‘मलाई गाली गरेर चुनाव जितिँदैन। आफ्नो जिल्ला र गाउँ गएर जनताको मन जितेर चुनाव जितेर आउनू। आफैं चुनाव हार्ने अनि जिम्मेवारी तैंले लिनुपर्छ भन्ने?’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ सालको आम निर्वाचनमा पार्टी पराजयका सन्दर्भमा २०७५ मंसिर २८ गते केन्द्रीय समितिमा दिएको अभिव्यक्ति हो यो।
त्यसअघि आफ्ना धारणा राखेका नेता रामचन्द्र पौडेल (हालका राष्ट्रपति) सहित इतर पक्षका नेताहरूले चुनावमा लज्जाजनक हारपछि पनि सभापति देउवा सच्चिने र सच्याउने बाटोमा नदेखिएको गुनासो गरेका थिए। चुनाव गराएको श्रेय सभापतिलाई दिनुपर्ने तर्क गर्दै नेता पौडेलले भनेका थिए, ‘तर हारको जिम्मेवारी पनि उहाँले लिनुहुन्छ होला भन्ने लागेको थियो, लिनुभएन।’
२०७४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ मा एमाले नेता कृष्णकुमार श्रेष्ठ (हाल नेकपा एकीकृत समाजवादी) सँग नेता पौडेल पराजित थिए। पौडेलसहित केही ठूला नेता नै पराजित हुँदा त्यो निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चेको थियो नेपाली कांग्रेस। सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्ने हैसियतसमेत पार्टीले गुमाएको थियो कांग्रेसले। पार्टी स्थापनापछिको संसदीय राजनीतिमा सबैभन्दा कमजोर स्थानमा पुगेको कांग्रेस निर्वाचनको एक वर्षसम्म आरोप प्रत्यारोपमै रुमल्लिएको थियो।
तर, निर्वाचन परिणामबाट निरास बनेका कांग्रेस नेता तथा कार्यकर्ता कम्युनिस्टहरूसँग मुकाविला गर्नसक्ने संगठन निर्माणको पक्षमा थिए। र, केन्द्रबाट त्यस अनुसारको कार्यक्रम आउनेमा आशावादी थिए। कांग्रेसका नेता तथा कार्यकर्ताले मात्र होइन अन्यले पनि चिन्ता र चासो व्यक्त गर्दै भने र लेखे ‘कांग्रेस सच्चिने की सकिने’। कांग्रेस सच्चिए हुन्थ्यो भन्ने त्यो पार्टीमा आवद्ध नभएका जमातको पनि चाहना थियो। कांग्रेस वा नेता विशेषको मायाले होइन। कांग्रेस नेपालको राजनीतिक परिवर्तनको अगुवा दल हो। उ कमजोर हुँदा लोकतान्त्रिक शासन व्यवस्था पनि बलियो हुँदैन भन्ने बुझाइ थियो। तर, कांग्रेसले संगठन सुधारका लागि ठोस प्रस्ताव ल्याएन।
केन्द्रका नेताहरू एकअर्कालाई खुइल्याएर पार्टीको १४औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने र टिकिराख्ने रणनीतिमै केन्द्रीत बन्न पुगे। युवा पुस्ता रचनात्मक होइन, आलोचनात्मक बन्न पुगे। र, नेतालाई खुइल्याएर आफ्नो स्थान सुरक्षित गर्न सक्रिय बने। राजनीतिप्रति चासो राख्ने पछिल्लो पुस्तामा आलोचनात्मक चेत भर्ने काम भयो। तर, संगठित हुने र रचनात्मक बनाउने प्रयास कुनै पनि तहबाट भएन। कांग्रेसले मात्र होइन कम्युनिस्ट पार्टीहरू पनि पछिल्लो पुस्तासँग जोडिन सकेन।
