बार्दली

करिब डेढ वर्षअघिको कुरा हो । एकजना हितैषीले  ‘बार्दलीबारे लेख्नुस् न’ भनेर प्रेरित गरे । कुरो आयो गयो झैँ भयो । तथापि एउटा चुनौती भने मनभित्र कतै गढेर बसिरह्यो, जो बेला बेलामा सम्झनामा आइरहन्थ्यो । कृष्णले जिज्ञासु अर्जुनलाई आँ गरेर अनन्त ब्रह्माण्ड देखाइदिएका थिए । मलाई त बार्दली जस्तो सानो विषयमा लेख्ने सुझाब मात्र प्राप्त भएको हो । सुझाव दिने मित्रले त सायद अहिलेसम्म बिर्से पनि होलान् । 

म सानै हुँदाको कुरा हो । हामी केटाकेटीहरू बिहान अटालीमा जम्मा भएर घाम ताप्दै गफ गर्ने र दृश्यावलोकन गर्ने गर्थ्यौं । बार्दलीमा बार हुन्छ भने अटालीमा बार हुँदैन । तलतिर खुट्टाले छोइने गरी छानो हुने हुँदा अटालीबाट लडिने डर हुँदैन । अटालीलाई अट्टालिकाको सानो रूप मान्न सकिन्छ । शरद ऋतुमा दसैंको यामको बखतमा छुट्टाछुट्टै समूह बनाएर हजारौं हजार संख्याका मालचरीहरू कर्‍याङ कुरुङ आवाज गर्दै दक्षिणतिर गइरहेको दृश्यले अत्यन्तै मन्त्रमुग्ध हुन्थ्यौं हामी । हेमन्त ऋतुको बिहानीमा मधुरो घामको प्रभावले रातभरि शीतले लुछुप्प भिजेको गोठको छानोबाट बाफ उडेको दृश्य हेरेर म निकै पुलकित हुने गर्दथें ।

आजको सुखदायी बार्दली भोलिको दु:खमा परिणत हुन सक्दछ । बार्दली उचाल्ने र पछार्ने प्रकृयाको बिम्ब पनि हो । संसार बार्दलीमा पुग्न खोज्ने, पुगेपछि त्यहीँ अडिन खोज्ने, मन परेकोलाई तान्ने, मन नपरेकोलाई तलतिर धकेलिदिने र पुग्न नसक्नेले पुगेकालाई निन्दा गर्नेमा निमग्न छ । बार्दली सायद मनुष्य जीवनको अविरल कुरुक्षेत्र हो ।

शिशिर ऋतुको समय थियो । म अटालीमा बसिरहेको थिएँ । आमा कुनै अन्न डालीबाट खन्याएर बिस्कुन सुकाउँदै हुनुहुन्थ्यो । मैले हेर्दाहेर्दै एउटा चिलनी आएर नजिकैको वृक्षको हाँगामा बसी । ऊ एक तमासले एकोहोरो कराइरहेकी थिई । चुइँकक  हररर चुइँकक हररर । फेरि एउटा चिल वायु वेगले उडेर आयो र चिलनीसँग जोडियो । चिलनी भावातिरेकमा बोलिरहेकी थिई, ‘चुइँकक  चुइँकक चुइँकक चुइँकक।’ अनि चिल जताबाट आएको थियो उतैतिर सुस्त गतिमा उडेर गयो । चिलनी भने निकै फुर्तीसँग उडेर विपरीत दिशातिर गई । मैले आमालाई सोधें, ‘तिनीहरूले के गरेको त्यो ?’ आमाले भन्नुभयो, ‘माया गरेको । अब तिनका छोराछोरी हुन्छन् ।’ मलाई आश्चर्य लाग्यो । ‘बाले  त तपाईंलाई माया गरेको देख्दिन । अनि म कसरी जन्मे ?’ आमा हाँस्नुभयो । म नासमझको असहज प्रश्नमा आमाले दिएको सहज उत्तर र मन्द हाँसो कति सार्थक थियो भन्ने कुरा अहिले महसुस हुन्छ ।

