काठमाडौं । नेकपा(एमाले)मा करीब अढाइ दशकदेखि विचार निर्माणमा शक्रिय रहँदै आएका घनश्याम भुषाल उपाध्यक्ष पदमा पराजित हुनु अप्रिय घटना होला, तर यो अनपेक्षित भने थिएन ।
धन खर्चेर चुनाव जित्ने, चुनाव जितेर पदमा पुग्ने, पुदमा रहँदा भ्रष्टाचार गर्ने र अकुत धन थुपारी आफ्नो बर्चस्व कायम गरेर पुनः पार्टीको या राष्ट्रिय चुनाव जित्ने संस्कार र शैलीको बोलबाला भएको नेपाली राजनीतिमा विचारको कुरा गर्ने भुषालजस्ता पात्रहरुलाई सकेसम्म किनारा लगाउने कोशिस गरिन्छ, जुन एमालेमा मात्र हैन, अन्य दलमा पनि देख्न सकिन्छ ।
ओलीको विचारहीन टिम
‘उग्रवामपन्थी जडशुत्रबादी’ प्रशिक्षण र व्यवहारबाट स्थापित पूर्व माओवादी नेता रामबहादुर थापा बादल कुनै विचारक हैनन् । हिंशात्मक विद्रोहमा फौजी नेतृत्व गरेर स्थापित भएका बादलले अहिलेसम्म आफ्नो कुनै मौलिक विचार या सोच अघि सारेको देखिदैन । माओवादीभित्र रहँदा उनी ‘प्रचण्डपथ’का अनुयायी थिए । माओवादी विभाजनदेखि माओवादी केन्द्रसम्म फर्कदै हाल एमालेको उपाध्यक्ष बन्दासम्मको उनको आधार भनेको हिंशात्मक विद्रोहबाट कायम भएको ‘छवी’ मात्र हो, जुन अचेल प्रचण्डको विरोधको जगमा टिकेको छ ।
दशौं महाधिवेशनमा अध्यक्ष ओलीको गोजीबाट चयन भएको एमालेको नेतृत्वमा विचार निर्माणमा भन्दा तिकडममा माहिर अनुहारहरु हावी देखिएका छन् । अख्तियारले छापा मार्दा पानी टयांकीमा व्रिफकेस लुकाउनेदेखि बालुवाटार जग्गा काण्डमा मुछिएका अनुहारहरुको भीडमा विधि, पद्धती र विचारको पक्षमा जोड दिने घनश्याम कागको बथानमा ‘बकुल्ला’ सरह थिए, जो एमालेको तिब्र वैचारिक स्खलन र क्षयीकरणको हुण्डरीले किनारामा धकेलीएका छन् ।
एमाले अध्यक्ष केपी ओली स्वयं पनि विचारक हैनन् । मदन भण्डारीको अवसानपछि मदनकै विचारको अनुयायीका रुपमा उनी एमालेमा स्थापित भएका हुन् । कम्युनिष्ट थिंक टयाँकहरु माक्र्सबाद लेनिनबाद तलाउ हैन, नदि हो भन्ने गर्छन् । युग अनुसार विचारमा सिर्जनात्मक व्याख्या र परिमार्जन हुनुपर्छ । ओलीले जबजको सैद्धान्तिकरण गर्ने नौलो विचार या कार्यक्रम अहिलेसम्म ल्याएका छैनन् । दशौं महाधिवेशनमा त उनले विचारको बहसलाई गैडाको मस्कटले नै छोपिदिए ।
दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष बनेका इश्वर पोखरेल पनि विचारक भन्दा एक प्राविधिक टाइपका नेता हुन् । एमालेको विचार निर्माण र परिमार्जनमाभन्दा पार्टीभित्रको आन्तरीक द्वन्द्वमा खेलेर यीनले लाभ लिदै आएको देखिन्छ । मदन भण्डारीको अवसानपछि आफ्नो चातुर्य, व्यवस्थापकिय तिकडम र शक्ति केन्द्रहरुसँगको हिमचिमबाट आफुलाई नेतृत्वमा बहाल राखिरहन यीनले सफलता पाएको देखिन्छ । बामदेव गौतमलाई खुलामंचबाट ‘देशकै सवैभन्दा ठूलो भ्रष्टाचारी’ भन्नेजस्तो टिप्पणी गर्न पछि नपर्ने पोखरेलमा एमालेभित्रका सबै विचार र समूहलाई समेटने उदारता देखिदैन ।
