म पनि कालीगण्डकीको छोरो हुँ

आमाले बर्कोमा पोको पारेको कुटुरो बोक्नुभयो । त्यस बखत झोला हुँदैनथ्यो । यात्रामा जाँदा आवश्यक पर्ने सामान पुरुषले रुमाल या धोतीमा र महिलाले पछ्यौरी या बर्कोमा बोक्ने चलन थियो । थोरै सामान भए कुटुरो हुन्थ्यो, धेरै भए कुम्लो । आमा र म मावल जान भनेर निस्क्यौं । म अलि बुझ्ने भएपछिको पहिलो मावली यात्रा थियो त्यो । मैले ठाउँका नामहरू सोध्दै गएँ, आमा भन्दै जानुभयो । कण्ठीपोखरा, पानीदोबाटो, कुइनेटो, देउराली र  ढाबखर्क कटेपछि लघुवाको फाँट सुरु भयो ।  फाँटमा जमाले, ठाँटी, ढकालको पसल र खुटलामपछि हामी एउटा कुइनेटोमा पुग्यौं । त्यहाँ आमाले कुटुरो भूमिमा बिसाउनुभयो र पूर्वोत्तर फर्केर हात जोड्नुभयो । आमाले नमस्कार मुद्रामा उभिंदै भन्नुभयो, ‘ऊ हेर् गन्नई ।’  त्यहाँबाट तल केही टाढा पहाडको खोंचमा कालीगण्डकीको सानो भाग देखिँदोरहेछ । आमाले प्रार्थना गर्नुभयो, ‘हे माता कालीगङ्गा ! सबैको रक्षा गर ।’  फेरि मतिर हेर्दै भन्नुभयो, ‘काली गङ्गालाई नमस्कार गर् । उनी हामी सबैकी आमा हुन् ।’  कहीँ पानी पनि आमा हुन्छ रु म अलमलमा परें । पछि पो थाहा हुँदै गयो, हाम्रो संस्कृतिमा नदी, देश र जन्मभूमि पनि माता हुन् । जननी र जन्मभूमि स्वर्गभन्दा पनि गरिमामय हुन्छन् ।
 
हामी फेरि अघि बढ्दै गयौं । मानिसहरूको आवतजावत भइरहेको थियो । रित्ता ढाकर बोकेर नुन लिन बुटवलतिर जाँदै गरेका ससाना केटाहरू रमाउँदै दौडिरहेका थिए । किन्तु बुटवलबाट कुरुप्प भारी बोकेर फर्केका केटाहरू भने थकित र गम्भीर देखिन्थे । परिस्थिति र भाग्यलाई स्वीकार गरेका उनीहरूको मुहारमा भयानक अस्तित्ववाद प्रकट भइरहेको प्रतीत हुन्थ्यो ।  बटुवाहरू कोही हामीलाई उछिनेर अगाडि जान्थे भने कोहीलाई उछिनेर हामी अगाडि जान्थ्यौं । आँपगैरो कटेपछि ओरालो सुरु भयो । बाटो फराकिलो र ढुङ्गाले छापेको  सुविधाजनक नै थियो । छापिएका ढुङ्गाहरू सेता र चिल्ला थिए । गरुङ्गा भारी बोकेका ढाक्रेहरूको शरीरबाट झरेको पसिना,  थुक र सिंगानले  चिप्ला बनेका  थिए ढुङ्गाहरू । बाटोभन्दा तल चट्टान खोपेर बनाइएका कुलाहरू थिए, अर्गेलीको फाँटका  प्राणवायु  । दुम्की पुग्ने बेलामा आमा र म दुबैजना बाटाको कुनातिर लाग्यौं । तलतिर हेर्‍यो कि रिंगटा लाग्ने । आमाले भन्नुभयो, ‘तलतिर नहेर् है ! रिङाउछ । यो त नानी पल्टाउने भिर हो ।’ मेरो ज्यान सिरिङ्ग भयो ।

