अनेकौं दु:शासन

नौ कक्षामा पढ्दाको कुरा हो । चैत्रको महिना थियो । म र एकजना अर्को साथी किताब किन्न तानसेनतिर जाँदै थियौं । घाम चर्कै थियो । हामी बाहुनडाँडाबाट बायाँतिर तेर्पाइँ लागेर पालु गणेशको भुईं मन्दिरलाई दाहिने पार्दै चिलाङ्दी धाराको पानी पिएर सामाकोट पुग्यौं । करिब एघार बजेको थियो । हामी केहीबेर सुस्ताउने बिचारले चौतारीमा बस्यौं । त्यही बखतमै पूर्वतिरबाट चारजना जगल्टेहरू आएर एउटा चिया पसलको पेटीमा बसे । तीमध्ये एउटा बढी नै ज्याद्रो देखिन्थ्यो । ज्याद्रोको आडभरोसमा अरु मुन्द्रेहरू तथानाम बोलिरहेका थिए । 

एउटा अर्कै युवक नास्पातीको रुखमुनि झोलाको सिरानी हालेर सुतिरहेको थियो । ज्याद्रोले  उसलाई ‘ओए ओए’  भनेर बोलायो । सुतेको मान्छेले वास्ता गरेन । ज्याद्रो फेरि करायो ‘ओए सुनिनस् मु....’ ज्याद्रोको कुवाच्य असहनीय थियो । मलाई लाग्यो, अब सुतेको युवक अवश्य उठ्नेछ । तर ऊ यथावत सुतिरह्यो । अरु छ-सातजना गाउँलेहरू दुकानभित्र चिया चुरोट तानेर बसिरहेका थिए । सायद ज्याद्रोले समाजको सामुन्ने आफ्नो अपमान भएको सम्झ्यो । उसले एकजना मुन्द्रेलाई आदेश दियो, ‘ए खाल्टे जा जा त्यसलाई दुई थप्पड हानेर आ ।’  खाल्टे खुरुक्क गयो र सुतेको मान्छेको गालामा एक झापड हान्यो । उसले अर्को झापड हान्न हात मात्र के उचालेको थियो, सुतेको युवकले झटपट उठेको हात च्याप्प समातेर  बटारिदियो ।  खाल्टे ‘ऐया नि बाब्बा’  भन्दै तिल्मिलायो । ‘गुहार चुल्ठे दाइ गुहार ! यसले मेरो हात मर्काइदियो ।’ ज्याद्रो चुल्ठे र उसका तीनजना साथी मिलेर युवकलाई घेरा हाले । ‘आज तेरो काल आयो बुझिस् !  ऊ पारी हेर् ! कालभैरवसँग  केही माग्नु छ भने प्राण छँदै मागिहाल् ।’  मानिसहरू सास रोकेर तमासा हेरिरहेका थिए । हामी दुबैजना डरले कुस्तुर भयौं । 

सुतुवा युवक हिम्मतिलो रहेछ । ‘ल छोएर मात्र देखा त ! तेरो बाउलाई तेरा झरेका बङ्गारा गन्ने गराइन भने म पाल्पाको पानी त के हावा पनि खाने छैन । म पनि भीमे हुँ भीमे ! तिमी  पिउसाहरूले मलाई के सम्झेका हँ  र?’ चुल्ठेले भीमेको नाम सुनेको रहेछ । ‘ल ल भइहाल्यो आफ्नै दाइ जस्तो मान्छे रहेछ । जा ए खाल्टे भीमेको खुट्टा समातेर माफी माग् !’  खाल्टे ल ल भन्दै अगाडि बढ्यो । उसले भीमेको गोडा समात्दै भन्यो, ‘माफ दे भीमे दाइ गल्ती भयो ।’ भीमे ल ल माफी भयो भन्दै खाल्टेका दुबै कान पोरक्क पारेर पश्चिमतिर लाग्यो । खाल्टेका कान रगत झर्ला झैँ राता भए । आँखाबाट आँसु झर्‍यो । खाल्टेले न आफ्नो आँट र बुद्धिले भीमेलाई हानेको थियो, न त स्वेच्छाले माफी नै मागेको थियो । ऊ  त केवल प्रयोग मात्र भएको थियो । गिरोह तितरबितर भएपछि चिया पसलको साहुले भनेको थियो, ‘थप्पड हान्न खटाउने चुल्ठे दुर्योधन हो । खटाउन उक्साउने शकुनि हो । केही नबोली चुपचाप दुर्योधनलाई साथ दिने कर्ण हो । थप्पड हान्ने र हानेकोमा खुट्टा ढोगेर माफी माग्ने दु:शासन हो ।’  