दशौं महाधिवेशनको घोषणा सभामा उनले ‘हाम्रो पार्टीको मुख्य अन्तरविरोध दलाल पुँजीबादसँग भएको र आफुहरुले बर्गीय पक्षधरता नबिर्सिएको’ दाबी गरे पनि पोखरेलको भडकिलो जिवनशैली, धन संचय र खुराफाती शैलीबाट उनको पक्षधरता दलाल पुँजीबादीहरुप्रति छ कि सर्वहाराप्रति भन्ने अनुमान लगाउन कठिनाइ नहोला ।
उपाध्यक्ष विष्णु पौडेलको नेपालका धनाढ्यहरुसँग बाक्लो हिमचिम छ, जसलाई पार्टी पँक्तिमै ‘माडसाब’समेत भन्ने गरिन्छ । बालुवाटार जग्गा काण्डबाट यीनको चरीत्र उदांग भइसकेकै हो, कुनैबेला आफुलाई सुकुम्बासी दाबी गर्ने यीनले काठमाडौंमा बनाएको आलिशान महलले नै खुला राजनीतिमा आएपछि यीनले आर्जन गरेको धन र वैभव आँकलन गर्न सकिन्छ । दलाल पुँजीपतिकै हितका खातिर चुरे पहाड बेच्नेसम्मको निर्णय गर्न पछि नपर्ने पौडेलको नेतृत्वकालमा एमालेले दलाल पुँजीबादविरुद्ध ठोस कार्यदिशा तय गर्ला भनेर कसरी पत्याउने ?
ओलीको एक आदेशमा महासचिव बनेका शंकर पोखरेल नवौं महाधिवेशनमै उपहासचिवमा हारेका हुन् । केही हदसम्म वैचारिक भान पार्ने तर्क र शब्द जंजाल अघि सारे पनि शंकरमा गहिरो वैचारिक चेत देखिदैन । यीनमा वैचारिक आधारमा भन्दा ओलीको स्तुती, चाकडी र भजनगानमै राजनीति फाप्ने सोच प्रवल देखिन्छ ।
ओली जस्ता छन्, शँकर पनि उस्तै छन् । विचार निर्माणको कौशल जसरी ओलीमा देखिदैन, शंकरको पनि त्यो ज्ञान र कला भुत्ते भइसकेको छ । ओलीको राजनीतिक प्रतिबेदन नामक कागजका पृष्ठहरु बाचन गर्नमै सिमित यी नेताबाट नयाँ कार्यदिशा र विचार निर्माण होला भनेर आशा नगर्दा हुन्छ । शँकर खासमा जबजप्रतिभन्दा पनि ओलीवादप्रति बढी प्रतिबद्ध देखिन्छन् । ओलीलाई स्वेच्छाचारी र सर्वसत्ताबादी बन्न प्रेरित गर्ने सिमित नेताहरुमा शंकर पनि एक हुन्, जसले ओलीका हरेक कदमलाई आज्ञाकारी बालकले झैं थपडी बजाउँदै आए ।
बादल, इश्वर पोखरेल या शंकर पोखरेलहरुको जगजगी हुने एमालेमा अब विचार निर्माणको पक्ष ओझेलमा पर्नेछ । नेतृत्वमा आएका योगेश भट्टराईदेखि गोर्कण बिष्टसम्म, अष्टलक्ष्मी शाक्यदेखि पृथ्वी सुब्बा गुरुङसम्म कसैमा पनि विचार निर्माण गर्नसक्ने ल्याकत देखिदैन । ति त गुट या नेताको फेर समातेर नेतृत्वमा हावी भइरहने एकखालको मौकापरस्त राजनीतिका ट्ुल्स मात्र हुन् ।
घनघश्यामा एक्लै घनश्याम
