कुनै कुनै साँझ यस्तो हुन्छ, उज्यालो दिनको शुरुआती भन्दा पनि अलौकिक लाग्छ। आजको साँझका लागि हिजो विहानदेखिको पैदल यात्रा शुरु भएको थियो। पश्चिमतिर घाम ढल्केसँगै यी पहाडका चुचुराहरुमा लम्बिदै विलाउने छायाँ, वाच्छा, पाठा र पाडाहरुको क्रिडाले मन चञ्चल बनाएको छ।
ठिंग्रिङ्ग परेका पुराना रुखहरुको च्यापबाट एउटा सानो पाडो उफ्रेर आयो। त्यसका पछिपछि एकजना महिला आइन् उनको काँधमा एउटा लामो काठको मुडो थियो। त्यसपछि एक हुल भैँसी र पाडाहरु आए। लामो काठको सुकेको ठूटो काँधमा बोकेर आएका आइत रावलले ठूटो भूइँमा बजार्दा छेउमा चरिरहेको भैंसी तर्सेर दश मीटर जति टाढा भाग्यो।
यो स्वर्णिम दिनको अन्ततिर पश्चिमतिरको आकाश पुरै रातो भएको छ। डाँडामा ठडिरहेको सुकेको अग्लो रुखको टुप्पामा रातो घामको प्रकाश देखिन्छ। भूईंमा अग्ला सुकेका रुखका लामो छायाँ लमतन्न देखिन्छन्। ती छायाँले बनाएका आकारहरुमाथि गहिरिए अनेक मूर्त र अमूर्त कल्पनाका चित्र देखिन्छ। कतै मान्छेका स्वरुप कतै जनावर र अमूर्त स्वरुप। स्वच्छ आकाश, गाढा नीलोपनाले आकाशको गहिराई विचरण गर्न निकै गाह्रो पर्छ।
एउटा वाख्राको पाठो आएर भरखर भूँइमा पछारेको मूडाको एकछेउमा चड्यो। चारवटै खुट्टाहरु एकै ठाउँ टेकेर उ मुश्किलले उफ्रन सफल भयो। अर्को पाठो आएर त्यही मुडाको अर्को छेउमा चड्यो मुडा एक्कासी ओरालो गुडुल्कियो। आइतले पाठालाई धपाउँदै मुडा समातेर माथितिर राखे। आइतले लगाएका सुरुवालले भूँइको माटोलाई स्पर्ष गर्दा उस्तै रंग मिलेको देखिन्छ। शायद दिनभर सुरुवालले माटोसँग धेरैपटक साक्षात्कार गरेको रहेछ, सिमसार क्षेत्रमा गाइबस्तु धपाउँदा सुरुवाल त के मान्छे नै भासिन सक्ने अवस्था पनि त होला।
चिल्ला भैंसीको छालाजस्तो थुम्कामाथिको एउटा जीवन। सपनाहरुको लम्वाइ कति होला त्यो थाहा पाउन त प्रत्येक गोठमालिकको दिमागको अन्वेषण गर्नुपर्ला। पक्कै मान्छेहरु सपनाविहीन त नहोलान्। आ–आफ्नै सपना होलान्। जीवनवृत्तिको कुनै योजना वा रणनीति त अवश्य छैन होला तर गाइ र भैंसी धपाएर जीवन रमाउनेहरुको मनभित्र पनि अवश्य मानवीय जिजीविषा होला। आइतको गोठ भित्रका गाइ, भैँसी र वाख्राहरुको स्वास्थ्य नै आइतको खुशी हो। सर्लक्क परेका वाख्राका पाठा, दुँधेरोभरि दूध दिने गाई, घिउ निकै राम्ररी लाग्ने भैँसी आइतको सपना हो। यही सपना वीच आइत र अरु गोठवालाहरुको जीवनको घडी चल्दोरहेछ।
