सानै थिएँ । जीवन र जगतप्रति जिज्ञासा नै जिज्ञासा थियो । नब्बे वर्षकी हजुरआमा र एक वर्षको भाइले मलाई आश्चर्यमा पारिरहेका थिए । दुबै उस्तै तोते बोल्ने । उस्तै दूध र जाउलो खाने । हिँड्न डुल्न नसक्ने । दिसा पिसाबको ख्याल नहुने । खोक्दै थुक र र्याल चुहाइराहने । घर, गोठ, बारी, पँधेरो, वृक्ष, वन, खेत र खरबारीले ‘ल मलाई चिन्’ भनेर चुनौती दिइरहेका थिए । बाले चिनाउने अक्षरहरू, साँझ बिहान पूजा गर्ने ससाना पत्थरका देवता, बजाउने शंख र वाचन गर्ने श्लोकहरू कौतूहलका विषय थिए । बादल, वर्षा, घाम, जाडो, रात र दिन सबै कुराले मेरो मानसपटललाई प्रश्नै प्रश्नले भरिदिन्थे । बा र आमाको शारीरिक बनोट किन फरक ? पहिरन र आवाजमा भिन्नता किन ? बाको कपाल किन छोटो र आमाको किन लामो ? आमाले किन नाक कान छेडेको ? बाको हैकम र आमाको निरीह भीरुता देखेर म विस्मित थिएँ । गोठमा रहेका गाई र भैंसी दुहेर दूध निकालेको हेरिरहन्थें म । गोरुलाई नदुहेको देखेर म जिज्ञासु बनेको थिएँ । गोरु किन नदुहेको ? मैले प्रश्न पनि गरेको थिएँ । परन्तु सबै जनाले हाँसेर टारिदिए ।
के जीवन रहस्यमय छ ? छ भने त्यो रहस्य के हो ? अनेक प्रश्न उठे मनमा । फेरि अन्तर्मनले प्रश्न उत्तर दियो, जीवनको रहस्य जीवनभित्र छिपेर बसेको मूलतत्त्व हो । जीवनबारे गाँठी कुरा थाहा पाउनु नै जीवनको रहस्य थाहा पाउनु हो । के हो त त्यो गाँठी कुरा ? सायद त्यो आन्तरिक मर्मस्थानमा लुकेर बसेको गुह्य कुरा हो । त्यही नै जीवनको सार वस्तु हो । जीवन दुर्बोध छ । त्यसलाई जसले बोध गर्न सक्यो, उसैले रहस्य पनि बुझ्यो । जीवनमा फुल्न र फल्न सजिलो छैन । जीवन एक गुलाबको सुन्दर फूल जस्तै हो । किन्तु त्यस सुन्दरताको चारैतिर घोच्ने काँडाको कटु संसार छ ।
म दाइहरूको पछि लागेर जाने ठाउँमध्ये गाई चराउने वन सबैभन्दा रमाइलो थलो थियो । गाउँको चार दिशामा चारवटा वनहरू थिए । पूर्वतर्फको पुर्नाकोट भन्ने डाँडामा पर्याप्त चरन र पानी थिएन । उमेर पुगेकाहरू त्यहाँ गाई लिएर जाँदैनथे । तर केटाहरू भने त्यहीँ जान लालायित । पन्ध्र - बिस घरका गाईगोरु जम्मा हुँदा घचारो पनि धेरै हुन्थ्यो । बहरहरू जुधेर हैरान । किन्तु केटाहरूको भेटघाट रमणीय हुन्थ्यो । एउटा उन्माद , एउटा आनन्द , एउटा आसन्न कुरकुरे बैंसको प्रमादी पारा । नवकिशोरहरूबिचको कलहमिश्रित अनुराग र मिलन रहरलाग्दो थियो । भरखरै पलाउन थालेको पालुवा जस्तो जवानीको सँघार । उनीहरू आउनै लागेको यौवनको ऊष्माबाट उधुम