नवौं महाधिवेशनले पारित गरेको राजनीतिक दस्तावेजलाई कार्यदिशामा बदल्नुपर्ने भ्ुषालको एक्लो आवाज एमालेभित्र कसैले सुनिरहेको छैन । गत विधान महाधिवेशनमै भुषालले सैद्धान्तिक बहस चलाउने कोशीस गरेका थिए, तर अध्यक्ष ओलीले यसलाई लत्याइदिए । दशौं महाधिवेशनमा त विचार र सिद्धान्ततर्फ कसैको ध्यान नै गएन ।
मदन भण्डारीले २०४९ मा सम्पन्न पाँचौ महाधिवेशनमा अघि सारेको ‘जनताको बहुदलीय जनवाद’को कार्यक्रमलाई नै अहिले पनि एमालेले आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा अपनाइरहेको छ । तर, यसविचमा विकसीत नयाँ राष्ट्रिय र अन्र्तराष्ट्रिय परिस्थिति, विज्ञान प्रविधिको विकास, मानव सभ्यतामा उत्पन्न नयाँ समस्या, विश्व कम्युनिष्ट आन्दोलनको पतन र पुँजीबाद र उपभोक्ताबादको सन्दर्भमा जबज के कति औचित्यपूर्ण छ या छैन, अनि औचित्यपूर्ण भए यसमा के कति परिमार्जन आवश्यक छ भन्नेबारे एमाले गणमा कुनै बहस भएको पाइदैन ।
अहिले ‘जबज’ कुनैबेला झलनाथ खनालले भने झैं ‘दक्ष प्रजापतिको टाउको’ झैं देखिन्छ । जबजलाई कहिले कार्यक्रम, कहिले कार्यदिशा, कहिले सिद्धान्त त कहिले विचारधारा भन्दै वर्णशंकर व्याख्या गरियो । तर, एमालेका आजका आठ लाख सँगठीत सदस्य स्वयं जबजको सम्यक व्याख्या गर्न असमर्थ छन् ।
यही अन्यौलविच घनश्याम भुषाल नै त्यस्ता नेता थिए, जसले २०५९ मा सम्पन्न सातौं महाधिवेशनमा जबजको सैद्धान्तिकरणको प्रस्ताव राखेका थिए । नवौं महाधिवेशनसम्म आइपुग्दा भुषालकै शक्रिय मेहनत र पहलमा जबजको ठोस व्याख्या र परिमार्जनको कोशिस गरियो । नवौं महाधिवेशनमा भुषालले एमालेलाई वैचारिक स्पष्टता दिने हरसम्भव कोशीस गरे, जबजको सिर्जनात्मक प्रयोग र युग अनुकुलको व्याख्या गर्ने उनको कोशीसलाई नवौं महाधिवेशनले अपनाएकै हो, यद्यपी त्यो पूर्ण चाहिँ थिएन ।
मदनले जबज अघि सार्दा नेपालको अवस्था अर्धसामन्ती र अर्ध औपनिवेशीक थियो, अब त्यो अवस्था नरहेकाले नवौं महाधिवेशनमा पारित एमालेको दस्तावेजले ‘अबको चुनौती दलाल पुँजीबाद’ भएको स्पष्ट लेखेको थियो ।
प्रश्न उठछ, दलाल पुँजीबादसँग लडन एमालेले दशौं महाधिवेशनबाट कस्तो कार्यदिशा तय ग¥यो त ? समाजबादतर्फ संक्रमणका लागि एमालेसँग भिजन के छ ? केही पनि छैन । भुषालले यस दिशामा केही पहल गर्न खोजेका थिए, तर उनलाई त्यो मौका नै दिइएन । बस, यतिबेला एमालेसँग ओलीले अघि सारेको कोरा नारा छ, ‘समृद्ध नेपाल, सुखी नेपाली ।’ तर, यसलाई साकार पार्ने ठोस कार्यदिशा भने छैन ।
सुस्ताएका मोहनविक्रम
