करिब चालिस वर्षअघि तानसेन बजारमा डम्बरे भन्ने एकजना अर्धसिल्ली डुलिरहेको देखिन्थ्यो । अनुहारभरि अँगार घसेर हिँड्ने डम्बरेको सक्रियता रातिको दस बजे सुरु भएर बिहान चार बजेतिर सकिन्थ्यो । फोहोर गाली र अश्लील वचनको भण्डार थियो डम्बरे । डर, घिन र लाज यति तीन कुरालाई त्याग गर्न सक्यो भने मनुष्य सम्पूर्णत: स्वतन्त्र हुँदोरहेछ । डम्बरे समाजको परित्यक्त सदस्य थियो । तथापि उसका गालीहरूलाई समाजले परित्याग गरेको थिएन । थुप्रै मानिसहरू उसका गाली र अश्लील वाणीहरू बडो चाख मानेर सुन्थे र मजा लिन्थे । उनीहरू बडो सन्तुष्ट थिए, मानौं उनीहरूले भन्न चाहेका, तर भन्न नसकेका कुराहरू डम्बरेले स्वच्छन्द फलाकिरहेछ । डम्बरे हातमा एउटा अँगार लिएर हिँड्थ्यो । उसले कोही नजिक पर्यो कि त्यही अँगार अनुहारभरि दलिदिन्थ्यो । अहिले पनि असंख्य डम्बरेहरू यत्रतत्र निर्वाङ्ग घुमिरहेका छन् । उनीहरू पनि अनापसनाप बोलेर जग हँसाइ गरिरहेका छन् । ऊ डम्बरे रात्रिको समयमा अश्लील बन्ने एक अपहेलित पात्र थियो । परन्तु आजका हुँदाखाँदा डम्बरेहरू अहोरात्र अश्लील छन् । फरक एउटा मात्र छ । यी डम्बरेहरू ‘स्तरीय’ भएका छन् ।
आज पनि ईश्वर खोज्दै मन्दिर, मस्जिद, चर्च र कुना कन्दरा धाउने धर्मभीरूहरूको कमी छैन । अहिले पनि भगवानको पुकारा गर्दै रुने, माग्ने र टाउको ठोक्नेहरू छन् । आजको युगमा पनि मानव धर्म नै वास्तविक धर्म हो भन्ने लोकायतहरू जीवन्त छन् । आज पनि सर्वधर्म सद्भाव र सहिष्णुताको पैरवी गर्ने दारा शुकोहहरू मारिन्छन् । लालचमा धर्मान्तरण गर्ने गराउने क्रम आज झनै रसिलो र मलिलो भएको छ । धार्मिक आतंकवाद दिनानुदिन भयावह हुँदैछ ।
एकजना बटुवा चौतारीमा सुस्ताउँदै बोल्यो । ‘जीवन एक यात्रा रहेछ । युगौंदेखि अविरल चलिरहेको एउटा लयहीन निरन्तरता । सुखको तलाउ मात्र , दुस्खको क्यास्पियन सागर ।’ मानिसलाई दुस्ख मन पर्छ रे । आफूलाई दुस्खी देखाउनमा बडो आनन्द लाग्छ रे । ‘बडो परिश्रमी छु तर फल मिल्दैन । सहयोगी छु, तर यो स्वार्थी जगत बुझ्दै बुझ्दैन ।’ दुस्खको गाथाले तान्छ । दुस्खका समाचार रुचिकर हुन्छन् । पहिरोका, बाढीका, भूकम्पका, चोरीका, हत्याका र षड्यन्त्रका । महाभारत पढ्दा लाक्षागृह र शकुनिको पासा रमाइलो लाग्छ । द्रौपदीको सारी तानेको दृश्यले उत्सुक बनाउँछ । कुन्तीले शिशु बगाएको कथा चाखलाग्दो प्रतीत हुन्छ । भीमले दुस्शासनको लहु पिएको दृश्य अपूर्व आकर्षक लाग्छ । बलात्कारका समाचार भाइरल बन्छन् । राजनीतिक नेताका आपसी गालीगलोजमा दुनियाँ आनन्द मान्छ । सामाजिक सञ्जालका अश्लील चित्रहरू विचित्रै आकर्षक लाग्दछन् । अरुमाथि गरिएको उपहास र खिसीटिउरी मजेदार हुन्छ ।
