मन्थन

फेटेर दिनुस्

दुईमा पढ्दाको कुरा हो । विद्यालयबाट फर्कंदै थिएँ । हाम्रो घरभन्दा तल मूल बाटोमा दुईवटा कपडा, तीनवटा किराना र एउटा चिया पसल थिए । काजीमान साहुका छोरा माधवलाल श्रेष्ठ बाबुको तीन तल्ले घरबाट छुट्टिएर एकनाले घरमा सानो चिया पसल थापेर बसेका थिए । दुकानभित्र एउटा लामो गुन्द्री बिछ्याइएको थियो । बाहिर खुट्टा गाडेको लामो बेन्च थियो । 

दुकान अगाडि अलि माथि भीमसेनको मन्दिर र त्योभन्दा माथि हाम्रो बारी थियो । त्यो मेरो इलाका थियो । दुकानबाट लामालामा तिस पाइला दौडेपछि आफ्नै बारीमा पुगिने हुँदा मलाई कसैको डर थिएन । म त्यही बेन्चमा बसें । दुकानको विपरीत दिशाको भित्तामा पाँच छ वटा ढाकर बिसाउन मिल्नेगरी पर्खाल चिनिएको थियो । म बेन्चमा बस्दा नबस्दै त्यहाँ तिनजना ढाक्रेले भारी बिसाए । 

जेठको महिना । ढाक्रे दाइहरूको पूरा शरीर पसिनाले लुछुप्प थियो । उनीहरू पसिनाले भिजेको तात्तातो टोपीले अनुहार पुछ्दै अगाडि बढे । ‘पानी खान डेऊ ट साउ ।’ माधव साहु तामाको सानो हत्तर लिएर पेटीमा निस्के । ढाक्रेहरूले त्यही टोपीमा पानी थापे र एक सासमा पिएर चिसो टोपीले फेरि अनुहार पुछे । ‘अब मर्डैन’  भन्दै दुबै हात कम्मरमा राखेर उभियो जेठो देखिने ढाक्रे । ‘अलि गुल्ल्यो पुगेको च्या डेऊ ट साउ ।’ थ्याप्चो नाके  गएर ढुङ्गामा चाक टेकाउँदै खुट्टा झुन्ड्याएर बस्यो । माधव साहुले चिने झैँ गरी सोधे, ‘बटौलीतिरको हालखबर के छ र ?’ 

कान्छो देखिने चुच्चो नाके ढाक्रे उठेर नजिकै आयो । ‘हामी पाँचजना गएका थियौं । दुईजनालाई पुगेकै दिन उँधै उँभै सुरु भयो । मानिसहरू हैजा फैलियो भनेर हल्ला गरिरहेका थिए । ती दुईजना साथी अर्को दिन बिहान त्यहीँ मरे । हामी साथीहरूलाई  तिनाउको बगरमा गाडेर आउँदैछौं ।’  ऊ हुँक्क हुँक्क गर्दै बलिन्द्रधारा रोयो । शोकमा पनि भारी नबोकी फर्कनु सम्भव थिएन । दारुण दुस्खमा नखाएको शरीर भारी बोक्न समर्थ थिएन । उनीहरू सुरुप्प सुरुप्प गर्दै चिया खाइरहेका थिए । त्यही समयमा कुनै दूर देशमा यिनै ढाक्रेको उमेरका मान्छे चन्द्रमा टेक्ने तरखरमा थिए । यता भने दिनको तीन रुपियाँको मूल्यमा हैजाको मुखमा प्रविष्ट हुन वाध्य थिए युवाहरू । तिनको दोष के थियो रु के गलत भूगोलमा जन्मनु नै उनीहरूको अभाग्य थियो ?

  थ्याप्चो नाकेले भीमसेनको मन्दिरतर्फ हेर्दै माधवलाल साहुलाई सोध्यो, ‘के टेहाँ ईश्वर छ ? छ भने कसका लागि छ ? मेरो साठीकी सानी छोरीले मेरो बा खै भनेर सोढी भने के जवाफ डिने मैले ? ए माढप् साउ ! टिम्रो भिउसेनलाई सोढिडेऊ न ।’ उसले टोपी झिकेर आँसु पुछ्यो । मानिसको जीवनको मूल्य के  हो रु  मनुष्यले नेपाली धर्तीमा जन्म लिएबापत तिर्नुपर्ने ऋण कति हो रु ‘गर्छिन् पुकार आमा रोई कराई जोडले सक्दिन देख्न भन्छिन् सन्तान थरीथरीका ।’ यी कारुणिक शब्द लेखेर राजा महेन्द्रले नाम कमाए । ‘आहा क्या प्रजावत्सल !  क्या दयालु !  क्या करुणामय शब्दहरू ! क्या भावुकता !’  पछि निकै हुर्केपछि पो महसुस भयो, कविता लेख्न पनि बठ्याइँ चाहिँदो रहेछ ।