तालले प्रकम्पित् हुन्थे । फूल फुल्ने अवस्थमा नपुगे तापनि वृक्षको उचाइमाथि पुगेर तयारी अवस्थामा बस्न उत्सुक लहरा जस्ता थिए केटाहरू । यौवनीय कर्म गर्न उमेर पुगेको थिएन । तर मुखले बोलेर आद्योपान्त वर्णन गर्न सक्थे उनीहरू । उनीहरू आसन्न घमासान युद्धका लागि उध्याएर राखेको तरबार झैं धारिला र चम्किला थिए । त्यो प्राकृतिक उद्यानमा ऋतु अनुसारका फल खान पाइन्थ्यो । कतिपय केटाहरूले बाबुआमाले दिएको या चोरेको पाँच - दस पैसाले हार्थोक बजारबाट गरी छोहारा किनेर ल्याउँथे । कतिले त चुरोट पनि तान्थे ।
केटाहरूमध्ये कोही ‘छुन नहुने जातका’ हुन्थे । छुवाछूतको विभेदमा परेका बालगोपालहरू अरुभन्दा टाठा र मेधावी थिए । जीवनलाई नजिकैबाट नियालेर हेरेका । उनीहरूलाई श्रमको महत्व थाहा थियो । काफल, ऐसेलु, खल्लुक र खिलुवा जस्ता फलफूल बाँडेर खान हुने, तर भुटेको मकै नहुने । काँचो केराउ र उखु नछोइने वस्तुमा पर्ने, किन्तु छोएको पानी खान नहुने । देख्दा उनीहरू झनै राम्रा थिए । धर्म उही । रहनसहन उही । छिमेक उही । आर्थिक अवस्था उस्तै । बोली वचन उस्तै । किन्तु छुवाछूतको कुरूप पर्खालले विभाजन गरेको समाज ।
कहिलेकाहीँ सम वयका केटीहरू पनि गाई चराउन आउँथे । आपसमा तथानाम छिल्लिने केटाहरू केटीहरूको अगाडि अनुशासित हुन्थे । केही परिहास पनि हुन्थ्यो । तर शब्दमा संयम थियो । केटीहरूसँग गरिने बातचितमा शब्दले व्यञ्जनाको रूप ग्रहण गर्थ्यो । भन्न खोजेको कुरा सबै बुझिने । यौवनोन्मुख ठिटाठिटी किञ्चित रोमाञ्चित पनि हुने । कपोल राता र आँखा चम्किला पनि हुने । परन्तु अपमान, अश्लीलता या क्षुद्रताको छनक नपाइने ।
सबैभन्दा राम्रीको नाम भुल्ली थियो । ऊ गाई चराउन होइन, दाउरा खोज्न आउँथी । ऊ साउनको झरीमा दाउरा खोज्थी यताउता । म मनमनै सोच्दथें, ती ढाडिएका दाउरा कसरी सल्काउने होला । कसरी बाल्ने होला । कसरी के पकाउने होला । तर ऊ खोज्थी र भन्थी ‘बैनीलाई जाउलो पकाउनुपर्छ नि त !’ एउटा अलि कसिलो ज्यान भएको केटाले सोध्ने गर्थ्यो , ‘तिमी कति वर्षकी भयौ भुल्ली ?’ ‘म तेह्र अनि बैनी दुई ।’ ऊ मुसुक्क हाँस्थी । कमलनयनी भुल्ली आकाशतिर हेरेर बादल देउतालाई सूर्यलाई नछोप्न फकाउँथी । ‘घाम दिदी वरवर बादल भिना परपर !’ उसको वाणीले कोइलीलाई माथ गर्थ्यो । जब ऊ जिस्क्याउने केटाहरूतर्फ सलज्ज नियालेर हेर्थी, लाग्दथ्यो, ऊ ‘को हौ को हौ’ भनेर प्रश्न गरेरहेकी छे । जब ऊ लज्जानत हुँदै मुस्कुराउँथी, लाग्दथ्यो ऊ वृन्दावनको कान्हाकी राधिका हो ।