माघको जाडोमा रिडी बजार नजिक काली गण्डकीको बगरमा एउटा श्याम वर्णको मानिस घाम तापेर बसिरहेको छ । शरीरभरि खरानी घसेको ऊ फोहोरी हातले सपासप खिचडी खाँदै छ । अर्को एकजना अधबैंसे घाममा पिठिउँ सेकाइरहेकी पत्नीको लुतो कन्याइदिंदै छ । अझै अर्को मुरलीको धुनमा गाउँदै छ, ‘दर्शन दे श्यामसुन्दर बहुत दुरसे आया हुँ।’ कहाँबाट आयौ रु घर कहाँ हो रु ‘हामी लखनौसे आया बाबु । हिन्दुस्तान थाहा छ ? बुटवलसे है रास्ता । नैतनवासे गाडी मिलती है । हम बन्जारे हैं । ठिकाना मत पुछो भैया ।’ सयौं पुस्ता भयो रे । महाभारत कालदेखि नै पूर्वजहरू फिरन्ते थिए । तिनै बन्जाराको सन्तति आज श्यामसुन्दर खोज्न रिडी बजारमा आइपुगेको छ । भौतिक शरीर नयाँ हो, तर हाड उनै पुर्खाको । सायद खिचडी खानेको अन्तस्करण महाभारत जत्तिकै पुरानो छ । उसै बेलादेखि खोज्न थालेको श्यामसुन्दर अझै फेला परेको छैन । प्रयास अविरल छ । लय उही , गाउने तरिका उही । भाषा उही र भेष पनि उही । चित्तवृत्ति उही छ । चेतनाको स्तर उही छ । सोचको दायरा उही छ । सायद यो सिलसिला सुदूर भविष्यसम्म चलिरहने छ ।
प्रतापी र शक्तिशाली भएर के गर्नू ? राजा भर्तृहरिको जीवनमा प्यारी रानी पिङ्गलाको बेबफाइले डढेलो सल्काइदियो । कति निर्मम दगाबाजी गर्यौ नि पिङ्गला ! यो जगतमा जो प्यारो छ त्यसैले धोका दिन्छ । एउटा आन्धवेग यौनानन्दको । आफ्नोबाट आनन्द प्राप्त हुन सकेन । सायद अर्कोले आनन्द देला कि । चित्त पराईमा गयो । मायाले बसाइ सराइ गर्यो । निष्ठाले बाटो ततायो । राजाको आनन्द पिङ्गलामा निर्भर । किन्तु पिङ्गलालाई राजाबाट आनन्द प्राप्त भएन । राजाको मन रानी पिङ्गलामा । रानी पिङ्गलाको मन दरबारको एक कर्मचारीमा । कर्मचारीको निष्ठा बजारकी वेश्यामा । बिचरी वेश्याको निष्ठा उनै राजा भर्तृहरिमा । अनि मान्छे जोगी भएर वनतिर नहिँडोस् त ? राजा सारा वैभव छाडेर एउटा कटौरा हातमा लिएर निस्के ।
यो जगत दगाबाजीको अविरल सिलसिला हो । वैभवभित्रका बैगुनी र बेइमानहरूको दारुण निरन्तरता । त्यही क्रम अहिले पनि चलिरहेछ । रानीले अर्कै चाहन्छे, राजा हेरेको हेर्यै हुन्छ । अर्को पाटो झन दुर्दान्त छ । सती समान पत्नीले गरेको सेवाबाट पुरुष पोषित हुन्छ । ऊ बेइमान छ । त्यही पोषणबाट प्राप्त तागत अन्यत्रै पोख्न लालायित हुन्छ ऊ । यो बेइमानी सनातनदेखि यथावत छ । बुढापाकाहरू भन्थे, आफ्नै मान्छेमा पनि नजर राख । कुन बेला अकस्मात धोका पाइने हो के थाहा रु बुद्धिमान थिए पूर्वजहरू ।