कतै यो जीवन कति सस्तो । कतै भने त्यो जीवन कति महँगो । एक प्याला गुलियो चिया तानुन्जेल ढाक्रेहरूका निर्बोध र निर्दोष अनुहारहरूमा सुखमय भावुकता छाएको प्रस्ट देखिन्थ्यो । आज पनि मेरो देशको परिस्थिति भिन्न स्वरूपमा उस्तै छ । निर्दल, बहुदल र गणतन्त्र सबै भोगेको एक सिल्ली झैँ कराउँदै हिँड्ने सडक कवि भन्दै थियो, ‘उहिल्यैका  राजाले कविता लेख्दै “देशलाई  माया गरेरू भाग्य खोसिएकाहरूलाई धन्य धन्य बनाए । आधुनिक युगका ठगहरू लफ्फाजी गरेर लोकप्रिय बने । अर्काथरी अत्याधुनिक लफङ्गाहरू भाग्यहीन र भावुक  नेपालीका भगवान बनिरहेका छन् ।’ 

ढाक्रेहरू ढाकर बोकेर ढुङ्गाले छापेको बाटोमा लौरो टेक्दै ओरालो लागे, ट्याक् ट्याक् ट्याक् । संसार पीडामा मात्र अडिएको छैन । हिजोका पीडालाई आजको तथाकथित सफलताले छोपिदिन्छ । आफ्नो मनमा दर्द भए तापनि अरुको नजरमा सुखी र सफल देखिएर सन्तुष्ट हुन खोज्छ मान्छे । म मर्माहत मन लिएर घरतिर जानै लागेको थिएँ । तलतिरबाट रेडियो बजेको आवाज आयो । 

‘ये  महलों, ये तख्तों, ये ताजों की दुनिया,
ये इन्साँ के दुश्मन समाजों की दुनिया,
ये दौलत के भूखे रवाजों की दुनिया,
ये दुनिया अगर मिल भी जाए तो क्या है’ ।

मैले केही पनि बुझिन । परन्तु स्वरलहरीमा जादु थियो । सङ्गीतमा चुम्बक थियो । आवाज नजिकै आउँदै थियो । म चराको निरर्थक गानमा अर्थ फेला पारे झैँ आँखा झिम्म नगरिकन सुनिरहेको थिएँ । रेडियो काँधमा झुन्ड्याएको मानिससँग अर्को मानिस पनि थियो । ऊ रेडियोवालाको खुसामद गरिरहेको थियो । ‘म त कान्छोबाउलाई सम्झेको सम्झ्यै नि  !’ उनीहरू भित्र गुन्द्रीमा बसे । माधव साहुले भित्तामा पातलो तकिया राखेर लाहुरेलाई सजिलो पारिदिए । ‘कहिले आउनुभयो कान्छा बाउ ?’  कान्छाबाउले लामो जुँघा पालेको थियो । नीलो भुईं भएको बुट्टेदार नयाँ लुङ्गी अझै मैलो भइसकेको थिएन । भन्यो  ‘अस्ति आएँ दाइ । ल चाय खाम् । माधव दाइको हातको चाय बेहतरीन लाग्छ मलाई ।’ ऊ चुप लाग्नासाथ सँगै आउने लाउकेले थप्यो, ‘फेटेर दिनुस् !’ 
एक प्याला चियाको आकर्षण शक्ति कति हो ? छोरो , लोग्ने र बाबुको भूमिकामा रहेको एउटा गृहस्थ  सोह्र पैसाको चियाका लागि आफ्नो जमीरलाई गुमाउन तयार थियो  त्यहाँ । घरमा गाई-भैंसी भोका छन् ।

