पदक कि पित्तलका ढ्याक

वरिष्ठ पत्रकार तथा समालोचक हरि अधिकारीले एउटा पुरस्कार वितरक संस्था प्रति आफ्नो खरो टिप्पणी गरेका छन्। अधिकारीले पदकको महत्व र पदक पाउनेको साहित्यिक योगदानबारे पनि प्रश्न उठाउन बाँकी राखेका छैनन्।

यसो भन्छन् अधिकारी- 'आम्मामा! पदकको डङ्गुर..

नरेन्द्रराज र इन्दिरा प्रसाइँको जोडीले यस वर्ष पनि 'नइ कीर्तिरत्न' नाम गरेका पित्तलका ढ्याकहरू २ सयवटा बाँड्ने भएछ। यी ढ्याकहरूबाट विभूषित हुनेहरूमा धेरैजसो नइलाई चन्दा दिनसक्ने गाँठवालहरू र आफ्नो रचना/सामर्थ्यबाट साहित्यको मूलधारामा स्थापित हुन असमर्थ कवि/लेखकहरू नै छन्। यी ढ्याकधारीहरूमा दुई चार जना यस्ता पनि छन् जो अलिअलि लेख्न त जान्दछन् तर पदक र पुरस्कार भनेपछि जसले दिए पनि र जतिसुकै तुच्छ किसिमको भए पनि हात थाप्न तयार भइहाल्छन्।
 
रमाइलो त के पनि छ भने आगामी वैशाख ३० गते नइ ढ्याकको माला लगाउँन अवसर पाउँनेहरूमध्ये केहीले अहिलेदेखि नै त्यो चलाख जोडीको विरुदावली गाउँनुका साथै त्यसप्रति कृतज्ञता ज्ञापन गरेका पोस्टहरू टाँसेर सामाजिक सञ्जालका भित्ताहरूलाई फोहोर बनाउँन थालेका छन्।
 
नइले नेपाली भाषा/साहित्यको क्षेत्रमा देखाउँदै आएको यो चटकले पाएको एक प्रकारको मान्यताको आलोकमा हेर्दा नेपाली समाजको समुच्चय बौद्धिक चेतनाको स्तर खस्किएर पिँधमा पुगेको कुरा पूर्णत: सत्यापित हुन्छ। साथै जुन समाजमा लालचीहरूको बाहुल्य हुन्छ त्यहाँ ठगहरूले चाँदी कटाइ गर्दछन् भन्ने सद्वचन पनि व्यवहारमा उत्रिएको देख्न पाइएको छ भन्दा अत्युक्ति हुँदैन। 

आज रमिता छ, ढ्याकरूपी पदकको विशाल डङ्गुर छ तर दिनेले किन दिन खोजेको हो? लिनेले किन लिन चाहेको हो? त्यो ढ्याक पाएर के हुन्छ? र नपाउँनेले के गुमाउँछ? भन्ने जस्ता प्रश्नहरू भने अनुत्तरित नै छन्! यी प्रश्नको उत्तर कसैले पनि नखोजेको हुनाले यी अनुत्तरित नै रहनु स्वाभाविक हो।' 

प्रतिक्रिया