अनामनगरको चिया पसलमा मदन कमरेडसँग जम्का भेट

sunil raj upretiमदन कमरेड सदाझैं टिलिक्क टल्केको साइकल चढेर सररर आउनु भयो र मेरो अगाडिको बाटोको छेउमा साइकल ट्याक्क अड्याउनु भयो। यसपाली पनि मेरो सपनामा वहाँसित यसरी नै जम्का भेट भयो। वहाँ आउने वित्तिकै उठेर आदरपूर्वक ‘अभिवादन कमरेड’ भनेँ, वहाँले पनि सदा झैं मुस्कुराउँदै अभिवादन फर्काउनु भयो। चिया पसलको अगाडि म बसेको मेरो मेच छेवैमा आएर मसँग सोध्नुभयो, ‘के छ सुनिल देशको हालखबर अनि तिम्रो पनि?’

वहाँले जहिले पनि पहिला देशको अनि मात्र मेरो व्यक्तिगत खबर सोध्ने गर्नु हुन्छ। म पनि जहिलेसुकै उत्तर दिँदा वुझेको र थाहा भएसम्मको कुरा भन्ने गर्दथें। अनि आफूलाई सोध्न मन लागेको विषयमा जिज्ञासा राख्थेँ पनि र वहाँले पनि कुनै हिच्किचाहट बिना नै सवै विस्तार लाउनु हुन्थ्यो। पहिला मैले चिया मगाई हालेँ तर वीचैमा वहाँले रोकेर अलि गर्मी छ मोही खान पाईंदैन यहाँ भनेर मलाई सोध्नु भयो। गाउँको कृषकको छोरा मोही छ भन्ने कुरो मोहीको गन्धबाटै पत्तो पाइसक्नु भएको रहेछ! मैले हामी दुवैका लागि मोही मगाएँ। साहुले एक लिटरको जग र दुईवटा ठूला स्टिलका गिलास ल्याएर टेवलमा राखि दिए। मोही पिउँदै हामीले कुरा सुरु गर्यौं। वहाँ आज अलि फुर्सदमा रहेको बुझिन्थ्यो।

मैले देशको परिस्थितिका बारेमा वहाँलाई थाहा पाएसम्मको र बुझेसम्मको कुरा सुनाउँदै गएँ। वहाँ मुन्टो हल्लाउँदै मेरा कुरा सुनिरहनु भयो। अकस्मात मदन कमरेडले चुरोट मगाउनु भयो। वहाँले मसँग वस्दा चुरोट सुक्र्याएको देखेको थिइनँ। वहाँ चुरोट तान्दै मोही पनि विस्तारै पिउँदै जानु भयो। चिया पसलेले आफूलाई भातसँग खाने मोही त हामीलाई बुझाई हाले अनि दही मथ्दै हाम्रा कुरामा अलि अलि ध्यान दिँदै गरेको देख्दै थिएँ। मैले कुराको शुरुमा देश २००७ साल देखि अस्थिरता मै रुमल्लिएको सुनेको अनि अहिले अलि अलि बुझ्ने हुँदा राजनैतिक लगायतका फण्डामा रुमल्लिइरहेको रहेछ कमरेड भनेँ। 

वहाँले अलि प्रष्ट भन न भन्नुभयो। त्यसपछि मैले भिमकाय छिमेकीको बीचमा रहेको हाम्रो देश नेपालमा बग्ने पानी नै यस्तै हो कि कुरो बुझिएन, सधैं अस्थीर भएको पाएँ। प्रजातन्त्र र मानवअधिकारका नाममा जति पनि कामहरु भएका छन् सवै देशलाई कमजोर मात्रै बनाएको परिणामहरु मात्रै आयो। नेपाली आज भन्दा भोलि गरीव र विदेशी ऋणबाट थिचिँदै गए भनें। 

मदन कमरेड मुण्टो हल्लाउँदै मेरा कुरा ध्यानपूर्वक सुन्दै जानु भयो। मोही सकिएको पत्तै भएन। केही समयपछि अव चिया मगाउने हैन भनेर मलाई आदेशात्मक अनुरोध गर्नु भयो। मैले चिया अर्डर गरेँ। मदन कमरेडले मेरा कुरा सवै सुने पछि मलाई के भन्नु भयो भनें, ‘हामीलाई हाम्रा अग्रजले जे बुझाएका थिए, प्रजातन्त्र र कम्युनका वारेमा जे किताव थमाइएको थियो त्यो नै नेपाली माटो सुहाउँदो रहेनछ सुनिल’ भनेर मलाई अलि दिक्क अनि पश्चातापको भावमा भन्नु भयो।