बारीमा बिरुवाहरू ‘पानी पानी’  भन्दै पुकरा गरिरहेछन् । बालबालिका ‘बा बा’  भन्दै प्रेमको भोकले विह्वल  छन् । बुढी आमा एक मुठी तातोपानीका खातिर छटपटाइरहेकी छिन् । धर्मपत्नी आधा पेट र फुका केश लिएर बुहार्तनमा व्यस्त छिन् । घरको अभिभावक भने ‘फेटेर दिनुस्’  भन्दै निर्लज्ज घुड्कीको घिडघिडो बोकेर कसैको पुच्छर बन्नमा निमग्न छ । माधव साहुले दुईवटा गिलासमा चिया छाने । फेरि दुबै गिलासमा दुई चक्कीका दरले बिस्कुट राखे । फेरि उनले बिस्कुट मिश्रित चियालाई चम्चाले फेटेर लाहुरे र लाउकेको हातमा थमाए । 

चियापत्ती मिसाएको पानी स्वादिलो र बास्नादार हुन्छ भन्ने कुरा प्राचीन चिनमा पत्ता लागेको रे । एउटा राजा थियो रे । राजाले हमेसा तातोपानी मात्र खान्थ्यो । एक दिन राजाको भान्सेले राजालाई तातोपानी टक्र्यायो । ‘अहो ! यो के भयो ? पानीमा रङ्ग कसरी आयो ?’  पानीमा कतैबाट एउटा वनस्पतिको पात परेछ । भान्सेको सातो गयो । बोल्न पनि सकेन । अब राजा रिसाउँछ । राजाको रिस त यमराजको फन्दाभन्दा पनि खतरा हुन्छ । यमराजले त बरु ट्याप्प टिपेर लैजान्छ, राजाले त न जिउँदो रहन दिन्छ न त मर्न नै । राजाले उसलाई बोलायो इशाराले । ऊ भयभीत हुँदै राजाको सामुन्ने गएर उभियो ।

 राजाको अनुहार प्रफुल्ल थियो । ‘अबदेखि मलाई सधैभरि यही पत्तीमा पकाएको पानी मात्र दिनु है ! साह्रै मजा आयो ।’  भान्सेले वहुमूल्य पारितोषिक पायो । यस्तै यस्तै । 

थापाथली चोकको पूर्वतिर नर्भिक अस्पतालको छेवैमा एउटा सटरको अगाडि बिहान सबेरै चिया खान पाइन्थ्यो । ‘चिया सुन्दरी’ कहाँ दिनहुँ तातो चुस्की लिन पल्केका बानेश्वरतिरका एकजना भलाद्मी परिहासमा भन्दै थिए, ‘चियाकै कारण संसारमा तीनवटा ठूला घटना भएका छन् । अमेरिकी स्वतन्त्रता सङ्ग्रामको सुरुवात चिया फालेर भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उदय चिया उमालेर भयो । मलाई चिनी पिसाब गर्ने रोग यिनै चिया सुन्दरीको पसलमा गुलियो चिया धेरै खाएर भयो ।’ 

चियाको अम्मलबारे विभिन्न देशको आफ्नै इतिहास छ ।  किन्तु ‘फेटेर दिनुस्’  संस्कृतिको इतिहास भने सायद धौलागिरीको काखमा रहेको पाल्पा जिल्लाको खस्यौली भन्ने सानो भूखण्डमा सीमित छ । ‘फेटेर दिनुस्’ ले खस्यौली र वरिपरिको इलाकामा चिया संस्कृतिलाई नै नयाँ आयाम दिएको थियो । चियाको अस्तित्व जानकारीमा नआउँदैको प्राचीन कालको नेपाल र भारतमा अतिथि सत्कार पाहुनाको औकात अनुसार मख्खन, मह मिसाएको दही या मही खान दिएर गरिन्थ्यो । हाम्रा प्रातस्स्मरणीय कृष्ण कन्हैयाले त मट्कामा लुकाएर राखेको नौनीसमेत चोरेर खान्थे रे । कुनै समुदायमा थाकेको अतिथिलाई मदिरा पिलाएर स्वागत गरिन्थ्यो । वैदिक देवता इन्द्र त जति मिठो सोमरसले स्वागत गर्‍यो, त्यति नै प्रसन्न भएर किसानको भलो गरिदिन्थे रे ।