पराई घरको कडा बुहार्तन र प्रताडनाले विह्वल भई धोती काँधमा हालेर कालीमा फाल हाल्ने इरादाले दगुर्दै रिडी पुगेकी युवती गण्डकीको प्रवाह देखेर ठिङ्ग उभिन्थिन रे । अनेक झन्झट झेल्दै त्यहाँसम्म आइपुगेकी कालीलाई नियालेर हेर्दै ती युवती सोचमग्न हुन्थिन् रे । यी आमा पनि त अनेक कन्दरामा कहिले फाल हाल्दै , कहिले ठेलिंदै , कहिले ठेल्दै र कहिले फनफनी घुम्दै आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छिन् ।  जीवन सरल रेखामा चल्ने भए त यी कालीगङ्गाको जीवन पनि सरलै रेखामा चल्दोहो । अनी ती रमणी काली झैँ फनक्क फर्केर पतिको घरमा गई संघर्ष गर्दै कालान्तरमा त्यही घरकी स्वामिनी हुन्थिन् रे । त्यसैले त गण्डकीको सेरोफेरोका मानिसहरू भन्ने गर्दछन्, ‘हे नारी तिमी काली समान छौ !  हिम्मतमा पनि, हैकममा पनि र हित्तचित्तमा पनि ।’  

 हामी थोरैबेर दुम्कीको चौपारीमा सुस्तायौं । त्यहाँबाट लगभग बिस मिनेट ओरोलो झरेपछि साँचा पुगिन्थ्यो । सायद कुलाको पानी वितरण गर्ने साँचो राखिएको ठाउँ भएको हुँदा साँचा भनिएको होला । दुम्कीको चौपारीको अगाडि सानो दुम्को थियो । दिसापिसाब गर्नेहरू त्यही दुम्काको आड लागेर हलुङ्गा हुन्थे । हामी साँचा पुग्यौं । आमाले भन्नुभयो , ‘अप्ठेरो बाटो सकियो । अब तेर्सै तेर्सै एक घडी हिँडेपछि अर्गेलीको बजार सकिन्छ । आमाले महाराज जुद्ध शमशेरको दरबार देखाइदिनुभयो । आमाले बुझेका जुद्ध शमशेर राजपाट त्याग गरी राजर्षि बनेर पाल्पा आई कालीगङ्गाको आश्रयमा बस्ने आदर्श तपस्वी थिए । 

पछि म अलि हुर्केपछिको कुरा हो । माघे संक्रान्ति नुहाएर फर्कने यात्रीरू साँचाको चौपारीमा बसेर उकालो लाग्ने उपक्रम गर्दै थिए । उस बखतका ग्रामीणहरू ख्यालठट्टा गर्न विछट्टै सिपालु । अरुभन्दा अलिक हुनेखाने हैसियत भएका एकजनाले भने, ‘कसैले यहाँबाट दुम्कीसम्मको उकालो बिस मिनेटमा पार गर्न सक्छ भने म पचास रुपियाँ दिनेछु ।’ चुनौती ठूलो थियो र प्रस्तावित गरिएको पुरस्कार आकर्षक । त्यो समूहमा दस-बाह्रजना अधबैंसे र पाका मानिस थिए । केहीबेर त सन्नाटा नै छायो । एकजना गफाडी बुढाले फुर्ती लाउँदै भने ‘आफू त जैरे पचास रुप्पेको लोभले  बुर्कुसी मारिन्न ।’  तर त्यति बोल्दासम्म उनले र्‍याल चुहाएको प्रस्टै देखिन्थ्यो । ज्यानले साथ नदिए पनि बुढाको बोल्ने जिब्रो टाठो थियो । 