नेपाली कम्युनिष्ट आन्दोलनमा विचारको कुरा गर्नेहरुलाई अव्यवहारिक भन्ने गरिन्छ । नेपाली कम्युनिष्टहरुका गुरु मानिने मोहनविक्रम सिंह पनि सदा आफ्नै साँघुरो पेरीफेरीमा रहन विवश भए । मोहनविक्रमका चेलाहरु पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई मुलुकको प्रधानमन्त्री नै भए, तर मोहनविक्रम चाहिँ सैद्धान्तिक माला जपीरहे । मोहनविक्रमजस्ता विचारकले पनि राजनीतिको मुलधारमा शसक्त हस्तक्षेपकारी वैचारिक देन दिन सकेनन् । कोरा जडशुत्रबादी शब्दबाहेक अचेल यीनमा केही भेटिदैन । यसमा उनका आफ्नै कमजोरी छन्, त्यसतर्फ नजाऔं ।
एमालेले अहिले लिइरहेको वैचारिक दिशाबारे मोहनविक्रम सिंहले गरेको व्याख्या चाहिँ बहसयोग्य छ । मोहनविक्रमले भनेका छन्, ‘ओलीको विचार भनेको प्रतिगमन हो ।’
पशुपतिनाथमा सुन चढाउने, चितवनमा राम मन्दिर स्थापना गर्ने आदि कर्मकाण्ड गरेर ओलीले प्रकारान्तरले हिन्दु राष्ट्र कायम गरी राजतन्त्र ब्युताउने विचार अघि सारेको मोहनविक्रमको विश्लेषण छ ।
‘मध्यावधि निर्वाचनको बहानामा संसद भंग गर्ने देखावटी खेल मात्र हो, भित्री रहष्य हिन्दू राष्ट्र कायम गर्ने र राजतन्त्र पुनस्थापना गर्ने हो’, मोहनविक्रमले हालै एक कार्यक्रममा भनेका छन्, ‘ओलीका गतिविधिहरु नेपाललाई धर्म निरपेक्षताबाट हटाएर हिन्दु राष्ट्र कायम गर्ने र त्यसकै आडमा राजतन्त्र पुनस्थापनातर्फ केन्द्रित छ । ओलीको बाटो भनेको दक्षिणपन्थी प्रतिगामी बाटो हो ।’
मोहनविक्रमले यसो भनिरहँदा संयोग पनि कस्तो, एमालेको दशौं महाधिवेशनको उदघाटन सत्रमा राप्रपा नेता कमल थापाले ओलीको निकै प्रशँसा गरे । ओली राजाबादीहरुमाझ लोकप्रिय देखिन्छन् । मोहनविक्रमले भने झैं राष्ट्रबादी आवेग र धार्मिक संवेदना भजाएर कतै ओलीले कम्युनिष्ट आन्दोलनलाई ‘शाही भडकाउ’मा जाक्न लागेका त हैनन् ? भन्ने प्रश्न देखिन्छ ।
हुन पनि, हिन्दु राष्ट्र हटाइहालेको कतिपय मानिसलार्ई मन परेको छैन । जनमत संग्रह भएमा जनताको मत हिन्दु राष्ट्रकै पक्षमा जानसक्ने कतिपयको आँकलन छ । ओलीले जनताको यो सेन्टीमेन्टलाई आगामी निर्वाचनमा भजाउने दाउ हेरेको हुनसक्छ । कुनै न कुनै खालको राजतन्त्र ब्युताउने दिशामा सकारात्मक देखिएको खण्डमा ओलीले राजाबादीहरुको पनि मन जित्नसकिने सोच पालेको हुनसक्छ ।
एमाले नयाँ विचारको साटो मौकापरस्त राजनीतिको दिशामा गयो भने नेपाली कांग्रेस र माओबादी केन्द्रहरुको वैचारिक र रणनीतिक प्रतिरोध के हुनसक्छ ? यो चाहिं अझै स्पष्ट छैन । नेकपा (एस)का अध्यक्ष माधव नेपालले ओलीलाई प्रतिगामी र दक्षिणपन्थी दलदलमा भासिएको भन्दै कटाक्ष गरिरहँदा आगामी चुनावमा उत्पन्न हुनसक्ने ओली र ओली इतरको नयाँ धु्रवीकरणमा स्वयं माधव नेपालसँग कुनै वैचारिक र रणनीतिक कार्यक्रम छैन । बस, नेपालसँग पनि ओलीको खेदो खन्नुबाहेक विचारको आधार देखिदैन ।
‘प्रचण्डपथ’को अवसानपछि के ?
