विचार

नयाँ नेता आत्ममुग्ध छन्, त्यसैले घातक छन्

बालेन्द्र साह वा उनले आफैंलाई दिएको नाम “बालेन शाह” र्यापरका रुपमा उदाए। तर उनी र्यापकै संसारमा समेत विलक्षण प्रतिभाका धनी भने होईनन्। महोत्तरीका मधिसे दम्पत्तिका सन्तान उनी राजधानी उपत्यकाको “कोर” नेवारी टोलमा जन्मिए, हुर्किए। मैथिली उनलाई बोल्न शायद आउँदैन। नेवारी भने घ्वाक्र्याँ भनिने खोपी खेल खेल्दाखेल्दै सिकेका हुन्।

बालेन जन्मिनुभन्दा दशकौं अघि अहिलेको महानगर भनिने राजधानी उपत्यकामा शौचालय थिएनन्। महिलाहरु सूर्य उदाउनुअघिनै हुल बाँधेर खेतका आलीमा टुक्रुक्क बसेर मल बिसर्जन गर्थे। यस्तै कुनै एक बिहान एउटा “मधिसे” सिरक डस्ना बनाउने काम खोज्न हिँडेको थियो। कपास उधिन्ने गितार जस्तो उसको यन्त्र ट्वांग ट्वांग पार्दै उ शायद कराउँदै थियो, “ए, सिरक डस्ना बनाउने मान्छी आयो हजुर।” 

“मधिसे” नै सहि, तर लोग्ने मान्छेको स्वर सुनेर आलीमा टुक्रुक्किएका रैथाने महिलाहरु एक छिन झस्के। तर उनीहरुकै समूहबाट अर्कीले बोलिन्, “ह्या म्वाल म्वाल, मनु मखु, मर्स्या ख।” (अर्थात् ह्या, भयो भयो, मान्छे होईन, “मधिसे” हो।) 

बालेन्द्र साहलाई पनि राजधानीले आफ्नो “मधिसे” रगतसँग दुरी बढाएर पहाडिया राष्ट्रवाद अँगाल्न सिकायो। आज उनी तिनै “मान्छे होईन “मधिसे” हो” भन्ने बर्गको मत पाएर राजधानी महानगरपालिकाको मेयर पदमा निर्वाचित छन्। उनको बर्ग मात्र होईन, जात समेत परिवर्तित भैसक्यो। 

पुंग न पुच्छरका गीत गाउँदागाउँदै अचानक आएको हुरीको लपेटामा राजधानी महानगरका मेयर बनेका बालेनको सन्दर्भ आउँदा यो पंक्तिकारलाई फिलिपिन्सका रोड्रिगोज डुटर्टेको सम्झना हुन्छ। डुटर्टे गायक भने थिएनन्। उनी वकील थिए। छुच्चो बोल्न सिपालु। आफ्नो जन्म भएको ठाउँ डाभाओबाट उनले लगातार सात पटक मेयरको चुनाव जिते। २२ बर्ष शहर चलाए। 

उनले चुनाव जित्नु अघि यो शहरमा लागू पदार्थ अम्मली, दुब्र्यसनी र खुद्रा अपराधीको बोलवाला थियो। डुटर्टेले बिना कुनै न्यायिक अनुसन्धान, यस्ता सात हजार “अपराधी”लाई सडकमै मारिदिए। डरका कारण अपराध घट्यो। उनको शहर बिदेशी लगानीमैत्री शहरका रुपमा परिचित हुनथाल्यो। शहरको आर्थिक कायापलट भयो तर मानवाधिकारको अवस्था खस्कियो। तैपनि सन् २०१६ को चुनावमा उनी राष्ट्रपति निर्वाचित भए। विश्व बैंकको दवावमा आर्थिक नीतिको सुधार गरे। आन्तरिक रुपले “सूचनाको अधिकार सम्बन्धी कानून” ल्याएर पश्चिमा दाताहरुलाई रिझाए। कर्मचारीतन्त्रलाई अँठ्याएको रातो फित्ता काटे। साना किसानलाई सित्तैमा सिंचाईको सुविधा दिने घोषणा गरे। जो कालान्तरमा कागजमा सीमित भयो। 

डुटर्टे जनताको मनोभावना बुझ्ने र लोलीमा बोली मिलाउनसक्ने एक आक्रामक, वाचाल र धूर्त राजनीतिकर्मी थिए। सन् २०२२ मा अवकाश पाएका उनीसँग अहिले झन्डै ३० करोड डलरको सम्पत्ति छ।  

