२०८३ असोज १३ गते मङ्गलबार

Business Intelligence Platform

सिमेन्टमा आत्मनिर्भर नेपाल : उद्योग बढ्यो, अब प्रश्न गुणस्तरको

तपाईंले घर बनाउन किनेको सिमेन्टको एउटा बोरासँग एउटा उद्योग मात्र जोडिएको हुँदैन। त्यसको पछाडि चुनढुंगाको खानी, कारखानामा काम गर्ने श्रमिक, ढुवानी व्यवसाय, निर्माण क्षेत्र र अन्ततः हजारौँ परिवारको आम्दानी जोडिएको हुन्छ।

१२ असोज २०८३
सिमेन्टमा आत्मनिर्भर नेपाल : उद्योग बढ्यो, अब प्रश्न गुणस्तरको
दृश्य टिभी

काठमाडौँ। तपाईंले घर बनाउन किनेको सिमेन्टको एउटा बोरासँग एउटा उद्योग मात्र जोडिएको हुँदैन। त्यसको पछाडि चुनढुंगाको खानी, कारखानामा काम गर्ने श्रमिक, ढुवानी व्यवसाय, निर्माण क्षेत्र र अन्ततः हजारौँ परिवारको आम्दानी जोडिएको हुन्छ।

नेपालको सिमेन्ट उद्योग अहिले यही आकारमा पुगेको छ। प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब एक लाख मानिसलाई रोजगारी दिइरहेको सिमेन्ट उद्योग मुलुकको महत्वपूर्ण औद्योगिक क्षेत्रका रूपमा स्थापित भएको छ।

नेपाल सिमेन्ट उत्पादक संघका अनुसार अहिले देशभर करिब ६५ सिमेन्ट उद्योग सञ्चालनमा छन्। तीमध्ये १९ वटा क्लिङ्कर उत्पादन युनिट र २२ वटा ब्रान्डिङ युनिट रहेका छन्।

उद्योगमा स्वदेशी लगानी करिब रु. ३० हजार करोड पुगेको छ। उद्योगहरूको वार्षिक उत्पादन क्षमता करिब २ करोड टन भए पनि अहिले यसको करिब ४० प्रतिशत मात्रै उपयोग भइरहेको उद्योगीहरूको भनाइ छ।

यसले एउटा महत्वपूर्ण तथ्य देखाउँछ, नेपालमा सिमेन्ट उत्पादन गर्ने क्षमता पर्याप्त छ, तर उद्योगको उत्पादन क्षमता पूर्ण रूपमा उपयोग हुन सकेको छैन।

आयातमा निर्भर देशबाट आत्मनिर्भरतातर्फ

केही दशकअघिसम्म नेपाल सिमेन्टका लागि बाह्य बजारमा निर्भर थियो। अहिले अवस्था फेरिएको छ। निजी क्षेत्रको ठूलो लगानी र आधुनिक प्रविधिको प्रयोगसँगै नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको उद्योगीहरूको दाबी छ।

संघका अध्यक्ष ध्रुवराज थापाका अनुसार निजी क्षेत्र प्रवेश गरेको करिब दुई दशकको अवधिमा सिमेन्ट उद्योग शून्यबाट आत्मनिर्भर अवस्थासम्म पुगेको हो। सरकारले हेटौँडा र उदयपुरजस्ता ठूला सिमेन्ट उद्योग स्थापना गरेर आधार तयार गरे पनि पछिल्लो विस्तार भने निजी क्षेत्रको लगानीबाट भएको हो। तर उद्योगीहरूको भनाइमा अहिले चुनौती उत्पादन क्षमता बढाउनु मात्र होइन। लागत घटाउने, खानीको सहज उपलब्धता, विद्युत्, पूर्वाधार, निर्यात र सरकारी प्रक्रियालाई सरल बनाउने विषय पनि उत्तिकै महत्वपूर्ण छन्।