पश्चिम आकाशको रातोपना नविलाउँदै पल्लो गोठकी ८१ वर्षिया धनमती रावलले भैंसी दोइसकेकी थिइन्। पारीपट्टिको डाँडामा गोठभित्र बाहेक सवै काम गरेको वारिपट्टी थाह हुन्छ। नून, मकै, भूटेको गहुँ र रोटीको पीठो पैँचो चल्छ। गोठको कुनाको अगेनाको आगो कहिल्यै निभ्दैन। खरानीभित्र काठको मूडो गाडेपछि सधैँ आगो ज्यूँदो रहन्छ, केही गरी निभिहाल्यो भने अगुल्टो पनि पल्लो गोठबाट सहयोग लिने हो। हातको घडी वा मोवाइल हेर्न धनमतीलाई आउँदैन उनी त्यही वूढो रुखको टुप्पाको घामलाई विचार गरेर भैंसी दुहुन्छिन्। उनले वाल्टिन बजाएर गाइ र भैँसी दुहुन थालेपछि पल्लो थुम्कोका गोठमा पनि चहलपहल शुरु हुन्छ।
दिव्यभूमि खप्तडको भूवनोटको सुन्दरता सँगै यसमा चरिरहेका निश्चल घरपालुवा जनावरको आफ्नै सुरम्यता छ। रातभर स्याल र फ्याउरो कराउने पाटनहरुमा दिनभर गाई भैंसी वाख्रा र घोडा चरिरहेका हुन्छन्। कतै कतै कस्तूरी लगायतका हिमाली गहनाहरु कुदिरहेका देखिन्छन्। आफू ३ वर्षको हुँदादेखि खप्तडमा गाइगोठ जाने गरेका आइत अहिले ३८ वर्षका भए। हरेक चैत÷वैशाखको महिनादेखि भदौ÷असोजसम्म उनको वास यो सुन्दरभूमि खप्तडमा हुन्छ। उनको गाइ भैंसी र वाख्राहरु छन्। वाख्रा त गनेर साध्य पनि हुँदैन। कहिलेकाहीँ विषालु घाँस खाएर मर्छन्। तर अधिकांश जनावर गाउँ फर्काउने वेलासम्म निकै नै वलिया र दुधालु भैसक्छन्।
के गाईवस्तुको स्वास्थ्य, तिनीहरुको प्रकृतिसँगको सामीप्य र मानिसको अटल खुशीको कुनै कारण छ त? आईतको जीवनमा त्यो सोच्ने फूर्सद भएको छैन। धनमतीसँग यो उमेरसम्म एउटा अटल विश्वास बाँचेको छ,– ‘यो दिव्य शक्तिको परिणाम हो।’
हुन पनि हो, खप्तड आफैंमा तीर्थ र अनुपम भूमि हो। यो उचाइका घाँसे मैदान उर्वर माटो नजिकको कलकल वग्ने पानीका मुहानहरु र वरिपरिका ठूला जंगल यस क्षेत्रको विशेषता हो। खेचरादि पर्वतका रुपमा शाष्त्रमा वर्णित यस भूमि हुँदै पाण्डवहरु स्वर्ग प्रस्थान गरेका थिए। धार्मिक आस्थाका स्थानहरु, खप्तड बाबाको वैचारिक विम्व सहितको पहिचान भएको यस क्षेत्रमा गाइगोठको ठूलो महत्व छ। वरिपरिका वझाङ, वाजुरा, डोटी, अछाम गरी ४ वटै जिल्लाबाट हिउँदमा घरपालुवा जनावर चराउन ल्याउने चलन आदिकालदेखिकै हो। करिव २२५ वर्ग किमी क्षेत्रफल रहेको खप्तड राष्ट्रिय निुकञ्जका पाटनहरु अनगिन्ती छन्।