डुटर्टेले लोकरंजक कुरा मात्र गरेनन्। राष्ट्रवादी कोईलाको आगोमा पनि खुब हावा फुके। उनको हकमा त्यो जायज पनि थियो। आर्केपिलागो भनिने द्वीप समूहबाट बनेको देश फिलिपिन्स १६ औं शताब्दी देखि तीन सय बर्षसम्म स्पेनी उपनिवेशको अधीनमा थियो। त्यसपछि करिब आधा शताब्दी अमेरिका र द्वितीय बिश्वयुध्दताका ५ बर्ष जापानी आक्रान्तको शरणमा परेको फिलिपिन्स स्वतन्त्र छ अहिले, तर यहाँको उग्र राष्ट्रवादी भावनालाई सम्वोधन नगर्ने कुनैपनि राजनीतिज्ञ सफल भएको छैन। 

१६ औं शताब्दी अघि कहिले हिन्दु त कहिले मुस्लीम राजाहरुले शासन गरेको यो मुलुकमा यिनका बंशज अझै छन्। तर उनीहरुसँग हिङ्ग न हिङ्ग बाँधेको टालो नै बाँकी छ। बाँकी छ भने एउटा कुरा– अहंकार बाँकी छ। जसले यो अहंकारमाथि चलखेल गर्यो, चुनाव उसैले जितेको इतिहास छ। 

नेपाल फिलिपिन्स होईन। सैध्दान्तिक रुपले नेपाल कसैको उपनिवेश भएन। तर जंगबहादुर कुँवरको उदय भएपछि नेपाल व्यवहारिक रुपले स्वतन्त्र पनि रहेन। भारतीयहरु दुई सय वर्षसम्म अंग्रेजका दास थिए। यसबारेमा भारतमा कुनै भ्रम छैन। नेपाल स्वतन्त्र थियो कि परतन्त्र? अन्यौल छ। राजनीति गर्नेका लागि अन्यौलपूर्ण अवस्था आफ्नो दूनो सोझो पार्ने खुराक हो। नेपालमा अपजस, अन्यौल र अनिश्चितताको भेलमा माछा मार्ने खेतीपाती मौलाएको छ। 

पुरानालाई बिस्थापित गर्ने ध्येय सहित राजनीतिक कर्मकाण्डमा होमिएको नयाँ पुस्ता समेत लोकरंजन र राष्ट्रवादको चम्किलो घोडा तर भुत्ते हतियार बोकेर मैदानमा उत्रिएको छ। यो नेपाली लोकतन्त्रका निम्ति खतरनाक संकेत हो। 

यो खतरनाक अवस्थाका निम्ति ०४६ साल देखि ०६१ सालसम्म यो वा त्यो रुपमा राज्यकोष लुट्ने ओहोदामा पुगेका शेरबहादुर देउवा र खड्गप्रसाद ओली भलिभाँती जिम्मेवार छन्। ०६१ पछि नेपाली राजनीतिक परिदृश्यमा राताम्यै भएर उदाएका माओवादी पुष्पकमल दाहाल “प्रचण्ड” कसरी स्खलित भए, यो एक गतिलो “मूभी मटेरियल” हो। स्थापित राजनीतिक दलको विकल्पमा उदाएका पूर्व संचारकर्मी रवीन्द्र मिश्र अन्ततः आफ्नो माउको गुँड राप्रपामा चाह्रो खोज्न पुग्नुको कारण के थियो? रवि लामिछानेलाई राप्रपाको एउटा पैसावाल समूहले गरेको भरथेगको अर्थ के हो?  बालेनले गरेको हरेक गलत राजनीतिक घोषणालाई सामाजिक      सञ्जालमा हजारौंले किन समर्थन गर्छन? पुराना दलका बृध्द  नेताहरुले यी प्रश्नको उत्तर खोज्ने छैनन्। किनभने यसको उत्तर उनीहरुकै कृत्यमा लुकेको छ। 