किन्तु त्यो सुन्दर देहले प्रशस्त खुराक पाउँदैनथ्यो । भुल्लीले पर्याप्त खाना र नाना पाएको भए ? यो प्रश्न युगयुगान्तरदेखि नै जीवन्त छ । उत्तर दिन आज पर्यन्त दैव पनि तयार छैन । कोही धनी छन् र कोही गरिब । सबै कुरा थाहा थियो भुल्लीलाई । परन्तु त्यो असमानतालाई दैवको निर्दयी लिला भन्ने बुझेकी थिई उसले । सारा विभेद र वञ्चनाको जिम्मेवारी दैवमा रहेको हुँदा विभेदक पक्षलाई जवाफ दिने झन्झट थिएन । मृगनयनी भुल्ली पारी कालभैरवतर्फ हेर्थी टाउको उठाएर । सायद ऊ आफ्नो आराध्यदेवसँग भविष्यका सुदिनहरूका लागि भाकल गरिरहेकी हुन्थी । त्यो निर्दोष वञ्चिताको पेटमा आगो बल्दथ्यो भोकले । उसका अकिञ्चन आमाबाबु भरपेट खाना र आङभर नाना दिन समर्थ थिएनन् । परन्तु ऊ भन्थी ‘मेरो बा झैँ दयालु र मेरी आमा झैँ मायालु यो संसारमा अर्को कोही छैन ।’ बैगुनी सन्तानका धनाढ्य बाबुआमाभन्दा अकारण कृतज्ञ भुल्लीका दरिद्र बाबुआमा कयौं गुना सौभाग्यशाली थिए ।
हेर्दाहेर्दै दाइहरू जवान भएर लाखापाखा लागे । कोही कलेज पढ्न गए । कसैले हलो समाते । कोही बन्चरा, कोदाला , नाम्ला र हँसियासँग मितेरी गाँस्न पुगे । कोही लाहुरे बनेर बुट बजार्न थाले । अब पुर्नाकोटको उद्यान सजाउने पालो म र मेरा मित्रहरूको थियो । पुर्नाकोट त झण्डै तीन सय वर्षसम्म पाल्पा राज्यको राजधानी ‘पाल्पा’ पो रहेछ । पछिल्लो समयमा राजा - महाराजा, ज्ञानी र धनीद्वारा परित्यक्त । शक्ति र वैभवको खन्डहरमाथि उभिएको झाडी पाल्पाली दुर्भाग्यको दसी थियो । व्यतीत गौरवका अवशेष पाल्पालीहरू ‘त्यहाँ कुनै राजा बस्थे रे’, यति मात्र जान्दथे ।
शनिबारको दिन । म गाई चराउन गएको थिएँ । एकजना गर्मी मुलुकतिर परदेशिएका दाइ पुरानो याद ताजा गराउन गोठाले बनेर आए । उनी चिलाउनेको छहारीमा उपर्खुट्टी लाएर गाउन थाले, ‘ठन्डा पानी सिरसिरे हावा ... !’ उनले एउटा सानो किताब ल्याएका थिए । मैले झ्याप्प पाना पल्टाएर पढ्न थालेँ । त्यो संक्षिप्त एकाङ्की नाटक रहेछ । त्यहाँ चन्द्रगुप्त मौर्य र विष्णुगुप्त चाणक्यबिचको वार्तालाप थियो ।
चन्द्रगुप्त - मलाई मगध साम्राज्यको सम्राट बन्ने इच्छा छ ! त्यसको उपाय बताउनुहोस् महात्मन ।
एउटा मामुली किशोरको यस्तो सपना ? चाणक्य अचम्म परे ।
चाणक्य - सपना देख्न पाइन्छ । परन्तु सपनालाई यथार्थमा बदल्नु जो कोहीको बसमा हुँदैन चन्द्रगुप्त !
चन्द्रगुप्त - किन्तु सपना देख्न सक्नु पनि त जो कोहीको बसमा छैन नि गुरुदेव !
