विदेशमा बस्ने नेपाली जीवनका अदृश्य समस्या

हामी सुख एवं आनन्द खोज्दै आफ्नो देश एवं समाज छोडेर विदेशीका छौं। अमेरिकालाई नेपालीहरुको सपनाको देश भन्ने गरिन्छ। त्यही सपनाको देशमा पुग्न मेक्सिकोको पर्खाल नाघेर अमेरिका चुम्ने नेपालीहरु हजारौंको संख्यामा पुगिसके। त्यसरी ज्यानकै बाजी थापेर अमेरिका पुग्न दलालहरुलाई पचासौं लाखसम्म तिरेको पनि पाइएको छ। यति ठूलो खतरा मोलेर र मूल्य चुकाएर अमेरिका प्रवेश गर्नेहरु साँच्चै शतप्रतिशत सन्तुष्ट छन् त ?

अमेरिका जानका लागि चिठ्ठा पर्दा मनाइने हर्षोत्सव बिबाहोत्सवभन्दा धेरै ठूलो देखिन्छ। मानौं जीवनका सम्पूर्ण दुःखहरू अब सकिए। नेपालमै बसेर केही व्यवसाय गर्छु भनेर ऋण माग्ने हो भने कुनै साहुले पत्याउँदैनन्, तर विदेश जान लागेको हो भन्ने हो भने कति चाहियो म सहयोग गर्छु नि भनेर गुलियो उत्तर आउँछ। अरु बेलामा खासै बोल्न नखोज्ने मान्छे अमेरिका क्यानडा युरोप लगायतका देशहरुमा जानका लागि भिसा लाग्यो भने फोन गरी गरी हालखबर सोध्न थाल्छन्। बिदेश जान भिसा पाएको व्यक्ति पनि कहिल्यै आफन्त साथीभाई नसम्झने मान्छे भिसा लागेपछि धमाधम भेट्ने या म त बिदेश जाँदै छु नि भनेर सगर्व खबर गर्ने प्रचलन छ। केही मात्रामा म देश छाडेर टाढा जाँदैछु भन्ने हिसाबले पनि भेट्ने कुरा गर्नु स्वाभाविक हो तर भित्र लुकेको अन्तर्य अब म पनि बिदेश जाँदैछु, म लुते लाङ्ग्रे मान्छे होइन भन्ने मनोविज्ञान नै हो। अर्थात् बिदेशिनुलाई सफलता र श्रेष्ठताको परिचायक मान्ने संस्कृति बलियोसँग स्थापित भइरहेको छ। 

नेपालीहरू मरिहत्ते गरेर गएका देशहरुमा रहेका मानिसहरु कत्तिको खुसी छन् त भन्ने विषय महत्वपूर्ण छ। विकसित देशहरु अत्यिधक तनावपूर्ण छन्। जे देखिन्छ त्यो धेरै राम्रो,  सभ्य, विकसित, सम्भ्रान्त एवं अप्रतीम लाग्छ तर सबै कुरा पुगेकोभए अमेरिकामा वार्षिक झण्डै ५० हजार मानिसहरुले किन आत्महत्या गर्छनरु सन् १९९९ देखि सन् २०१७ सम्म आइपुग्दा ३३ प्रतिशतले आत्महत्याको दर किन बढिरहेको छ र अस्ट्रेलिया जस्तो थोरै जनसंख्या भएको अति विकसित देशमा सन २०१८ मा २८६६ जनाले आत्महत्या गरेको केस दर्ता भएको छ। अझ १५ वर्षदेखि ४४ वर्षसम्मका लाउँ लाउँ र खाउँ खाउँ उमेरका मानिसहरू आत्महत्या गर्नेमा बढी पाइएको छ। 

क्यानडामा पनि १५ बर्ष देखि ३४ वर्षसम्मका मानिसहरुको आत्महत्या दर सर्बाधिक छ। यो उमेर भित्रका मानिसहरूको मृत्युको कारणमा आत्महत्या दोस्रो ठूलोमा पर्दछ। बेलायतजस्तो विकास र सभ्यताको अग्रणी देशमा २०१८ मा ६५०७ जनाले आत्महत्या गरेको केस दर्ता भएको तथ्यांक छ। विकसित देशहरुमध्ये जापानमा आत्महत्याको दर घट्दै गएको देखिन्छ। सन् २००९ मा प्रतिलाख जनतामा २५ दशमलव ७ जनाले आत्महत्या गर्थे भने २०१८ मा आइपुग्दा यो दर घटेर प्रति लाखमा १६ दशमलव ५ जनाले आत्महत्या गरेको तथ्यांक छ। 

