मैले किड्नी दिन्छु भन्दा नारायण गोपाल दाईले भन्नुभयो, ‘म कसैको आभारी भएर बाँच्न चाहन्न’

 

काठमाडौं । स्वरसम्राट नारायण गोपालको आज ३१ औं स्मृति दिवस । उनलाई नसम्झिने यो संसारमा कमै होलान । ‘यो संझीने मन छ, म विर्सुं कसोरी’ भने झैं । 

बिक्रम संवत १९९६ असोज १८ मा काठमाडौंको किलगल टोलमा जन्मिएका नारायण गोपाल हामी माझ नभए पनि उनका सिर्जना कालजयी छन् । उनका कर्णप्रिय गीत अझै पनि हाम्रो मन–मस्तिष्कमा गुन्जिरहेकै छन् । २०४७ मंसिर १९ मा उनी यो संसारबाट बिदा भएका थिए । उनी यो संसारबाट बिदा भएको ३१ वर्ष पुगेको छ । 

नारायण गोपालले धेरै गायक–गायिकालाई उनीसंगै संगीत सिक्ने र गीत गाउने अवसर पनि दिएका थिए । ती मध्येकी एक गायिका लोचन भट्टराई पनि हुन । प्रस्तुत छ, उनीसंग नारायण गोपालको विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीको सार, उनकै शब्दमाः

स्वर–सम्राट नारायण गोपाललाई उनको बार्षिकीको बेलामा मात्र हामीहरुले सम्झेर पुग्दैन् । उहाँले गाएका गीतहरुलाई हुबहु तरिकाले गाउन सक्यौं भने उहाँको सम्झना पनि हुन्छ र हाम्रो स्वर बन्छ । नारायण दाईको गायकी नै स्कुल जस्तो थियो । उहाँका गीतहरुलाई सबै गायक–गायिकाले गाउने, सुन्ने, सिक्ने बानी गर्नुपर्छ ।

हाम्रो भेट २०४५ सालमा भएको थियो । नारायण दाईले ‘स्वर्णीम सन्ध्या’ भन्ने एकल गायनको कार्यक्रम गर्न लाग्नु भएको रहेछ । अनि संजोग के भइदियो भने २०४४ सालमा मैंले रेडियो नेपालमा आधुनिक गीतहरुको लागि भाग लिएँ, भाग लिएपछि त्यसको निर्णायकमध्ये एकजना निर्णायक नारायण दाई पनि हुनुहुन्थ्यो । मेरो लागि नारायणगोपाल भनेको एउटा कल्पना मात्रै हुनुहुन्थ्यो, जसको गित मैंले रेडियोबाट मात्र सुनेकी थिएँ ।

उहाँलाई प्रत्यक्ष देख्ने र भेट्ने मौका भने त्यहि कार्यक्रममा मिलेको थियो । वर्ष २०४५ मा एउटा कार्यक्रममा मेरो स्वर उहाँले सुन्नु भएको रहेछ । एक संगीतकारमार्फत मलाई आफ्नो कार्यक्रममा कोरस गाउन बोलाइदिनु भन्नु भएको रहेछ । त्यसरी भेट भएको थियो, नारायण दाईसंग । 

उहाँसँगको चिनाजानी मेरो लगभग दुई वर्षको मात्र हो ।  २०४७ मा त उहाँ बित्नुहाल्नुभयो । उहाँले पहिलो भेटदेखि अन्तिमसम्म मेरो नाम पनि लिनुभएन । मलाई सधंै उहाँ ‘ठुली छोरी’ भनेर बोलाउनुहुन्थ्यो ।

एक पटक म्युजिक नेपालको पुरानो स्टुडियोमा नारायण दाई स्वर्णीम सन्ध्याको रिर्हसल गरिरहनुभएको थियो, मलाई पनि उहाँले त्यहि बोलाउनुभयो । मेरो पहिलो देखादेखी नारायण दाईसँग त्यहि भएको थियो । पहिलो चोटी देख्दा उहाँ हारमोनियम लिएर गीत गाइरहनु भएको थियो । वरीपरी बाद्यबादक बाजा बजाइरहेका थिए  । 