चन्द्रगुप्तको जीवन्त तर्क सुनेर चाणक्य निकै प्रभावित भए ।
त्यही समयमा माथि आकाशबाट हवाइजहाजको आवाज आयो । दिल्लीतार्फको उडान गर्दो डकोटा थियो सायद । केटाहरू ‘सबैभन्दा सुरुमा मैले देखेको हुँ, मैले देखेको हुँ’ भन्दै वादविवाद गरिरहेका थिए । फेरि एउटा सिँगाने केटो जुरुक्क उठ्यो । उसले माथि हात उठाएर हवाइजहाजतर्फ चोर औंलो देखाउँदै घोषणा गर्यो ‘म ठूलो भएर पाइलट बन्ने हो ।’ केटाहरू गललल हाँसे । अर्कोले सोध्यो, ‘कसरी ?’ उत्तर थियो, ‘यो उडाउने मान्छे जसरी बन्यो त्यसैगरी ।’ कती जीवन्त सपना ! सीमित जीवनलाई असीमित संसारमा खोज्ने एक उत्कट चेतना थियो त्यो ।
मैले परदेशी दाइले ल्याएको अर्को सानो पुस्तिका समातेर पाना पल्टाएँ । त्यहाँ महाकविको प्रश्नोत्तर कविता फेला पर्यो । पढ्दै गएँ । एक ठाउँमा पुगेपछि टक्क अडिएँ म ।
‘यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ? पढनु के? गुरु को बनाई?’
‘फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन्।’
महाकविको सरोकार जीवनको सार्थकतामा छ । आदर्श जीवन जिउँदै अरुलाई जिउने प्रेरणा दिनुमा छ । त्यस्तो शिक्षा दिन सक्षम गुरु को होला ? सायद त्यो शिक्षा प्रकृतिले मात्र प्रदान गर्न सक्छ । देवकोटाको उद्यान जीवनलाई जड बनाउने धूलो टकटक्याएर फाल्ने प्रेरणा हो । मैलो पखालेर स्वच्छ तुल्याउन समर्थ बनाउने निर्धारक तत्त्व हो ।
के जीवन रहस्यमय छ ? छ भने त्यो रहस्य के हो ? अनेक प्रश्न उठे मनमा । फेरि अन्तर्मनले प्रश्न उत्तर दियो, जीवनको रहस्य जीवनभित्र छिपेर बसेको मूलतत्त्व हो । जीवनबारे गाँठी कुरा थाहा पाउनु नै जीवनको रहस्य थाहा पाउनु हो । के हो त त्यो गाँठी कुरा ? सायद त्यो आन्तरिक मर्मस्थानमा लुकेर बसेको गुह्य कुरा हो । त्यही नै जीवनको सार वस्तु हो । जीवन दुर्बोध छ । त्यसलाई जसले बोध गर्न सक्यो, उसैले रहस्य पनि बुझ्यो । जीवनमा फुल्न र फल्न सजिलो छैन । जीवन एक गुलाबको सुन्दर फूल जस्तै हो । किन्तु त्यस सुन्दरताको चारैतिर घोच्ने काँडाको कटु संसार छ ।
महाकवि पुनः प्रश्न गर्छन्, ‘उद्देश्य के लिनु ?’ र आफै प्रत्युत्तर फिराउँछन्, ‘उडी छुनु चन्द्र एक ।’ यी कविले चन्द्रमा छुने सपना देख्दा न केनेडी राष्ट्रपति थिए, न त निल आर्मस्ट्रोङ एपोलो एघारको यात्री नै । आज आएर सोच्दछु , सपना नदेख्ने मान्छे कर्मभूमिमा होमिनै सक्दैन । खेत , बारी र उपवन तत्त्वको द्वार उघार्ने कुन्जी हुन् । परिश्रम र संघर्ष तत्त्व खुल्ने साधन हुन् । यहीँबाटै प्रकृति र परिश्रमसँग जीवनको साइनो सुरु हुन्छ । यहीँनेरबाट एउटा बालक धौलागिरीभन्दा माथि उडेर भविष्यको सपना देख्न थाल्दछ । यहीँबाट आकाशमा उड्दो विमान हेर्दै एउटा सिँगाने केटो पाइलट बन्ने योजना बुन्छ । मैले उसै बेला सोचेको थिएँ, यो केटो आफ्नो जीवनलाई भाग्यको जिम्मामा छाडेर चुपचाप बस्ने छैन । उद्यानको खेलाडी त्यो सिँगाने बालगोपाल एक चन्द्रगुप्त हो । संसार उत्तप्त पार्न आतुर एक बालसूर्य ।
कुनै समयमा मनुष्य जङ्गली अवस्थामा थियो । त्यहाँ मानव निर्मित कुरा केही पनि थिएन । नाङ्गो शरीर र छानोविहीन यायावर जिन्दगी । पढ्ने अक्षर थिएन । खेतीपाती थिएन । खोजेर ल्याएको कन्दमूल राख्ने भाँडो थिएन । कुटो, कोदालो र औजार थिएन । कसले सिकायो उसलाई ?
