्रले १७ पटक प्रतिष्पर्धा नगरेका होइनन्। तर तत्कालको राजनीतिक समीकरण र दाउपेचका अगााडि पौडेलको बिजय सम्भव थिएन, भएन पनि। उनी एक्लैको जोर चल्ने पनि थिएन।
युवा छँदै लोकतन्त्रको सपना बोकेर राजनीतिमा होमिएका रामचन्द्रले अरु स्वतन्त्रताप्रेमी जस्तै भुक्तमान बेहोरेका छन्, कहिले जेल परेर त कहिले सत्ताको कोपभाजन सहेर। नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको पदचाप पछ्याउने आफ्नो पुस्ताको नगण्य नेतापंक्तिमै गनिन्छन् रामचन्द्र भन्दा अन्यथा हुनेछैन। उनका समकालिनमध्ये शेरबहादुर देउवाले पाँचपटक प्रधानमन्त्री बन्ने अवसर छोपीसकेका छन्। ‘अझै दुइपटक प्रधानमन्त्री बन्छौ’ भनिदिएका छन् देउवाका ज्योतिषीले।
संघर्षको इतिहास बनाएकी नेता शैलजा आचार्य जीवनको उत्तराध्र्दमा उपेक्षाको पात्र बनेर अस्ताईन्। वीपीकी भाञ्जी हुँदाहुँदै कान्छा मामा गिरिजा प्रसाद कोइराला शक्तिको शिखरमा रहँदा पनि किनारामा परेकी शैलजा लोकतन्त्रको संघर्षमा उच्चस्थान पाएकी नेता मानिन्छिन्। देउवाको इतिहास शुध्द मानिँदैन, शैलजाले विद्रोह गरिन्, बिटुलिन दिईनन्। रामचन्द्र यिनै मित्रहरुका मित्र हुन्।
रामचन्द्रलाई सादगी नेता मान्छन् उनका अनुयायी। संकीर्ण र फितला नेता ठान्छन् उनका आलोचक। वास्तवमा रामचन्द्र यी दुवै ‘गुण’ भएका नेता हुन्। तैपनि लोकतन्त्रप्रति उनको प्रतिवध्दतामा कसैले प्रश्न गर्न र औंलो ठड्याउन सक्दैन। ‘असोज १८’ को राजनीतिक घटनापछि त्यसको चर्को आलोचना गर्ने एक्ला नेता थिए रामचन्द्र, जसले राजाले लोकतन्त्रमाथि हस्तक्षेप गरेको भनेर विरोध गरेका थिए।
तत्कालिन राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्री पदबाट वर्खास्त गरेपछि रामचन्द्रले त्यसको डटेर आलोचना गरेका थिए। अरु सबै दलका नेताहरु राजाको कदमप्रति नरम देखिएर आफ्नो स्थान सुरक्षित बनाउने जोरजाममा लागेका बेला रामचन्द्रले पानी बाराबारको अवस्थामा पुगेका आफ्ना मित्र देउवाको पक्ष लिएका थिए। शीतल निवासतर्फको यात्रामा अहिले रामचन्द्रको सारथी बनेका छन् नेपाली कांग्रेसका सभापति देउवा।
देउवाले नेपाली कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गरेर त्यसको नेतृत्व लिन गरेको आग्रहलाई अस्वीकार गरेर रामचन्द्रले आफ्नो निष्ठाको परीक्षा दिएका थिए। तर रामचन्द्रको यो कदम स्वार्थप्रेरित थियो। उनले आफ्ना निकटस्थ केही नेतालाई देउवाको पार्टीमा पठाएका थिए। तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाले उपसभापति पदमा बस्ने आश्वासन दिएकाले मूल पार्टीमै दोस्रो दर्जा पाउने लोभले रामचन्द्रले देउवाको प्रजातान्त्रिक कांग्रेसमा जान उचालिसकेको खुट्टो रोकेका थिए। त्यसपछि क्रुध्द बनेका देउवाले आफैं सभापति पद वरण गरेर नयाँ पार्टी चलाएका थिए। यस कथाको पर्दापछाडिको विवरण यतिमात्रै।
यति त प्रष्टसँग भन्न सकिन्छ, आफ्नो लोकतन्त्रप्रतिको प्रतिवध्दतामा कहिले पनि शंकालाई स्थान नछोडेका नेता हुन् रामचन्द्र। पदको दुरुपयोग र नीतिगत भ्रष्टाचारले जरा गाडेको समयमा पनि त्यसबाट बचेका ज्यादै थोरै नेतामा गनिन्छन् उनी। उनले आर्जन गरेर जोगाएको यही छविले आज रामचन्द्रलाई शीतल निवास यात्रामा पर्याप्त योगदान गरेको छ।
लोकतन्त्र स्थापनापछि विरलै सत्ताबाट बाहिर बसे होला रामचन्द्र। सत्तामा रहँदा आफ्नो निर्वाचन क्षेत्र, निकटस्थ र नातागोताको पक्षपोषणमा रमाउने स्वभाव नत्यागेकामा उनका कतिपय आलोचक रामचन्द्रलाई संकीर्ण स्वभावका नेता भनेर खिसिट्युरी गर्छन्। पुननिर्माण प्राधिकरणमा आफ्ना सम्धीलाई नियुक्त गर्न जोडजुलुम गरेका कुरा सार्वजनिक भएपछि रामचन्द्रले सार्वजनिक रुपमै टिकाटिप्पणी सहनुपरेको थियो।