यसरी यी सबै तथ्यहरूको विश्लेषण गर्दा भौतिक सम्पन्नतामा मात्रै सुख एवं सन्तुष्टि छ भन्ने कुरा गलत साबित हुन्छ। आधुनिक विकास एवं सभ्यताको शिखर चुमेका देशहरुमा बस्ने जनताको असन्तुष्टि अविकसित देशहरूका जनताको भन्दा कम देखिएन। तसर्थ खुसी एवं सन्तुष्टि कहाँ छ भनेर यकिन गर्न जटिल भएपनि जीवनलाई सतृष्ण लालसा बोकेर नटुंगिने यात्रामा कुदाइहनु  समस्याको समाधान होइन। खुसी अथवा सन्तुष्टि तुलनात्मक विषय होइन। नेपाल छोडेर विकसित देश पसेका नेपालीहरूको अवस्थाको वास्तविक विश्लेषण गरियो भने पनि अर्को एउटा अपत्यारिलो निष्कर्ष आउँछ। अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत तथा युरोपियन देशहरुमा पुगेका कैयौँ नेपालीहरुले आत्महत्या गरेको समाचार पनि आइरहेका छन्। परिवारसहित विदेशिएकाहरूको पनि कतिको परिवार छिन्न भिन्न भएका दुःखद परिणामहरू पनि देखिएका छन्।

नेपालमा कति मीठो माया प्रितीका साथ जीवन बिताएका जोडीहरू विदेशिएपछि सम्बन्धविच्छेदको नमीठो अनुभव भोग्न बाध्य छन्। हुन त सम्बन्धविच्छेदका घटना नेपालमै पनि अनपेक्षित मात्रामा बढिरहेका छन्।  नेपालको गरिबी, अभाव एवं असमानताका कारण सम्बन्ध बिग्रिएको हो भने पनि सुविधासम्पन्न देशमा छिरेपछि त सबै राम्रो हुनुपर्ने हो तर त्यस्तो भइरहेको छैन। किनभने विदेशमा पनि समस्या नयाँ रुप लिएर जन्मन्छ। विदेशमा पारिवारिक वातावरण कमजोर छ, जीवन अलि बढी प्राविधिक छ। श्रीमान र श्रीमती बीचमा पनि केही न केही सीमा छन्। नेपालमा श्रीमान र श्रीमती भनेको दुई भँगालो बनेर बगेको पानी मिसिए जस्तै हो। शतप्रतिशतको मिलन हो। आत्माको मिलन, जीवनको एकीकरण हो। 

यद्यपि अहिले नेपालमै पनि यो भावना कमजोर भइरहेको छ। तैपनि विवाहले श्रीमान श्रीमतीलाई मात्र जोड्दैन दुई परिवारलाई पनि जोड्छ। दुइ परिवारसँग सम्बन्धित नाता सम्बन्धलाई पनि एउटै परिवार बनाउँछ। तर पश्चिमा मुलुक तथा पूर्वकै अस्ट्रेलियातिर पनि श्रीमान श्रीमतीका बीच मात्र सम्बन्ध हुन्छ। दुवै जनाको अभिभावकसँग थोरै मात्रामा जोडिएका हुन्छन् नत्र अन्य नाता सम्बन्धको कुनै महत्व हुँदैन।

