हरेक युग फरक हुन्छ। हरेक युगमा हुने घटनाहरु फरक हुन्छन्। तर इतिहासका हरेक कालखण्डमा मानव चरित्रलाई अभिप्रेरित गर्ने कतिपय पक्षमा समानता हुन्छ। महत्वाकांक्षा, डर, प्रतिशोध र सुरक्षा जस्ता भावनाबाट परिचालित हुनु मान्छेको नैसर्गिक स्वभाव हो।
एउटा मान्छेले आफू जस्तै अर्को मान्छेको हत्या कसरी गर्न सक्छ? मान्छेलाई पागलपनको यो हदमा पुर्याउन या डर, वा सम्मान अथवा स्वार्थजन्य भावनाको भूमिका हुन्छ।
इतिहास वर्तमानको पाठ्यक्रम पढ्ने कखराको प्रारम्भ हो। इतिहास यस पृथ्वीको हरेक खण्डमा आफ्नो समयमा बाँचेका मान्छेको जीवनसँग गाँसिएको मुद्दा पनि हो। तर कुनैपनि सभ्यताका मान्छेले पढ्दै आएको इतिहास केवल तत्कालीन शक्तिशालीहरुको गाथा गायनमा सीमित छ। इतिहासले आम मान्छेको भावना र चाहना, आवेग र उच्छ्वासको कदर गर्दैन।
बिक्रम संवत २०३० को पछिल्लो दशकमा यो पंक्तिकार आफ्नो शिक्षा यात्राको प्राथमिक तहमा थियो। आफ्ना सहपाठीहरुसँगै उसले घोक्नु पथ्र्याे, पृथ्वीनारायण शाहको जन्म यतिबेला भएको थियो, उनले नेपाल खाल्डो यति सालमा बिजय गरेका थिए, आदि ईत्यादि! त्यो घोकेर जाँच नदिए अर्को कक्षामा उक्लिन सम्भव थिएन। आज यो पंक्तिकारको उमेरले आधा शताब्दी नाघिसक्यो। तर उसले यो ज्ञानको आफ्नो दैनिक जीवनमा उपयोग गर्ने मौका आजसम्म पाएको छैन। के अर्थ यो इतिहासको?
वैकल्पिक इतिहासले मान्छेलाई धेरै कुरा सिकाउँछ। बाबुराम आचार्यको “अब यस्तो कहिल्यै नहोस” उदाहरण हो। तर मान्छेले इतिहासबाट सिकेको उदाहरण छैन। मान्छेले इतिहासबाट सिकेको एउटा निर्विवाद अनुभव यो हो कि, उ इतिहासबाट कहिल्यै सिक्दैन।
हिटलरको नाजीवाद भनौं वा मुसोलिनीको फाँसीवाद, यसको अन्तर्य तानाशाही नै हो। आर्थिक अनिश्चितता, स्थापित संस्था प्रतिको अविश्वास र अवसरमा असमानता यस्ता सामाजिक नैराश्य हुन्, जसले तानाशाहीको परिकार पकाउन ईन्धनको काम गर्छन्।
नेपाली इतिहासको कुरा गर्दा भीमसेन थापा र जंगबहादुरको उदय यस्तै परिस्थितिमा भएको हो। स्थापित सत्ता पहिले स्वार्थी र अविवेकी हुन्छ, त्यसपछि कमजोर। शासक र शासित बीचको दूरी त्यसपछि तानाशाहले नाप्छन्। सात सालको नेपाली क्रान्ति आफैंमा एउटा उदाहरण हो। नेपाली रैतीलाई नागरिक बनाउन बीपी कोइरालाले गरेको आन्दोलन ०१५ सालसम्म भयानक संक्रमणको शिकार भयो।