फेरि अधबैंसेहरूले मुखामुख गरे । वास्तवमा सवाल हिम्मतको थिएन । सवाल त एउटा बोको किन्न पुग्ने रकमको थियो । उनीहरूबिच आफूले हिम्मत देखाउन नभ्याउँदै अर्को खडा हुने हो कि भन्ने आतुरीको भाव देखिन्थ्यो । त्यहीबिचमा एकजनाले जुरुक्क उठेर घोषणा गरे, ‘म पन्ध्र मिनेटमा पुग्छु ।’ अर्को एकजना अघिल्लो पाइलो माथि दुम्कीमा गएर बसे । उनलाई धावक ठीक कति बजे चौपारीमा पुग्छन् भनेर घडी हेर्ने काम सुम्पिएको थियो । हिम्मती धावक साँचाबाट हिँडे । उनी बाह्र मिनेटमा माथि पुगेछन् । शरीर सबै पसिनाले भिज्यो । धेरै बेरसम्म दम बढेर फत्र्याक फत्र्याक भए । शरीरमा पानी कम भएछ । ‘पानी पानी’  भन्न थाले । नजिकमा कुनै जलासय थिएन । धावकले तत्काल पचास रुपियाँ पुरस्कार त पाए, तर उनी कत्ति पनि खुसी हुन सकेनन् । उनको मुखबाट शब्द फुट्यो,’मेरा बाबै ! धन्न ज्यान गएन ।’ धावकले कान समाते । 

अर्गेलीको तेर्सो बाटो सकिने बित्तिकै हामी सत्यवतीतिर ओरालो लाग्यौं । स्थानीय लबजमा सत्यौदी भनिने त्यो  समथर ठाउँमा एउटा सानो ताल र मन्दिर थियो । सायद सत्यौदी नाम भीमसेन थापाकी माता सत्यरूपासित सम्बन्धित छ । त्यहीँबाट तानसेनतर्फ लाग्ने अर्को बाटो छुट्टिन्छ । फेरि हामी गोमुखे धारा, पहेँली पौवा, सत्यश्वरको मन्दिर र आँपको बगैंचा हुँदै भगवान हृषिकेशवको मन्दिरभन्दा तल कालीगण्डकी र रिडीखोलाको सङ्गममा पुग्यौं । नजिकैबाट कालीगण्डकीलाई देखेर म रोमाञ्चित भएको थिएँ । कहिल्यै घुंडासम्म आउने जलराशी नदेखेको म विशाल गण्डकीको सामना गर्न डराइरहेको थिएँ । आमाले भन्नुभयो, ‘हिँड् अब गङ्गाजीको जलले हातमुख धुन जाम् ।’  म भयभीत थिएँ । मेरो चेतनाले त्यो जलप्रवाहलाई विश्वकै सबैभन्दा विशाल ठान्यो । आमाले मलाई डोर्‍याएर गण्डकीको जलसम्म लैजानुभयो । हातमुख धोइदिनुभयो र नदीमा नथुक्न सावधान गराउनुभयो । पूर्वबाट पश्चिम आएर फेरि फनक्क घुम्दै पूर्वैतिर फर्केकी गण्डकीको दृश्य वर्णनातीत थियो । अहिले त्यही ठाउँमा पाल्पा, गुल्मी र स्याङ्जा जोड्ने तीनजिल्ले पुल बनेको छ । 

फेरि हामी मावलका लागि प्रस्थान गर्‍यौं । रिडी खोलाको पुल तरेपछि पाल्पा सकिएर गुल्मी सुरु भयो । रिडी बजार हुँदै हामी लामा चौपारी पुग्यौं । चौपारी धेरै रमाइलो थियो ।  त्यहाँ दुईजना बटुकहरूको व्रतबन्ध  भइरहेको रहेछ । गुरुले शिष्यहरूलाई गोप्य मन्त्रदानपछिको खुला दीक्षादान गरिरहेका । ‘केही सिक्नु छ भने आलस्य, भय र लोभलाई आफ्नो मनबाट बाहिर निकालिदेऊ वत्स  । देशको प्रहरीले प्रजाको जिउ र धनको रक्षा गर्छ । पठित विद्वानले प्रजाको चरित्रको रक्षा गर्नुपर्छ ।अधिक प्रेम र आसक्तिले दृष्टिलाई दोषी बनाइदिन्छ । मृत्युका बखत कोही कसैको साथमा हुँदैन । खाली हात आयौं, खाली हात जानुपर्छ ।’ त्यो व्रतबन्धमा  गुमनाम गुरुले गुमनाम  चेलालाई दिएको महादीक्षा अझै मेरो मानसपटलमा ताजै छ । यस्तै गुमनाम सदाचारीले नै त समाजलाई धानेर राखेका हुन्छन् ।  