उसलाई सिकायो उद्यानले । आफ्नो अस्तित्व रक्षाका खातिर संघर्षरत वनस्पतिले । वर्सातले, चट्याङ्ले, हिमालले, नदीले र शीतल समीरले । कविको सन्देश पनि त्यही हो । सभ्यताको प्रथम बिहानीको प्रेरक तत्त्व प्रकृति हो । उद्यान याने मानवनिर्मित बगैंचाभन्दा विस्तीर्ण प्राकृतिक वनस्पतिले भरिएको वन । त्यो फगत फूलबारी मात्र होइन । त्यो फूलमा मात्र सीमित छैन । त्यहाँ विविधतामय प्रेरणा छ । त्यहाँ मालीले हुर्काएका बिरुवा छैनन् । त्यहाँ विचरण गर्ने बालबालिका पनि अस्तित्वसँग आफै लडेर हुर्केका वृक्ष समान छन् । उनीहरू आफ्नो उन्नयनको लक्ष आफै निर्धारण गर्दछन् । सानो सिँगाने बालगोपालले झैँ ।
कुनै क्यारी बनाएको होइन । झारीबाट सिंचाई गरेको होइन । काँटछाँट गरेको होइन । कसैको ममता र सहयोग प्राप्त छैन । कुनै स्नेहमय प्रेरक वरदहस्त छैन । तथापि सुन्दर छ उद्यान । देवकोटाको उद्यानमा सपना देख्न पाइन्छ । तर त्यो सपनीमा श्रम , पसिना र दृढता चाहिन्छ । त्यहाँ सबै खाले वनस्पतिहरू आआफ्नो अस्तित्वका लागि संघर्षरत छन् । त्यसै प्रेरणाले त एउटा बालकले संघर्ष सिक्दछ । बाबुको अङ्गुली समातेर स्कूल जाने बालबालिकाको सपना उसका मातापिताले देख्छन् । तर उद्यानका सिँगाने केटाकेटीको सपना आफ्नै हुन्छ । दुर्बोध जीवनलाई स्वयं बोध गर्ने सिँगाने केटो निरक्षर छ । तर उसको सपनाभित्र छिपेको दर्शन विस्तृत छ । ऊ त्यही उद्यानको प्रेरणाले शिक्षित हुनेछ । ऊ पाइलट नै बनोस् या अरु जेसुकै बनोस्, अवश्यमेव मजबुत किल्ला बन्नेछ । उसले हमेसा संघर्ष गर्नेछ। उसको चेतना सदैव ऊर्ध्वगामी हुनेछ ।
सरशैयामा सुतेर उत्तरायण पर्खिरहेका पितामह भीष्मलाई भेट्न आधारातमा पुगिन् कुन्ती । भीष्म भन्छन्, ‘यो जीवनमा के पाएँ र के गुमाएँ भन्ने हिसाब गर्दैछु पुत्री !’ कति जटिल र निरीह जिन्दगानी । कुन्ती जस्ती नारीले अवगालको भयले आफ्नै कोखबाट जन्मेको नवजात शिशु बगाउनुपर्छ यहाँ । दिन दशाले लतारेर बुद्धि भ्रष्ट हुन जाँदा धर्मराज युधिष्ठिर पनि जुवाको खालमा भिड्न तम्सिन्छ । गर्नुसम्म जैविक मोजमज्जा गरेको राजा ययाती अझै तृप्त नभएर जवान छोराको यौवन ग्रहण गरेर छोरालाई वार्द्धक्यमा लैजान किञ्चित पनि लाज मान्दैन । जिन्दगीको त्यो दारुण मुकाममा समेत गङ्गापुत्र भीष्म जस्ता महामनाले त पाएको र गुमाएको हिसाब गर्न थाल्छन् भने साधारण मनुष्यको के कुरा । यही पाउनु र गुमाउनुको हिसाब नै त रहेछ जीन्दगी । जाने त सबैजना रित्तै हो । तैपनि जोडघटाउको सिलसिला अनवरत छ ।