अघि राजदरबार र राजकुलका सामन्तहरूका भवनमा गाईको आँखा जस्तै बान्कीका प्वाल भएका आँखीझ्याल राखिएको हुन्थ्यो । रानीहरू तिनै गवाक्षबाट बाहिरको दृश्य अवलोकन गर्थे । ‘इज्जतदार’ घरका महिलाहरूले बाहिरियासँग केही काम पर्‍यो भने  पर्दापछाडि बसेर  कुरा गर्थे । मेरो जन्म ठाउँको सुदिनको समयमा नेवार साहुहरूको पनि सुदिन चलिरहेको थियो । साहुहरू दिनभरि व्यापार गरेर धन आर्जन गर्थे । कोसँग कस्तो बोली, वचन र व्यवहार गर्ने भन्ने सम्बन्धमा उम्दा थिए उनीहरू । साहुनीहरू बार्दलीमा लुगा सुकाउने र बच्चाहरूलाई घाममा सेकाउने गर्थे । सुकिलो पहिरनका उनीहरू बार्दलीबाटै जात्रा हेर्थे । श्रम नगरेका र पेटभरि मिठो मसिनो खान पाएका सुकोमल र सुन्दर शरीरहरू  देखेर तल डबलीमा उभिएर जात्रा हेर्ने खस्रा अकिञ्चनहरू दङ्ग पर्थे । कोही देहाभिमानी नारीहरू तल उभिने दरिद्र नारीलाई हेरेर खितित्त उपहासको हाँसो हाँस्दथे । खुसामद गर्नेलाई भने ‘माथि  नै आऊ न सुन्तला खाएर जानू नि’ भनेर मायाले बोलाउने पनि गर्दथे उनीहरू । बार्दली वैभव, अभिमान र अहंकारयुक्त स्नेहको प्रतीक थियो । बार्दली माथि तान्ने मात्र नभई तल खसाल्ने अङ्कुशको प्रतीक पनि थियो । दिन बन्दा डबलीको मान्छे बार्दलीमा र दिन बिग्रंदा  बार्दलीको मान्छे डबलीमा पुग्ने प्रक्रिया त्यस बखतमा पनि थियो र अहिले पनि छ ।

 बार्दली र डबलीबिच सनातनदेखि नै घनिष्ठ साइनो रहिआएको छ । डबलीमा पीडा हुन्छ भने, बार्दलीमा उल्लास । डबलीमा  हल्ला हुन्छ भने बार्दलीमा सल्लाह । डबलीले आशाको नजरले बार्दलीतर्फ हेरिरहेको हुन्छ । बार्दलीले कहिले कसैलाई उचालेर आफूतिर तान्छ भने कहिले आफूसँगै भएको एक समयको प्यारो मित्रलाई पछारिने गरी डबलीमा खसालिदिन्छ । 

इन्द्रप्रस्थको वैभवशाली भवनले द्रौपदी जस्ती नारीरत्नलाई पनि अभिमानी बनायो । होसियार नहुने हो भने ऐश्वर्यमय बार्दलीले शालीनता र सदाचार बिर्साइदिन्छ । कृष्ण भनेपछि भुतुक्क भएर आँसुले अर्चना गर्ने द्रौपदीले दुर्योधनलाई भने उपहास गर्न पुगिन् । मानिस हेरेर व्यवहार गर्नमा कुशल र निपुण हुन्छ बार्दली । द्रौपदी बार्दलीमा बसिरहेकी थिइन् । तल दुर्योधन मय दानवले निर्माण गरेको कलात्मक छटा देखेर विस्मित थिए । द्रौपदीका वीर र यशस्वी  पतिहरूको आर्जन अपरिमित र अपार थियो । आनन्दका दिनमा को दु:खका दिन याद गरेर बस्छ ? सुखको सागरबाट कसले सम्भावित दु:ख र नियतिको हिसाबकिताब देख्छ ? तल बरा दुर्योधन पानीलाई जमिन जस्तो देखेर झम्लाङ्ग गर्दै लडे । पहिरेको धोती भिज्यो । उनी रुझेको बिरालो जस्तै कसैले देख्यो कि भनेर यताउता हेर्न थाले । 