चौपारीदेखि अघि बढ्नासाथ आमाका परिचित मानिसहरू भेटिन थाले । विष्णुपञ्जरबाट थोरै पूर्व पुगेपछि हामी गण्डकीमाथिको भिरमा प्रवेश गर्‍यौं । बाटो साह्रै निम्छोरो । मेरा खुट्टा काँप्न थाले । लडियो भने सीधै गङ्गाजल खाने बाहेक अर्को उपाय थिएन । आमाले भन्नुभयो, ‘नडरा नडरा ! तँभन्दा सानी हुँदा गुरुरुरु दौडेकी थिएँ म यो बाटोमा । यो भिरबाटो हो । एक दुई पाली हिँडेपछि बानी पर्छ ।’ तालखोलो तरेर हामी ब्वाको फाँटमा पुग्यौं । त्यहाँ एकजना माइजु भेटिनुभयो । उहाँले आफ्नो लागि गहुँको रोटी अरनी  ल्याउनुभएको रहेछ । बाँडेर खाँदै उकालो लाग्यौं । 

सिख्रेको वनमा पुगेपछि आमाले तीन-चारपल्ट ‘आखुम आखुम’  गर्नुभयो । ‘यहाँ कीरो लाग्छ । अलि अघिसम्म यहाँ किरो बल्झाउने बाघखोर थियो ।’ म डरले थरथर हुन थालेंछु । आमाले भन्नुभयो, ‘मान्छे खान पल्केको बाघ मात्र मार्न आउँछ । सुधो बाघले लुरुलुरु आफ्नो बाटोमा हिँड्नेलाई केही गर्दैन ।’  मावल पुग्ने बेलामा झन उकालो रहेछ । आमा अब मेरो माइतीघर आइपुग्यो भन्दै उज्याली हुनुभयो । म भने थकाइले भुतुक्क हुँदै अँध्यारो भएँ । मैले ठाडो उकालोको आलोचना गरें । आमा गम्भीर हुनुभयो । ‘उकालो भए के नि । तेरो सम्पत्ति खाएका छैनन् केरे ।’  माइतीको कुकुर प्यारो भन्थे । तर यहाँ त ढुङ्गो, माटो, उकाली र ओराली पनि प्यारो देखियो । पछिसम्म पनि मैले आमालाई चिढ्याउन मन लाग्यो भने दिल्लगीमा भन्ने गर्थें  ‘हाम्रो मावलको अरु कुरा त ठिकै हो, तर बाटो भने साह्रै उकालो ।’ 

हामी खस्यौलीबाट हिँडेको करिब छ घन्टामा उज्यालोमै कोलौदी पुग्यौं । ओल्लो डाँडो ग्वादी , पल्लो कोलौदी । मावलमा एक्लो राजकुमारले झैँ माया र महत्व पाउने मेरो अभिलाषामा आँगन टेक्दा नटेक्दै तुषारापात भयो । दलानभरि सानिमाका छोराछोरीहरू खेलिरहेका । म पनि त्यही हुलहालमा मिसिएँ । 

एकजना व्यक्तिलाई  समाजले कुनै आरोप लगायो । उसले केही उपायले पनि आफ्नो निर्दोषिताको  प्रमाण दिन सकेन । ऊ लाचार भएर कालीगण्डकीतिर फर्केर अश्रुपूरित नेत्रले हेर्‍यो र बोल्यो, ‘ठिकै छ मेरो कुरोमा विश्वास गरेनौ । परन्तु सावधान ! म पनि कालीगङ्गाको छोरो हुँ !’ त्यो घोषणाले उपस्थित जनसमूहमा सन्नाटा छायो । सबै उठे र उसलाई अङ्कमाल गरे । कालीगण्डकीप्रतिको त्यो निष्ठा अनिर्वचनीय थियो । 