  ‘जहाँ गुलियो त्यहीँ बाहुन भुलियो’  भन्ने लोकोक्तिबारे थाहा नहुने को होला रु सुन्दा बाहुनलाई हेपेको जस्तो भान परे तापनि यसमा सत्यता छ । जाँड रक्सी नखाने, यत्रतत्र भात भान्सा नचल्ने र स्नान सन्ध्या आदिको पाबन्दीले गर्दा ब्राह्मण अतिथिलाई मह, खुदो या फलफूल खान दिएर स्वागत गर्नु स्वाभाविकै थियो । अरुले मदिरा सेवन गरेर मजा लिन्थे भने बाहुनले केरा, मह, मोहनभोग र खिर खाएर । तर कालान्तरमा यो चिया चीन, ब्रिटिशकालीन भारत र नेपालको राजधानी काठमाडौं हुँदै खस्यौली आइपुग्यो । खस्यौलीमा फेटेको चियाले आफ्नै मौलिक संस्कृतिको स्थापना गर्‍यो । लघुवा, देउराली, कन्ठीपोखरा, म्यालटुप्पा, कुसुम्री, पिपलगौंडा र हार्थोकमा एक या सोभन्दा धेरै चिया पसल खुले । 

चिया पसल आलसी र निठल्लाहरूले गफ गर्ने  केन्द्र बने । बिहान सबेरै भैंसीको दूध दुहेर चिया पसलमा महिनावारी दाममा बेच्न लैजानेहरू घन्टौं त्यहीँ बसेर गफ चुट्थे । म जान्नेबुझ्ने हुँदा साधा चियाको मूल्य मोहोरको तीन गिलास थियो भने फेटेर खाएमा सुका गिलास । दुनियाँले देख्नेगरी चिया पसलको बेन्चमा बसेर सिसाको गिलासमा तात्तातो चिया खानु प्रतिष्ठाको विषय बन्यो । ‘फेटेर दिनुस्’ भन्ने ग्राहकहरू चिया साहुका सम्मानका पात्र हुन्थे । अरुको भन्दा ‘फेटेर दिनुस्’ हरूको पालो पनि छिटो आउँथ्यो । उनीहरू आफूले फेटेर खाएको चिया भरसक धेरै जनाले देखून् भनेर प्रयत्न पनि गर्दथे ।

 चियाप्रेमीहरू ऊभन्दा ऊ बाठो भएर गफ गर्थे । त्यहाँ जसले जे भने पनि हुन्थ्यो । चियाको कपमा तुफान भन्ने उखान जस्तै हुन्थे ती गफहरू । चियाको तातो रहुन्जेल मात्र तरङ्गित । एक दिन एउटा फेटेको चिया हातमा लिएको गफाडीले भन्दै थियो, ‘जसले जे भने तापनि हाम्रो हार्थोक बजारमा चियाको चलन राजा मुनि मुकुन्द सेनले नै चलाएका हुन् ।’ 

एकजना भन्दै थियो, ‘घरमा बसे अनेक झमेलामा परिन्छ । त्यसो हुनाले म त लुसुक्क यतै आयो, च्या खायो, बस्यो गर्छु । गरे आस गर्ने त हुन् नि घरकाले पनि । नगर्ने बानी लागेपछि आफै फत्ते गर्छन् । मेरो त भित्रको काम आँबैले गर्छिन, बाहिरको जति आइमाईले गर्छे ।’  म सबै कुराको मिहिन अवलोकन गर्दै आफ्नै किसिमले विश्लेषण गर्न सिकिरहेको थिएँ । 

एक दिनको कुरा हो । एकजना मान्छे हस्याङ फस्याङ गर्दै चिया पसलमा आयो । उसले एक गिलास चिया मागेर उभिइउभिई नै सोरोप सोरोप पार्न थाल्यो । उही चिया गफाडीले भन्यो, ‘बसेर खा माइला, बसेर ! च्याको इजेत राख्न सिक् ।’ माइलाले भन्यो, ‘म त ज्वानो र जाइफल लिन भनेर फुत्त आएको मात्र हुँ ।’ अर्को रैथाने गफीले भन्यो, ‘फेरि स्वास्नी सुत्केरी भई कि क्या हो ? कति सक्छस् हँ माइला तैंले ?’  ‘स्वास्नी हैन भैंसी सुत्केरी भएको हो ।’ माइलो चियाको सोह्र पैसा फाल्दै निस्कन थाल्यो । पसलेले भन्यो, ‘ए माइला १ भैंसीले दूध कति दियो हँ ?’ माइलो पाँचमाना भन्दै घरतिर दौड्यो । ‘यो जैरेको भैंसीले पाँच हैन, धेरै दिए तीनमाना देला।’ गफी चिच्यायो । उपस्थित सबै गलल हाँसे ।  पसलेले भन्यो, ‘परिश्रमी किसानलाई यसरी हेपेर भन्नु राम्रो होइन बोलप्रसाद ।’ बोलप्रसाद बोल्यो, ‘आऽऽ, परिश्रमी न सरिश्रमी, आफ्नो जिन्दगी त यस्तै स्वादे तरिकाले बिताइन्छ ।’ मैले मनमनै भनेको थिएँ, ‘निर्लज्ज बोलप्रसाद ।’ 