बार्दली प्रेमको प्रतीक पनि हो । बार्दलीमा धनी बाबुकी छोरी उभिएकी हुन्छे प्रेमासक्त । तल डबलीमा एउटा गरिब युवक हुन्छ । युवती प्रेमपत्र फाल्छे डबलीमा । युवकले पढ्छ । रातको नीरवातामा युवतीले तल पटुका खसालिदिन्छे। युवक त्यही पटुका समातेर माथि आउँछ । अविवाहिता मात्र होइन, अतृप्त कामना बोकेकी विवाहिता युवती पनि व्यथित हृदय लिएर बार्दलीमा उभिएकी हुन सक्छे । सायद राजा भर्तृहरिकी अतृप्त रानी पिङ्गलाको दशा पनि त्यस्तै थियो ।

त्यो सारा दृश्य द्रौपदीले हेरिरहेकी थिइन् माथि बार्दलीबाट । त्यो परिस्थितिमा उनी चुप लागेर नदेखे झैँ गर्न सक्थिन् । अथवा  ‘देवरजी केही छैन’  भन्दै ओभानो धोती फेर्न दिई विनयशील नारीले झैँ मिश्री घोलिएका दुई शब्द बोल्न सक्थिन् । अथवा त्यो गर्न मन नलागे नि:शब्द तिरस्कार गर्न सकिन्थ्यो । परन्तु अहङ्कारको बार्दलीले आफ्नो रूप देखाइहाल्यो । उनको मुखबाट सहसा ‘अन्धाको पुत्र अन्धो’  भन्ने तीन शब्द फुस्केर दुर्योधनको कानमा ठोकिन पुगे ।  द्रौपदीको सर्वाङ्ग सुन्दर देह देखेर दुर्योधनका आँखा विचलित भए भने विषालु वाण झैँ तिखा शब्दहरू सुनेर कान विचलित भए । दुर्योधनले प्रतिज्ञा गरे , ‘एक दिन यो अभिमानी द्रौपदीलाई भरिभराउ सभामा नाङ्गै बनाउनेछु ।’ द्रौपदी अनुशासित, निर्भीक र हक्की थिइन् । दिव्यजन्मा बुद्धिमान द्रौपदीलाई आफ्नो अनर्गल कुवाच्यप्रति तुरुन्तै पश्चात्ताप पनि नभएको होइन । परन्तु अहङ्कारको बार्दलीले विचलित गराइसकेको थियो । ऐश्वर्यको अभिमानमा भ्रष्ट भएर चिलाएको छुच्चो जिब्रोले अनुचित र असहनीय शब्दावाण प्रहार गरिसकेको थियो । 

बार्दली घाम ताप्ने, लुगा सुकाउने र तेल घस्ने ठाउँ मात्र होइन । कहिलेकाहीँ यो वैभव र दम्भको प्रतीक बनिदिन्छ । बार्दलीले सदाचारी मानिसलाई कदचारमा प्रेरित गर्न सक्दछ । स्वाभिमानलाई अभिमानमा बदल्न सक्दछ । एकको बार्दली देखेर अर्को विस्मयमा पर्न सक्छ । ईर्ष्याले भनक्क रिंगटा लागाइदिन सक्दछ । बार्दलीविहीनको मनमा बार्दली आसीनलाई तल डबलीमा थेचार्ने इच्छा जाग्न सक्दछ । एउटा नेता अर्को नेता बार्दलीमा उभिएको देखेर विचलित हुन सक्दछ । एउटा व्यापारीको विलासमय बार्दली देखेर अर्को व्यापारीले आफूलाई होचो महसुस गर्न सक्दछ । आजको सुखदायी बार्दली भोलिको दु:खमा परिणत हुन सक्दछ । बार्दली उचाल्ने र पछार्ने प्रकृयाको बिम्ब पनि हो । संसार बार्दलीमा पुग्न खोज्ने, पुगेपछि त्यहीँ अडिन खोज्ने, मन परेकोलाई तान्ने, मन नपरेकोलाई तलतिर धकेलिदिने र पुग्न नसक्नेले पुगेकालाई निन्दा गर्नेमा निमग्न छ । बार्दली सायद मनुष्य जीवनको अविरल कुरुक्षेत्र हो । बार्दली बोल्दछ, ‘म न्याय हुँ, म न्यायाधीश हुँ र मै अनन्त हुँ ।’  परन्तु जति सफल हुँदै गए पनि, जति ठूलो पदमा पुगे पनि र जति नै वैभव आर्जन गरे पनि क्षितिजसम्मको दुरी त उत्ति नै हुँदोरहेछ ।