मनुष्यको मात्र होइन, भूमिको पनि सौभाग्य र दुर्भाग्य हुँदोरहेछ । कुनै समयमा लगातार झण्डै तीन शताब्दीसम्म पाल्पा राज्यको राजधानी थियो मेरो खस्यौली र सेरोफेरो । कालीगङ्गा सेन राजाहरूकी आस्थाकी केन्द्र । दामोदर कुण्डमा जन्मेकी काली लामो फन्को मार्दै रिडी आइपुगेपछि पूर्वतिर लाग्छिन् । राजा मुकुन्दसेन प्रथमले रुरुक्षेत्रमा हृषिकेशव र खस्यौलीसँग मितेरी गाँस्दै उभिएको अर्को डाँडामा कालभैरवको स्थापना गरेका थिए । सेन राजाहरुकी आस्थाकी केन्द्र देवी भगवती अहिले परित्यक्त अवस्थामा सिरुपातेमा छिन् । उनै राजा मुकुन्द सेनले छोरी विश्रवा देवीलाई पर्वते राजा प्रतापी नारायण मल्लसँग विवाह गरेर बिदा गर्दा सँगै पठाएकी भगवती भने बागलुङमा निकै प्रसिद्ध भएर बसेकी छन् ।  

सप्तगण्डकीमध्ये  सर्वाधिक पवित्र ठानिएकी कालीगण्डकीको किनारमा धेरै बस्ती र घाटहरू छन्  ।कागबेनी, जोमसोम, मार्फा, टुकुचे, गलेश्वर, बेनी, बाग्लुङ, कुश्मा, फलेवास, पूर्तीघाट, सेतीबेनी, मिर्मी, रुद्रबेनी, रिडी, चापाकोट, रामपुर डेढगाउँ र देवघाट कालीगण्डकी किनारका प्रमुख तीर्थ र  बस्तीहरू हुन् । कालीगण्डकी शालिकराम पाइने विश्वकै एक मात्र नदी हो । जो कालीको समीपमा बस्छ या शरणमा जान्छ, त्यसको अवश्य कल्याण हुन्छ भन्ने लोकमान्यता छ । कविसम्राट लेखनाथको शब्दमा, ‘योग्य स्थानबिसे मान सानाले पनि पाउँछ, कृष्णाको तटको ढुङ्गो देवता कहलाउँछ ।’ 

पराई घरको कडा बुहार्तन र प्रताडनाले विह्वल भई धोती काँधमा हालेर कालीमा फाल हाल्ने इरादाले दगुर्दै रिडी पुगेकी युवती गण्डकीको प्रवाह देखेर ठिङ्ग उभिन्थिन रे । अनेक झन्झट झेल्दै त्यहाँसम्म आइपुगेकी कालीलाई नियालेर हेर्दै ती युवती सोचमग्न हुन्थिन् रे । यी आमा पनि त अनेक कन्दरामा कहिले फाल हाल्दै , कहिले ठेलिंदै , कहिले ठेल्दै र कहिले फनफनी घुम्दै आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छिन् ।  जीवन सरल रेखामा चल्ने भए त यी कालीगङ्गाको जीवन पनि सरलै रेखामा चल्दोहो । अनी ती रमणी काली झैँ फनक्क फर्केर पतिको घरमा गई संघर्ष गर्दै कालान्तरमा त्यही घरकी स्वामिनी हुन्थिन् रे । त्यसैले त गण्डकीको सेरोफेरोका मानिसहरू भन्ने गर्दछन्, ‘हे नारी तिमी काली समान छौ !  हिम्मतमा पनि, हैकममा पनि र हित्तचित्तमा पनि ।’  

कालीमा लास पोल्छन् । दिसापिसाब बगाउँछन् । थुक, पसिना र कलुषले भरिपूर्ण मैलो शरीर पखालेर आफू सफा हुन्छन् । मरेको पशुको सिनो फाल्छन् ।  कोही बगेर र कोही डुबेर मर्छन् । परन्तु माता कालीगङ्गाले ती सबैलाई पवित्र पार्छिन । उनी सहेर जित्छिन । हे दिदीबहिनीहरू हो ! मलाई हेर र संघर्ष एवं कर्ममार्गमा सरिक होऊ । म कृष्णाले तिम्रा सारा अज्ञान र अपवित्रतालाई प्रक्षालन गरिदिनेछु । यस्तै प्रकारले उता कुरुक्षेत्रमा कृष्णले अर्जुनलाई भनेका थिए ‘अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः।’

