समीक्षाः राहुल–यशोधरा संवाद

राहुल–यशोधरा संवाद गीतिनाटक हालसालै आवरण प्रकाशनले बजारमा ल्याएको छ। नाटककार लालगोपाल सुवेदीद्वारा रचित यस कृतिमा तीनवटा गीति–नाटक संकलित छन्।    (क) राहुल–यशोधरा संवाद (ख) अंगुलिमाल र (ग) योगमाया र धर्मसभा। 

बौद्ध मिथक र इतिहास यसका कथावस्तुका स्रोत हुन्। पहिलो नाटक पूर्णांकी हो भने अरू दुई एकांकी हुन्। ‘राहुल–यशोधरा संवाद’ ले ५६ पृष्ठ ओगटोको छ भने ‘अंगुलिमाल’ गीतिनाटकले २२ पृष्ठ ओगटेको छ। त्यस्तै ‘योगमाया र धर्मसभा’ ले २४ पृष्ठ ओगटेको छ।
          
खै म के भनौं यद्यपि पनि नेपाली साहित्यमा यो पुस्तक एक नवीन कथा र नवीन कविता एकै साथ बोकेर उभिएको छ। सायदै यस्ता पुस्तक नेपाली साहित्यमा आए होलान्। यसमा गौरी र मुनामदन जस्ता खण्ड काव्य अनि उलार जस्ता उपन्यास एकैपटक र एकैसाथ भेटिन्छ। नयाँ सुव्वाद र नयाँपन पाठकले अवश्य महशुस गर्न सक्नेछन्। नाटकका रूपमा पनि मंचन गर्न सकिने, चलचित्र बनाएर प्रदर्शन गर्न सकिने यो पुस्तक  नेपाली साहित्यको अमूल्य रत्नकारुपमा पस्केका छन् कवि तथा नाटककार लाल गोपाल सुवेदीले।

प्राय छोटाछोटा हरफमा संरचित तीसवटा गीति धागोमा स्वेटरजस्तै बनाएर राहुल–यशोधरा संवाद गीतिनाटकको बुनोट तयार भएको छ। पूर्वीय नाट्यविधानमा जस्तै अंक र दृश्यहरूको विभाजन नगरी गीतहरूलाई क्रमिकरूपले श्रृंखलाबद्ध गरिएको छ भने ठाउँठाउँमा पात्रका हाउभाउ, अवस्था र रंगमञ्चीय प्रस्तुतिको संकेत गरिएको छ। कथाको बहाब सरल छ। नाटकका लागि अत्यावश्यक पर्ने आन्तरिक र बाह्य दुबै खालको द्वन्दको प्रयोगका कारण कथावस्तुले नाटकीयतासहित गति प्राप्त गरेको छ। सिद्धार्थले साक्षात्कार गरेको सांसारिक अवस्थाप्रति आफ्नो धारणाको अभिव्यक्तिबाट कथावस्तुलाई अगाडि बढाइएको छ। त्यसपछि यशोधरा र सिद्धार्थको प्रेमिल संवाद सँगसँगै कथा गतिशील बन्छ। मूलतः यशोधरा र अंशतः राहुलको कोणबाट तयार गरिएको कथानकमा प्राय सिद्धार्थ र यशोधरा, यशोधरा र शुद्धोदन, यशोधरा र राहुल, राहुल र शुद्धोदन, यशोधरा र गौतमी, बुद्ध र राहुलका बीचमा संवाद गराउँदै प्रसंगानुकूल अन्य पात्रको उपस्थिति र भूमिकाको योगमा निर्मित यस नाटकले यशोधराको त्याग, ममता, मातृवात्सल्यका साथै आमा, पत्नी, बुहारी, गुरुआमाका भूमिकाजन्य कृयाकलापहरू प्रस्तुत गरिएको छ।