'ठूला छिमेकीका बीचमा रहेको हाम्रो देशले विश्वमा विकसित राजनीति र छिमेकीहरु प्रति गर्नु पर्ने कुशल कुटनीतिमा हामी चुकेका छौं। हाम्रा देशका शासकहरुले अपनाएको असंलग्न परराष्ट्र नीतिमा हामी चुकि सक्यौं। रशिया–युक्रेन युद्धमा हाम्रा दुवै छिमेकीले अपनाएको नीति र नेपालले अपनाउँदै आएको निस्पक्षताको नीतिलाई भूलेर एकपक्षीय नीतिमा हाम्रा अहिलेका शासकहरु गए। जव कि रशियन सरकारले नेपाललाई निस्वार्थ गरेको सहयोग नेपाल रहुन्जेल विर्सन सकिँदैन। रशियन सरकारले जहिले पनि नेपाललाई निस्वार्थ सहयोग गरेको छ र भविष्यमा पनि गर्ने उसको व्यवहारबाट देखिन्छ। तर नेपालले सन् १९९० पछि रशियामा भएको सैनिक सहचारीको दर्वन्दी नै खारेज गरेर मित्रताको कसिमा खरो उत्रिएको मित्रतालाई तिरस्कार गरेको छ। केही वर्ष अगाडि मेरा हितैसी नेपालबाट राजदूत भएर मस्को गए, उनले सैनिक सहचारीको लागि सक्दो प्रयास पनि गरे।'

'तात्कालिन प्रधानसेनापति र रक्षा मन्त्रीबाट स्वीकृत भई परराष्ट्र मन्त्रालय पठाइएकोमा भट्टराई थरका परराष्ट्र सचिवको अनिच्छाका कारण सो फाइल दवाइयो र अगाडि बढ्नै सकेन। आजका दिनसम्म पनि त्यतिकै छ। रशियामा सैनिक सहचारीको दरवन्दी नै छैन। जसका कारण नेपाली सेनाकोलागि हुने विभिन्न सहयोगमा अड्चन आएको हुनु पर्दछ। तैपनि रशियनहरु नेपाललाई आवश्यक अन्य सहयोग गर्न पछि हटेका छैनन्। रशियन–युक्रेन युद्धमा नेपालले रशियनहरुको विरोध गरेर असंलग्न परराष्ट्र नीतिलाई लङौटी लगाए तर हाम्रा दुवै छिमेकीले तटस्थताको नीति अपनाएर विवादमा पर्न चाहेनन् जसका कारणले दुवै छिमेकीहरु हामी नेपालीसँग झस्किएका छन्। यस्तो अवस्था देख्दा मेरो मन धुरु धुरु रुन्छ, सुनिल।'

'अनमिन हटाउनका लागि एउटा अरौटे खोज्ने क्रममा दुई ठाउँमा निर्वाचन हारेका माधब कुमार नेपाललाई प्रधानमन्त्री बनाउन परेको तीतो अनुभव बोकेका छिमेकीले रशिया–युक्रेन युद्धमा लामो समयदेखि अपनाउदै आएको असंलग्न परराष्ट्र नीतिलाई छोडी एउटा पक्षको साथ दिएको प्रतिकृया कस्तो आउने हो? नाथे ५०–६० करोडको लागि एमसीसी अन्तरगतको परियोजना नेपालीलाई झुक्याएर पास गराउन सफल यी दलहरुले नेपालको भविष्य कस्तो बनाउने हुन्? नेपालको कुटनीति कपटपूर्ण, अपरिपक्व र चलायमान देखेर दुवै छिमेकीले नेपाल प्रति अपनाउने नीति कस्तो हुने हो? नेपालमा महाशक्ति कुनै तेस्रो देशको कृयाकलाप दुवै छिमेकीलाई सैह्य हुँदैन भन्ने कुरा नबुझे झैँ गरेका हाम्रा दलका नेता त्यसमाथि एमालेले खेलिरहेको भूमिका देख्दा मन कुडिन्छ।'