खस्यौलीदेखि रिडीसम्म थुप्रै चौपारी र पाटीपौवाहरू थिए । आफ्ना पूर्वजले चिनेका चौपारीहरूको सम्भार र हेरचाह गर्ने कर्तव्य सन्ततिले पूरा गर्थे । चौपारी र पौवाहरू दानकर्ताका नामबाट चिनिने हुँदा तिनको मर्मत र सञ्चालन गर्ने सन्ततिलाई गौरवको अनुभूति पनि हुन्थ्यो । वर र पिपलका बिच धुमधामले विवाह गरिदिने चलन थियो । वर दुलहा, पिपल दुलही । कसैको देहावसान भएको घर परिवारले वैशाख महिनाभरि चौपारीमा बसेर बटुवाहरूलाई खुदेपानी र सातु खुवाउँथे । लघुवामा थुप्रै थकाल्नीका पसल थिए । ढाक्रे, लाहुरे र बटुवाहरूलाई खाने बस्ने सुविधा थियो । तानसेनको मोटरले लघुवाका व्यापारीहरू विस्थापित गरिदियो । घरहरू त्यसै पाताल  भएर गए ।

हिउँदमा रिडीको बगरमा थुप्रै छाप्राहरू खडा हुन्थे । हिन्दुस्तानबाट आएका जोगीहरूको अपार भिड लाग्थ्यो । मुढा बालेर त्यसैको भरमा बगरमा रात काट्थे जोगीहरू । कालीगण्डकी किनार अर्धजल ल्याएका अन्तिम अवस्थाका विरामी लगायत स्नान गर्न र हृषिकेशवको दर्शन गर्न आउने भक्तजनहरूको भिडले भरिभराउ हुन्थ्यो । बाइस्कोप देखाउने बङ्गालीहरू, बाँदर नाच, भालुनाच र विभिन्न किसिमका खेलखाल हुन्थे त्यो बगरमा  । गुड,  बिस्कुट, चक्लेट, कुइँचा, मिस्री, गडी र छोहारा बेच्ने ससाना पसलेहरू चिच्याइरहेका हुन्थे । सत्सङ्ग गर्नेदेखि घाटे वैद्यहरू, विधवाहरू, परित्यक्ताहरू, भत्केकाहरू , बिग्रेकाहरू , आपतीहरू, बापतीहरू, कुष्टरोगीहरू, भगोडाहरू , कथित पापीहरू र मिथ्या आरोपबाट  पीडितहरू सबैको आश्रयस्थल थियो रुरुक्षेत्र ।  त्यो पवित्र भूमिमा सबै बराबर, सबै पुण्यात्मा र सबै मोक्षका अधिकारी थिए । यस्ता कुरामा तर्क कमजोर हुन्छ । विश्वास बलवान । 

माघ महिनाको तीन दिनसम्म चल्ने जेठी, माहिली र कान्छी संक्रान्तिमा ठूलो बजार लाग्थ्यो बगरभरि । नदीमा स्नान गरेर हृषिकेशव भगवानको दर्शन गरेपछि बगरमै बसेर ढकनी या रोटी जे ल्याएको खाना खाएर तिर्थालुहरू पर्यटकमा परिणत हुन्थे ।  ठेका, काम्ला, माटाका घैला, हाँडी, नाम्ला, दाम्ला, गाग्री, जिम्मु , गुड, जरीबुटी, हुक्का, करुवा र बाग्लुङ्गे नलीका छुट्टाछुट्टै बजारहरू गुल्जार हुन्थे । रिडीको रमझम, संस्कृतिको संगम एवं बजारको रौनक देखेर कर्णालीका रत्न रत्नाकर देवकोटाले एकपटक भनेका थिए रे, ‘हामीलाई त रिडी पुग्दा मधेस पुगे जस्तो लाग्छ ।’