पुर्खाले आफ्नो जिउ मारेर बिउ जोगाइदिएको हुँदा आज खान पाइएको छ । प्रकृतिको अनुपम दानशीलता र उदारताको फाइदा समस्त मानव समुदायले खुब उठायो । किन्तु मनुष्यले तिनै प्रकृतिमाथि पनि निर्मम बलात्कार गरिरह्यो । मनुष्यले प्रकृतिलाई लुट्न सम्म लुट्यो, परन्तु त्यसको प्रतिदानमा कुनै योगदान गर्न चाहेन । आज प्रकृति स्वयं संरक्षणको भिख माग्ने अवस्थामा पुगेकी छ ।
एउटा किसान खेत जोतिरहेछ । घाम धेरै भयो । ऊ गोरु बिसाएर शीतलमा गएर बस्यो । टोपीले पसिना पुछ्यो । यताउता हेर्यो, कोही थिएन । कट्टु खोल्यो र जुम्रा मार्न थाल्यो । धेरै जुम्रा मरे । किसानका दुबै बुढी औंला राताम्य भए । ज्यान जुम्राको गयो, तर रगत आफ्नै थियो । उसका पुर्खाको पनि एउटै मात्र कट्टू हुन्थ्यो । उनीहरूले पनि टोपीले पसिना पुछ्ने गर्दथे । उनीहरू पनि यसैगरी मेलो बिसाएर जुम्रा मार्थे । किसानले मारेका जुम्राहरू निस्सन्तान मरेका होइनन् । उनीहरूले अण्डा पारिसकेका छन् । जुम्राहरूले जीवनको अर्को सोपानमा टेकिसके । सिलसिला अटुट छ ।
वाल्मीकिले ठूलो परिश्रम गरेर रामायण लेखे । व्यासले अठार पुराण र महाभारत लेखे । ससाना जीवनहरू समातेर लेखिएका विस्तीर्ण अतिशयोक्तिहरू । कालीदासले अनेकौं महाकाव्य उपहार दिएर गए । उनका अनुयायीहरूले पनि उत्तराधिकार थाम्दै गए । पश्चिममा होमर, गेटे, दाँते र मिल्टनहरूले लेखे । नेपालमा पनि भानुभक्त, मोतिराम, सम देवकोटा, लेखनाथ, पारिजात, माधवप्रसाद घिमिरे र शंकर लामिछानेहरूले लेखे । अझै पनि लेख्ने सिलसिला जारी छ । लेख्नेले के पाए रु केही पाएनन् । लेख्नेले केही पाउन लेख्दैन । यसै लेखिदिन्छ । जसरी म आज यो निबन्ध लेखिरहेको छु । यो सिलसिला प्रलयपर्यन्त अविरल चल्नेछ ।
सुकरात अहिले पनि बाँचेको छ भिन्न रूपमा । अहिले पनि विष खाने र खुवाउने सिलसिला जारी छ । सत्य अहिले पनि कहिले कारागारको कुनामा रुन्छ । कहिले आवाजहीन कन्दरामा रुन्छ । कहिले नयाँ सडकको गीतमा रुन्छ । र कहिले बलात्कारको चीत्कारमा रुन्छ । अहिले पनि एउटा बुढो लाओत्सु कराउन छाडेको छैन । एउटा चङ्गेज खाँ अहिले पनि महत्वाकांक्षाको घोडा चढेर देश देशावर डुल्दोछ । आज पनि विवेकी बाबु उग्रसेनलाई कारागारमा सडाउने अविवेकी कंस छोराहरूको भरमार छ । अहिले पनि छिटो राजा हुन बाबु विम्बिसारलाई मार्ने युवराज अजातशत्रुहरू भिन्न कलेवरमा सक्रिय छन् । ‘स्वार्थ र परमार्थ’ का कथाहरूले भरिएको महाभारत जारी छ आज पनि । विवश द्रौपदीहरूको चीरहरण आज पनि भइरहेको छ । आज पनि लाचार कुन्तीहरूले नवजात शिशु नदीमा बगाइरहेका छन् । अहिले पनि दाजुको अन्यायपूर्ण आदेश मान्दै द्रौपदीको चुल्ठो तानेर बदनाम हुने अभागी दुस्शासनहरूको कमी छैन । आज पनि अन्यायको अति सहन नसकेका असंख्य सीताहरू धर्तीमा समाहित हुन विवश छन् ।
