पिञ्जरा

एउटा गाउँमा एकजना आशुनाथ नामका कवि बस्थे।आफूले रचना गरेका कविता सुनाउन खोज्ने हुँदा उनलाई देख्ने मानिसहरू भरसक तर्केर हिँड्थे । साह्रै घतलाग्दो कविता लेखेको मौकामा त कविजी चिया खुवाएर भए पनि कविता सुन्ने मानिस जम्मा गर्थे ।

गाउँको मन्दिरमा कतैबाट एकजना जोगी आएर बस्न थाल्यो । जोगीले  एउटा सुगा पालेको थियो । बडो बोलक्कड थियो सुगा । बोलक्कड सुगाकै कारण मन्दिरमा आउने भक्तालुको संख्या पनि बढ्यो । मन्दिरमा आइसकेपछि सुगा मात्र हेरेर कसरी फर्कनू ? मानिसहरू मन्दिरका देवताको हातमा दस पाँच पैसा राखिदिन्थे । पाप लाग्ने डर पनि त थियो । सुगाका गफ सुनेपछि जोगीलाई पनि केही त दिनै पर्‍यो । यसरी जोगीको वृत्ति पनि राम्रै चलिरहेको थियो ।

आशु कविजी कविता सुन्ने कोही नपाएको दिनमा मन्दिरमा गएर त्यही सुगालाई कविता सुनाएर फर्कने गर्दथे । कविता सुन्दासुन्दा सुगा पनि हैरान भइसकेको थियो । 

एक दिन बिहान सबेरै कविजी मन्दिरमा पुगे । जोगी नित्यकर्ममा व्यस्त थियो । भक्तजनहरू आउने बेला अझै भएको थिएन । कविले त्यो मौकालाई अवसरको रूपमा उपयोग गर्ने निधो गरे । उनले भने , ‘ए सुगा भाइ एउटा कुरा सुन त !’ सुगाले टाउको उता फर्काइदियो । कविलाई बडो ग्लानी भयो र किन्चित रिस पनि उठ्यो । ‘तँ जाबो सुगा कुरा गर्न जति नै सिपालु भए पनि पिञ्जराको बन्दी होस् । कारागारको कैदी होस् ।’ 

सुगाले  भन्यो, ‘म त आनन्दमा छु । पिञ्जराले मेरा सारा दायित्व समाप्त गरिदिएको छ । मैले कर्म गर्नु पर्दैन । डराउनु पर्दैन । जोगीले मेरो चौकिदारी गर्छ । मन परेको खानेकुरा खान दिन्छ । ऊ मेरो इमान्दार नोकर हो ।’ 

कवि - जे भए तापनि पिञ्जरा भनेको ठूलो बन्धन हो । योभन्दा दुस्खद जीवन के हुन्छ रु यी हेर् !  म स्वतन्त्र छु । म कवि हुँ ।

सुगा - म एउटा पिञ्जरामा छु । तर तिमी त सातोटा पिञ्जरामा थुनिएका छौ । झूटो अहङ्कार नगर कवि ! एकपल्ट जागा भएर सोच ।
कवि - सात पिञ्जरा ? बढी नबोल् बबुरो सुगा ।
सुगा - हरे कवि तिम्रो बुद्धि ! यस्तो गोबरे बुद्धि बोकेर कस्ता कविता लेख्छौ तिमी ? अनि कसरी सुन्ने लायक हुनु तिम्रा ती कविता ? 
तिम्रा पिञ्जरा केके हुन् म भन्छु सुन । परिवार, समाज, धर्म, संस्कृति, सरकार, भय र तृष्णा तिम्रा सात पिञ्जरा हुन् । 
कवि अहो !   
कविलाई त्यहीँको त्यहीँ कविता सुझ्यो । 
म  घनघोर अन्धकार हुँ
म आजन्म बन्दी हुँ
म एक परिबन्द हुँ।।।।
सुगा- यो कविता रच्ने समय होइन आशुनाथ ! उता हेर उता ! तिम्रो पिञ्जरा आउँदै छ ।
कविले उता हेरे । उताबाट कविनी हातमा  कुचो लिएर आउँदै थिइन् । चोलीका माथिल्ला दुई टाँक छिनेका । नाकको टुप्पोमा कालो लागेको । फरियाको टुप्पो फनफनी बेरेर कम्मरमा घुसारेकी । चुल्ठो आकाशतिर फर्काएर कसेकी । खुट्टाको चप्पलको फिता एउटा सेतो र अर्को कालो । सुगाले कविनीलाई जिस्क्याउँदै भन्यो, ‘अपने रामको ले जाओ भाभीजी ! हमको बहुत परेसान करते हैं ।’ कविनीले बल्दो नेत्रले सुगालाई हेरिन् ।
  
 ‘घरमा छोरी मुतमा डुबेकी छे । पाडो फुकेर भैंसीको दूध सबै खाइदियो । बारीभरि बाँदरको बगाल छ । गाउँमा चितुवा पस्यो रे । तिम्रा बा पिढीमा बसेर खोक्दै ‘कता गयो कुलङ्गार आशे ?’ भन्दै तिमीलाई नै खोजिरहेका छन् । काला भैरवकहाँ रोट लैजान विलम्ब भइसक्यो । दसैं सँघारैनेर आइसक्यो । सरकारको तिरो तिर्न बाँकी नै छ । तिम्रो ताल देखेर सारा समाज हाँसिसक्यो । तिमी भने फोकटका कविता लेख्न र सुगासँग गफ गर्नमा मग्न भएर बस्ने ?  तिम्रो दुनियाँ तिमी नै सम्हाल । म साह्रै थाकिसकें । अब म सहन सक्दिन ।’  बरा कविनी त्यहीँ भूमिमा थ्याच्च बसिन् । 
कवि ‘सरी सरी’ भन्दै कान समातेर घरतिर दगुरे । सुगा कवि दगुरेको हेर्दै हाँसिरह्यो । 

प्रतिक्रिया