२०८३ असोज १३ गते मङ्गलबार

Business Intelligence Platform

सुक्खा याममा लोडसेडिङ नगर्ने प्राधिकरणको तयारी

३१ भदौ २०८३
सुक्खा याममा लोडसेडिङ नगर्ने प्राधिकरणको तयारी
दृश्य टिभी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खा याममा लोडसेडिङ हुन नदिन तयारी तीव्र पारेको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीले १३ जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि प्राधिकरणले भारतबाट ६५४ मेगावाट बिजुली आयातको स्वीकृति लिएको हो ।

भारतको ऊर्जा मन्त्रालयले भदौ २८ देखि आगामी पुस १६ सम्म दैनिक १८ घण्टा (राति १२ देखि साँझ ६ बजेसम्म) बिजुली आयात अनुमति नवीकरण गरेको छ । जसअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ६०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट बिजुली ल्याइनेछ ।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार सुक्खा यामको विद्युत् व्यवस्थापन सहज बनाउन थप १५० मेगावाट विद्युत् आयातका लागि भारतसमक्ष प्रस्ताव पठाइसकिएको छ । नदीहरूमा पानीको बहाव घट्ने र बाढीका कारण आन्तरिक उत्पादन घट्ने देखिएकाले समयमै आयातको स्वीकृति लिइएको प्राधिकरणले जनाएको छ ।