समाचार टिप्पणी

नेविसंघको अनुहारमा मोसो

नेपाली कांग्रेसले सशस्त्र क्रान्तिको आह्वान गरेपछि पहाडतिरबाट शिक्षकहरुको एक टोली वीपी कोइरालासँग भेट्न भारतको वनारस पुगेछ। निर्वासनमा रहेका वीपीले ती शिक्षक आफूसँग भेट्न आएको थाहा पाउने वित्तिकै विलम्व नगरी उनीहरुसँग भेटेर कुरा सुनेछन्। 

शिक्षक टोलीले वीपीसँग आफूहरु निरंकुशतन्त्र विरुध्द संघर्ष गर्न तयार भएकाले सशस्त्र संघर्षमा सहभागी गराउन माग गरेछन्। उनीहरु हतियार उठाउन समेत तयार भएको स्पष्ट भएपछि वीपीले उनीहरुलाई त्यसो गर्न आफू तयार नभएको बताएछन्। आशाविपरित वीपीले हतियार कसले उठाउने कसले उठाउन नमिल्ने भनेर लामो व्याख्या सुनाएर शिक्षकहरुलाई सम्झाएछन्। 

वीपीको भनाई थियो, शिक्षकको काम विद्यार्थीलाई पढाउने हो, सिकाउने हो तर हतियार उठाएर सशस्त्र संघर्षमा सहभागी हुनु शिक्षकको काम होइन। यो त राजनीतिक कार्यकर्ताको काम हो। 

वीपीको भनाई सुनिसकेपछि शिक्षकहरु छक्क पनि परेछन् र प्रभावित पनि भएछन्। त्यसपछि उनीहरु हतियार उठाउने सोच परित्याग गरेर विद्यार्थीलाई उचित क्षिक्षा दिँदा नै स्वतन्त्रताप्रति योगदान हुने निष्कर्ष मनमा लिएर वनारसबाठ पहाड फर्किएछन्।

नेपालमा निरंकुश पञ्चायती व्यवस्थाको जगजगी भएका बेलाको यो घटना नेपाली कांग्रेसका नेता कार्यकर्ता चर्चा गरिरहन्छन्। यसैलाई उदाहरण दिएर भ्रातृ संगठनका नेता कार्यकर्तालाई प्रशिक्षण पनि दिने गर्दछन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) त्यस्तै एउटा सशक्त भ्रातृ संगठन मानिन्छ नेपाली कांग्रेसको। प्रधानमन्त्री, दर्जनौ मन्त्री र नेताहरु जन्माउन सफल नेविसंघ तुलनात्मक रुपमा राम्रै संगठन मानिन्छ। तर त्यही संगठनको मोरङमा आवध्द विद्यार्थी नेताको पछिल्लो व्यवहारले भने नेविसंघको छविमा प्रश्न उठाएको छ।

आफूले भनेजसो नगरेको भन्ने कारण तेस्र्याएर नेविसंघका स्थानीय नेताले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दलेर दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। नेविसंघका कार्यकर्ताले आफ्ना माग सम्बोधन नगरेको भन्दै सोमबार दाहाललाई मोसो दलेको घटनाले विश्वविद्यालयको प्राज्ञिक समुदाय क्षुव्ध देखिएको छ। यो अस्वाभाविक पनि होइन।

एकजना प्राज्ञलाई दुर्व्यवहार गरेको नेविसंघले उल्टै ‘विश्वविद्यालय अराजक’ भएको दोष देखाउँदै मोसो दलेको घटनालाई जायज देखाउने दुस्साहस गरेको छ।