किशोर वायमै पहिलोपटक लास बोकेर रिडी जाने अवस्था पर्‍यो । रातिको बेला थियो । कालीगङ्गाको एकोहोरो सुसाइबिच चिताको पिलपिले आगो देख्दा ज्यानै सिरिङ्ग भयो । नजिक गएर क्रमशः खरानी हुँदै गएको पार्थिव शरीर हेर्ने हिम्मत नै गर्न सकिन । एक्कासी एकजना पाका मान्छेले ‘लौ आओ है सबैजना ! सलो पखाल्ने बेला भयो ।’ भने ।  मेरो शरीरका सबै रोमहरू ठाडा भए । मुटु ढुक्क भयो । गण्डकीको चिसो पानी थुप्रै अञ्जलीले आगोको थुप्रोमा समवेत फाल्दा झ्वाइँ झ्वाइँ गरेको आवाज आयो । सेलाएपछि सबै खरानी सोहोरेर जलमा मिसाएपछि एउटा सकिएको जीवनको निर्जीव हाड र मासुको अवशेष पनि अनन्तमा विलीन भयो । हजारौं लाखौं असल र खराब, विद्वान र  मूर्ख, कथित उपल्लो जात र तल्लो जात, दानी र कृपण, वैभवशाली र अकिञ्चन एवं महिला र पुरुष सबका सब यसैगरी जलेर विलीन भए यिनै आमाको काखमा । जो यी कालीगङ्गाको किनारमा जल्ने अवसर पाए, ती सबै तरेर ब्रह्मलीन भए रे । यो एक निरन्तर चल्दै आएको जनविश्वास हो । यहाँ तर्कको प्रयोजन छैन ।

ओरालो बाटोमा लास बोकेर हिँड्नु जस्तो दुस्खको काम यो जगतमा अर्को के होला रु जुत्ता चप्पल लगाउन नियमले मिल्दैनथ्यो । लास लिएर जाँदा लासले तानेर छिटोछिटो हिडाउँछ रे । कोही पालैपालो लास बोक्न तोकिएका, कोही मलामीका चोखा लुगा बोक्ने जिम्मेवारी पाएका र कोही मइन्टोल,  दियालो या राँको जे उपलब्ध छ बोक्न तोकिएका  । सबै मलामीहरू चुपचाप दौडिरहेका हुन्थे । सद्गतको काम सकिएपछि यदि उमेर नपुगेको मानिसको मृत्यु भएको रहेछ भने सबै मलामीहरू नगरी नहुने कुरा मात्र घाटमै गरेर बाटाभरि चुपचाप हिँड्थे । तर उमेर पुगेको र सोझो मेलोको मृत्यु रहेछ भने मलाम पनि मनोरञ्जन बन्दथ्यो । बाटाभरि भूतका कथा, पोइल गएका र जोइल गएका कथा एवं अश्लील गानाले उकालो काटेको थाइ नहुने गराउँथे । जात्रा हेर्न जाँदा बिग्रेका, रिडी नुहाउन जान्छु भनेर उतै बगरमै बिग्रे बिगारेका, भक्तिनी बनेर तीर्थवास गर्न गएका विधवा या परित्यक्ताले शिशु जन्माएका र एउटाले बिगार गरेर अर्को कुनै कमजोरलाई हिल्ला लगाइदिएका कुरा । सती प्रथाको समयमा बलात् पोल्न लगिएका  युवतीका ‘मलाई नपोल, म बाँच्न चाहन्छु’  भन्दै गरेका विलापका इतिहासका कुरा । रिडी बजारमा बाढी आएका कुरा । बाघले मान्छे मारेका कुरा ।  बिर्घाको भयानक पहिरो जाँदाको कथानक र लाहुरेको हत्या, अनि  लुटपाटका कुरा । 