दु:शासन बडो मस्तीमा देखिन्छ । ऊ राम्रो पोशाकमा सजिएको हुन्छ । ऊ सानदार शारीरिक व्यक्तित्वको धनी छ । राजा धृतराष्ट्रको माइलो छोरो हो ऊ । दु:शासन युवराज दुर्योधनको प्रमुख सहयोगी एवं आठपहरिया हो । ऊ भविष्यको सम्भावित प्रधान अमात्य पनि हो । तर स्वत्व छैन । आफ्नो अस्तित्वमाथि आफ्नो प्रभुत्व छैन । ऊसँग देखिने केही पनि उसको हैन । उसको व्यक्तित्व उसकै स्वामित्वमा छैन । ऊ परनिर्भर, पराधीन र  पराजित छ । ऊ एक बन्दी हो । उसको आफ्नै जीवन उसको खटनमा छैन । होमा हो मिलाउँदै पछि लाग्नु उसको परम कर्तव्य हो ।  दुर्योधनका हरेक गलत कार्य र दुस्साहसको समर्थन गर्छ ऊ ।

 ज्येष्ठ भ्राता दुर्योधन हाँसे दु:शासन पनि हाँस्छ ।  दाइ रिसाए रिसाउँछ । दाइ दुस्खी भए दुस्खी हुन्छ । दाइले जहाँ जा भन्यो त्यहीँ जान्छ । जे खा भन्यो त्यही खान्छ । कसैलाई पिट् भन्यो पिटिदिन्छ । ऊ आफ्नो आँटले माखो मार्दैन । दुर्योधन, शकुनि, कर्ण र दु:शासनसमेत मिलेर बनेको दुष्ट चतुष्टय गठबन्धनको कनिष्ठ सदस्य हो ऊ । चारजनामध्ये अरु तीनजनाको कुनै न कुनै अभीष्ट छ । दुर्योधनलाई भविष्यमा हस्तिनापुरको राजा हुनु छ । शकुनि कुरुवंशको सर्वनाश गर्ने दीर्घकालीन लक्ष्यका साथ् देश छाडेर परदेशमा स्वेच्छिक निर्वासनमा बसेको छ । कर्णले दुर्योधनलाई जुनसुकै मूल्य चुकाएर अङ्गराज बनाएको ऋण चुकाउनु छ । सबैको स्वार्थ छ, तर दु:शासन रित्तो छ । ऊ फगत एक पछुवा हो । 

धेरै वर्षअघिको प्रसङ्ग हो । पञ्चायती व्यवस्थाको समयको कुरा । त्यसबखत चौध अञ्चलमा चौध अञ्चलाधीश हुन्थे । अञ्चलाधीश अत्यन्तै सुझबुझका साथ निर्माण गरिएको अञ्चलको अधिपति पद थियो । ऊ एक प्रकारले राजाको प्रतिनिधि हुन्थ्यो । म अञ्चलाधीशको कार्यालयमा कार्यरत रहँदाको समयको कुरा हो । शनिबारको दिन थियो । अञ्चलाधीशले तुरुन्त अफिसमा आउनु भनेर खबर पठाए । सक्दिन, भ्याउँदिन, आज बिदाको दिन हो भनेर उम्किने  गुन्जायस थिएन । म कार्यालयमा पुग्दा अरु तीनजना आइसकेका थिए । जीप स्टार्ट भयो । हामी सबै गाडी चढ्यौं । चालकले अञ्चलाधीशलाई पुलुक्क हेर्‍यो । अञ्चलाधीशले आदेशात्मक स्वरमा भने, ‘देउखुरी ।’  कच्चा सडक साँघुरो थियो । हामी हतारमा थियौं । किन्तु किन हतारमा छौं भन्ने कुरा एकजनाबाहेक कसैलाई थाहा थिएन । हाम्रो अगाडि एउटा बस थियो । जति नै हर्न बजाएर साइड माग्दा पनि बसले साइड दिइरहेको थिएन । साइड दिन मिल्ने एउटा ठाउँ कटेपछि अर्को ठाउँ भेट्टाउन एक डेढ किलोमीटर अगाडि जानुपर्थ्यो । अञ्चलाधीश रिसाइरहेका थिए । करिब बिस मिनेटपछि बल्ल बसले साइड दियो ।