आज पनि ईश्वर खोज्दै मन्दिर, मस्जिद, चर्च र कुना कन्दरा धाउने धर्मभीरूहरूको कमी छैन । अहिले पनि भगवानको पुकारा गर्दै रुने, माग्ने र टाउको ठोक्नेहरू छन् । आजको युगमा पनि मानव धर्म नै वास्तविक धर्म हो भन्ने लोकायतहरू जीवन्त छन् । आज पनि सर्वधर्म सद्भाव र सहिष्णुताको पैरवी गर्ने दारा शुकोहहरू मारिन्छन् । लालचमा धर्मान्तरण गर्ने गराउने क्रम आज झनै रसिलो र मलिलो भएको छ । धार्मिक आतंकवाद दिनानुदिन भयावह हुँदैछ । आज पनि काशीमा अन्तिम श्वास फेर्न जानेहरूको विश्वास डगमगाएको छैन । निर्दोष पशुलाई बलि चढाएर स्वर्ग जाने बाटो समथर पार्न लालायित भक्तजनको भिड घट्ने तरखर देखिंदैन । आज पनि थुप्रै राधाहरू बोक्सीको आरोपमा प्रताडित र अपमानित भएकै छन् ।
मनुष्यले समृद्धिको छलाङ मारेको कुरा साँचो हो । मानिस सौखिन मात्र होइन, सुखी पनि भएको छ । परन्तु दुस्ख, शोक र निर्दयताको सिलसिला पनि उत्तिकै प्रवाहवान छ । अहिले पनि भोका सुदामाहरू कुनै मित्रले प्रदान गर्ने दानाको अभिलाषामा कर्महीन भएर बाँचिरहेका छन् । भाग्यवाद र परनिर्भरतामा रम्ने पिण्डोपजीवीका उत्तराधिकारीहरू । पुर्खाले आफ्नो जिउ मारेर बिउ जोगाइदिएको हुँदा आज खान पाइएको छ । प्रकृतिको अनुपम दानशीलता र उदारताको फाइदा समस्त मानव समुदायले खुब उठायो । किन्तु मनुष्यले तिनै प्रकृतिमाथि पनि निर्मम बलात्कार गरिरह्यो । मनुष्यले प्रकृतिलाई लुट्न सम्म लुट्यो, परन्तु त्यसको प्रतिदानमा कुनै योगदान गर्न चाहेन । आज प्रकृति स्वयं संरक्षणको भिख माग्ने अवस्थामा पुगेकी छ ।
नेपाल रणबहादुर शाह जस्ता लफङ्गा राजाले शासन गरेको भूमि हो । यहाँ देव शमशेर जस्ता उदारवादी राणा प्रधानमन्त्रीलाई बन्दुक देखाएर लखेटियो । स्वेच्छाचारी र विलाशी श्री ३ महाराज जुद्ध शमशेर गद्दी त्याग गरेर बडो सान र मानका साथ पाल्पातिर प्रस्थान गर्दा उनको गुणगानमा उपस्थित जनसमूह धुरुधुरु रोयो । परन्तु ‘म राष्ट्रको नोकर हुँ’ भन्दै खरीको रुखमुनि भाषण गर्ने पद्म शमशेरलाई बलिन्द्रधारा रुवाउँदै राँचीतिर धपाइँदा त्यही जनमानस आनन्द मान्दै हाँसिदियो । यहाँ भीमसेन थापाको जस्तै तर्कहीन र बुनियादहीन भावुक राष्ट्रवाद अझै जीवन्त छ । माथबर सिंह थापा झैँ मलाई कसैले केही गर्न सक्दैन, म नै सर्ववमान्य हुँ भन्दै अभिमान गर्नेहरू अहिले पनि पल्टा खाइरहेका छन् ।
राजा महेन्द्रले अनाहकमा कट्टर राजावादी प्रधानमन्त्री बीपी कोइरालालाई सैनिक लगाएर पदच्युत गरिदिए । बीपीमाथि निरन्तर चलेको निर्मम अन्यायलाई पुठ दिने भारदारी नाइकेहरूका उत्तराधिकारीहरू आज बीपीको राजभक्तिको दुहाई दिंदै पाखण्ड गरिरहेका छन् क्ष् अहिले पनि भिन्न रूपमा राजा महेन्द्र र बीपी कोइराला जस्ता प्रेम र घृणाका सङ्गम जस्ता मित्रहरू छन् । तर स्तर नपुगेका । यहाँ काजी भीम मल्ल र राजकुमार बहादुर शाह जस्ता राष्ट्रवादीहरू अनाहकमा मारिनु पर्यो । त्यसैको निरन्तरताको रूपमा राजा वीरेन्द्र आफ्नै निवासमा सपरिवार मारिए ।