‘विश्वविद्यालय नीति नियमविपरीत चलेको र सेवा आयोगले आफूनिकट कर्मचारी भर्ती केन्द्र बनाएको’ हो भने पनि नेविसंघले गरेको दुव्र्यवहार कुनै तर्कले सही ठहरिँदैन, ठहरिन सक्दैन। यो एउटा अराजक व्यवहार हो असभ्य कार्यशैली नै हो। एउटा लोकतन्त्रको सिपाही भनिँदै आएको विद्यार्थी संगठनको यस्तो असभ्य व्यवहारबाट नयाँ पुस्ताका विद्यार्थीले के सन्देश लिने? नेविसंघको केन्द्रीय नेतृत्व र स्थानीय नेतृत्वले यसलाई गम्भीर रुपमा लिएर प्राज्ञिक समुदायसँग क्षमा माग्नुपर्छ, आफ्ना उदण्ड कार्यकर्तालाई दोष अनुसारको दण्ड दिन पनि हिच्किचाउनु हुँदैन।

विश्वविद्यालय अराजक भएको आरोप लाउँदै आफैं भने उस्तै व्यवहार गर्ने नेविसंघ आफ्नो दुर्व्यवहारले आहत बनेका विश्वविद्यालयका प्राध्यापकको मनमा उनीहरु विरुध्द उत्पन्न घृणा कसरी मेटाउन सक्ला भनेर सर्वत्र प्रश्न उठिरहेको पाईन्छ।

नेविसंघले जे गर्यो त्यो सर्वथा गलत कार्य गर्यो। वार्ता र सम्वादको विकल्प अराजकता र हिंसा हुनसक्दैन, वार्ताको विकल्प वार्ता नै हो  भन्ने कुरा पटक पटक सिध्द भैसकेको छ। एकदशक हिंसात्मक द्वन्दमा सहभागी भएको माओवादी पार्टी पनि अन्तत वार्ताकै माध्यमबाट शान्ति प्रक्रियामा आएको हो र यसको संयोजन आफ्नो माउ पार्टी नेपाली कांग्रेसले गरेको थियो भन्ने सत्य नेविसंघका नेता कार्यकर्ताले बिर्सन मिल्दैन, सुहाउँदैन।

तर नेविसंघ मोरङका सभापति सरोज पोखरेलले भने उपकुलपतिले माग सम्बोधनका लागि वार्ता गरे पनि सेवा आयोगले आफ्ना मागहरूको बेवास्ता गरेकाले मोसो दलेर चेतावनी दिएकोे भन्दै अराजकताको पक्षपोषण गरेका छन्। नेविसंघको केन्द्रीय नेतृत्वले यस्तो अतिवादी सोच र व्यवहारलाई सही ठान्ने मान्ने मातहतका नेता कार्यकर्तालाई यसैगरी छाडा छाड्ने कि अनुशासनमा वाँधेर आफ्नो इतिहास बचाउने भन्ने सोच्न भने विलम्व गर्नुहुँदैन।

वीपी कोइरालाको इतिहास र उनका अनुयायीहरुको योगदानको अपमान हुनेगरी उत्तराधिकारीहरुले यस्तै अराजक व्यवहार प्रदर्शन गर्दा नेविसंघको छवि कदापि उज्यालो हुनसक्दैन। प्राध्यापकको अनुहारमा घसेको मोसो नेविसंघको आफ्नै अनुहारमा समेत कालो धब्बा बनेर टाँसिएको छ भन्ने कुरा नेताहरुले बुझ्न विलम्व गर्नु हुँदैन।

सशस्त्र क्रान्तिमा भाग लिन हतियार उठाउन तयार भएर वनारस पुगेका शिक्षकलाई स्वधर्म सम्झाएर फर्काउने नेता वीपी कोइरालाको इतिहास उल्लंघन गर्ने संगठन कसरी लोकतन्त्रवादी हुनसक्ला? वार्तालाई पन्छाएर अराजकतालाई अंकमाल गर्ने संगठन कसरी विद्यार्थीको संगठन भनिनसक्ला? जनमानसमा यस्ता प्रश्नहरु उठेका छन्। तसर्थ नेविसंघको नेतृत्वले यी प्रश्नहरुको प्रभाव र परिणामबारे बेलैमा सचेत हुँदा त्यो संगठनको हित नै हुनेछ। अन्यथा अराजकता राजनीतिको अभिन्न अंग चैं बन्न सक्दैन।
 

प्रतिक्रिया