राहुलको वाल्य कृयाकलापलाई पनि टड्कारो रूपमा प्रस्तुत गरिएको छ। यशोधरा र राहुल दुबैको इतिहासको नेपथ्यमा लुकेको पाटोलाई रंगमञ्चमा प्रस्तुत गरी यशोधराको मातृत्व र स्वाभिमानी चरित्र तथा राहुलको बाल मनोविज्ञान र बालअधिकारलाई एकैसाथ प्रस्तुत गर्ने लक्ष्य नाटकले बोकेको देखिन्छ। बौद्ध मिथकलाई कथावस्तुको स्रोत बनाइए पनि वर्तमान सन्दर्भ र समसामयिकताको अभिव्यञ्जना यसमा राम्ररी भएको देखिन्छ। कस्तूरीले आफ्नै सुगन्ध नचिनेझैँ हामीले पनि पूर्वीय मातृसत्ता र पूर्वीय नारीवादजस्तो महान् प्राग्इतिहासलाई भुलेर पाश्चात्य जगतका नारीजागरण र आन्दोलनलाई गुरु थाप्ने प्रचलन बढ्दै गएको अवस्थाप्रति सजग रही पूर्वीय मातृसत्ता र नारीशक्तिको महिमा बोध गराउने उद्देश्य यस कृतिमा छ भन्ने अनुभव हुन्छ।

यदि गीतिरूपका सबै शब्दलाई निबन्ध वा कथामा झैं एकै ठाउँमा अटाउने हो भने दस पृष्ठ पनि नहुन सक्छ तर यसले ओगटेको कथा आयतनले भने जीवनसमग्रताको द्योतन गर्छ। भनाइको तात्पर्य थोरै शब्दमा धेरै कुरा भन्ने लक्ष्य नाटकमा रहेको देखिन्छ। यसमा त सिद्धार्थ र यशोधराको पूर्वजीवन र कपिलवस्तुको पूर्व इतिहासलाई समेत प्रस्तुत गरिएको छ। यसले संकेत गरेका कुराहरू धेरै छन्। यशोधराका माध्यमबाट मातृत्व र मातृशक्तिको महिमागान गरिएको छ। कतै उनी राहुलको आमा हुनुमा गर्व गर्छिन् भने कतै सिद्धार्थको लालनपालन गरेकी गौतमीमा अदिती र सरस्वतीको स्वरूप दर्शन गर्छिन्। बुद्धको कपिलवस्तु दर्बारमा पुनरागमन हुँदा आफ्नै खोपीमा बस्छिन् र स्वयम् बुद्ध यशोधरालाई भेट्न यशोधराको खोपीमा जानुपर्ने हुन्छ। यही नारी अहम्को प्रकटीकरण नै पूर्वीय नारीवाद हो जुन चरित्रबल र नैतिकबलबाट प्रकट भएको छ। पतिले निर्वाह गर्ने सन्तानप्रतिको दायित्व एक्लै निर्वाह गर्नु, सन्तानलाई शिक्षा प्रदान गर्नु र बुद्धले यशोधराको स्वाभिमानको सम्मान गर्नु, शुद्धोदनले आफ्नो भूल स्वीकार गरेर यशोधरासँग क्षमा माग्नु, बुद्धको लालनपालन गरेकी प्रजापतिमा अदिती र सरस्वतीको साक्षात्कार गर्नुले पनि पूर्वीय नारीवादलाई नै संकेत गर्दछ। यशोधराको मातृत्वको महिमागान गर्नु पनि प्रकारान्तरले नारीशक्तिकै गायन गर्नु हो।

ध्वन्यार्थमा यशोधराले पनि खोपीमा ध्यान गर्दै अनेकन शीलको पालनाद्वारा चरित्रबलले सबल हुनु पनि पूर्वीय नारीवाद नै  हो।

यस नाट्यकाव्यले बालअधिकारका पक्षमा आवाज बुलन्द गरेको छ। राहुलका जम्मैजसो अभिव्यक्तिमा बालस्वतन्त्रताका कुरा कतै प्रत्यक्ष र कतै प्रतीकात्मक तवरले आएका छन्। गीतिनाटकका माध्यमले बालअधिकारको वकालत गर्नुलाई नयाँ घटनाका रूपमा हेर्नुपर्ने हुन्छ। पिँजरा, सुगा, गाई, बाच्छी र दाम्लोको प्रतीकात्मकताले बालअधिकार, पशुअधिकार, मानवअधिकारलाई समेत एकैपटक व्यञ्जत गर्दछ। गीतको एकै हरफमा गद्यमा सय पृष्ठमा भन्न नसकिने कुराको अभिव्यञ्जना हुन सक्छ। गीतमा लामो लेखनअभ्यास गर्दै आएका सुवेदीले यस कृतिमा काव्यको यस्तै व्यञ्जना शक्तिको समेत उच्चतम उपयोग गरेका छन्। सरल, सहज, प्रगीतात्मक शैलीमा अत्यन्त थोरै शब्दमा धेरै कुराको अभिव्यञ्जना गर्न सफल छ यो गीतिनाटक। राजाद्वारा गरिने शासनको सान्दर्भिकता अब छैन भन्ने कुरा पनि ध्वनित भएको छ यसमा। शुद्धोदन र राहुलको संवादमा राहुल युद्धको विपक्षमा उभिएको देखाइएको छ भने स्वतन्त्रता र शान्ति जीवनका लागि अपरिहार्य कुरा हो पनि भनिएको छ ।

