चिन्तन मनन

पहिचानको जालोमा अल्झिएको जीवन

-रमेश नाथ बास्तोला

पहिचान, के हो पहिचान? हामी केमा अल्झिरहेका छौं? हाम्रो बुझाई शाश्वत हो या भ्रम? 

साधारणतया हाम्रो पहिचान वर्तमान अवस्थालाई लिएर नै हुने गर्दछ। भौतिक पहिचान गर्भावस्थाबाट नै शुरु हुने गरेको छ, जस्तै: फलानाको पेटमा गर्भ बसे छ। त्यसपछि फलानोको नयाँ शिशु जन्मेछ (छोरा या छोरी) र बाबुआमा, हजुरबुबा हजुरआमा लगायत अन्य ब्यक्ति बिशेषसँग साइनो जोडेर अलग अलग पहिचान बन्न थाल्द छ। तत्पश्चात स्कुलसँग (पढाइ नगरेको भए अन्य पहिचान बन्ला), कक्षासँग परिचय गाँसिन पुग्छ। स्कुल पछि कलेज/विश्वविद्यालय, डिग्री, जागिर, पद, वैवाहिक सम्बन्ध आदिसँग पनि पहिचान जोडिँदै जान्छ र पुराना परिचयहरु बिरानो या भनौ अप्रासंगीक हुँदै जाने गरेको पाइन्छ। 

हामी अलिअलि बुझ्न थाल्ने भएपछि हाम्रा परिवारले हामीलाई अर्को पहिचानको छाप लगाइदिन थाल्छन्, जस्तोः कुल, जात, वर्ण, स्थान, क्षेत्र, धर्म, सम्प्रदाय, देश आदि। यो पहिचानलाई परिवारले जसरी बुझेको हुन्छ त्यसरी नै कलिलो मस्तिष्कमा अमीट छाप बस्ने गरि स्थापित गराइदिएको हुन्छ र पछिको कालखण्डमा समाज र देशलाई तिनीहरुबाट सोही अनुरुपको फल प्राप्त हुन थाल्दछ। कतै सरल, सहज र सन्तुलित व्यवहार देखिन्छ भने कतै रिस, राग, द्वेष, घृणा र शत्रुताको व्यवहार झल्किन थाल्दछ। यसैलाई हामी संस्कार भन्छौं र हामीमा जुन रुपको संस्कार भरिएको हुन्छ त्यस्तै प्रकारको व्यवहार प्रतिबिम्बित हुने गरेको पाइन्छ। 

यही कुरालाई कतिले बुझ्दै गएर शान्त, सौम्य, सभ्य र एकीकृत समाज निर्माण गर्दै गएका छन् भने कतिले बुझ्न नसकेर, नचाहेर, बुझाउने मान्छे नभएर आपसी तनाव सिर्जना गरि हिंसाबाट बिनास निम्त्याएका पनि छन्। 

अब आध्यात्मिक चिन्तन अनुसार पनि पहिचान बारे छोटो चर्चा गरौं। जीवनचक्रलाई दुई प्रकारले हेर्ने गरेको पाइन्छ। प्रथम बिचारमा आत्मा अनन्त छ, शरीरले मात्र चोला फेरिरहन्छ। जस अनुसार हामी विभिन्न जीवको रुपमा ब्रह्माण्डमा सधैं विचरण गरिरहेका हुन्छौं भने दोस्रो विचारमा हाम्रो जीवन एकपटकको हो, यसपछि कुनै अस्तित्व छैन÷हुँदैन र सदाको लागि समाप्त हुन्छ।

