एनपीएलको रौनक बढ्दै, गौतमबुद्ध रंगशाला अझै अधुरै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग जारी रहँदा चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ६५ प्रतिशत मात्रै निर्माणस लागत बढेर ८६ करोड रुपैयाँ नाघ्यो।
चितवन। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटको रौनक बढाइरहेका बेला चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण भने अझै अधुरै छ। भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन रंगशाला आगामी पुस २७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि अहिलेसम्म ६५ प्रतिशत काम मात्रै सकिएको छ।
भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बागमती प्रदेश सरकारबाट बजेट निकासा हुन ढिलाइ हुँदा निर्माण कम्पनीले बीचमा काम रोकेको थियो। निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम र पुरानो संरचनामा काम गर्नुपर्दा पनि निर्माण प्रभावित भएको कम्पनीका व्यवस्थापक सम्राट सिलवालले बताए।
अहिले मैदान निर्माण मुख्य चुनौती बनेको छ। मैदानमा माटोका चार तह राख्ने, पाइप जडान गर्ने र बरुणा घाँस रोप्ने काम बाँकी छ। दुईवटा टावर अन्तिम चरणमा पुगेका छन् भने चार प्यारापिटमध्ये दुईवटा पूरा भएका छन्। तेस्रो ९० र चौथो ७० प्रतिशत सम्पन्न भएका छन्। विद्युत् जडान पनि बाँकी छ।
निर्माणको समयसीमा नजिकिँदै गर्दा कम्पनीले म्याद थप माग्ने तयारी गरेको छ। सुरुमा भ्याटसहित ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाको लागत पहिलो भेरिएसन अर्डर स्वीकृत भएपछि बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ।
धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण निर्माण अघि बढाउन नसकेपछि भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारले संयुक्त रूपमा आयोजना अघि बढाएका हुन्। २०८१ असार २४ गते हिमालयन–कालिञ्चोक बिबीआर जेभीसँग निर्माण सम्झौता भएको थियो।
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण कम्पनीलाई आवश्यक सहयोग गर्दै काम छिटो सक्न आग्रह गरिएको बताए।
एनपीएलको बढ्दो लोकप्रियतासँगै चितवनमा पनि अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्ने अपेक्षा छ। तर रंगशाला निर्माणमा भइरहेको ढिलाइले त्यो अवसर पर्खाइमा छ। क्रिकेटको रौनक देशभर फैलिरहेका बेला चितवनको आफ्नै रंगशालामा खेल हेर्ने सपना कहिले पूरा हुन्छ?