‘हामी बामपन्थीहरु धर्मलाई अफिम भन्छौं अनि परम्परालाई सामन्ती सोच भन्थ्यौं। वास्तवमा नेपालले अपनाउने विदेश नीति र कुटनीति यसै सेरोफेरोमा रहेर बनेको भए नेपाल सदा सुरक्षित रहने थियो। नेपालका राजाहरुले यसैको सेरोफेरोमा रहेर त्यसमा असंलग्न परराष्ट्र नीति थपेर प्रकृतिपूजक बनेर नेपालको नीति तय गरेको देखिन्छ जसले नेपाललाई सुरक्षित बनाएको रहेछ। तर हामीले सामन्ती राजा भनेर सधैं राजाको आलोचना गरेर राजनीति गरेका रहेछौं जुन कुरा ढिलो गरि बुझियो। हामीलाई खोलामा झार्ने अमर लामा पछि किन मारियो? जसले हामीलाई खोलामा झार्न अमर लामालाई प्रेरित गर्यो उसैले अमरलाई सुइँक्यायो। त्यति बुझ्न त कठीन छैन नि सुनिल।'

'मैले जव राजसंस्था पनि एक शक्ति हो, यो सँग मिलेर देश चलाउनु पर्छ भन्न थालेँ। एमाले जस्तो सशक्त पार्टीले राजाको साथ रहेर देश वलियो बनाउने बुझेपछि जीवराज आश्रितजी र म खोलामा झारियौं। मेरो दुर्घटना भएपछि एमालेको नेतृत्वमा पाँच पटक सरकार बन्यो तर पनि त्यो दुर्घटना कसरी भयो भनेर सत्यतथ्य वाहिर आउन सकेन। मेरो अवशान पछिको एमाले त सवैले देखेकै छन्। मेरो मृत्यु हुनु भन्दा पहिला म मेरी श्रीमती र दुई साना छोरीहरु नक्शालको भगवतीवहालमा साधारण तवरले दुःखका साथ गुजारा गर्यौं तर अहिले मेरी श्रीमती बुढानिलकण्ठको भंगालमा सुविधासम्पन्न घरमा वस्छिन्, म खुशी छु मेरो जीवन पर्यन्त उनले दुःख पाइनन्।'

'व्यवस्था फेरिए दल तर दलका नेता फेरिएनन्। राज संस्थालाई संविधानमा भूमिकाविहिन बनाएर देशको विकास हुन्छ भन्ने भ्रम दलका नेताले जनतालाई विश्वास हुने गरी बाँडे तर त्यो यथार्थ रहेनछ भन्ने कुरा अहिले आएर प्रमाणित हुँदैछ। हाम्रो एमालेमा मनमोहनजी, शाहनाजी विति हाल्नु भयो। मोहनचन्द्र अधिकारी पार्टीमा बस्नै सक्नु भएन, यी ठेट्नाहरुको ताल देखेर। वहाँ अहिले हिन्दू अधिराज्य भनेर होम लाउँदै हिँड्नु हुन्छ रे। वहाँ वृद्ध भैसक्नु भयो। राम्रा मान्छेहरु भन्दा चाकडी, चुक्ली लाउने र विदेशीकै वुई चढ्नेहरु कै अहिले पार्टीमा वर्चश्व देख्दछु।'

कुरो जोडौं भ्रष्टाचारको, देश भ्रष्टाचारमा डुवेको छ भन्दा अव अन्यथा नहोला। भुटानी शरणार्थीको घोटालाको वारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएकोमा सो उजुरीलाई मुल्तवीमा राखेर उजुरीलाई दवाउने प्रयास भएको वुझिँदैछ। सो प्रकरणमा जोडिएकाहरुको चोरी आंैलो तात्कालिन गृह सचिव तथा हालका अख्तियार प्रमुखतिर तेर्सिएको देख्दा। भलै अनुसन्धानका क्रममा सत्यतथ्य पछि आउला। यस्ता अपचलनहरु २०६३ पछि एक पछि अर्को भएर बाक्लै भएको देख्दा देश मियो नभएको दाईंको रुपमा रहेको वुझ्न कठिन हुँदैन।

एमाले पार्टी मात्रै हैन प्रायः सवै पार्टीहरुमा धेरथोर विचलनको क्रम बढ्दो छ। भुटानबाट खेदिएकाहरुलाई शरणार्थीको रुपमा विदेश पठाउने नीति अनुसार तिनिहरुको व्यवस्थापन गर्नुपर्ने ठाउँमा आफ्नै नागरिकलाई अनागरिक बनाउने, विदेशी नागरिक भनेर अन्तर्राष्ट्रिय नियोगलाई समेत झुक्याउने प्रयास गरेर मानव वेचविखन जस्तो जघन्य अपराधमा सामेल भएर आर्थिक अपचलन गर्ने लगायतका लाजलाग्दो काम गर्ने जस्ता घृणित काम गरेको देखेर नेपालीले खोजेको प्रजातन्त्र र मानवअधिकार यही हो? भन्ने प्रश्न आफंैमा उठ्छ।

