बाढीले ऊर्जा क्षेत्रमा १५१ अर्बको क्षति, पुनःनिर्माणमा ३९० अर्ब आवश्यक
काठमाडौं । भोटेकोशी नदीमा आएको लेदोसहितको विनाशकारी बाढीले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनअनुसार ऊर्जा क्षेत्रमा मात्रै १५१ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।
बाढीबाट क्षतिग्रस्त ऊर्जा पूर्वाधारको पुनःनिर्माण तथा पुनःप्राप्तिका लागि भने ३९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। क्षति र पुनःप्राप्तिको आवश्यकताका आधारमा पूर्वाधार क्षेत्रमध्ये जलविद्युत् तथा ऊर्जा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।
बाढीले १३ वटा साना तथा ठूला जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्याएको छ। आयोजनाका बाँध, विद्युत्गृह र सुरुङमा लेदो, ढुंगा तथा अन्य माटोजन्य पदार्थ थुप्रिँदा संरचनामा ठूलो क्षति पुगेको हो।
बाढीपछि आयोजनास्थलमा फसेका तथा बेपत्ता भएका कामदारको खोजी तथा उद्धार जारी छ। माथिल्लो त्रिशूली–१, रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे, लाङटाङ र रसुवा भोटेकोशीलगायत आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विदेशी उद्धार टोली परिचालित छन्।
त्रिशूली–३ ‘बी’ आयोजनामा एक्स्काभेटर प्रयोग गरी उत्खनन गर्दा केही बिम, पिलर र इँटालगायत संरचनाका अवशेष फेला परेका छन्। बाढीले आयोजनाका संरचना मात्र होइन, त्यहाँ कार्यरत कामदारको सुरक्षामा समेत गम्भीर चुनौती सिर्जना गरेको छ।
यसबीच बाढीबाट प्रभावित विद्युत् आपूर्ति पुनःस्थापनाको काम पनि तीव्र पारिएको छ। रसुवाका करिब ८० प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति पुनःस्थापित भइसकेको छ। तत्काल विद्युत् पुर्याउन नसकिने प्रभावित क्षेत्रमा सोलार प्यानलमार्फत वैकल्पिक ऊर्जा उपलब्ध गराइएको छ।
धादिङ र नुवाकोटका क्षतिग्रस्त क्षेत्रमा पनि विद्युत् पूर्वाधार मर्मत तथा पोल पुनःस्थापनाको काम भइरहेको छ। देवीघाट स्टेसन पुनःस्थापनाका लागि प्राविधिक अध्ययन टोली गठन गरिएको प्राधिकरणले जनाएको छ।
भोटेकोशी बाढीबाट भएको क्षतिले जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माणसँगै विपद् पूर्वतयारी, आपत्कालीन उद्धार, वैकल्पिक विद्युत् आपूर्ति र आयोजना सुरक्षाको विषयलाई समेत थप गम्भीर बनाएको छ।