१९ जेठ २०५८ को दरवार हत्याकाण्ड पछि माओवादी द्वन्द उत्कर्षमा पुगेका बेला राजाको प्रत्यक्ष नियन्त्रणमा रहेको शाही सेनाले प्रधानमन्त्रीको आदेश नमानेपछि एउटा रोचक घटना हुनपुग्यो।
सेनाले आफ्नो आदेश अवज्ञा गरेपछि तनावमा परेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त्यसको जानकारी गराउने उदेश्यले राजाको ‘दर्शन’ गर्न साँझ नारायणहिटी राजदरबार पुगे।
तर प्रधानमन्त्री कोइरालाको अपेक्षा विपरित राजाले ‘यु सुड रिजाइन पि एम’ भनेपछि रन्थनिँदै बालुवाटार फर्किएका कोइरालाले भोलिपल्टै प्रधानमन्त्रीबाट राजीनामा दिए। राजाले आफ्नो अपमान हुनेगरी दिएको आदेशका शब्द शब्दले कोइरालाको मनमा परेड खेल्न थाले। अनि त उनी मनमनै अर्कै बिषयमाथि मन्थन गर्न थाले। केही अगाडि देखि गणतन्त्रको विषयमा सोच्दै गरेका कोइरालाका लागि अब राजसंस्था विदा गरेर गणतन्त्रमा जम्प गर्ने 'टर्निङ प्वाइन्ट' पो बन्न पुग्यो राजाको आदेश।
कोइरालाको राजीनामा पछि दोस्रो पटक प्रधानमन्त्री बन्न पुगेका शेरबहादुर देउवालाई १ वर्ष २ महिन १० दिनपछि राजा ज्ञानेन्द्रले अक्षम भन्दै प्रधानमन्त्रीबाट घोक्रेठ्याक लगाइदिए।
त्यसपछि पूर्व पञ्च नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएसँगै राजनीतिक दलहरुको विरोध प्रदर्शन पनि सुरु भयो । विरोध चर्किन थालेपछि २३७ दिन पछि लोकेन्द्रबहादुर चन्दलाई पदच्युत गरी राजाले महापञ्च नेता सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । सूर्यबहादुर प्रधानमन्त्री हुँदा पनि दलहरुले आन्दोलन रोक्ने छाँट देखिएन, विरोध प्रदर्शनहरु जारी नै रहे।
काठमाडौंका बागबजार, पुतलीसडक, न्युरोड, रत्नपार्क केन्द्रित आन्दोलन एउटा नियमित दैनिकी जस्तै बनेको थियो ।
२०६० साल चैत्र २० गतेको आन्दोलन भने अघिल्ला दिनहरु भन्दा फरक हुन पुग्यो । बागबजारबाट जुलुश सुरु हुन लाग्दा आयोजक दलका एक नेताले फोनमा जानकारी दिँदै गर्दा मैले भनेँ ‘जुलुशै मात्र त सँधै भइरहेको छ नि, आज केही फरक छ र ?’
ज्वाफमा उनले भने ‘पद्मोदय चोकमा पुगिराख्नुुुस्, आज केही न केही हुन्छ किनकी आज देखि आन्दोलन अर्को चरणमा प्रवेश गर्दैैछ।’
त्यसपछि म हतार हतार पद्मोदय चोक पुग्दा नपुग्दै नेताहरुको नेतृत्वमा जुलुश पनि पुगेको मात्रै के थियो, सशस्त्र र जनपदका प्रहरी मिलेर ‘नेता न सेता’ भन्दै लाठी वर्षाउन थालिहाले । पद्मोदय चोकबाट माथि पुतलीसडक र प्रदर्शनी मार्ग छिनभर मै रणमैदानमा परिणत भइहाल्यो । केही नेताहरुको टाउको फुट्यो । ढाड, पाखुरा, पिँडुलाहरुमा पुलिसको लौरोको सुम्लो बसेपछि कार्यकर्ताहरुले बचाएर भगाएको दृश्य सम्झँदा हिजै हो कि जस्तो लागे पनि यो दृश्यको साक्षी बनेर फोटोहरु खिचेको दुई दशक भएछ ।
आफू पनि भाग्दै, बच्दै गर्दा सबै नेताहरुको फोटोहरु खिच्न त सकिएन तर फोटोमा देखिएका प्राय सबै मन्त्री, एक जना प्रधानमन्त्री र एक जना त भर्खरै राष्ट्रपति पनि बन्न भ्याइसकेका छन् । देश र जनता, स्वतन्त्रता र गणतन्त्रका लागि लडेका हुन् भने उनीहरुले राज्यबाट पाउनु पर्ने मात्र होइन भन्नै पर्दा धेरै नै पाए भन्दा पक्कै पनि फरक पर्दैन। तर पदमा पुग्ने बित्तिकै यो लाठी किन खाएको थिएँ भन्ने कुराहरु बिर्सन थाले उनीहरुले । बरु उल्टै बिचौलियाको मतियार बन्दै 'सिस्टम' नै बिगार्न थाले।
फोटो खिचेको दुई दशक र गणतन्त्र आएको पनि डेढ दशक भइसकेछ । दुई दशकको समय अल्छे, चोर फटाहा, बिचौलियाहरुका लागि केही नहुन पनि सक्छ तर केही गरेर देखाउनेका लागि भने यो समय मनग्गे हो । यो डेढ-दुई दशकमा नेताहरुले देश र जनताको नाम बेचेर जे जति पद र सुविधा प्राप्त गरे त्यस अनुसार सम्झन लायक के गरे त ? भनेर प्रश्न गर्न अवश्य पनि पाइन्छ होला ।
जे होस् यी फोटोहरुले नेताहरुलाई ती संघर्षका दिनहरु सम्झाइ दिन सकोस् । के का लागि लडिएको थियो ? के गर्न खोजिएको थियो र के गरिँदै छ ? उनीहरुलाई एक पटक ‘फ्ल्यास ब्याक’ हुन्थ्यो कि भनेर यो फोटो प्रकाशित गरिएको हो।
निदाएको मान्छे ब्यूँझाउन सकिन्छ तर निदाएको स्वाँग गर्नेलाई ब्यूझाउन कठिन छ भन्ने भनाई नै छ।
प्रतिक्रिया