त्यसले राजनीति र राजनीतिक नेतृत्वप्रति चरम वितृष्णा पैदा गर्यो। दलका युवा तथा विद्यार्थी संगठनहरू निस्प्रभावी बने। त्यसले पछिल्लो पुस्तालाई राजनीति र अहिलेका दलहरूसँग जोड्ने माध्यम टुट्न पुग्यो। जसको परिणाम पुराना दलका अघिल्लो पुस्ताका नेताहरूप्रति मात्र होइन युवा पुस्ता र नेताहरूप्रतिको आकर्षण पनि घट्न पुगेको छ।
गएको वैशाख १० गते सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचन त्यसको एउटा उदाहरण हो। पार्टीका कति गुट भत्के र कति नयाँ बने होलान्। शक्तिशाली कमजोर बनेका छन्, कमजोर शक्तिशाली बनेका छन्। तर, पुराना दलका पुराना नेतालाई मात्र होइन युवा नेताप्रतिको विश्वास र भरोसा समेत गुमेको छ।
चुनाव हारेको कांग्रेसले पाँच वर्षपछि अर्थात २०७९ मा हुने निर्वाचनमा जित्ने बनाउने र सुधार्ने युवा नेताहरूले बताउँदै आएका थिए। कांग्रेस सच्चेर मात्र सरकारमा पुगे हुन्थ्यो भन्ने चाहना राख्ने जमातमा त्यसले आशा जगाएका थियो। त्यही आशा र आकर्षणमा कांग्रेसको १४औं महाधिवेशनमा पार्टी रूपान्तरणको मुद्दा अघि सारेका युवा पुस्ताका नेता अनुमोदित गर्यो। कम्युनिस्टहरूको विवादले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्तावसम्म दर्ता गर्ने हैसितमा नभएको कांग्रेसलाई सत्ता पनि प्राप्त भयो। तर कांग्रेस बदलिएन, बदलिए नेता।
राप्रपा र मधेसवादी दलसँग मिलेर चुनाव लड्दा २३ सिट जितेको कांग्रेसले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका पाँच दलसँग मिल्दा ५९ क्षेत्रको परिणाम आफ्नो पक्षमा पार्यो। यदि निर्वाचनमा चुनावी तालमेल नगरेको भए परिणाम के आउने थियो भनेर गम्भीर समीक्षा र विश्लेषण गरेको देखिँदैन। महाधिवेशनमा साढे चार लाख क्रियाशील सदस्य थपिए। उनीहरूले दाइलाई चैं मत दिए तर कांग्रेसलाई के गरे यसै भन्न नसकिने आवस्था रहेको देखिन्छ, यसमा आशंका छ। १५ लाख भोट बढाउने भनेको कांग्रेसले २०७४ सालको निर्वाचनमा पाएको मत पनि जोगाउन सकेन। पहिलो पटक मतदाता बन्दै गरेका तन्नेरीलाई कांग्रेसले पार्टीमा जोड्नै सकेन।
कांग्रेसले सत्ता गुमाउँदै गर्दा आशा गरिएका नेताहरू हस्तक्षेपकारी भूमिकामा देखिएनन्। बरु उनीहरू फुटबलका विश्व स्टार मेसी र एम्बापेको उदाहरण दिँदै पाँच वर्षपछि मेसी वर्ल्डकप खेल्न मैदानमा नआउने उदाहरण पेस गर्दै हिँडे। त्यसपछि आफूहरूको विकल्प नभएको दाबी पेस गरिरहेका छन्। कांग्रेस नेता तथा कार्यकर्ताले बूढो मेसीको बिदाइपछि टिमको नेतृत्व लिन होइन ठीक समयमा मेसीलाई बल पास दिउन र मेसीले गोल हानुन् भन्ने टिप्पणी कांग्रेस वृत्तमा चर्चित छ। होइन भने कम्तीमा राम्रो पास निकालेर आफैं गोल गुरुन् मेसीसँग पनि सिकुन र सिकाउन भन्ने चाहना राखेको पाईन्छ। तर, युवा नेताहरूको बुझाइ र गराइ मेसीले कप उचाल्ने हो अरुले किन खेल्नु जस्तो अवस्था देखिएको छ कांग्रेसमा। यदि अर्जेन्टिनाका खेलाडीले त्यस्तै सोचेको भए उ विश्वविजेता बन्न थिएन।