म भित्र छिरेपछि उहाँले खाली टाउको हल्लाउँदै मलाई बस्ने इशारा गर्नुभयो । म त्यहि बसेर केही समय उहाँले गाएका गीतहरुको आनन्द लिइरहें । 
विभिन्न व्यक्तिहरुबाट नारायण दाईको बारेमा धेरै कुराहरु सुनेकी थिएँ । ‘नारायण गोपाल भन्ने मान्छे एकदमै घमण्डी छ, कसैसंग राम्रोसँग बोल्दैन, ठुलो पल्टन्छ, जाँडरक्सी धेरै पिउँछ’ भन्नेहरु पनि थिए । 

नारायण दाईले म जस्तो भर्खर गीत गाउन निस्केकीलाई मौका दिनुभयो । जुन बेला म गायिका नै बनेकी थिइन, त्यस्तो केटीको स्वर सुनेर आफ्नो कार्यक्रममा गीत गाउन बोलाउनु नै मेरो लागि ठुलो कुरा थियो । यो मान्छेमा घमण्ड रत्तिभर पनि छैन भन्ने कुरा मलाई त्यहि बेलादेखि नै थाहा भइसकेको थियो । उहाँको उमेर पनि मेरो बुबाकै उमेरको हो । त्यहि भएर पनि उहाँलाई भेट्दा आफनो परिवारलाई भेटेजस्तो अनुभुति हुन्थ्यो । उहाँ एकदमै मायालु स्वभावको हुनुहुन्थ्यो ।

खाजा खाने बेला पनि उहाँ आफु खानुअघि हामीले खायौं कि खाएनौ भनेर हेर्नुहुन्थ्यो अनि मात्र आफु खाने गर्नुहुन्थ्यो । कार्यक्रमहरुमा पनि धेरै ठाउँमा म उहाँसंग हिंडे । धेरै ठाउँमा कार्यक्रम गर्न जादाँ मैले उहाँलाई एकदमै स्वाभिमानी कलाकारका रुपमा चिनें । उहाँ कुनै पनि गीतलाई न्याय गर्नुपर्छ भन्नुहुन्थ्यो । गीत रेकर्ड गर्ने पैसा थाप्ने अनि हिंड्ने होइन । उहाँ एउटा गीतलाई आफूले गाउन नसकुन्जेलसम्म रिटेक गरिरहनुहुन्थ्यो ।

शब्दले के भन्न खोजेको छ त्यो मर्म अझै पुगेको छैन भन्दै रिटेक गरिरहनु हुन्थ्यो । रेडियो नेपालमा उहाँले एउटै गीतलाई पनि महिनौं लगाएर गाउनु भएको रहेछ । उहाँँ सँधै भन्नुहुन्थ्यो, ‘हेर दर्शक श्रोतालाई हामीले ठग्नु हुँदैन । उनीहरु भनेका हाम्रा भगवान हुन्, दर्शकलाई हामीले ठग्यांै भने हाम्रो कला प्रस्तुत गर्ने ठाउँ रहँदैन ।’

उहाँको व्यवहार कस्तो थियो भने, हत्तपत्त सबै मान्छेहरुसँग घुलमिल हुन सक्नुहुन्नथ्यो । यसमा दुईवटा पक्ष छन् । एउटा कुरा उहाँ नेवारी समुदायको मान्छे । उहाँको बोलीमा अलिकति नेवारी लवज आउँथ्यो । मेरो बिचारमा योे कारण पनि हुनसक्छ । अर्को उहाँको जुन किसिमको व्यक्तित्व  र एउटा सोचाईको लेभल थियो, त्यो नमिलेपछि मान्छे हत्तपत्त अरुसँग घुलमिल हुन सक्दैन ।

narayan-gopal

मानिसहरुसँग मिल्न दिमाग, सोचाई र भावना पनि मिल्नुपर्छ । उहाँ जति मान्छेसँग घुलमिल हुनुहुन्थ्यो, उसँग कुनै न कुनै खुबी हुन्थ्यो । उहाँ इतिहासविदसँग चाँडै घुलमिल हुन सक्नुहुन्थ्यो । किनभने उहाँलाई इतिहासका कुराहरु जान्न खुब रुची थियो । मैंले उहाँले छालाको जुत्ता ‘क्लोज शु’ लगाएको थाहा पाइँन । साधारण सेतो रंगको सर्ट र पाइन्ट लगाउनुहुन्थ्यो । एउटा मोटरसाइकल थियो उहाँको । उहाँलाई तडकभडक यो त्यो भनेर देखाउने कहिले रहर भएन । उहाँलाई केवल गित संगीतसँग मात्र सरोकार थियो ।

