पेट्रोलियमको मूल्य नबढ्ने, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढाउने भएको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलिटर २० रुपैयाँले बढेर आए पनि निगमले चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै साबिककै मूल्य कायम राखेको हो।
निगमले बुधबार जारी गरेको विज्ञप्तिअनुसार हालैको बाढीपहिरोले पारेको असर तथा नजिकिँदै गरेका चाडपर्वलाई समेत ध्यानमा राखेर मूल्य समायोजन नगर्ने निर्णय गरिएको हो।
निर्णयअनुसार पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहनेछ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि त्यसअनुसार नेपालमा बिक्री मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ।
निगमका अनुसार खरिद मूल्य बढेर आए पनि उपभोक्तामाथि तत्काल थप मूल्यभार नपरोस् भन्ने उद्देश्यले हाललाई मूल्य यथावत् राखिएको हो।