समयक्रममा एक दिन आमाको पार्थिव शरीर बोकेर कालीको शरणमा जाने दिन आयो । आमाको शरीर चितामाथि सुतिरहेको थियो । हमेसा  ‘गन्नई गन्नई’  भन्दै जीवन बिताएकी मेरी आमा अन्त्यमा तिनै आमाको शीतल काखमा पुग्नुभयो । मैले आमाको चरणमा अन्तिम प्रणाम गरेर कहिल्यै भेट नहुने गरी बिदा गरें । त्यो दिन मलाई पटक्कै डर लागेन ।  बरु सारा शरीरै पग्ले जस्तो भयो । गण्डकी एकोहोरो सुसाइरहिन् । आमाको  पार्थिव अस्तित्व जलिरह्यो । कताकता ‘जन्म दिने आमा गए पनि गण्डकी आमा छु नि’  भनेर कालीगङ्गाले ढाडस दिए जस्तो महसुस भयो ।  एउटा कोमल भावना, संस्कृतिले दिएको एउटा आश्वासन, एउटा मौन मलम, जो करुणामय र जिउनका लागि शक्तिदायक थियो । 

गण्डकी स्नान र हृषिकेशव भगवानको दर्शन गरेर धन्य हुने  दुब्ला पातला शरीरहरू छरिता र फुर्तिला हुन्थे । आफूलाई प्राप्त स्रोत, सम्पत्ति र  भाग्यसँग सन्धि गरेका उनीहरू सुखी नभए तापनि सन्तुष्ट थिए । उनीहरू स्वस्फूर्त धर्मभीरू थिए । कसैको करकाप थिएन । आपसमा झैझगडा पनि हुन्थे । साँध  सिमानाका, भाइभाइका ईर्ष्याका, बालबालिकाबाट हुने विजाइँका,  जात्रा र नाचगानका, लेनदनका, अंशबण्डाका , वैवाहिक विवाद र झन्झटका । परन्तु मर्दा पर्दा सबैले आपसी सहयोग र सद्भाव राख्थे । 

एकजना व्यक्तिलाई  समाजले कुनै आरोप लगायो । उसले केही उपायले पनि आफ्नो निर्दोषिताको  प्रमाण दिन सकेन । ऊ लाचार भएर कालीगण्डकीतिर फर्केर अश्रुपूरित नेत्रले हेर्‍यो र बोल्यो, ‘ठिकै छ मेरो कुरोमा विश्वास गरेनौ । परन्तु सावधान ! म पनि कालीगङ्गाको छोरो हुँ !’ त्यो घोषणाले उपस्थित जनसमूहमा सन्नाटा छायो । सबै उठे र उसलाई अङ्कमाल गरे । कालीगण्डकीप्रतिको त्यो निष्ठा अनिर्वचनीय थियो । 

श्रम र संस्कृतिप्रतिको लगाव अचम्मको हुँदोरहेछ । परिश्रमलाई दिनचर्या र रमाइलोको रूपमा लिनेलाई  थकाइ लाग्दैन रे । जीवनमा दु:ख पाइयो भनेर पिडा हुँदैन रे । भारी उचाल्न, कोदालो बन्चरो चलाउन, रनबन कुद्न र रुख चढ्न नसक्ने भएपछि पनि खाली बस्ने चलन थिएन । खाना पकाउने, बालबालिका खेलाउने, दाम्ला नाम्ला बाट्ने, बत्ती कात्ने, पात गाँस्ने,  करेसा बारीमा तिहुन तरकारी रोप्ने, बाछा पाडा एवं कुखुरा स्याहार्ने जस्ता काम वृद्धवृद्धाले धानिदिन्थे क्ष् त्यसले परिवारमा माया र मेलमिलापको वातावरण पैदा हुन्थ्यो । कर्मयोगको त्योभन्दा उम्दा उदाहरण अर्को के होला ? विजय पराजय, सफलता असफलता, सुख दुस्ख, धर्म अधर्म र स्वर्ग नरक त शब्द मात्र हुन् क्ष् जिन्दगीमा सबैले आआफ्नो हिस्साको सुख दुस्ख बेहोर्नै पर्छ । मुख्य कुरा त संस्कृतिप्रति सम्मान ,आपसी सहयोग एवं सद्भाव, जीवनप्रति आस्था र श्रमप्रति सम्मान नै रहेछ ।

 

प्रतिक्रिया