बालक कृष्णको अनेकौं कारनामाबाट थकित कंसले एक दिन आफ्नो परम मित्र वाणासुरलाई बोलाएर भेट्छ । वाणासुर भलाकुसारी गर्दै भन्छ, ‘के छ त मित्र हालखबर ? कुशल मङ्गल छौ ?’ महावीर कंस सजल नेत्रले मित्रलाई हेर्दै जवाफ दिन्छ, ‘अरु सबै कुरा त ठिकठाक थियो, तर एउटा बालकले नाकमा दम गर्यो ।’ वाणासुरले तृणावर्त पठाइदियो । त्यसलाई पनि कृष्णले मारेपछि कंसले सोध्छ, ‘अब के भन्छौ मित्र ? अझै पनि कुनै अस्त्र बाँकी छ ?’ वाणासुर केहीबेर सोचमग्न हुन्छ । फेरि उसले गम्भीर भावमा उत्तर दिन्छ, ‘मनुष्य कहिल्यै पनि अस्त्रविहीन हुँदैन मित्र !’ व्याकुल र घनघोर छटपटीमा छ कंस । ऊ चिच्याउँछ, ‘यो कस्तो प्रहेलिका हो ?’ वाणासुर भन्दछ, ‘प्रतीक्षास्त्र मित्र प्रतीक्षास्त्र !’ जीवनलाई यसरी पनि आशामा बाँधिरहन सकिँदोरहेछ ।
‘हतो भीष्मो हतो द्रोणो हतश्चान्ये महारथाः आशा बलवती राजन शल्यो जेष्यति पाण्डवान् ।’ भीष्म घाइते भएर थन्किए । द्रोण र कर्णसमेतका अन्य सबै महारथीहरू पनि एक एक गरेर हताहत भए । आज केही सीप नलागेर दुर्योधनले मद्र नरेश शल्यलाई प्रधान सेनापति नियुक्त गरेर युद्ध मैदानमा खटाएको छ । सबै सम्भावना समाप्तप्रायः हुँदा पनि राजा धृतराष्ट्र छोरो विजयी हुन्छ कि भन्ने आशाको त्यान्द्रोमा झुन्डिइरहेका छन् । जटिल र रहस्यमय छैन त जिन्दगानी ?
मनुष्य शोकमा, सोखमा, भोकमा , खोजमा र भोजमा पनि उद्यानतिरै दगुर्छ । प्रकृति नै उसको मूल थलो हो । अरु सबै त निर्मित हुन्, कृत्रिम । कविलाई उद्यानमा कविता फुर्छ, किनकि त्यो सक्कली आमाको काख हो । एउटा याज्ञवल्क्य मनग्गे वैभव र सुन्दरी पत्नीहरूबाट प्राप्त सुखलाई परित्याग गरेर वनतिरै दगुर्छ । एउटा राजकुमार सिद्धार्थ जीवनका अनेक दु:ख र दाउपेच सहन गर्न असमर्थ भई आधा रातमा वनको बाटो तताउँछ । खाऊँ खाऊँ लाऊँ लाऊँ भन्ने बेलाको चढ्दो जवानीमा धर्मपत्नी गुमाउन पुगेका कविवर माधव घिमिरे पनि शोकग्रस्त दारुण समयमा प्रकृतिसँगै करुण पुकारा गर्दै लेख्दछन्, ‘मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमा । बोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमा । लैजा बादल ! दूर देश दिलको आँसु कहाँ छन् उनी । आउन्नन् हकि काव्य सुन्न उनकै फर्केर कैल्यै पनि।’
प्रतिक्रिया