 मुगलकालीन हिन्दुस्तानमा बादशाह अकबरले माथि बुर्जाबाट ‘झरोखा दर्शन’  को चलन चलाएका थिए रे । बादशाह महलको बुर्जामा आएर दर्शनाभिलाषी अधिकारी गण, व्यापारी, सन्त, महन्त, सर्वसाधारण प्रजा र विदेशीलाई बडो उदारतापूर्वक दर्शन दिन्थे । बादशाहको त्यो अनुकम्पाबाट भावविभोर भएका मानिसहरू कृतज्ञताका आँसु झार्दै त्यसरी नै शिर निहुराएर बाहिर निस्कन्थे रे जसरी एउटा धर्मभीरू शिवभक्त बाबा पशुपतिनाथको दर्शन पाएर धन्य धन्य हुँदै फर्कन्छ । राणाकालीन नेपाल बार्दली प्रथाको उच्चतम रूप थियो । चन्द्र शमशेरले सिंहदरबार निर्माण गरेपछि त बार्दली संस्कृति झनै समुन्नत भयो । तल पटाङ्गिनीमा जङ्गी, निजामती, व्यापारी, सन्त, महन्त, मुद्दा हालेका, मुद्दा लागेका, केही निगाह हुन्छ कि भनी आशा गर्ने रैती र फरियादीहरूको भिड लाग्थ्यो । 

श्री ३ महाराजबाट उपस्थितहरूप्रति बडो करुणा राख्दै कौशीमा सवारी भएर दर्शन बक्स हुन्थ्यो  । उनी त्यहीँबाट गुनासा सुन्थे,  मुद्दा छिन्थे र इस्तिहार जारी गर्थे । चलाख राणाहरूले को आयो को आएन भनेर मसिनो गरी ख्याल गर्ने हुँदा झुक्याउने गुन्जायस थिएन । बरा भोकले ग्रस्त निजामतीहरू चाकरी सकेर जाडोले सिउसिउ गर्दै राति अबेर घर पुग्थे । निजामती भरे साँझ घर पुग्दा केटाकेटी सुतिसकेका हुन्थे भने बिहान निस्कँदा सुतेकै हुन्थे । निजामतीले त आफ्ना बालबच्चा चिन्थे, तर बरा बालबच्चाले बाबु चिन्दैनथे । बडो मजबुरीमा थियो जिन्दगी । बार्दली र भुइँफुट्टाबिचको सम्बन्ध प्रकान्तरले अहिले पनि उस्तै छ । फरक यत्ति छ, उस बखतको भेटघाटलाई चाकरी भनिन्थ्यो, अहिलेको चाकरीलाई भेटघाट भनिन्छ । 

