गान्धीका आदर्श चरित्र भगवान श्रीराम

- बिन्दा आचार्य

सत्य र अहिंसाका पक्षपाती महात्मा गान्धीले अन्तिम श्वास छोड्दै गर्दा निस्किएको अन्तिम शब्द थियो– ‘हे राम ।’ सत्यको आग्रह गर्ने सत्याग्रही महात्मा गान्धीका आदर्श चरित्र कतै  भगवान श्रीराम त थिएनन् ? 

गोरखाका राजा रामशाहको न्याय प्रणालीको (न्याय नपाए गोरखा जानु) आदर्श श्रीरामको राजपाठ त थिएन ! हिन्दु सनातन धर्ममा सत्ययुगपछि त्रेतायुगको अन्त्यमा विश्वब्रम्हाण्डका पालनकर्ता भगवान विष्णुको सातौं अवतारको रुपमा आदर्शतम् चरित्र मर्यादा पुरुषोत्तम भगवान श्रीरामको अवतरण भएको पौराणिक ग्रन्थले बताउँदछन् । भगवान श्रीरामको जीवन चरित्रका गुणवेत्ता र भोगाईबाट मनुस्य जगतले पाठ सिकुन् र अनुशरण गरुन् भनेर भगवानकै कृपाबाट कुख्यात डाकु रत्नाकरको जीवन रुपान्तरण भई महर्षि बाल्मिकीका विचार बाहुलीवाट चौबिस हजार श्लोक भएको महान पवित्र ग्रन्थ रामायणको रचना हुन पुग्यो भन्ने विश्वास गरिन्छ ।

भगवान श्रीरामलाई किन पुरुषहरुमा सबैभन्दा उत्तम मर्यादा पुरुषोत्तमको भनिएको होला ? वहाँको जीवनका उतारचढावलाई हेर्दा सगरमाथा जत्तिकै अग्लो, कालीगण्डकीको खोँच जत्तिकै गहिरो छ । कर्कलाको पातमा पानीको फोका हल्लिए जत्तिकै हल्लिएको पाईन्छ । जीवनमा आईपर्ने उतार चढाव र थर्थराहटमा नहल्लिने आदर्श शासक भगवान श्रीरामको मनोभाव र सेवक हनुमानको आत्मवल कस्तो थियो होला ! के कस्ता असाधारण राज्य चरित्रका कारणले रामराज्य कहलियो होला, गहिरो अध्ययनको विषय हो । अयोध्याका राजा दशरथले युवराज श्रीरामलाई राज्यको उत्तराधिकारी घोषणा गर्दा परमप्रतापी, सहनशिल, प्रजापालक, निष्कलंक स्वभाव भएका राजकुमार रामलाई राजा बनाउँदा आदर्श राज्यको स्थापना हुनेमा विश्वस्त हुँदै गुणगान गाएका थिए ।

समकालिन महर्षि बाल्मिकीले रामायण महाकाब्यमा आदर्श रामराज्यका आदर्श राजा भगवान श्रीरामलाई जीवन्त चरित्र बनाए, जुन जनजनमा भजनीय छ । सूर्यको जस्तो न्यानोपन र चन्द्रमाको जस्तो शितलता भएका भगवान राम सत्यवादी, मधुरभाषी, कर्तब्यपरायण र जितेन्द्रिय  थिए भन्ने कुरालाई मनन् गर्दा १४ बर्ष बनवास बसेर फर्कँदा न उनले राज्यसत्ता प्राप्त गरीहाल्न आतुरता देखाए, न कसैप्रति आग्रह पूर्वाग्रह नै राखे न त आफन्त बन्धुबान्धव प्रति कुनै प्रतिशोध साधे । बरु सौतेलो परिवारिक खिचलो भन्दा माथि उठेर शासनको वागडोर सम्हालेको, जिम्मेवारी निर्वाहको कर्तब्यपथबाट पछाडि नहटेको र जनआवाजलाई प्रमुख प्राथिमकता लिएको  पाईन्छ । राज्यसत्ता की पत्नी सीता भन्ने नैतिक प्रश्न उठ्ता परिवारलाई भन्दा मातृभूमिलाई शिरोपर गरेको पाईन्छ ।

वेदवित पुरुषलाई पुरुषोत्तम भनिएको छ । सत्यको शास्त्र जसमा परमात्माको अनुभूति  हुन्छ, त्यसलाइ वेद भनिन्छ । सुख र दुःखका द्वन्दहरुवाट रहित निद्वन्द अनुकुल वा प्रतिकुल जुनसुकै अवस्थामा पनि समत्वभावयुक्त स्थिर चित्तवाला भगवान श्रीराम पुरुषोत्तम भएकै कारणले कुनै मर्यादा नगुमाई योग कर्मशुकौशलम् (कुशलतापूर्वक योगस्थ भई कर्म गर्ने) को पर्याय हुनुभयो ।