४ वटा जिल्लाका वासिन्दाहरुको चरनको क्षेत्रपनि फरक फरक छ। आफ्नो क्षेत्रबाट नजिकका घाँसे मैदानमा आफ्ना गाइवस्तु राख्ने गरिन्छ। खप्तड क्षेत्रको सवैभन्दा महत्व बोकेको सहश्रलिङ्ग दर्शन गर्न उक्लँदा वाटामा गाइगोठ बनाइरहेका अछामका एकहुल मानिसहरु निकै प्रफुल्ल देखिन्थे। उनीहरु भरखर गोठ बनाउँदै थिए। एउटा गोठको भित्र एकजना महिला आलु काट्दै थिइन्। उनी आलुलाई हलहलेको डाँठसँग मिसाएर पकाउने तयारी गर्दै थिइन्। अछामी गोठमालिकहरुको पनि हरेक साँझ आइत र धनमती आमाको झैँ वित्छ।
थुम्कामाथि काठको बार लगाएर खरले छाएको लामो कटेरो÷गोठ देखिन्छ। गोठको इन्जिनियरिङ र वास्तुकला अनुपम छ। एक ढोके वलियो कोठामा बाख्रा, अर्को एक ढोके कोठामा गाइ र अर्को उस्तै एककोठामा भैंसी। भैंसी वा गाइको डुँढतिर ढोका राखेर एक कुनामा वाछावाछी वा पाडापाडी राख्ने र त्यहीँ एक कुनामा मानिस खाने र सुत्नै वैज्ञानिक गोठ बनाइएको छ। पाडावाछा र मान्छे बस्ने कोठाको ढोका भने गाइ वा भैंसीको डुँढतिरवाट जानेगरी बनाइएपछि कुनै शत्रु वा जंगली जनावर आएपनि गाइ वा भैंसीले भित्री कोठामा छिर्न नदिने रहेछ।
वाछावाछी र मानिसको सुरक्षा अत्यन्त बैज्ञानिक ढंगबाट यसरी नै गरिएको रहेछ। हुन त त्यस खुल्ला थुम्काहरुमा खासै जंगली जनावर आउँदैनन्। सवैभन्दा धेरै आउन सक्ने स्याल हो तर स्यालको आहारा हुनसक्ने वाख्राका लागि सुरक्षित कोठा तयार हुन्छ। वरिपरि काठको फलेकले वारिएको गोठ आकाशतिर परालको न्यानो छाना। आकाशबाट हेर्ने हो भने पाटनको वीचको थुम्काहरुमाथिको गजुर जस्ता देखिने गोठ।
अधवैंशे युवती राममाया गोठमा एक्लै बस्छिन्। उनलाई केही कुराको डर छैन यो दिव्यभूमि आफैँमा सुरक्षित स्थान हो। उनको वाख्रा आजसम्म कुनै जनावरले खाएको छैन विरामी पनि परेको छैन। बरु ३ महिनामा बलिया बलिया भएर जाने गरेका छन्। उनी बुवा आमालाई सघाउन आएकी। तर, गाउँमा भरखरको हावाहुरीले घरको छानो उडाएपछि बुवा र आमा घरतिर लागे। गाउँ जाँदा डोकोमा मोही र घिउ बोकेर फर्कने चलन छ। उनको भन्दा नजीकैको गोठमा छिमेकीहरु बस्छन्।
खप्तडको पाटनमा गाइ भैंसी चराउने र घिउ वेच्ने अनन्तकालदेखिको चलनलाई आधुनिक युगमा निरन्तरता दिने यिनिहरुको जीवनचर्या कसरी वर्णन गर्ने? के यिनिहरुलाई शहरी सपनाले तानेको छैन? अंग्रेजी पढाइ हुने बोर्डिङ स्कूलले तानेको छैन? करिव आधावर्ष यो पाटनहरुमा रमाउने मनस्थितिमा विदेश घुम्ने र गोजीभरि पैसा कमाउने सपना घुसेको छैन? आइतको जीवनको अड्तीस हिउँदले गाइबस्तु छाडेर शहरी नोकरी गर्ने सपना बनाउन सकेको छैन?