नेपाल विश्वको पुरानो देश मध्येको १० देश भित्र पर्छ। हाम्रो देशको उत्पत्ति नै अरु देश भन्दा भिन्न खालको छ। जुन संस्थाले धर्म, संस्कृति र परम्पराको निरन्तरता कायम राखेर दुवै छिमेकी र विश्व सामू नेपाललाई सक्षम र विश्वासिलो बनाइराखेको थियो त्यो संस्थालाई नै छल गरेर हटाएर संविधानमा भूमिकाविहिन अवस्थामा पुर्याएको परिणाम देश नै पृथ्वीको भूगोलबाट हराउला भन्ने डर भैसकेको छ दलहरुको पछिल्लो गतिविधिले।

देश अहिले गणतन्त्र, धर्मनिरपेक्ष र सङ्घियताको अभ्यासमा छ। जवकी यी तिनै कुरा नेपालको माटो सुहाउँदो रहेनछ अभ्यास हेर्दा। अहिले दुवै छिमेकी र महाशक्ति राष्ट्रले भरपर्दो, स्थायी संस्था नभएका कारण अन्यौलमा छन् भन्ने कुरा केही वर्ष देखिको छिमेकी र महाशक्ति राष्ट्रहरुको दौडधुपले बुझिन्छ। भारत हाम्रो नजिकको छिमेकी हो उसले नेपालमा भरपर्दो मित्र संस्था खोजिरहेको वुझिन्छ राजा ज्ञानेन्द्रलाई भारतमा बोलाएर गरेको स्वागतबाट। २००७ भन्दा अगाडि देखि नेपालको राजसंस्थाले हामीलाई नेपालको श्रोत साधन दिएन भन्ने भ्रमबाट भारत पनि निस्कँदै छ।

वास्तवमा नेपालको राजसंस्थाको भूमिकाविहिन अवस्थाले उ अहिले कत्तिको असुरक्षित छ भन्ने कुरा भारत र चीनका उच्च सैनिक अधिकृतहरुको निरन्तर भ्रमणबाट बुझ्न सकिन्छ। त्यसैगरी चीन पनि नेपालबाट हुने चीन विरोधी गतिविधिबाट परेशान भएका कारण उसको सिमानामा भएको भंसार नाका सहज गराउन कठिनाई देखाएकोबाट बुझिन्छ। यहि अवस्था हो भने केही महिनामा अभ्यासमा रहेको संविधान पनि टिक्न कठिन होला जस्तो छ। त्यसका लागि हुने आन्दोलनको नेतृत्व कसले गर्ने?

२०३६, २०४६ र २०६३ मा भएका ठूला आन्दोलन दलमा परिपक्व नेतृत्वले राजासँग मिलेर निकास दिएर कम क्षति भएको हाम्रो विगत हो। तर अहिले कुनै दलका नेतृत्वसँग जनता विश्वस्त छैनन् र राजा पनि संविधानमा भूमिकाविहिन अवस्थामा छन्। अव संझौ कदाचित आन्दोलन भड्कियो भने कस्तो रुप लेला? अहिलेको विकसित विश्वमा चुड्किला र कटाक्षले न पार्टी चल्छ न देश। त्यसैले सवै शक्ति मिलेर समय अनुसार नीति र नेता परिमार्जित गर्दै जानु नेपालको सुरक्षित भविष्य हो। नत्र भगवान् पशुपति जानुन्! 

यति भनेर मदन कमरेडले घडि हेरेर फेरी भेटौंला है सुनिल भनेर साइकलमा हुइँकिनु भयो। म झल्यास्स व्युझँे। विहानको चिरविर र परेवाको घुरघुर सुनेर मेरो जन्म गाउँ सर्लाहीको रन्जितपुर संझेर एकछिन हराएछु। त्यसपछि नित्य कर्मतिर लागेँ। 

मदन र आश्रित कमरेड प्रति भावपूर्ण श्रद्धाञ्जली!

प्रतिक्रिया