यहाँ स्मरणीय कुरा के हो भने, कांग्रेसका युवा नेताहरूले सत्ता र पार्टी राजनीतिमा संकट पर्दा ‘वाकओभर’ दिएर मैदान छाडे। प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारमा कुदेजस्तै ८० कटेका तिनै नेता फेरि परिस्थिति सम्हाल्न लागिपरे। सत्ता राजनीतिको केन्द्रमा फेरि कांग्रेस फर्केको छ तर जनतामा पार्टीप्रतिको विश्वास टुटेको छ। डाँडामाथिका घाम भएका पुस्तासँग पछिल्लो पुस्ताको आक्रोश मात्र चुलिएको छ। युवा नेताहरूप्रति पनि तन्नेरी पुस्ताको विश्वास पनि गुमेको छ। गएको उपनिर्वाचन परिणाम यसको पछिल्लो उदाहरण हो।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा (तनहुँ १) र विश्वप्रकाश शर्मा (चितवन २) सहितका नेताहरू उपनिर्वाचनमा खटिएका थिए। उनीहरूलाई अरू युवा नेताले पनि साथ दिएकै थिए। उम्मेदवार पनि पहिलाको भन्दा युवालाई नै लिएर गए। तर, दुबै क्षेत्रमा मंसिर ४ मा पार्टी उम्मेदवारले पाएको मत समेत जोगाउन सकेनन्। शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, केपी ओलीको मात्र होइन, कांग्रेसभित्र र आशा गरिएका भनिने गरेका गगन र विश्वप्रकाश पुस्ताको कुरामा पाका र तन्नेरी दुवै पुस्ताले भरोसा गरेनन्। पुस्ता र उमेरको मात्र होइन, मध्यमवर्गीय नेपालीको एमाले, कांग्रेस, माओवादीप्रतिको भरोसा टुटेको संकेत हो यो। नेता र व्यक्ति विशेष होइन, दलहरूप्रति नै आक्रोश बढेको देखिन्छ। आक्रोशको आगो सल्काउन जति सहज थियो र छ, अब त्यसलाई नियन्त्रणमा लिन युवा पुस्तालाई नै हम्मे पर्ने देखिएको छ।
जराहरू कमजोर भएपछि भीमकाय रुख पनि सामान्य हावाको झोक्काले गल्र्याम्म ढल्न सक्छ। प्रतिनिधि र प्रदेशसभाका ठूला भनिएका कांग्रेससहितका दलहरू त्यस्तै बन्न पुगेका छन्। नेपाल विद्यार्थी संघ कांग्रेसको जरा मानिन्छ। तन्नेरी पुस्तासँग जोडिने माध्यम मान्छन् कांग्रेसजन यसलाई। त्यसले नै कांग्रेसरुपी रुखलाई चाहिने ताकत दिन्छ। तर, उक्त संगठन निकम्मा बन्न पुगेको छ। माध्यमिक तहमा अध्ययन गर्ने पुस्तालाई त्यही संगठनमार्फत कांग्रेसमा जोड्नु पर्ने हो। त्यसमा उनीहरूको ध्यान नै छैन। उनीहरूलाई कांग्रेससँग जोड्ने र भरोषा जागृत गराउन नसक्ने हो भने युवा पुस्ता २०८४ मा वल्र्डकप खेल्न मैदानमा त प्रवेश गर्ने छन् तर विश्वविजेता बन्ने छैनन्। त्यतिबेला उनीहरू न मेसीबाट सिक्न सक्छन्, न त सम्भावना भएका तन्नेरी पुस्ता नै उनीहरूको साथमा रहनेछन्। त्यसैले गगन र विश्व पुस्ताले अब प्रतिक्रिया होइन, पार्टीभित्र रचनात्मक र सकारात्मक परिवर्तनसहित आफ्नो औचित्य पुष्टी गर्ने समय आएको छ। अन्यथा जसलाई युवा भन्दै र मान्दै आएको छ समाजले, उनीहरू एकैपटक, एकैसाथ असान्दर्भिक नहोलान् भन्न सकिँँदैन।
प्रतिक्रिया