नेपालीहरु यति फराकिलो पारिवारिक दायराबाट संपोषित भएका कारण विदेशिएपछि त्यो पारिवारिक मायाबाट प्राप्त भइरहेको अमूर्त ऊर्जा कमजोर हुन्छ, आत्मबल ओइलाउँदै जान्छ। नजानिँदो मनोवैज्ञानिक हीनताबोध झाङ्गिँदै जान्छ। यहाँ त मेरो को छ र जे परे पनि एक्लै बेहोर्ने त हो भन्ने भावना पैदा हुन्छ। यो भावनाले मन र मस्तिष्कमा भएको पारिवारिक प्रेमको आकार साँघुरिदै जान्छ। आफन्तहरु प्रति क्रमश सम्झना कम हुँदै जान्छ बोल्ने हाँस्ने सन्दर्भ सीमित हुन्छन्। काम गर्ने ठाउँमा बोलिएको कुरा औपचारिक हुन्छ। केवल कामसँग सम्बद्ध मात्र हुन्छ,  त्यसमाथि पनि आफ्नो भाषामा विचार सम्प्रेषण गर्दा जुन प्रकारको आनन्द प्राप्त हुन्छ अन्य भाषाबाट त्यस्तो तरंग पैदा हुन सक्दैन। मानिस जति एक्लिँदै जान्छ त्यति निराशाको शिकार हुँदै जान्छ। निराशा नै मानसिक रोगको सबैभन्दा ठूलो स्रोत हो। मानिसहरुको भिड भित्र एक्लिन पर्नु अझै डरलाग्दो कुरा हो। श्रीमान श्रीमतिको काम पनि एउटै समयमा नपर्न सक्छ। राम्रोसँग भेट नहुने अवस्था हुन सक्छ्, भए नै पनि समग्र पारिवारिक पूर्णता हुँदैन।  छोराछोरी पनि नेपालमा जस्तो बाबु आमासँग झ्याम्मिदैनन्।

उनीहरुको आफ्नै कोठामा विद्युतीय डिभाइस मै हराइरहेका हुन्छन्। उनीहरूको आफ्नै बाबुआमासँग भाषा नमिल्ने हुँदै जान्छ। आफुलाई चाहिएको बेलामा मात्रै आमाबाबुको खोजी गर्छन्। यस्तो अवस्थामा विदेशको जीवन कस्तो होला यसै अनुमान गर्न सकिन्छ। त्यतिमात्र हैन बच्चाबच्ची अर्कै भए। नेपाली बनाउन सकिएन भन्ने चिन्ता पनि थपिन्छ। विद्युतीय डिभाइसमा के गरिरहेका छन् भन्ने कुराले पनि मन पोल्न थाल्छ। १२ वर्षभन्दा माथि लागेपछि बच्चाहरूको हर्मोन परिवर्तन हुँदै जान्छ। यो बेलामा बच्चाहरूको स्वभाव अनपेक्षित हुन्छ। झन बाबु–आमाको निगरानी पुगेन भने परिणाम नराम्रो हुन सक्छ। स्कुलको पढाइमा कत्तिपनि भार हुँदैन, गृहकार्य गर्न पनि खासै पर्दैन। १५–१६ बर्षसम्मका बच्चालाई पढ्ने भार दिनुहुँदैन भन्ने विकसित देशहरूको मान्यता छ। बच्चाहरुले खेल्नुपर्छ उफ्रिनुपर्छ, बिघ्याइँ गर्नुपर्छ नत्र उनीहरूको मस्तिस्कीय विकासमा असर पर्न जान्छ भन्ने सोच हुन्छ, त्यसैले घरमा आफन्त छोराहरु छोराछोरीहरुलाई पढ भन्न पनि विचार गर्नुपर्ने हुन्छ। दवाव दिन खोज्यो भने यु क्यान नट फोर्स मि भनेर जवाफ लगाइहाल्छन्।

यदि घरमा गाली गरे कुनै काम गर्न वा पढ्न दबाब दिए भने पुलिसलाई फोन गर्नुपर्छ भनेर  बच्चाहरूलाइ सिकाइएको हुन्छ। कति नेपाली अभिभावकहरुले पनि बच्चाहरुले रिपोर्ट गरेका कारण पुलिसकहाँसम्म पुग्नु परेका घटनाहरु छन्। विकसित देशहरुमा हामफाल्नुका कारण बच्चाहरूको भविष्य नै महत्वपूर्ण हो। तर तिनै बच्चाको पढाई आनीबानी स्वास्थ्य एवं सुन्दर भविष्यका लागि गरिएको प्रयत्नलाई एब्युज भनेर पुलिससँग पुग्नुपर्ने नियति भोग्दा सानो पीडा हुँदैन।

प्रतिक्रिया