ओभर टेक गरेपछि अञ्चलाधीशले बस रोक्न लगाए । उनले चालकलाई तल झर् भनेर आदेश दिए । चालक तल झर्‍यो । ऊ डराइरहेको थियो । भन्यो, ‘गल्ती भयो हजुर ।’ अञ्चलाधीशले बसको चालकलाई एक चड्कन दिए । त्यसैबिच हामीमध्येको एकजना अफिसरले बडो अगिसरा बनेर चालकको गालामा दुई थप्पड लगायो । चालकका ओठहरू चलबलाइरहेका थिए । आँखा क्रोधले जलिरहेका प्रतीत हुन्थे । उसले अञ्चलाधीश र अफिसरलाई खाउँला झैँ गरेर हेर्‍यो । परन्तु ऊ निस्सहाय र निरुपाय थियो । ऊ खुरुक्क बसमा चढेर टाढा क्षितिजतिर हेरिरह्यो । मलाई साथीको हर्कत देखेर साह्रै दिक्क लाग्यो । पछि मैले उसलाई खेद व्यक्त गर्दै भनेको थिएँ, ‘साहेवले त विवेक गुमाएर निरीह ड्राइभरलाई झापड हाने, तँ किन जान्ने भएको र?’  उसको सहज उत्तर थियो, ‘साहेवले किन हाने, त्यो उनै जानून् । मैले चाहिँ साहेवलाई खुसी गराउन हानेको हुँ ।’  हस्तिनापुरको दु:शासनलाई त कालान्तरमा भीमसेनले ठेगान लगाइदिएको थिए । परन्तु मेरो मित्र दुस्शासनको भने निरन्तर उन्नति हुँदै गयो । 

यहाँ निरीह, भोका, मूर्ख र लाचार दुर्योधनहरू उत्पादन गर्ने खेती हुन्छ । जे काम अह्राए पनि  ‘जो आज्ञा भ्राताश्री’  भनेर दगुर्न तयार सेवक चाहिएको छ यहाँ ।  एक इशारामा जम्मा हुने र चरणको धूलो शिरमा राख्न तम्तयार भक्तहरू भेटिने कान्तिपुरमा ठाडो बोल्ने चाणक्यको के काम ? सामाजिक सञ्जालमा हङ्गामा गर भन्दा गरिदिने, आगो बाल भन्दा बालिदिने, ढुङ्गा फाल भन्दा फालिदिने र अमुक व्यक्तिलाई गाली गर भन्दा गाली दिने आज्ञापालक कर्मीहरू पाएपछि के चाहियो ? दु:शासनले न इज्जत पाउनु छ, न यश पाउनु छ । स्वतन्त्रता छैन, आत्मिक गरिमा र महानता छैन । छ त केवल दुरुत्साहन र उक्साहट मात्र । दुर्भाग्यको योभन्दा मर्लान्त प्रहार के हुन्छ रु तैपनि हर्षले मदहोस छ दु:शासन । 

दु:शासन  दुर्योधनको साक्खै भाइ थियो । दुस्शासन मन्दबुद्धि बालक थिएन । असल सङ्गत र शिक्षा पाएको भए ऊ पनि विवेकी हुनसक्थ्यो । तर उसको हकमा अनुकूल वातावरण नै बन्न सकेन । उसले त आजन्म पाण्डवहरू आफ्ना परम शत्रु हुन् भन्ने मात्र बुझ्यो । ज्येष्ठ भ्राताप्रति पिता धृतराष्ट्रको अगाध प्रेम देखेको दुस्शासनले कलिलै उमेरदेखि सोच्यो होला, यदि पिताको अनुराग पाउनु छ भने भ्राताको सेवा गर । उसको बिचारमा दुर्योधन एक मर्यादा गर्न लायक आदर्श चरित्र थियो । हस्तिनापुरको दुर्योधन जे जस्तो मानिस भए तापनि उसको मार्गचित्र प्रस्ट थियो । उसले कहिल्यै पनि आफ्नो कुरा बदलेन ।  दुर्योधन दहीचिउरे नभएको हुँदा दु:शासनलाई सजिलो भयो । ऊ अवस्था अनुसार छेपाराले झैँ रङ्ग फेरिरहन वाध्य थिएन ।