छिमेकी भारतमा उदाएको नयाँ सत्ताको ध्येय हिमालयको फेदसम्म आफ्नो सुरक्षा क्षेत्र कायम गर्नु थियो। मोहनदास गान्धीले भारतको आन्तरिक कुन कारणले हो, सरदार बल्लभ भाई पटेललाई “इण्डिया” को पहिलो प्रधानमन्त्री हुनबाट बञ्चित गरे। अन्यथा, पटेलले हैदरावादमा जस्तै नेपालमा पनि भारतीय सेना हुल्ने निश्चित जस्तै थियो। तर जवाहरलाल नेहरु भारतको पहिलो प्रधानमन्त्री भए। उनको र बीपी कोइरालाको रसायन मिलेको मात्र होईन, कोइरालाले भारतीय स्वाधीनतामा पुर्याएको योगदानका खातिर पनि नेहरुको हात बाँधिएको थियो।
नेपाली सार्वभौमसत्तालाई राजसंस्थाले जोगाएको दावी गर्ने विद्वानहरुले इतिहासको निरपेक्ष विश्लेषण गर्नु जरुरी छ।
शिकारी ब्वाँसाहरु
तानाशाहहरु रातको अँध्यारोमा शिकार गर्न निस्केका ब्वाँसा जस्तै हुन्। उनीहरुमा गजबको धैर्य हुन्छ। ०१५ सालमा दुईतिहाई बहुमत ल्याएर नेपालका प्रथम जननिर्वाचित कार्यकारी प्रमुख बीपी कोईरालाले सामन्ती र बिर्ता प्रथा उन्मूलन, राजा रजौटाको नाममा रहेको जंगलको राष्ट्रियकरण गर्न थालेका के थिए, तत्कालीन राजा महेन्द्रले प्रतिनिधित्व गरेको शक्ति आत्तियो।
नेपाललाई विश्व मानचित्रमा सानै तर सम्प्रभू राष्ट्रको हैसियत दिन चीन र ईजरायलसँग हात बढाउने बीपी कोइराला नेहरुका लागि अप्रीतिकर हुनु स्वाभाविक थियो। नेहरु र महेन्द्रको स्वार्थ मिल्यो।
सात सालमा भारतले नेपालको प्रजातान्त्रिक आन्दोलनको अपहरण गरेर हठात् राणा र राजासँगको सम्झौतामा टुङ्ग्याएको थियो। त्यो सम्झौतामा नेपाली कांग्रेसलाई फड्के किनाराको साक्षी बनाउनुमा नेहरुको आफ्नै स्वार्थ थियो। महेन्द्रले १० बर्ष कुरेर नेहरुसँग मिलेर ०१७ सालमा नेपालमा तानाशाही लादे। यो दश बर्षमा तुलसी गिरी र विश्वबन्धु थापा जस्ता अवसरवादीलाई गुलियो चटाए। बीपीलाई बिश्वासमा लिन महारानी रत्नको भान्साको विशेष पाहुना बनाए। यस्तो हुन्छ तानाशाहको धैर्य।
नेपालीमा जहाँको त्यहीं पुग्नुको अवस्थालाई दर्शाउने एउटा उखान छ–“घुम्दैफिर्दै रुम्जाटार।”
अंग्रेजीमा यसको समभावी कथन हुन्छ, “ब्याक टू द स्क्वायर वान!” यो पंक्तिकारका समकालीनहरुले लूँडो खेलेका होलान्। लूँडो खेलेपछि पल्टाएको अर्को पाटोमा आउँछ सर्प सिँढीको खेल। डाईस हान्दै एकबाट उनान्सय पुग्यो, सर्पले स्वात्तै निलिदिन्छ। फर्केर फेरी एकमा। ठ्याक्कै यस्तै छ अहिले नेपालको अवस्था। एक र उनान्सयको बीचमा के के मात्रै भएन नेपालमा?