सिमेन्टको आधार नै चुनढुंगा

सिमेन्ट उद्योगको भविष्य कच्चा पदार्थसँग जोडिएको छ। सिमेन्ट उत्पादनमा मुख्य रूपमा चुनढुंगा प्रयोग हुन्छ। सामान्यतः करिब दुईतिहाइ चुनढुंगा र एक तिहाइ विशेष प्रकारको (क्ले) माटोबाट क्लिङ्कर तयार गरिन्छ। सिमेन्टको सेटिङ क्षमता मिलाउन जिप्समसमेत प्रयोग हुन्छ।

त्यसैले उद्योग विस्तारका लागि पर्याप्त चुनढुंगा खानी आवश्यक हुन्छ।

खानी तथा भूगर्भ विभागका अनुसार चुनढुंगा खानीको प्रवद्र्धन तथा उत्खननका लागि प्रक्रिया अघि बढाइएको छ। १५० भन्दा बढी उद्योगले उत्खनन अनुमति पाइसकेका छन् भने करिब ५० वटा अनुमति प्रक्रियामा छन्।

तर धेरै खानी क्षेत्र वनसँग सम्बन्धित भएकाले अनुमति प्रक्रियामा विभिन्न सरकारी निकायसँग समन्वय गर्नुपर्ने अवस्था छ। उद्योगीहरूले यस्तो प्रक्रिया सरल र एकद्वार बनाउनुपर्ने माग गर्दै आएका छन्।

अब उपभोक्ताको प्रश्न : कुन सिमेन्ट किन्ने?

नेपालमा सिमेन्टको उत्पादन बढ्दै जाँदा उपभोक्ताका लागि विकल्प पनि बढेका छन्। तर विकल्प बढ्नुको अर्थ सबै सिमेन्ट एउटै गुणस्तरका छन् भन्ने होइन।

घर, पुल, सडक वा अन्य संरचनाको मजबुतीमा सिमेन्टको महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले उपभोक्ताका लागि ब्रान्डभन्दा पनि गुणस्तर, मापदण्ड र प्रयोगको उद्देश्य महत्वपूर्ण हुन्छ।

नेपालमा अहिले ओपीसी र पीपीसी दुवै प्रकारका सिमेन्ट उत्पादन भइरहेका छन्। कुन संरचनाका लागि कुन प्रकारको सिमेन्ट उपयुक्त हुन्छ भन्ने विषय प्राविधिकको सल्लाहअनुसार तय गर्नु उपयुक्त हुन्छ।

सिमेन्ट खरिद गर्दा उपभोक्ताले उत्पादन मिति, प्याकेजिङ, मापदण्डको चिह्न र कम्पनीको विश्वसनीयताजस्ता विषयमा ध्यान दिनुपर्छ।

उद्योग बढ्यो, अब गुणस्तरको प्रतिस्पर्धा

नेपालको सिमेन्ट उद्योगको यात्रा हेर्दा परिवर्तन ठूलो छ। १९६० को दशकमा सुरु भएको व्यावसायिक उत्पादन आज ठूलो निजी लगानी, आधुनिक प्रविधि र ठूलो उत्पादन क्षमतासहितको उद्योगमा परिणत भएको छ।

अब उद्योगसँग दुईवटा बाटा छन्, घरेलु बजारमा गुणस्तरीय उत्पादनसहित उपभोक्ताको विश्वास अझ बलियो बनाउने र उत्पादन क्षमता उपयोग गर्दै निर्यात बजार विस्तार गर्ने।

नेपाल सिमेन्टमा आत्मनिर्भर बनेको दाबी गरिरहेको छ। तर आत्मनिर्भरता केवल देशभित्र सिमेन्ट उत्पादन हुनु होइनस गुणस्तरीय, प्रतिस्पर्धी मूल्यको र उपभोक्ताले विश्वास गर्न सक्ने सिमेन्ट उत्पादन हुनु पनि हो।

किनभने अन्ततः सिमेन्ट उद्योगको वास्तविक सफलता कारखानाको उत्पादनमा होइन, त्यसबाट बनेको बलियो घर, सुरक्षित संरचना र सन्तुष्ट उपभोक्तामा देखिन्छ।