तर, सत्य यो पनि हो, खप्तडको जमिनलाई आधावर्ष मलसिञ्चित गर्ने र त्यहाँको अमृतमय उत्पादन शहर र गाउँ पठाउने यो दिव्यकार्य गर्ने यिनिहरुको जीवन साँच्चै समाजसेवाको नमूना हो।
अनगिन्ती प्रकारको जडिवूटी खाएर बनेका घिउको स्वादको वर्णन कसरी होला। जंगलमा स्वतस्फूर्त चरेका गाइको दूध खाएका असी नब्वे बर्षका मानिसहरु डोकोमा मोही बोकेर विहानै गाउँतिर लाग्छन्। घिउभने सवैको जम्मा गरेर नजीकैको शहरी क्षेत्रमा बेचिन्छ।
साँझ झमक्क परिसक्दा आकाश झन उज्यालो झैँ लाग्थ्यो। शुक्लपक्षको जून, वरिपरिका ताराहरु। आकाशतिर फर्केर हेर्दा देखिने मिलेका तीनतारा आजकाल पनि ज्यूँदै रहेछन्। केटाकेटी हुँदा देखेका ती ताराहरुको अवस्थिति पनि उस्तै रहेछन्। पूर्वी नेपालको खेतवीचको गाईगोठबाट हेर्दा देखिने ती वाल्यकालका ताराहरु सुदूरपश्चिमको गाइगोठबाट दशकौँ पछि हेर्दा पनि उस्तै देखिँदा रहेछन्। शायद यी ताराहरु त पाण्डवले पनि देखेका थिए होला। अर्वौँ वर्ष पहिलेदेखि अटल छन् कि हाम्रो जीवनमा देखिएका हुन्। सोच्दै गर्दा मन निकै चञ्चल हुन्छ।
आकाशको उज्यालोमा रमाउने युग आज अनुभव गरियो। टुकी बत्तीको साहारा पनि नलिइकन एकहिउँद विताउने गाइगोठ मालिकका जीवन कति रमाइलो होला? अर्को गोठको चूल्हाको वास्तु हेर्ने रहर जाग्यो। सरासर गोठभित्र नयाँ मान्छे पस्दा उनीहरु खासै अचम्मित पनि भएनन्। पचपन्न वर्षिया धनमायाले एउटा ढुँगे चुलोमा दुध तताइन्, अर्कोमा घिउ तताइन्। गाइ र भैंसीको दुध एकै भाँडोमा हालिने भएकाले घिउ पनि मिश्रित हुन्छ।
धनमायाका अनुसार यो गाइगोठ स्थायी हो। ‘पुसदेखि करिव ३ महिना झण्डै पाँचफिट जति हिउँ पर्छ त्यसपछि विस्तारै गोठपनि हिउँबाट निस्कन्छ। उनको वयान संक्षेपीकरण गर्दा, ‘चैत बैशाख लागेपछि हामी आउँछौँ र गाइगोठ सम्हाल्छौँ। मेरो गोठ कसैले दावी गर्दैन किनकि यसका लागि मैले राष्ट्रिय निकुञ्जलाई पैसा तिरेको हुन्छ।’ गोठका लागि पाँचसय वुझाउने रहेछन्। चरनका लागि पनि केही रकम निकुञ्जलाई तिर्नुपर्छ। गाइ बाहेक भैंसी वाख्रा लगायतका जनावरको निश्चित रकम तिर्नुपर्छ। ‘गौमाताको भने तिर्नु पर्दैन’ मनमायाले भनिन्। त्यसैले गाइको संख्या पनि बढी नै देखिन्छ। हामीलाई पनि गौमाता भन्दै मन प्रफुल्ल हुन्छ। यो विश्वास भन्ने चिज कस्तो हो। गाइको गोठमा बसेपछि कुनै किसिमका भूतप्रेतको डर मुक्त भइन्थ्यो केटाकेटी वेलामा।