महाभारतको समाप्तिमा दिइएका दुईवटा श्रापहरू निकै प्रसिद्ध छन् । युधिष्ठिरले माता कुन्तीलाई सम्बोधन गर्दै समस्त नारी जातिलाई मनमा कुरा अड्याउन नसकून् भन्ने श्राप दिए । उता गान्धारीले कृष्णलाई वंशनाशको श्राप दिइन् । माता कुन्तीको गोप्यता राख्न सक्ने क्षमता देखेर युधिष्ठिर अवाक भएका थिए । उनले श्राप दिए, ‘हामीले आफ्नै हातले सहोदर दाजुको वध गर्दा पनि मौन भएर बस्न सक्ने कस्ती आमा हौ तिमी ? आजदेखि कुनै पनि नारीको पेटमा कुरा नअडियोस् ।’ गल्ती युधिष्ठिरकी आमाले गरेकी थिइन्, अभिशप्त संसारभरिका नारी भए । किन्तु यो अभिशाप एक सुन्दर बिम्ब हो । सायद यसमा नारीको कोमलता, निश्छलता, विवशता र दृढता समाहित छ । माताहरू जति कोमल र सहृदयी हुन्छन्, आवश्यक परे त्यत्ति नै कठोर पनि हुन सक्दछन् । नारी आफ्ना दुस्खहरू पोखेर हलुका हुन मात्र होइन, कठिन मौनव्रती बनेर हृदयमा सल्केको आगोको राप सहन पनि जान्दछन् ।
गान्धारीको आशय सिधा र सपाट थियो । दुर्घटना रोक्न सक्ने क्षमता राख्नेले दुर्घटना हुन दिनु हुँदैन । यदि रोक्न खोजिएन भने स्वयं पनि एक न एक दिन दुर्घटनामा परिन्छ । कृष्णले चाहेको भए महाभारतको युद्ध रोक्न सक्थे । तर उनले युद्धलाई रोकेर इतिहासको प्रवाहलाई अवरुद्ध पार्न चाहेनन् । त्यस महायुद्धमा गान्धारीका एक सय छोराहरूले वीर गति प्राप्त गरे । जताततै विधवा युवतीहरूको करुण विलाप सुनिन्थ्यो । महाभारतको विकराल परिणाममा कृष्ण भने मन्दमन्द मुस्कुराइरहेका थिए ।
कृष्णको आर्जनको ताप र प्रभावले सारा यदुवंशीहरू समृद्ध र शक्तिशाली भएका थिए । परिश्रमबिना प्राप्त भएको सम्पदाले मनुष्यलाई अभिमानी र अविवेकी बनाउँदोरहेछ । त्यही अभिमानको रापले तातेका यदुवंशीहरू आपसमा लडेर सर्वनाश भए । कृष्णले कुलको सर्वनाशतर्फ उन्मुख पारिवारिक युद्धलाई रोक्ने चेष्टा गरेनन् । सायद कृष्णले सोचे होलान्, अभिमानीहरूको सर्वनाश भयो भने मात्र अभिमानको पनि स्वतस् सर्वनाश हुन्छ । युद्धले नै इतिहासको निर्माण गर्दछ । आज पनि संसारमा युद्ध जारी छ । आज पनि चाहे जानेर या नजानेरै किन नहोस्, युद्ध रोक्ने क्षमता राख्नेहरू युद्ध हुन दिनेमै तल्लीन छन् । भविष्यमा पनि निरन्तर युद्धहरू भइरहने छन् । सायद शान्ति, युद्ध र फेरि शान्तिको सिलसिलाले नै इतिहासलाई नियन्त्रण र सन्तुलनमा राख्नेछ ।
प्रतिक्रिया