बालेन कुनै राजनीतिक चेतले सुस्पष्ट राजनीतिकर्मी होईनन्। सार्वजनिक पदमा निर्वाचित भएपछि त्यो पदसँग गाँसिएका अधिकार स्वभावत प्राप्त हुन्छ। त्यो अधिकार धारण गर्न विवेक आवश्यक हुन्छ, जो मतपेटिकाबाट खत्रक्क झर्दैन। विवेक नभएको निर्वाचित अधिकारीलाई पनि केही गरेर देखाउने चाहना हुन्छ। त्यो चाहना कहिले तीस बर्ष पुरानो सुकुम्बासी समस्या तीस मिनेटमा समाधान गर्ने लहडमा प्रकट हुन्छ, कहिले टुकुचा खोतल्ने भियानामा प्रतिविम्वित। फुटपाथमा ब्यापार गर्ने शहर काठमाडौं एक्लो थिएन। हजारौं फुटपाथे व्यापारीको ईमान्दारीपूर्वक जीवन निर्वाह गर्ने अधिकारमाथि बालेनले लहडी आक्रमण गरे। तर विकल्प दिएनन्। तैपनि सामाजिक संजालमा उनको जयजयकार छ। बालेन संवेदनाहीन समाजको एक यान्त्रिक नेता हुन खोज्दैछन्। 

एक पुराना आधा वकिल आधा पत्रकार साथीसँग फेसबुक मेसेंजरमा कुरा भयो अघिल्लो हप्ता। उनी भन्थे, “हैट, तपाईंलाई यो मान्छेको बारेमा सबैकुरा थाहा छैन। तपाईंले बीस बर्ष अघि छोडेको नेपाल जस्तो छैन अहिले। बालेन त देखिएको मात्रै हो। नयाँ पुस्ताका यस्ता सयौं ग्यांग छन् अहिले।” 

उनले भनेअनुसार, बालेन त देखावटी मात्र हुन्। उनी मौका परेसम्म हरेक साँझ भैंसेपाटीको एउटा निश्चित ठाउँमा जान्छन्। त्यहाँ नाम नखुलेको कालो पदार्थ तान्ने तर “ट्यालेण्टेड” युवाहरुको जमघट हुन्छ। “ईस्यू” का बारेमा छलफल हुन्छ। बालेनको कालो चस्माको रहस्य पनि यही हो। त्यो बैठकमा जे हुन्छ, बालेनले फेसबुकमा ठोकिहाल्छन्। 

बालेनको “आदिपुरुष” र सीता माता सम्बन्धी सामाजीक आह्वान र चलचित्र प्रदर्शन माथिको रोक पनि यस्तै एउटा कुनै जमघटको परिणाम हुनसक्छ। तर भीडलाई परिणामको परिणामसँग कुनै मतलब हुँदैन। बालेनले आदिपुरुष हेर्दैनहेरी आफ्नो निर्णय लादेको पनि हुनसक्छ। दार्शनिक प्लेटो भन्थे, “हजार बुध्दिमानलाई एउटा तर्कले आश्वस्त तुल्याउन सकिन्छ, तर एउटा मूर्खलाई हजार तर्कले पनि चित्त बुझाउन सकिन्न।” प्लेटोको जमाना सामाजीक संजालको जगजगी हुन्थ्यो भने उनले शायद त्यसैखालको उदाहरण दिनेथिए।

उदाहरण बालेन हुन्। सन्दर्भ लोकरंजक सस्तो राजनीतिको हो। सात दशक अघि दरवारको पटाङ्गिनीबाट जनताको मझेरीमा आएको नेपाली राजनीति, सुशासन र सम्पन्नताको नारा कुनै न कुनै रुपमा लोकरंजक यथास्थितिवादी हुईंयाको शिकार हुँदै आएको छ। ०१७ सालमा महेन्द्रले कथित राष्ट्रवादलाई आफ्नो सुरक्षा कवच बनाए, बीपीलाई जेल हाले। ०४८ मा उदाएका गिरिजाप्रसाद कोईरालासँग जनतालाई दिने कुनै स्वप्नदृष्टि थिएन। उनले बिश्वब्यापी बतास “आर्थिक सुधार” लाई च्यापेर बिदेशी दाताको रंजन गरे। मनमोहन अधिकारीले पंचायती अञ्चलाधीशको तलब खाने मदन भण्डारी र केपी ओलीको लहैलहैमा सम्झौता गरे। मदन र मनमोहनको अवसानपछि कहिले कांग्रेस त कहिले एमाले मिलेर पूर्व पन्चको रंजन गरे। बालेनलाई भोट दिने अहिलेको पुस्तालाई यो इतिहास थाहा नहोला। तर रवि लामिछाने वा बालेनलाई यी आत्ममुग्ध नेताभन्दा पृथक ठान्ने नयाँ पुस्ताको सोच घातक हुन सक्छ।   

रवि लामिछाने वा बालेनलाई भगवान ठान्ने नयाँ पुस्ताको दृष्टिदोष स्वाभाविक हो। मान्छे शुरुमा कुराबाट प्रभावित हुन्छ, पछि व्यवहारबाट बिरक्तिन्छ। वर्तमान राजनीतिक परिदृश्यमा उदाएका कथित नेताहरुलाई अहिले समयको सुविधा छ। मतको मातले बाङ्गिएको खुट्टा एकचोटी लर्खराएपछि फेरी सम्हालिन गाह्रो हुन्छ। 

