२०८३ असोज १३ गते मङ्गलबार

Business Intelligence Platform

पूँजीबजार सुधार २१ बुँदे कार्ययोजनाको प्रभाव

नेप्से २६०० विन्दुमाथि कायम हुँदा कारोबार रकम ३ अर्ब ६० करोडले वृद्धि

३० भदौ २०८३
पूँजीबजार सुधार २१ बुँदे कार्ययोजनाको प्रभाव
दृश्य टिभी

काठमाडौँ । पूँजीबजार सुधारका लागि अर्थ मन्त्रालयले २१ बुँदे कार्ययोजना घोषणा गरेसँगै लगानीकर्तामा उत्साह थपिएको छ । सरकारले पूँजीबजारका लगानीकर्ताले नाफामा कारोबार गरेवापत् सरकारलाई तिर्ने पूँजीगत लाभकर घटाउनेदेखि बजार सुधारका महत्त्वपूर्ण २१ बुँदे योजना अघि सारेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता नै घोषणा गरेको पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना मन्त्रालयले सोमवार जारी गरेको हो ।

पछिल्लो समय बजार सुधारका लागि सरकारदेखि नियामक निकायहरूले नीतिगत व्यवस्थामा जोड दिँदै आएका छन् । भदौ १० गतेको बाढीको प्रभावपछिको असरलाई बजारले स्वीकार गरी अघि बढिरहेको अवस्थामा सरकारको कार्ययोजनाले लगानीकर्तामा उत्साह थपिएको हो ।

मंगलवार १ दशमलव ८७ प्रतिशत अर्थात ४८ दशमलव ५७ अंक बढेर नेप्से २ हजार ६३३ दशमलव ६२ विन्दुमा बन्द भएको हो । भदौ ५ गतेपछि २६०० विन्दुभन्दा तल नै रहेको नेप्से मंगलवार भने सो विन्दुभन्दा माथि कायम भएको हो ।

यो दिन २ हजार ६७९ दशमलव ९० विन्दुसम्म पुगेको नेप्से २ हजार ६१० दशमलव ४५ विन्दुसम्म झरेको थियो । २ हजार ६७१ विन्दुमा खुला भएको मंगलवारको बजार खुलेको विन्दुभन्दा तल नै बन्द भएको हो ।

यस दिन २६५ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १२ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन मोदी इनर्जीको शेयरमूल्य मात्र स्थिर रहेको छ ।

यो दिनको कारोबारमा लामो पुच्छर र छोटो टुप्पी भएको रातो मैनबत्तीको आकृति बनेको छ । यो आकृतिले भने बजारमा विक्री चाप बढ्ने संकेत गर्दछ ।

मंगलवार तीव्र उतारचढावबीच भएको कारोबारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १४ दशमलव ९६ प्रतिशत बढेको छ । प्रतिकित्ता १४५ रुपैइाँ ९६ पैसा बढेर यो कम्पनीको अन्तिम शेयरमूल्य १ हजार ११९ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्य घट्नेमा भने एभरेष्ट बैंकको ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र रहेको छ ।

२०८६ सालमा परिपक्व हुने उक्त ऋणपत्रको मूल्य मंगलवार ५ दशमलव ५५ प्रतिशत अर्थात प्रतिकित्ता ६४ रुपैयाँले घटेर अन्तिम मूल्य १ हजार ९० रुपैयाँ कायम भएको छ ।

कारोबार रकममा भने यो दिन उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको १ करोड १५ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको २ करोड ३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । अघिल्लो दिनभन्दा यो दिन कारोबार रकम ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको हो ।

कुल कारोबार रकममा सर्वाधिक हिस्सा रिलायन्स स्पिनिङ मिल्सले ओगटेको छ । यस कम्पनीको ३२ करोड ७० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । यस कम्पनीले गत आर्थिक वर्ष ०८२र८३ को लागि कुल ३० प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव सार्वजनिक भएको दिन कम्पनीको सर्वाधिक रकमको कारोबार भएकोमा मूल्य भने प्रतिकित्ता ५७ रुपैयाँले घटेर २ हजार ८७९ रुपैयाँ कायम भएको छ ।

बजार बढेसँगै अघिल्लो दिन ४४ खर्ब ४६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण मंगलवार ४५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँभन्दा बढी कायम भएको छ ।

यस दिन सबै समूहगत परिसूचक बढ्दा निर्जीवन बीमा समूहको सर्वाधिक २ दशमलव ८२ प्रतिशत बढेको छ । त्यस्तै जीवन बीमाको २ दशमलव ५९ प्रतिशत, लगानीको २ दशमलव ५२ प्रतिशत, वित्तको २ दशमलव २३ प्रतिशत, अन्यको २ दशमलव १२ प्रतिशत, बैंकिङको १ दशमलव ९० प्रतिशत, विकास बैंकको १ दशमलव ७६ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ४२ प्रतिशत, जलविद्युत्‌को १ दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ७७ प्रतिशत, लघुवित्तको १ दशमलव ७५ प्रतिशत, म्युचुअल फण्डको १ प्रतिशत र व्यापारिकको शून्य दशमलव ९२ प्रतिशत परिसूचक बढेको छ ।