आहुतीका शब्दमा माओबादी विद्रोह हुँदासम्म प्रचण्डसँग ठोस विचार थियो । जनयुद्धको शान्तिपूर्ण रुपान्तरणपछि भने प्रचण्ड पनि विचारहीन छन् । जनयुद्धलाई नयाँ ढँगले अघि बढाउने विचार प्रचण्डले अघि सार्न सकेनन्, जसले गर्दा माआबादी विद्रोहले सम्झौताबादी लाइन लियो ।
प्रचण्ड कुनैबेला ‘मृत्यु या मुक्ति’को नारा दिन्थे । यथार्थमा प्रचण्ड अचेल मृत्यु या मुक्ति हैन, चार्वाक दर्शनले भने झैं ‘खाओ पिओ, मोज करो’को मान्यतातर्फ लहसीएको देखिन्छ । अचेल सँसदीय बुर्जुवा लोकतन्त्रमै रमाउन अभ्यस्त भएका प्रचण्डको वैचारिक पक्ष पनि एमाले अध्यक्ष ओलीकै जस्तो छ । विचार छैन, तर सत्तामा भागबण्डा गरिरहने तिकडम चाहिँ छ ।
माओबादीमा विचारको कुरा गर्ने मोहन वैद्य पनि मोहनविक्रम झैं ‘आइसोलेसन’मा परेका छन् । प्रचण्डको व्यवहारबादको विरोध गर्दै आएका वैद्यसँग पनि जडशुत्रबादी रटानबाहेक नयाँ परिस्थितिमा कम्युनिष्टहरुले लिनुपर्ने विचार देखिदैन । मेटाभर्स र फाइभजे पुस्ता सामु उत्पन्न भएका र हुनसक्ने चुनौतीको सामना गर्दै नेपाललाई समृद्ध पार्ने विचारको अभाव भएकाले वैद्य बा अचेल राजासँग सहकार्य गर्न सकिने कुरा गर्दै दिन काटिरहेका छन् । वैद्यजस्ता विचारक नै अचेल कता कता दिग्भ्रमीत छन्, नेपाली राजनीतिको विचारहीन परिदेश देखेर ।
प्रदीप गिरीको खबर
नेपाली कांग्रेसमा समाजवादी चिन्तक भनेर चिनिने प्रदीप गिरीको भौतिक शरीर केही विरामी परे पनि चिन्तन र चेतना भने तगडै छ । चिन्तक गिरीले हालै नयाँ पत्रिका दैनिकमा प्रकाशित आफ्नो लेखमार्फत विचारको बहसलाई पुट दिएका छन् ।
गिरीको सो लेखमा कांग्रेस नेता एवं सहमहामन्त्रीका दाबेदार बद्री पाण्डेको त्यो लेखको चर्चा छ, जुन दृश्यटिभीमा प्रकाशित छ । युवा नेता पाण्डेले विचारको कुरा उठाएर लेखेको लेखको गिरीले निकै प्रशँसा पनि गरेका छन् ।
विचारको ठाउँमा नेतृत्वको होड चलीरहेको बेला पाण्डेजस्ता नयाँ पुस्ताका नेताले विचारको कुुरा अघि सार्दा प्रदीप गिरीजस्ता विचारशील पाका नेताहरुको मन पुलकित हुनु स्वभाविकै हो ।
समकालीन नेताहरुमा गिरी आफ्नो विचारमा स्पष्ट छन् । पँक्तिकारले गिरीका विचार बारम्बार विभिन्न माध्यममा पढदै र सुन्दै आएको हो । चिन्तक गिरी समाजवादको रटान लगाउँदैमा समाजवाद आइहाल्ने कुरामा पटक्कै विश्वास गर्दैनन् । फास्ट ट्रयाक, पानीजहाज, भ्यूटावर आदि निर्माणलाई समृद्धिको आधार मान्ने सोचसँग पनि उनी सहमत छैनन् । पुँजीको मात्र बढोत्तरी गर्ने, जसरी पनि पैसा थुपार्ने खालको चीनीयाँ विकासको चमकधमक पनि दिर्घकालीन हैन् भन्नेमा उनी स्पष्ट छन् ।
अहिलेलाई गिरीले अघि सारेको समृद्धिको चुरो जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएको छ । जनताले निशुल्क पढन पाउन् । विरामी हुँदा उपचार खर्च नभएर कसैले मर्नु नपरोस् । उपभोग्य वस्तुको मूल्य यस्तो होस्, जुन आम नागरिकले तिर्न सकून् । रोजगारी सिर्जना होस् र जनताले विदेशमा पसिना बगाउन जान नपरोस् । नेपालीका लागि समाजबादको परिभाषाभित्र हाललाई यत्ति मात्र हुनुपर्छ कि उनीहरुको जिवनयापन सहज होस् । सिमान्तकृत बर्गको उत्थान होस्, टाठाबाठाले मात्र राज्यका सुविधा र अवसरमा रजाई नगरुन् ।