भगवत गीताको दोस्रो अध्याय (कर्म–जिज्ञासा योग) श्लोक ५६ र ५७ मा स्थितप्रज्ञ पुरुषका लक्षण वताईएको छ, दैहिक, दैविक र भौतिक दुःखहरुमा जसको मन उद्वीग्न हुँदैन, जसको राग भय र दोष नष्ट भैसकेको छ, मननशिलताको चरमसिमामा पुगेको यस्तो पुरुष स्थितप्रज्ञ कहलाउँछ । जो पुरुष सर्वत्र स्नेह रहित भएर शुभ वा अशुभ प्राप्त भएमा न प्रशन्न हुन्छ त न खिन्न नै हुन्छ उसको बुद्धि स्थिर हुन्छ, जुन भगवान श्रीरामका गुणसँग मिल्दछन्, यस्तो लक्षणयुक्त पुरुष नै पुरुषोत्तम हुन सक्दछ ।

वैश्विक महामारीको संकटको घडीमा पृथ्वीबासीको मन रोग, अनिश्चितता र मृत्युको भयले जुका हल्लिएको जस्तो गरी हल्लिएको छ । डर र भयले आत्मवल कमजोर बनाउँछ र आत्मवल कमजोर भए रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ भन्ने कुरा बुझ्नु जरुरी छ । यस्तो वेलामा हामीलाई भगवान श्रीरामको जस्तो स्थिर मन, सजगतापूर्ण भावुकता र पवनपुत्र हनुमानको जस्तो आत्मबलको खाँचो छ । भ्राता लक्ष्मणलाई बचाउन संजिवनी बुटी लिन हिमालय पर्वत पुगेका हनुमान बुटी चिन्न नसकेर पुरै पहाड नै उचालेर ल्याउँछन्, अर्थात् संकटको बेला वा समयाभावको वेलामा पुरा संभावनामा काम गर्ने सन्देश दिन्छन् ।

अनेकन ठक्कर हण्डर खाए पनि कुनै सन्तुलन नगुमाउनु सामान्य मानिसकालागि कठिन कुरा हो, त्यसैले यस पृथ्वीमा विरलै अवतरित हुने असामान्य मानव विराट चेतनाका अवतार हुनुपर्दछ ।  शासकको भूमिकामा कठोर निर्णय लिन सक्ने र वालक झैं सहज प्रशन्नता कायम गर्न सक्ने गुण थियो । भगवान श्रीरामसँगै सीतामाता, भाई लक्ष्मण र सेवक हनुमानको तस्वीरसँगसँगै देखिनुले रामराज्यमा राज्यका सेवकहरुलाई परिवार कै अंग ठानी सन्तानतुल्य ब्यवहार गरिन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ ।

रघुबंशका अब्बल राजा भगवान श्रीरामले वैदिक सनातन धर्मशास्त्रका सिद्धान्तहरुलाई ब्यवहारिक प्रयोगमा ल्याई आदर्शतम राज्यको स्थापना गरेर नयाँ उचाईमा पुर्याएका थिए । जुन आदर्श र स्थापित मान्यताहरु भारतवर्ष लगायत पूर्वि एसियाका देशहरुमा समेत अनुशरण गरिएको पाईन्छ ।  पद्म पुराणका अनुसार क्रोध र प्रशन्नता वीच सन्तुलन कायम गर्न सक्ने खुवी भएका एक कुशल शासक भक्तवत्सल भगवान श्रीरामले एक हजार बर्ष शासन गर्नु भएपछि सम्पूर्ण राजपाठ आफ्ना र भाईका पुत्रहरुलाई सुम्पिएर देहत्याग गर्नु भएको बताईएको छ ।

भगवान श्रीराम तत्कालिन वैदेह राज्यको मिथिलानगरीका राजा राजर्षी जनकका ज्वाईनारायण हुनुहुन्थ्यो । भगवान नारायणका साक्षात् अवतार भगवान श्रीरामको पालादेखि ज्वाईनारायण भन्ने चलन चलेको   हुनुपर्छ ।  हिन्दु संस्कार मान्ने परिवारमा ज्वाईँलाई भगवान विष्णु मानेर ज्वाईनारायण भनिन्छ र श्रद्धापूर्वक खुट्टा धोएर पानी खाईन्छ । मिथिलानगरकी छोरीचेली सीतामाताले दुःख पाउनु भयो भनेर ज्वाईँनारायण भगवान श्रीरामका आदर्श चरित्रहरुको गुणगान गाउन विर्सिएको पो हो की !  हुन त नेपाली समाजमा ज्वाईँले छोरीलाई सुख दिए छोरी भनेको माने ज्वाईँलाई हाई हाई गर्ने प्रचलन छ ।