लाग्छ, यी गाइका त गहुँत पनि औषधि हुँदो हो। दिव्यभूमिको खुल्ला चौरमा रहेका जडिवूटी खाएका गाइका गहुँत आफैंमा अमृत हुनुपर्ने हो।
जनावरका लागि दिनभर घाँससँग पानी खाने ठाउँहरु पनि छन्। सहश्रलिङ्गबाट आएको गंगा जमुना नामक उत्तर बााहिनी नदीहरु फाँटका चेप चेपबाट वगिरहेका छन्। यसका साथै कतिपय सिमसारहरुमा गाइवस्तुलाई पिलाउन कुवा वनाइएको छ। अत्यन्त शीतल भूमिमा घाँसमा रहेको जलत्व पनि पर्याप्त हुनसक्छ गाइबस्तुका लागि।
जव घाम डुव्न थाल्छ सवैको एउटा पीडा छ। गाइवस्तु सकुशल घर फर्किए वा फर्किएनन्। बन्यजन्तुले आक्रमण गरे कि गरेनन्। विशालु जडिवूटी खाएर विरामी परे कि परेनन्। वाख्राका पाठाहरु झाडीतिर अल्झे कि अल्झेनन्। यस्ता अनगिन्ती प्रश्नहरुले हरेक साँझ मनमाया, धनमाया र आइतहरुलाई सताइरहन्छ। आफ्ना सवै बस्तुभाउको सुचना नमिलेसम्म उनीहरुको वेलुकाको रोटी पाक्दैन।
साँझमा कोदो वा गहुँको रोटी पाक्छ सवैको चूलामा। वाक्लो दही र दूध त कसैको खानामा छुट्दैन। साथमा गाइगोठ वरिपरि उम्रेका हलहलेका डाँठको तरकारी। गाउँतिरबाट ल्याएको आलु पनि थोरैतिनो मिसाइन्छ। तर आलु त्यति धेरै हुँदैन। डोकोभरी मोही लगेर गाउँ झर्दै गरेका दिलबहादुर महराले अघिल्लो विहान भनेको याद छ। ‘गाउँमा के पाइन्छ र हाम्रालागि? सवैथोक पाइने यही खप्तड हो।’ गोठमा फर्कँदा नजीकको बजारबाट चामल र गहुँको पिठो बोकेर आउने हो।
यतिवेर गंगा दशहरा मेला हेर्ने रौनक भएकाले कतिपय गोठमा मसिना केटाकेटी पनि झुम्मिएका छन्। मेला समयमा नजिकका जिल्लामा विद्यालय बन्द हुने चलन रहेछ। अगेना छेउमा वाख्राको पाठो वोकेर बसिरहेका छ कक्षामा पढ्ने विनोद रावलले भने ‘मेरो स्कूल छुट्टी छ।’ उनका साथमा एक भाइ र सानी बहिनी पनि थिइन्। उनीहरु गाउँबाट आउँदा ल्याएको काफलले मुख रातै बनाएर अगेनाको छेउमा बसिरहेका थिए।
आजको अन्वेषणमा अर्को गोठको चूलाको अवस्था के छ त? वाक्लो, धुँवा लागेको जस्तो रोटी, बटुकोमा हलहलेको डाँठको हरियो साग र गिलासमा दही अघि राखेर बृद्ध मुसुक्क मुस्कुराए। उनको खास नाम भने उनैलाई थाह रहेनरहेछ। बोलाउने नाम मात्र रहेछ। एउटा हातले मुखमा रोटी राख्दै मलाइ सोधे ‘रोटो खान्छौ?’ मैले भने ‘म रोटी खान्न मेरो भात पाकेको छ ।’ रोटी आधा चपाउँदै भने ‘भात खान्छौ त?’ बोल्दाबोल्दै उनको आधा रोटी मुखबाट बाहिर खस्यो। मैले मेरो अन्तै खाना पाकिसकेको बताएँ।