पहिलो अवस्थालाई यदि मान्ने हो भने आत्मा अनन्त छ, अमर छ, अकाट्य छ, निर्मल छ र कृयाबिहीन भएर साक्षीभावमा मात्र बस्छ। यो हरेक जन्ममा नयाँ शरीरमा बास गर्छ र त्यो शरीर हरेक जन्ममा त्यही परिवार, कुल, जात, समाज, क्षेत्र, देश आदिमा सीमित रहँदैन। अझ सम्भवतः अन्य जीव, बनस्पती आदिमा पनि रहन सक्छ भन्ने मान्यता रहेको पाइन्छ। हामीले हालको परिवेशमा बुझ्ने गरेको सत्य चैं “वर्तमान अवस्थाको” नै हो र हामीलाई वर्तमानको मात्र अस्तित्ववोध भइरहेको हुन्छ। न हामीलाई बिगत (जन्म) को बारेमा प्रामाणिक ज्ञान छ न भविष्यको बारेमा यकिनका साथ केही भन्न सक्ने अवस्थामा नै छौं। तसर्थ हामीले हाम्रो वर्तमानलाई नै सुधार गर्दै जाने हो र यसैमा सन्तुष्टि लिन प्रयास गर्ने हो। यसमा दुवै पक्ष भौतिक र आध्यात्मिक दुवैलाई आत्मसात गर्न सक्छौं। 

दोस्रो अवस्था भनेको एकपटकको जीवन हो, यो समाप्त भएपछि सबैकुरा सकियो। यसबाट पनि के शिक्षा लिन सक्छौं भने जे गर्नुछ वर्तमानमै गरौं र आफ्नो जीवनकाल सार्थक बनाउँ। 

ज्ञान असीमित छ। हामीले आफ्नो अवस्था, अनुभव, अध्ययन, साधना, सत्सङ्ग आदिबाट जे जान्दछौं वर्तमानमा त्यसलाई नै सत्य मानेर चल्ने गर्छौं र कालान्तरमा हाम्रो बुझाइ फरक पर्दै गएर पुनः परिष्कृत सोच बन्दै जाँदा पनि त्यसलाई स्वाभाविक रुपमा ग्रहण गर्ने गरेका छौं।

माथि चर्चा गरिएका बिषयमा कुनै पूर्वाग्रह नराखी सोच्ने हो भने हामीले पहिचानको कुरालाई धेरै गिजोलेर कतै आपसमा रिस, राग, वैमनश्य, घृणा, आक्रोश र हिंसालाई बढावा दिँदै आफु र आफ्नो समाजलाई नै अशान्त त बनाउँदै लगेका छैनौं? हाम्रो गन्तव्य के हो? बिगत जन्मको बारेमा हामीमा नभएको ज्ञानलाई भ्रमित बनाएर हाम्रो वर्तमान र भविष्यका सन्ततिको भौतिक एवं मानसिक बिकासमा बाधा त उत्पन्न गर्दै छैनौं? 

वैज्ञानिक पुष्ट्याईं अनुसार पनि अर्बौं बर्षको यस पृथ्वीमा हामीले मान्ने गरेको पहिचान कति अटल र शाश्वत छ? समुद्रमा पानीको फोका जस्तो मानव जीवनमा हामी कुन पहिचानलाई चै शाश्वत मान्छौ? के को लागि तनाव लिन्छौं? 

अन्ततोगत्वा हाम्रो जीवनमा कर्म गर्न सक्ने अवस्था भनेको “वर्तमान” मा मात्र हो र यसैलाई सदुपयोग÷दुरुपयोग गरेर भावी पुस्तालाई फल भोग्न छाडिदिन्छौं। तसर्थ सोचौं, मनन गरौं र तनाव कम गर्दै वाँचौं र वाँच्न दिऔं।

जीवनलाई यो दृष्टिकोणले पनि मनन गरेर हामी आफुमा केही परिवर्तन ल्याउन सक्छौं कि भन्ने आशयले यो लेख प्रस्तुत गरिएको हो। बाँकी पाठकको विवेकमा!

अस्तु!

(लेखक बास्तोला नेपाल सडक बोर्डका पूर्व कार्यकारी निर्देशक हुन्। उनले ३५ हजार फिटको उचाईमा उडिरहेका बेला लेखेका हुन् यो टिप्पणी।) 
 

प्रतिक्रिया