अहिलेको समयमा कुनै ठोस प्रमाण नभेटिएको शास्त्रमा लेखिएकै भरमा त्रेतायुगमा  भगवान कहलिएका कुनै राजाको भक्ति गरेर के फाईदा हुन्छ, वरु त्यसको ठाउँमा अहिले पद सत्तामा रहेका मान्छेहरुको  भक्ति गरे केही फाईदा होला भन्ने लाग्न पनि सक्छ । जसको विचार अनुशरण गर्न र चरित्र अनुकरण गर्न लायक हुन्छ त्यसको भजन गर्नु  पर्दछ । तर बारम्बार भजिरहन भजिने पात्र भने आदर्श हुनुपर्दछ । भगवान श्रीराम यस्ता गुणवेत्ता हुनुहुन्थ्यो जसको प्रेरणादायी कथावाट हामीले असल र सान्दर्भिक पाठहरु सिक्न सक्छौं । भगवान श्रीरामका कथाहरु भजनीय मात्र होईन करणीय छन् ।

   
स्वर्णलंका जितेपछि भ्राता लक्ष्मणले कि यही राज्य गर्ने भन्ने आशयमा भगवान रामको प्रतिउत्तर थियो– अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।। अर्थात् हे लक्ष्मण ! सुनैसुनको लंकामा मलाई कुनै रुचि छैन, माता र मातूभूमि स्वर्ग भन्दा माथि हुन्छन् । लंकाका राजा रावणका भाई विभीषणलाई राजा घोषणा गरी शासनको वागडोर सुम्पिएर आफ्नै देश अयोध्या फर्कनु भयो ।

कालिदाशको रघुबंशमा पिताजी दशरथको स्वर्गवास भएपश्चात १४ बर्षे वनवासमा समय विताइरहेका दाईभाउजु भेट्न गएका राजा भरत र वनबासी राम बीचको संवादमा भरतले आफू प्रतिनिधि पात्रमात्र भएको र राज्यको अधिपति हजुरनै हुनुहुन्छ अव बनवास त्यागेर राज्य सम्हाल्नुस्, आफू राजपाठको लायक नभएको विन्ति गरे । भगवान श्रीरामले आफू पिताजीको बचन पूरा गर्न र कर्तब्यनिष्ठामा अटल रहेको बताउँदै राजकाजमा मार्ग्निर्देशनका लागि भरतले गरेको अनुरोधलाई स्वीकार गर्दै भरतलाई सोधेका प्रश्नहरुमध्ये केही प्रश्नहरु जसले एउटा आदर्श राज्यमा शासकको चिन्तन कस्तो हुनुपर्दछ थाहा पाउन सकिन्छ ।

भरत भाई के तिम्रो राज्यमा गुरुपुरोहित आचार्य विद्वानहरुको सम्मान छ ? के तिम्रो राज्यमा आईपर्ने जुनसुकै संकट वा युद्ध टार्नका लागि सैनिकहरु भावनात्मक रुपमा तयार छन् ? के तिम्रा मन्त्री र राजपाठमा संलग्न कर्मचारीहरु भरोषायोग्य छन ? के तिमीले तिम्रा राजकाजमा संलग्न हुनेलाई पर्याप्त र समयमै वेतन दिएका छौं ? तिमी राजकाजमा कोसँग सल्लाह लिन्छौं ? सल्लाह लिदा स्वतन्त्र ब्यक्तिसँग लिनु । तिम्रो कोषवाट वेतन लिई जिवीका चलाउनेले तिमीलाई खुसी पार्न सल्लाह दिने गर्छ, यो कुरा बुझ । के तिम्रो राज्यमा लोकले पिउने पानी र सिंचाईको लागि पानी उपलब्ध छ ?

 यस्ता कैयौं प्रश्न सोधी तिनमा मार्ग निर्देशन गर्नु भएको थियो । आपत्विपत् बाजा बजाएर आउँदैन, राजारंक भन्दैन, धनीगरिव छुट्याउँदैन, राजनीतिक आस्था र सत्तापक्ष र विपक्ष हेर्दैन, देशको सिमाना कुर्दैन । लघु चेतना भएको मनुष्यले तेरो र मेरो भनी छुट्याउँदछ । विशाल हृदय भएको मनुष्य ‘बसुधैव कुटुम्वकम्’ को भावमा सबैलाई आफ्नो ठानी प्रेम र करुणा बाँड्दछ ।