‘म घुमन्ते हुँ यसो साँझमा गोठ हेर्न आएको हुँ। म आफू पनि पहिला खेतका गोठमा गाइ रुँग्न बसेकोले यसो हेर्न आएको।’ मेरो कुरा सुनिरहेकी छेउकी बृद्धाले पटक्कै पत्याइनन्। मैले वाख्रा चराएको, पाठो बोकेको कथा सुनाएँ उनले ‘हैन होला’ भनिन्। ‘तम्रामा वाख्रा हेर्ने भा या कसरी आउन्थेउ।’ याद त मलाई वाल्यकालको झलझली आयो। केटाकेटीमा खेतका वीचमा गोठमा बसेको खुव याद आइरह्यो। धुस्नेभित्र सुतेर रातभर गाइको हेरचाह गर्थ्यौँ हामी। यी कुरा वेलिविस्तार लाउँदा साँझ छिप्पिन्थ्यो, अनि उनीहरुले पत्याउलान भन्ने आशा पनि रहेन।
उनीहरुको अगेनाको छेउमा गुन्ठुनिएको चाइनिज व्ल्याङ्केट हाम्रो गोठे सिरक जस्तै थियो। सिरकको सेतो खोलमा धुँवा लागेर बसेको टाटा जस्तै उनको व्ल्याङ्केट भरि धर्साहरु थिए। बृद्धले हातले सागको डाँठ खाइसके र त्यही व्ल्याङ्केटमा पुछे। कस्तो मज्जा। हाम्रो खेतको गोठे जिन्दगी पनि झण्डै उस्तै थियो। त्यस्तो सिरक आजभोलि ओड्दा शरिर जताततै चिलाउँछ। उवेला कतै चिलाउँदैन थियो।
जीवन अभ्यासहरुको आन्तर्यबाट बग्ने रहेछ। ‘केही चोटले वानी र धेरै चोटले ज्ञानी’ बनाउने जीवनको रहस्य पढ्न यो सुनौलो अवसर हो। जस्तो अभ्यास चलिरहेछ त्यसैमा चल्ने। मलाई लाग्छ, त्यो जीवन फेरि फर्कियो भने गाइगोठको पुरानो सिरक ओडेर धुस्नेमाथि म कसरी निदाउन सकुँला। तर, उनीहरु त्यस्तैमा मस्त निदाएका छन्। अगेनामा जोतेका ठूला काठका फलेक र भूइमा विछ्याइएका रुखका सुख्खा पात नै उनीहरुको सुन्दर घर हो। गाइको गोवर र गहुँतबाट आउने सुगन्ध नै उनीहरुको पर्फ्यूम हो। गाइले रातभर दिने आवाज, छटपटाहट नै उनीहरुको सुरक्षा पद्धति हो। गाइवाच्छाले उघ्राउँदा निकालेको सास नै जीउने रहरको उच्छवास हो।
जीवन कति सरल छ। घरबाट ल्याएको चामल वा पिठो बाहेक कुनै कुराको अभाव छैन। हलहलेको झार, दूध दही मोही छ्यालव्याल छन्। पाँचसय वर्ष पुरानो रुखको सुकेर झरेको हाँगाको दाउरा। छरछिमेकमा माया ममता सद्भाव। यी सवै अपरिमेय र अवर्णनीय छन्। कसैसँग रिस द्वेश इर्श्या छैन। सवैका लागि खुल्ला चौर छ। धित मरुन्जेल उफ्रने पाटन छ। कल कल बगेका खोला नागबेली भइ हरेक थुम्काका फेदमा पुगिदिएको छ।
के चाहिन्छ मान्छेलाई? रुस, युक्रेन युद्ध, पश्चिमा पूर्वीय द्वन्द, विश्वव्यापी तापमान बृद्धि, देश देश वीचको सीमाविवाद त्यहाँका मान्छेका सरोकारका विषय होइन। कसैलाई थाह पनि छैन समाचार पनि सुन्ने साधन फूर्सद केही छैन। फोनमा नेटवर्क पनि छैन। रातमा बत्तीको साहारा पनि आवश्यक छैन।