अनाहकको मान्छे अट्टालिकामा चढेपछि अत्तालिन्छ रे । अट्टालिका अर्थात बार्दली उच्चताको प्रतीक हो । उच्चता अहङ्कारको जननी हो । अनि अहंकार सर्वेसर्वा प्रवृत्तिको जननी । बुर्जामा पुग्ने बित्तिकै कम्युनिस्ट पनि बुर्जुवामा परिणत हुन्छ । कामरेडी ‘सर्वजन हिताय’ को भावनालाई  कामनाको अग्निले भस्म पार्छ । हिजोसम्मको प्रिय कामरेड आज कुलीन जस्तो प्रतीत हुन्छ । कामरेडको कामरेडी पारा तिरोहित भएर राजोचित पारा देखिन थाल्छ । बार्दलीले कसैलाई कम र कसैलाई अधिक प्रेम गर्न उक्साउँछ । त्यो अनुपम  आरोहणले साधारण मानिसलाई असाधारण तुल्याउँछ । असाधारणताको अहम् भावले आफैलाई बुद्धिमान र शक्तिशाली भएको महसुस गराउँछ । त्यस्तो आत्ममुग्धतामा मनुष्य कसैलाई कम र कसैलाई अधिक प्रेम गर्न थाल्दछ ।  परन्तु दुर्भाग्यवश अधिक प्रेम अन्धो हुन्छ । त्यसैले होला भारतीय कवि सूर्यकान्त त्रिपाठी निराला भन्छन्, ‘अट्टालिका नहीं है रे ! आतंक-भवन !’ 

बार्दली प्रेमको प्रतीक पनि हो । बार्दलीमा धनी बाबुकी छोरी उभिएकी हुन्छे प्रेमासक्त । तल डबलीमा एउटा गरिब युवक हुन्छ । युवती प्रेमपत्र फाल्छे डबलीमा । युवकले पढ्छ । रातको नीरवातामा युवतीले तल पटुका खसालिदिन्छे। युवक त्यही पटुका समातेर माथि आउँछ । अविवाहिता मात्र होइन, अतृप्त कामना बोकेकी विवाहिता युवती पनि व्यथित हृदय लिएर बार्दलीमा उभिएकी हुन सक्छे । सायद राजा भर्तृहरिकी अतृप्त रानी पिङ्गलाको दशा पनि त्यस्तै थियो ।

बाहिरबाट देख्दा लोभलाग्दो बार्दली आफैमा भयंकर पीडादायी हुनसक्छ । बार्दलीमा पुग्नु कामनाको अन्त्य होइन, आरम्भ हो । डबलीमा बस्ने मानिस बार्दली देखेर लालायित हुन्छ । बार्दलीबाट अपेक्षित खुसी पाउन नसकेको मान्छेलाई डबली प्यारो लाग्न थाल्छ । डबलीमा रोज्ने स्वतन्त्रता प्राप्त छ । डबली तुलनात्मक रूपमा लोकतान्त्रिक पनि छ । डबली दयालु हुन्छ भने बार्दली निर्दयी । ठूला कहलिएका नामुद मान्छे पनि बार्दलीको थप्पड पाएर मर्माहत हुन्छन् । दुर्योधन र भर्तृहरि बार्दलीबाट पीडित ठूला मान्छे हुन् ।  

कतिपय आधुनिक मानिसहरू पनि आफ्ना अनुयायीहरूलाई बार्दलीबाट दर्शन दिन्छन् र बार्दलीबाटै सम्बोधन गर्छन् । यस प्रवृत्तिको बडो अर्थ छ । ‘यी हेर म कति उच्च छु’ को भावना । बार्दली विजय उत्सव मनाउने थलो मात्र होइन । यो पराजयलाई शक्तिमा मा बदल्ने शीतल मलम पनि हो । ‘ल हेर म अझै पनि शिखरमा छु ।’ मान्छेलाई पख पख भनेर थुम्थुम्याउन पनि सहायक हुन्छ बार्दली । बार्दली दासत्व स्वीकार गरेर वरिपरि झुम्मिनेहरूका लागि मधुर आश्वासन हो । बार्दलीले आफ्नो शक्तिको प्रभावमा कसैको नियतिको धारा बदल्ने प्रयास गर्न समेत बाँकी राख्दैन । बार्दली सम्बन्धको संयोजक पनि हो र वियोजक पनि । बार्दलीको दुनियाँमा सम्बन्धको पनि आयु हुन्छ । 

प्रतिक्रिया