किन्तु कान्तिपुरका दु:शासनहरूलाई साह्रै कठिन छ । कान्तिपुरका दु:शासनका ज्येष्ठ भ्राताहरू जब झगडा गर्छन्, दु:शासनहरूले आफ्नो भ्राताको योग्यता, ज्ञान र सुझबुझको महा बखान गर्छन् । फेरि भोलिपल्ट ज्येष्ठ भ्राताले हिजोको झगडियासँग गला मिलाउन जाँदा दु:शासनहरू प्रसन्न हुँदै यो मिलन झनै ऐतिहासिक बुद्धिमानी हो भनेर बखान गर्न थालिहाल्छन् । एकजना कान्तिपुरे  दु:शासन भन्दै थियो, ‘दु:शासन त बन्नु परोस्, तर कसैलाई पनि कान्तिपुरको दु:शासन बन्नु नपरोस् । सामाजिक सञ्जालमा लेख्दै मेट्दै गर्दा पनि हैरान भइयो । बेलामा बुद्धि पुगेन । अब त समय पनि घर्केर गयो । पापी पेटको सवाल छ । विवशता छ साथी विवशता !’ हस्तिनापुरको दु:शासन बरु आदेश या इशारामा मात्र हर्कतमा आउँथ्यो । यी दु:शासनहरू त ‘बडी ल्याङ्ग्वेज’  हेरेरै सबै कुरा बुझ्छन् । विप्लवकारी, अनियन्त्रित र दम्भी स्वभावका कतिपय  दु:शासनहरूलाई आफू दु:शासन बनेको हेक्का नै छैन । कतिपयलाई प्रशस्त हेक्का छ, किन्तु त्यसैमा खुसी छन् । उनीहरू आफ्नो ज्येष्ठ भ्राताको प्रत्येक गतिविधिको खुलेआम बचाउ र अभिनन्दन गर्नमै निमग्न छन् ।

राजकुमार दु:शासनको जन्म पनि अरु साधारण मनुष्य सरह नै भएको थियो । ऊ जन्मजात मन्दबुद्धि पनि थिएन । परन्तु ऊ गलत परिवारमा जन्मन पुग्यो । उसका नेत्रहीन पिता हमेसा आफ्नो दुर्भाग्यलाई निन्दा गरेरै समय बिताउँथे । आँखाका मात्र नभई विवेकका समेत दृष्टिविहीन उनी बालक छोराहरूको अगाडि नै निर्धक्क रोइरहन्थे । उता माता आँखामा पट्टी बाँधेर बसेकी थिइन् । दाजु दुर्योधनको छातीभित्र आगो थियो ।  जोस भयानक, किन्तु होसियारी शून्य । गुरुकुलमा पनि भाग्यले दु:शासनलाई नै ठग्यो । एकातर्फ ज्येष्ठ भ्राताको हर खुराफातमा साथ दिनुपर्थ्यो भने अर्कोतर्फ गुरु पनि पक्षपाती निस्के । त्यतिले नपुगेर कुलको विनाश गर्ने प्रतिज्ञा गरेको शकुनि जस्तो मामाको काख । बाल्यकालदेखि नै आत्मा गुमाएको विवेकहीन शरीर जस्तो थियो दु:शासन। 

चार यार सम्मिलित गिरोहको अब्बल सदस्य दुर्योधन थियो । ठूलो राज्यको हेपाइको चोट बोकेको सानो देशको राजा शकुनि दोयम थियो । कृतज्ञताको बोझले थिचिएको कर्ण सिम स्तरको थियो । कहिल्यै बर्सात नहुने र कुलो पनि नलाग्ने सुक्खाग्रस्त चाहार खेत जस्तो थियो बिचरो दु:शासन । दु:संग, दु:शील, परवस र पराधीन भएरै जीवन बिताउन लाचार मनुष्य थियो ऊ । उसलाई मातापिताले दिएको नाम सुशासन हो । परन्तु अनुशासनमा रहन नमान्ने, अशालीन स्वभाव, पाशविक प्रवृत्ति र खोक्रो अभिमानले गर्दा ऊ दु:शासनको नामले कुख्यात भयो । नियतिले उसलाई ख्यालख्यालमै निन्दित, विवेकहीन र मूर्ख बनाइदियो । एकसरो वस्त्रमा रहेकी रजोवती द्रौपदीलाई घिसार्दै सभाभवनमा लिएर आउने आदेश हुँदा दासले बरु प्रश्न उठाएको थियो । परन्तु दुर्भाग्य भनौं या मूर्खता या ज्ञानको अभाव, प्रश्नहीन र तर्कहीन दु:शासन भाउजूलाई लतार्दै भरी सभामा ल्याएर चीरहरण गर्न  खुसीसाथ राजी भयो । 
 यो निबन्ध लेख्दै गर्दा म एकजना वयोवृद्ध वञ्चित राजनीतिज्ञको भनाइ याद गरिरहेको छु । उनी भन्ने गर्दथे, दुस्शासन एउटा व्यक्ति मात्र होइन, प्रवृत्ति पनि हो । दु:शासन तत्कालीन हस्तिनापुरको अव्यवस्थाको प्रतिबिम्ब मात्र हो । मोहराको रूपमा उपयोग गर्न सजिलो प्रज्ञाहीन र प्रश्नहीन आज्ञापालक । तत्कालीन हस्तिनापुरमा एउटा मात्र दुस्शासन थियो । तर आजको कान्तिपुर त अनेकौं दु:शासनले भरिभराउ छ । 