पुरुषहरुमा सबैभन्दा उत्तम मर्यादा पुरुषोत्तम भगवान श्रीराम भनिए तापनि हिन्दु सनातन धर्मसंस्कृतिमा नारीले भगवान शिव जस्तो पती पाउँ भनी ब्रत बसिन्छ तर भगवान श्रीराम जस्तो पति पाउँ भनेर ब्रतसंकल्प बस्ने कुनै संस्कृति संस्कार छैन । भगवान राम जस्तो चरित्रलाई बाबुले जे भन्यो त्यै मान्ने आदर्श पुत्र र अरुले के भन्ला भनेर लोकको भनाई मान्ने सोझो चरित्रको आदर्श शासक मान्ने गरिएको छ ।

नारीवादी दृष्टिकोणवाट ब्याख्या गर्नेहरुले भगवान श्रीरामलाई एउटा कठोर हृदयवाला पितृसत्ताको धार्मिक प्रतिनिधिमूलक पात्रको रुपमा लिन्छन् । कथाहरुले तत्कालिन समाजको प्रतिनिधित्व गर्दछन् र ती कथामा कहानी के के थियो भन्दा पनि कथाले के सन्देश दियो त्यो महत्वपूर्ण हुनुपर्ने हो । भगवान श्रीरामको जीवन कथालाई हरेक बर्षमा आउने रामनवमीमा पारिश्रमिकधारी राम पात्रलाई बेहुलो बनाई विवाहको नाटक मंचन गरेर संस्कृतिको निरन्तरताको रमाईलोमा सिमित पार्नु र  भगवान श्रीरामका पाउँले टेकेका पवित्र जमिनमा मलमूत्र र फोहोरका निशानी छोडेर जानु तर वहाँका आदर्शतम् चरित्र भुल्नु ससुराली घरमा सबैभन्दा उपेक्षित हुनु परेको हो की भन्ने भान हुन्छ । रामनवमीमा भगवान श्रीरामका सदगुणहरुको भजन गर्ने की ? जे बारम्वार भजिरह्यो त्यो आकर्षित हुन्छ भन्ने विश्वास ब्रम्हाण्डिय उर्जामा आस्था राख्नेहरुले गर्ने गर्दछन् ।

शरीरको प्राण उर्जा प्रणालीको साधना गर्नेहरुले मनुश्यको श्वासप्रश्वास लिँदा र छोड्दा जहाँ पुगेर मोडिन्छ, त्यहाँवाट निस्कने ध्वनी ‘राम’ लाई भगवान श्रीराम भनी मान्दछन्, जो हाम्रो प्राणको आधार केन्द्र हुन् । पवनपुत्र हनुमानलाई तिम्रो भगवान कहाँ छन् ? खै देखाउँ भन्दा छाती चिरेर देखाएको प्रसङ्ग छ ।

चिकित्सा विज्ञानका अनुसार मानव शरीरमा रहेको सुक्ष्म विधुतिय उर्जातरङ्गबाट संचालित जैविक घडीको तालमा मुटुको चाल स्वचालित हुन्छ, जसलाई सर्का्डियन रिदम भनिन्छ ।  मुटुको चालमा स्व–जडित विधुतिय तरङ्गबाट उत्सर्जित स्पन्दन छातीको मध्यभग हुँदै सबैतिर फैलन्छ । यदि हाम्रो प्राण उर्जाको केन्द्र भगवान श्रीरामकै विराट रुप हो भने पवनहरुका पुत्र प्राणवायु अक्सिजन रुपि हनुमान श्वास हाम्रो छातीभित्र पुग्दछ र प्राण उर्जाको केन्द्र आत्मारुपि भगवान श्रीरामलाई  भेट्दछ ।

पवनपुत्र हनुमानले छाती चिरेर मेरो प्रभु यहाँ हुनुहुन्छ भनेर देखाउँदा प्राणशक्तिको केन्द्र बिजब्रम्हकै रुप देखिएको हुनुपर्दछ । योगको एउटा अभिन्न अंग प्राणायाम गरेर मन स्थिर बनाउने, श्वासप्रश्वास प्रणाली मजबुत बनाउने र प्राणशक्ति माथि उठाई आत्मबल वलियो बनाउने कुरा कताकता मेलखाने देखिन्छ । अहिले पृथ्वीवासीले भोगिरहेको श्वासप्रश्वासको महामारीवाट मुक्ति पाउन पवनपुत्र हनुमानको जस्तो आत्मवल र भगवान श्रीरामको जस्तो स्थिर मनोभाव र असिम करुणाको आवश्यकता छ । ‘प्रार्थना गरौं, तुम्ही विगारे, तुम्ही सपारे हे राम, हे राम !’
                                                                      
    रामनवमी ।

प्रतिक्रिया