जनताका तत्कालका आवश्यकता पूर्तिको टडकारो चुनौती सामना नगरी विकासका ठूला सपना देखाउँदै समाजबादमा पुग्न सकिदैन भन्ने नेता गिरीका सोचहरु संसददेखि सडकसम्म गुंजीरहेकै छन् । तर नेपाली कांग्रेसले पनि आफ्नो समाजवादी धारणामा विचारका यी फूलहरुलाई उन्न सकेको छैन ।
कांग्रेसमा गिरीका विचार अधिकांशले बुझ्दै बुझ्दैनन्, किनकी अध्ययन, मनन र विचार निर्माणको क्रम कांग्रेसमा टुटीसकेको छ । विचार निर्माणमा केन्द्रित महाधिवेशन पनि हुन छाडेका छन् । अली अली बुझ्नेहरु पनि समकालीन राजनीतिक संस्कारमा घुलमील गर्दै विचार र चिन्तनभन्दा बढी पद, गुट र नेतृत्व हत्याउने होडमै जुटेका छन् ।
यस्तोमा दृश्य टिभीमा प्रकाशीत बद्री पाण्डेको लेख र त्यसप्रति गिरीको उत्साहजनक टिप्पणी कोरामिन बन्नसक्छ । एमालेमा घनश्याम भुषालहरुको हार किन नहोस्, उनले विचारको बहस पक्कै छाडने छैनन् । कांग्रेसको त सिंगै महाधिवेशन बाँकी छ, यो महाधिवेशनले विचार निर्माणको दिशामा सार्थक भूमिका निर्वाह गर्नैैपर्छ ।
नेता गिरीले भने झैं शितयुद्धपछि विचारको अन्त्य भएको भनिए पनि विचारको अन्त्य चाहिँ भएको हैन । विचार सर्वकालीक सत्य हो । सही विचारलाई ओझेलमा पारिएको हुनसक्छ, गलत विचार हावी भएको हुनसक्छ । तर, सही विचार पुनः अपरिहार्य बनेर समाज, देश र विश्वलाई बदल्न अघि सरीहाल्छ ।
विचारका चार आयाम
विचारका सर्वकालीक आयाम चार वटा हुन्छन् । निजी स्वार्थमा आधारित विचार, सामुहिक स्वार्थमा आधारित विचार, शास्वत विचार र निर्विचार । हामी नेपाली अझै पनि निजी स्वार्थमा आधारित विचारको चरणमा छौं । प्रचण्ड, ओली, देउवा या माधवले बोकेको विचार निजी स्वार्थमा आधारित हो, सामुहिक स्वार्थको विचारको आवरणमा ।
सामुहिक स्वार्थमा आधारित विचारले सफलता पायो भने मात्र समाज शास्वत विचारतर्फ फडको मार्नसक्छ । अर्थात मानवताबादमा आधारित वैश्वीक विचार, जसले कुनै समाज र देश मात्र हैन, पुरै अस्तीत्वको हित गर्छ । यो पृथ्वी ग्रहकै हितमा यो विचार समर्पित हुन्छ, यसैलाई हाम्रो पूर्वीय दर्शनमा ‘भवतु सर्व मंगलम्’को श्लोकले समेटछ । यो भवतु सर्व मंगलम्को भाव सबैमा जाग्न सकेको खण्डमा मात्र असली समाजबाद आउनसक्छ । तर, हामी निजी स्वार्थमा आधारित विचारको चरणमै भएकाले अहिलेको राजनीति र समाजमा पुँजीबादको जगजगी भएको हो ।
वैश्वीक स्वार्थ या शास्वत विचारले बल्ल हामीलाई निर्विचारतर्फ लैजान्छ । निर्विचार अवस्थामा पुग्न हामीले यहाँ उल्लेख गरेका चार चरण पार गर्नैैपर्छ । निर्विचार चरणपछि मात्र हामी निर्वाणतर्फको यात्रामा लाग्न सक्छौं, जुन मानवको यस्तो प्राप्ती हो, जहाँ प्राप्त गर्ने चाहनासमेत बाँकी रहँदैन ।
प्रतिक्रिया