राप्रपाको भाई पार्टीको अफिस उद्घाटनमा पुगेका प्रधानमन्त्री प्रचण्डले घन्टीको रालो त हल्लाए। तर भावले होईन। पहिलो संविधानसभाको चुनावमा प्रचण्डको पार्टीले जति मत ल्याएको थियो, त्यसको तुलनामा रविको अहिलेको संसदीय सीट भ्यागुताको चेपागाँडा जस्तो हो। रविले प्रचण्डको उत्थान र पतनको कथा हेरेर शिक्षा लिनु जरुरी छ। तर रवि शिक्षा लिन नसक्ने अहंकारी सेपियन हुन्। उनको नार्सिसिस्ट चरित्रले उनलाई, उनको पार्टीलाई र युवा जोश र जाँगरलाई पार्टी स्थापनाको एक वर्षमै उल्लेख्य घाटा लगाएको छ। बुझ्नेले अर्काको घाटाबाट शिक्षा लिन्छ। नबुझ्नेले आफ्नै गोडा नालीबाट निकाल्न सक्दैन। भक्तहरु कुरा बुझ्दैनन्। जान्नु र मान्नुमा फरक हुन्छ। 

लोकरंजनको गर्भगृहमा विभाजनको अवधारणा जन्मिन्छ। “हामी बिरुध्द उनीहरु!” सरकारको निकम्मापन र राज्यप्रणाली भित्रको शोषक चरित्रले जनता र राज्यलाई एक आपसमा बैरी तुल्याईदिन्छ। अनि कथ्न थाल्छन्, दुई चार वाचाल फटाहाहरु लोक फकाउने कथा। लोकरंजन खतरनाक त हुन्छ नै, यसको पींधमा कुनै गिदी पनि हुँदैन। यो सतही हुन्छ। यसले स्थापित मूल्य र मान्यताको विरोध गर्न उक्साउँछ र कानून आफ्नो हातमा लिन सन्काउँछ। लोकरंजन प्रजातन्त्रको आधारभूत मान्यतालाई आत्मसात गर्दैन। फरक विचारको नाममा अराजक हुन्छ। 

अहिले संसारभरी दक्षिणपन्थी लोकप्रियतावाद आफ्नो उफानमा छ। अमेरिकामा डोनाल्ड ट्रम्प वा ब्राजिलमा बोल्सेनारो हार्यो भन्दैमा चित्त बुझाउने ठाउँ छैन। छिमेकी भारतमा नरेन्द्र मोदी सक्रिय छन्। अर्को चोटी फेरी चुनाव लड्नेछन्। धर्म निरपेक्ष राष्ट्र नेपालका नयाँ पुस्ताका कथित नेता लामिछाने नरेन्द्र मोदीका भाईलाई भेट्न पुष्पाहार सहित किन होटल हिमालय पुगे? यसबारेमा उनी किन चुप छन्? राजतन्त्र र धर्म निरपेक्षताका बारेमा उनको पार्टीको धारणा के हो? बालेन र रविको लगनगाँठो खुकुलो छ। त्यो भोली कस्सिने सम्भावना कति छ? दुवै जननिर्वाचित तानाशाह राष्ट्रपतिको पक्षमा संविधान संशोधन गर्ने माग गर्छन्। 

अहिले यी दुईको पक्षमा जनमत उर्लियो भन्दैमा कुनै निश्चित धारणा बनाउन जरुरी छैन। व्यक्ति र पार्टी जति छिटो उदाउँछन्, ती अस्ताउने सम्भावना पनि ढीलो हुँदैन। अहिले बालेन र लामिछानेको कूपमण्डुक चरित्र देखेर भारतको साउथ ब्लक हाँसेको हुनुपर्छ। यस्ता मान्छे नेतृत्वमा आए उनीहरुलाई झन् सजिलो हुन्छ। 

मेरी आमाले मलाई चार कक्षा पास नगरुन्जेल पेन्सील मात्रै दिईन्, लेख्नलाई। पाँच कक्षामा मसी भरेको कलमले लेख्नुको मजा नै अर्को। आत्मविश्वास!

मेरो आत्मविश्वास र रवि बालेनको अतिबिश्वासमा आकाश धर्तीको फरक छ।  (यो लेखकको नीजि विचार हो)

  
 

प्रतिक्रिया