अर्को गीति एकांकी हो अंगुलिमाल। यसमा जम्मा १५वटा गीत छन्। यिनै गीतका माध्यमले वर्तमान युद्धजन्य परिस्थितिलाई ध्वन्यार्थक रूपमा प्रकट गर्दै मानवताको पक्षमा विश्वदृष्टि प्रस्तुत गरिएको छ यसमा। प्रसेनजित राजाको छोरो जन्मँदै राजकुमार थियो। प्रतिभाशाली भएकोले इष्र्यालु साथीले गुरुलाई गलत कुरा लगाई विश्वविद्यालयबाट निष्काशन गरिंदा ऊ खुँखार हत्यारा हुन पुग्यो। मान्छे मार्दै औंलाको माला लगाउने हत्याराको रूपमा विकसित हुन पुग्यो उसको चरित्र। बुद्धको संसर्गमा आएपछि झुसिल्किरो पुतलीमा रूपान्तरित भएझैं उसको पनि कायापलट भयो। अंगुलिमालबाट अहिंसक भयो ऊ। हजारौंको हत्यारा ऊ झण्डैझण्डै

बुद्धकै समकक्षी अर्थात् अरहन्तका रूपमा दरियो। प्रजातन्त्र र मानव अधिकारका जति ठूला ठूला गीत गाए पनि श्रृंखलाबद्ध हत्याहिंसाबाट विश्व दिन प्रतिदिन झन् झन् आक्रान्त बन्दै गैरहेछ। नेपालमा झण्डै एक दशकसम्म जारी सेना र माओवादी युद्धको द्वन्द्वबाट प्रताडित हजारौं निर्दोष जनता मारिए। कतै सेनाबाट निर्दोष जनता मारिए भने कतै माओवादी लडाकुको आक्रमणमा निर्दोष जनता नै शिकार बने। विस्तृत शान्तिसम्झौताबाट युद्ध थामियो। सेवाहि परमो धर्मको गीत गुन्जियो। यसको प्रतीकात्मक झलक समेत यस पुस्तकमा देख्न सकिन्छ।

द्वन्द भित्रका पात्रहरू निरीह छन्। यद्यपि आगो लगाउनेहरू  मात्र बजारमा ढाडसकासाथ  एलिट  बनेर पटाक्षेप  भइरहेछन्। ती पात्रहरू कोही मरे कोही बाँचेर मरिरहेकाछन्। असाध्यै राम्रो बिषयबस्तुको सामयिक चयन कवि नाटककारको खुबी हो। यो पुस्तकले कुनै ठूलो पुरस्कार पाएर  पुरस्कृत भएमा आश्चर्य मान्नु  पर्ने छैन।नपाए पनि पाठकहरूले खोजी खोजी पढ्ने कुरामा निसन्देह दुई मत हुनेछैन भन्ने मेरो ठम्याइ छ। एवं पाठकहरूको स्नेह र प्रेम लेखककालागि ठूलो पुरस्कार हुनेछ अनि  अरु यस्ता कृतिहरू अव्वल बनेर नेपाली साहित्यमा फलोयरहरूले जन्माउनेछन् जसले नेपाली साहित्यलाई अरू बढी दरो रुपमा उभ्याउने छ भन्ने मेरो ठम्याइ छ। अन्तर्राष्ट्रिय जगतमा उभिएका कवि लालगोपाल सुवेदीलाई साधुबाद।

(समीक्षक- उदय निरौला)

प्रतिक्रिया