यो चुला वरिपरि बसेका बृद्धबृद्धाका आँखामा निद्रा देखिन्थ्यो। उनीहरुले रोटी चपाएजस्तो देखिएपनि शरिर आरामीका लागि आतुर देखिन्थे। मसँग अगेनाछेउको मुढोमाथि निकै प्रश्नहरु त थिए, छेउमा घोप्टो परिरहेको भुक्के चप्पललाई उत्तानो पारिदिन मन लागिरहेको थियो, बटुकोभित्रको तरकारीमा छ्याप्प परेको खरानीको थुप्रो निकालिदिन मन थियो, त्योभन्दा बढी उनीहरुको जीवन भोगाइ, वुझाइ र सपनाहरुको खातको डायरी पल्टाउनु थियो। तर अव आजलाई यहाँबाट निस्कनु नै उचित लाग्यो।
विहानदेखिको पाटन यात्रामा गाइगोठका दिनचर्याहरु अन्वेशित छन्। गोठमालिकहरुको जीवनशैली र सपनाहरुको बुझाइमा मन आल्हादित छ। आकाशमा लागेको चन्द्रमा सवैका लागि समान छन्। उज्यालो पनि यति छ कि भूइमा खसेको सियो देखिन्छ। जीवन त तुलनाले मात्र दुखी हुँदो रहेछ। त्यहाँ कुनै विजुलीबत्ती छैन, टुकी बत्ती समेत छैन। शतप्रतिशत पुरातन जीवन छ। चूल्हामा बलेको आगोको उज्यालोले गोठभित्रको सवै चिज प्रष्ट देखिन्छ।
गाइले बस्दाखेरि फ्याँकेको सासले उडाएको धूलो अमृत जसरी हावामा मिसिएर आउँछ। कसैलाई रुँगा लागेको छैन आजसम्म। गाइले कुल्चिएको खोलाको पानी त्यसै अंजुलीमा पिएका मान्छेहरुलाई आजसम्म सिटामोल खुवाउन परेको छैन। आहा स्वर्णभूमिको शीतल जीवन। आकाशको चन्द्रमाको काखका घरहरु। जता हेर्यो उतै रमाइलो।
पिराको रुपमा दिएको दाउराको ठूटामाथि मेरो शरिर बिझाइरहेको थियो। करिव साँझको नौ नै बज्न लागिसकेको थियो। मैले उनीहरुसँग विदा मागेँ। बुढीआमाले भनिन् ‘कहाँ जान्छौ यतै बस।’ मेरोलागि बासको व्यवस्था थियो। सुन्दर खाट सहितको, ट्वाइलेट वाथरुम सँगै भएको कोठा। घामबाट संकलन गरी सुरक्षित गरिएको विजुली सहितको कोठा, मैले ‘जान्छु’ भने। बुढी आमाले सद्भाव पोखिन्, ‘लड्छौ भूईतिर हेरेर जाउ।’
मलाई कसैले कहाँ बस्छौ? कहाँ बाट आएको? केही सोधेनन्। नमस्कार गरेर बाहिर निस्कें। फलेकको ढोका लागेको ड्याम्म आवाज आयो। म क्षितिज तिर देखिने घाँसे मैदानमा फैलिएको जंगलको कालो छाँयाँ एकोहोरो हेरिरहेको थिएँ। यो खुल्ला आकाश, एकल चन्द्रमाको राज, छेउ छेउका ससाना ताराहरुको तीखो उज्यालो। ध्रुव तारा कता थिए मनले र आँखाले एकैपटक खोज्दैथियो। उन्मत्त मन। गाइगोठबाट आउने गौमाताको भावात्मक शान्ति। नजीकै एकस्वरमा कराइरहेको स्यालको आवाज। तैपनि मनभित्रको वर्णनै गर्न नसकिने खुशी। आकाशतिर एकोहोरो अडिरहेका आँखा र आफैं अघि वढिरहेका पाइलाहरु, वाल्यकालको एक झल्को।
आहा, खप्तड!
प्रतिक्रिया