नमालुम कहाँबाट आयो । एकजना मान्छे यत्रतत्र कराउँदै हिँड्थ्यो । ऊ बालप्रसादको चियापसल अगाडिको चौपारीमा बसेर भाषण गर्थ्यो । ऊ त्यस समयको एक्लो सत्यवादी थियो । किन्तु दुनियाँ उल्टो उसलाई नै सिल्ली भन्थ्यो । ऊ चिया खुवाउने र खानेलाई जिस्क्याउँदै भन्थ्यो,  ‘चिया मिठो हुन्छ, तर खाउन्जेल । चिया पिलाउने मानिसको माया लाग्छ, तर गिलास रित्तो नहुन्जेल ।’ ऊ सिल्ली थियो, तर पढेलेखेको प्रतीत हुन्थ्यो । एक दिन उसले चिया पाकेर तयार नहुन्जेलसम्म सुस्ताउँदै भोटो छोडाएर जुम्रा मारिरहेको ढाक्रेलाई संबोधन गर्दै भन्यो, ‘चिया खाने, चियासिया खाने र चियापान गर्ने भनेको के हो ढाक्रे दाइ ?’ ढाक्रे दाइ उसलाई हेर्दै हाँस्यो । ऊ जुरुक्क उठ्यो र एकोहोरो जुम्रा मार्दो ढाक्रे दाइतर्फ चोर औंलो देखाउँदै भन्यो, ‘कुनै सपना नदेखेर बितेको जवानी ।’ ढाक्रे दाइ बेखबर जुम्रा मारिरह्यो । 

खस्यौलीको चिया संस्कृतिका मूल निर्धारक थिए बालप्रसाद श्रेष्ठ । उनी औपचारिकता जान्दैनथे । उनमा कृतज्ञता थिएन , परन्तु इमान थियो । टाढा टाढादेखि बाल प्रसादको चियालाई लक्ष्य बनाएर आउँथे बटुवाहरू । बटुवाहरूसँग उनको एउटै मात्र सवाल हुन्थ्यो, ‘के छ बटौलीको खबर ?’  किन्तु उत्तर सुन्ने फुर्सद थिएन । उनीकहाँ हजारौं आए, चिया खाए र गए । परन्तु बालप्रसादलाई कुनै रुचि थिएन कि उनीहरू को हुन्, कहाँबाट आए र कहाँ जाँदैछन्  । बटुवाहरूको स्वार्थ बालप्रसादको तातो तातो फेटेको चियामा थियो । बालप्रसादको स्वार्थ आफ्नो व्यापारमा । 

हेर्दाहेर्दै बालप्रसाद बुढो हुँदै गए । दम बढ्न थाल्यो । बगलमा थुकदानी राख्न थाले । सिँगान चुहिन थाल्यो । साहुलाई समयको पदचाप थाहा थियो । निस्सन्तान उनलाई नियतिले दिन थालेको दस्तकप्रति चेतना पनि थियो । उनले अरुले एक मोहोर पुर्‍याउँदा पनि सोह्र पैसामै चिया दिइरहे । परन्तु समयको प्रवाहको वेगलाई रोक्नु उनको सामर्थ्यको कुरा थिएन । दुकान निर्जन र उराठलाग्दो हुँदै गयो । बालप्रसादका सुदिनमा बसीबसी ‘ई’ भन्दै हेलैसँग राखिदिएको चिया पनि ग्राहकले खुरुक्क उठाएर पिउँथ्यो । उनका दुर्दिनमा कोही आउँछ कि भनेर यसो आँखा जुधाउँदा पनि कसैले वास्ता गरेन । 

स्वार्थी संसार उनको देखादेखी अन्यत्र सरुवा भयो । स्थानीय सापेक्षतामा उनीसँग पैसाको कमी थिएन । सायद दानपुण्य गर्ने इच्छा पनि हुँदोहो । अज्ञातले अनेकौं माध्यमबाट पत्र पनि पठाइरह्यो । परन्तु भोलि भोलिको भाखा सार्दैमा बितिरह्यो जिन्दगी । एकजना भुक्तभोगी भन्दै थिए,‘जसले बालप्रसाद साहुको चिया पसलको उत्थान र पतनको इतिहास बुझेको छ, सम्झिनु, उसले जीवन पनि बुझेको छ ।’ 


 

प्रतिक्रिया