२०८३ असोज १३ गते मङ्गलबार

Business Intelligence Platform

उद्योगी-व्यवसायीको जेठो पेशागत संस्थाले पायो नयाँ नेतृत्व

३० भदौ २०८३
उद्योगी-व्यवसायीको जेठो पेशागत संस्थाले पायो नयाँ नेतृत्व
दृश्य टिभी

विराटनगर । मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमिति चयन भएको छ। संघको अध्यक्षमा अनिलकुमार साह सर्वसम्मत चयन भएका छन्।

संघको विधान तथा नियमावलीअनुसार वाणिज्यतर्फ आठ र उद्योगतर्फ आठ सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। दुवै समूहमा तोकिएको संख्याअनुसार मात्रै उम्मेदवारी परेपछि सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

नवनिर्वाचित कार्यसमितिको बैठकले संघका पदाधिकारीसमेत चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य उपाध्यक्षमा विकासकुमार बेगवानी, उद्योग उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ, महासचिवमा अमितकुमार सारदा, सचिवमा अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित सिंघानिया, सह–कोषाध्यक्षमा मनिषकुमार मारु र प्रवक्तामा सुशिल सुराना चयन भएका छन्।

निर्वाचनबाट राजेशकुमार अग्रवाल आर्थिक समिति संयोजक तथा विवेककुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र बेदान्त जाजु कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओमप्रकाश शर्मालाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ। संघको नियमअनुसार निवर्तमान अध्यक्ष अनुपम राठी कार्यसमितिको पदेन सल्लाहकार रहनेछन्।

कार्यसमितिले डा. दिपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाललाई आमन्त्रित सदस्यका रूपमा मनोनयन गरेको छ।

महिला उद्यम समितिको संयोजकमा साधना झा र सह–संयोजकमा जीना श्रेष्ठलाई मनोनयन गरिएको संघले जनाएको छ।