अर्जुन कृष्णका परम भक्त थिए । तथापि उनी तर्क गर्थे, प्रश्न गर्दथे । किन्तु दु:शासन प्रवृत्ति प्रश्नरहित हुन्छ । आजको कान्तिपुरमा प्रश्न गर्नेलाई निस्केर जाने बाटो देखाइदिने चलन छ । यहाँ  कसैले अर्जुनले झैँ प्रश्न गर्न थाल्यो भने आँखाको कसिङ्गर हुन्छ । कसैले चाणक्यले झैँ अर्ती उपदेश दिन र नीतिका कुरा गर्न थाल्यो भने उसका लागि ढोका बन्द हुन्छ । कसैले महात्मा विदुरले झैँ कटु औषध दिन थाल्यो भने उसको पत्तासाफ हुन्छ । यहाँ सबैलाई प्रश्नहीन दु:शासन चाहिएको छ । यहाँ सबैलाई तर्कहीन दु:शासन प्रवृत्ति प्यारो छ । 

यहाँ निरीह, भोका, मूर्ख र लाचार दुर्योधनहरू उत्पादन गर्ने खेती हुन्छ । जे काम अह्राए पनि  ‘जो आज्ञा भ्राताश्री’  भनेर दगुर्न तयार सेवक चाहिएको छ यहाँ ।  एक इशारामा जम्मा हुने र चरणको धूलो शिरमा राख्न तम्तयार भक्तहरू भेटिने कान्तिपुरमा ठाडो बोल्ने चाणक्यको के काम ? सामाजिक सञ्जालमा हङ्गामा गर भन्दा गरिदिने, आगो बाल भन्दा बालिदिने, ढुङ्गा फाल भन्दा फालिदिने र अमुक व्यक्तिलाई गाली गर भन्दा गाली दिने आज्ञापालक कर्मीहरू पाएपछि के चाहियो ? दु:शासनले न इज्जत पाउनु छ, न यश पाउनु छ । स्वतन्त्रता छैन, आत्मिक गरिमा र महानता छैन । छ त केवल दुरुत्साहन र उक्साहट मात्र । दुर्भाग्यको योभन्दा मर्लान्त प्रहार के हुन्छ रु तैपनि हर्षले मदहोस छ दु:शासन । 

महाभारतको युद्धमा हजारौं लाखौं योद्धाहरू मारिए । परन्तु दु:शासनको जस्तो दारुण र कठोर मृत्यु कसैको पनि भएन । के दु:शासन त्यो हदको पातकी थियो, जसका दुबै हात कुमदेखि नै मुला उखेले झैँ उखेलेर मिल्क्याएपछि  छाती फोरेर आफ्नै बन्धुले तात्तातो लहु पियोस् रु के ऊ त्यो हदको अत्याचारी थियो, जसको आलो रगत कसैको केशको शृङ्गार बनोस् रु दु:शासनको नृशंस मृत्युको दृश्य देखेका कतिपय सिपाहीहरू मूर्च्छित भए । कतिपय व्याकुल र स्तब्ध भए । 

भीमलाई थाहा थियो, दु:शासन वास्तविक कर्ता नभई फगत कार्यकर्ता मात्र हो । द्रौपदीलाई पनि थाहा थियो, कर्ता को र कार्यकर्ता को हो । परन्तु दासहरू कसरी दोषी हुन्छन् र मालिकहरू कसरी पवित्र ठानिन्छन् भन्ने दृष्टान्त हो दुस्शासनको भयावह अवसान । 
  

प्रतिक्रिया