अब शक्तिको शिखरमा पुगेपछि पनि रामचन्द्रको यो आदतमा निरन्तरता रहन्छ कि परिवर्तन हुन्छ भन्नेमा आममानिस शंका नै गरिरहेका छन्। यो हटाउने दायित्व रामचन्द्रलाई ‘पदलोलुप नेता’ भनेर कटाक्ष गर्नेको पनि कमी छैन। प्रतिनिधिसभाको सभामुख भैसकेपछि उपप्रधानमन्त्री सहित गृहमन्त्री हुन उनले कुनै अप्ठेरो मानेका थिएनन्। त्यसपछि शान्ति मन्त्रालयको जिम्मेवारी पनि लिएकै थिए रामचन्द्रले। असफल भएपनि एमालेले उनी सभामुख छँदा महाअभियोगको प्रस्ताव ल्याएको थियो। त्यसबेला रामचन्द्रले दिएको जोडदार जवाफ राजनीतिक वृत्तमा अझै पनि चर्चा गरिन्छ।
माओवादीले सञ्चालन गरेको हिंसात्मक द्वन्दका बेलाको चर्चित ‘होेलेरी काण्ड’ मा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको आग्रह उल्लंघन गरेर गृहमन्त्रीबाट आफूखुशी राजीनामा दिँदा रामचन्द्रको ‘सनक’ लाई आशंका गर्ने कांग्रेसजनको कमी छैन।
इतिहासमा जे जे भएपनि अब रामचन्द्र राष्ट्राध्यक्ष चुनिएका छन्। जननिर्वाचित प्रतिनिधिहरुको मत पाएर राष्ट्रको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाएका उनले दलीय संकीर्णताको पर्खालभन्दा आफूलाई अग्लो बनाउने चुनौति तत्कालै सुरु भैसकेको छ। उहिले गृहमन्त्री छँदा ‘निर्मल निवास माओवादीको परमधाम हो’ भनेर कठोर आलोचना गरेका रामचन्द्र अहिले उनै माओवादी कमाण्डरको साथसहयोगमा शीतल निवासको छत्रछाँयाँमा प्रवेश गरेका छन्। नेपाली राजनीतिको यो विशिष्ट घटनाले रामचन्द्रलाई राम्रै पाठ पढाउन सक्यो भने उनले आफूलाई राष्ट्राध्यक्षको ओजश्वी आसन सुहाउँदो भूमिकामा खरो उतार्लान् भनेर आशा गर्न सकिन्छ। तर ‘नूनको सोझो’ गर्न थाले भने रामचन्द्र इतिहास निर्माण गर्ने महत्वपूर्ण अवसरबाट नमीठोगरी वञ्चित हुन पनि सक्ने छन्।
राष्ट्रपति सचिवालयले विभिन्न बिषयका विशेषज्ञ, अनुभवले खारिएका दक्ष र विनयशील स्वभाव भएका मानिसहरुको माग गर्दछ। राष्ट्रपति संस्थालाई जिम्मेवारी र प्रकृति अनुसारको वजन दिन उदारचित्त तर अप्रीय निर्णय लिन हिच्किचाउनु हुँदैन भन्छन् जानकार व्यक्तिहरु। तर यसविपरित विशेषज्ञको आवरणमा राजनीतिक दलप्रति वफादार कार्यकर्ताले शीतल निवासको सचिवालय भरियो भने अन्तत त्यो संस्थाले संसदीय दलको हैसियत पाउने पक्का छ। यस कुराप्रति नवनिर्वाचित राष्ट्रपतिको गम्भीर ध्यान जान जरुरी छ। ‘राष्ट्रपति कार्यालय शीतल निवासबाट बाहिर निस्कँदा बाटामा सवारी जाम गर्नेछैन’ मात्र भनेर राष्ट्रपति पदको गरिमा जोगिँदैन। त्यो त सचिवालयले व्यवस्थापन गर्ने अति सामान्य बिषयमात्र हो।
राष्ट्रपति निर्वाचित भैसकेका रामचन्द्र पौडेल अब नेपाली कांग्रेसका वरिष्ट नेता रहेनन्। उनले अब ‘रामचन्द्र दाई’ बाट माथि उठ्न प्रयत्न गरिरहनुपर्छ र देशवासीकै दाई या अभिभावक बन्न सक्नुपर्छ। विवादवीच परिपक्व बन्ने प्रयाश गरिरहेको राष्ट्रपति संस्थालाई अझ भरपर्दो, विश्वसनीय र संविधानको भावना अनुसार प्रभावकारी बनाउन रामचन्द्र पौडेलको लामो राजनीतिक अनुभवले योगदान गर्न सक्नुपर्छ। अनि मात्र अरु भन्दा रामचन्द्र फरक राष्ट्रपति थिए भनेर भावी इतिहासले सम्झनेछ।
‘मर्नुअघि देशका लागि केही गर्न चाहन्छु’ भन्ने रामचन्द्रको मनोकांक्षा पूरा हुन मार्ग प्रशस्त भएको छ। आगे राम जाने!
अहिलेलाई सफलताको मंगलमय शुभकामना।
प्रतिक्रिया