मैंले अहिले र पहिलेको संगीतमा केही पनि भिन्नता पाएकी छैन । खाली शब्द छनोट पहिला एकदमै गहिराईका प्रतिगात्मक, बिम्व प्रयोग भएका शव्दहरु जसलाई अर्ध साहित्य पनि भन्न मिल्छ । गीत लेख्नेले नै अर्ध साहित्य कै गीत लेखेको हुन्थ्यो । अहिले गीतहरुको शब्द त्यति बलियो छैन । आजकल डायलग डेलिभरीमा गीत गाइन्छ । पहिलो साहित्यमा गीत गाइन्थ्यो तर अहिले संवादमा गीत गाइन्छ । प्रविधि पहिलेको भन्दा अहिले राम्रो छ । तर प्रविधिले हामीलाई अल्छी बनाइदिएको छ । मंैले गाउँदा पनि प्रविधि थिएन । रेडियो नेपालमा गयो, लाइभ रेकर्ड गर्नुपथ्र्यो । मैंले गीत बिगारें भने त्यसलाई फेरी शुरुबाट गाउनुपथ्र्यो । 

हामीलाई एउटा गीत गाउन स्टुडियोभित्र बिहान १० बजेदेखि उभिएर बेलुकी ५ बजेसम्म उभिएको उभिएइ गर्नुपर्ने हुन्थ्यो । यसको एउटा फाइदा के थियो भने, गीत रट्दा रट्दा हामीमा निखार आइसकेको हुन्थ्यो । त्यो निखारले नै मलाई अहिलेसम्म बचाएको छ । नत्र धेरै मान्छेहरुको उमेरसँगै स्वर पनि खत्तम भइसकेको हुन्छ । अहिलेको प्रविधिमा एउटा अक्षर पनि गाउन मिल्छ । अहिलकोे गीतहरुमा खासै ज्ञान भएको देखिदैन ।

नारायण दाईको परिवारसँग हामीले सधैं दशैंमा टिका लगाउने गथ्र्यौं । मेरो पनि बुबा नभएकाले बुवाको प्रेमको अनुभुति नभएको । उहाँसँग भेट्दा त्यो एउटा सम्बन्ध हो कि जस्तो मलाई महशुस हुन्थ्यो । मलाई भाउजुले पनि एकदमै माया गर्ने । केही मिठो पाकेको छ भने फोन गरेर बोलाइहाल्ने । मेरो भेट हुदाँ उहाँले रक्सी पिउन छाडिसक्नु भएको थियो । त्यतिबेला उहाँलाई सुगरले समातिसकेको थियो ।  उहाँ एकदमै पारिवारिक हुनुहुन्थ्यो । सबैसँग घुलमिल हुने सबैलाई माया गर्ने ।

अहिले मनमा एउटा के कुरा खटकिन्छ भने यतिबेला नारायण दाई हामीसँग हुनुभएको भए हामी अझ कति धेरै काम गथ्यौं होला । अनुभुति आफ्नो लागि हुन्छ । नारायण दाईसँग छेउमा बसेर गीत गाउँदा मलाई कस्तो अनुभुति भयो भन्ने मनमा छ, मस्तिष्कमा छ तर कसरी अभिव्यक्ति गर्नु । गर्व गर्छु आज म जे जस्तो छु उहाँकै प्रेरणाबाट हो ।

नारायण दाईलाई वीर अस्पतालमा किड्नी दिन्छु भनेर नाम लेखाउनेहरु हजारौं थिए । हरेक दिन वीर अस्पतालभरी मान्छेको भीड लागेको हुन्थ्यो । नारायण दाईको एउटा अन्तिम इच्छा अनौठो थियो । बिरामी भएर गम्भीर भएको रुप छ नी, त्यो कसैले पनि खिचेर प्रकाशनमा नल्याइदियोस् भन्ने उहाँको इच्छा थियो । मिर्गौला प्रत्यारोपण पनि गर्न मिल्थ्यो । मैले पनि उहाँलाई ‘मेरो किड्नी मिल्छ भने दिन्छु’ भनेकी थिएँ । उहाँले भन्नुभयो, ‘म कसैको आभारी भएर बाँच्न चाहन्न । मेरो जीवन जति बाँच्नु छ त्यति नै बाँचेर अन्त्य हुँ ।’

प्रतिक्रिया