धेरै टाढा नजाउँ। एकछिन नेपाली क्यालेन्डरको सत्तरीको दशकलाई हेरौं। दशकको शुरुमै सय वर्षपछि आउने भनेको भूँईचालो आयो। मान्छे घर भित्रै पस्न त्राहीमाम भयो। दशकको अन्त्यतिर कोभिड १९ महाब्याधी आयो। मान्छे घर बाहिर निस्कनै फेरि त्राहिमाम। यसबीचमा भारतले नेपाली संविधान यस्तो हुनु हुँदैन भनेर नाकाबन्दी लगायो। संविधान आयो। तराईमा आगो लाग्यो। सरकारको गोली खाएर पचास मधेशीले ज्यान गुमाए। मधेससँग “झुक्नु हुन्न” भन्ने पहाडिया राष्ट्रवादीको नेतृत्व त्यो बेला नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले गरे। हुन त त्यो बेला प्रधानमन्त्री नेपाली कांग्रेसका सुशील कोइराला थिए, तर राज्य संचालनमा उनको छन्द छनक कतै नभेटिएको उदेकलाग्दो अवस्था थियो त्यो। त्यो भन्दा अघि प्रधानन्यायाधीश खिलराज रेग्मीको स्वार्थको द्वन्दयुक्त शासनकाल बिर्सने हो भने इतिहासकै अपमान हुन्छ।
लामिछानेको फोहोर
यी सबै ऐतिहासिक घटना परिघटनाका छालले बगाएको फोहोर अहिले रवि लामिछानेको नाममा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी नामको पोखरीको आहालमा जम्मा भएर राष्ट्रिय प्रदूषण फैलाउँदैछ। यो समय युवाको हो रे! हास्यास्पद तर्क हो यो। यो समय स्वास लिने हरेक नागरिक को हो।
कर्कश आवाजमा ढ्वांग फुक्ने जो कोही नेता हो भने रत्नपार्कमा रुख चढेर अनर्गल बोल्ने मुकुन्दे पनि नेता हो। यु ट्युबमा बेला कुबेला बेहोस भएको नाटक गर्ने पुण्य गौतम झन् ठूलो नेता हो।
यो पुस्ताले नानीमैंया दाहाललाई चिनेको छैन। पंचायतकालीन दुर्दान्त मण्डले जोगमेहर श्रेष्ठलाई चुनौति दिएर उनीभन्दा बढी भोटले राष्ट्रिय पंचायत सदस्य हुने नानीमैंया र रवि लामिछानेको चमत्कारमा खासै अन्तर छैन। अन्तर यो हो कि नानीमैंया दाहाललाई सुधारिएको पंचायती व्यवस्थाको मजाक उडाउन जनता, अझ कांग्रेसी जमातले ख्याल ख्यालमा उठाएको थियो। उनले राष्ट्रिय पंचायतको सभामा गएर व्यवस्थाको बेईज्जत गरिन्। रवि लामिछाने पनि नानीमैंयाकै अर्को रुप हुन्। नानीमैंया अशिक्षित थिईन्। रवि अर्ध शिक्षित।
रवि मात्र होईन, काठमाडौं महानगरका भुईं नदेख्ने साइबर मेयर बालेन साह र राप्रपाका मेगाफोन ज्ञानेन्द्र शाही समेत यसै कोटीका अर्ध शिक्षित नयाँ पुस्ताका भिडिओ गेमका पात्रहरु हुन्। यो पुस्तालाई वाक स्वतन्त्रताको मूल्य थाहा छैन। सरकारको बिरोधमा, त्यो पनि धारामा पिउने पानी आएन भनेर समाचार लेख्दा समेत अखबारको दर्ता खारेज हुने पंचायतकालीन जमानाको कुनै अनुभव छैन। अभिव्यक्ति स्वतन्त्रताका लागि स्नातकहरुले नयाँ सडकमा जुत्ता पालिस गरेर सांकेतिक आन्दोलन गरेको कुरा यिनीहरु सपनामा पनि सोच्न सक्दैनन्। अघिल्लो पुस्ताले लडेर ल्याएको स्वतन्त्रता यिनका लागि सित्तैमा पाएको आईस्क्रीम हो। बिना संघर्ष सित्तैमा पाएको प्रजातन्त्र सस्तो भएको छ नयाँ पुस्तालाई। त्यसैले गति छाडेर बोल्न यिनलाई संकोच छैन।
व्यक्ति रवि लामिछाने वा अरु कोही जो सुकै होस्, यिनीहरु पानीका भुल्का हुन्। आज छन्, भोली हुँदैनन्। तर यिनको बुई चढेर आएको प्रवृत्ति खतरनाक छ। व्यक्तिलाई लाग्न सक्छ, सबै मैले एक्लै गरेको हुँ। उसको पछाडि जुन शक्ति लागेको छ, त्यसले उसको उपादेयता सकिएपछि कसरी रछ्यानमा फालिदिन्छ? यसको हेक्का छैन नयाँ पुस्तालाई। “भ्रष्ट सिस्टम” भत्काउन आएका रवि आफैं त्यो “सिष्टम” को शिकार भैसके। तर नेपालमा प्रजातन्त्रको आवरणमा तानाशाही लादेर दलाल पूँजीवादीको थैली भर्ने गिरोहले उनलाई अहिले नै त्यसै छोड्ने छैन।
रवि लामिछाने चम्किला भ्रम हुन्। उनका समर्थक बल्छीको आहारा निल्न हिँडेका जलचर। फाँसीवादको यात्रामा हिँडेकालाई आफ्नो पतनको तमसुकमा हस्ताक्षर गर्ने अधिकार छ।
प्रतिक्रिया