२०८३ असोज १३ गते मङ्गलबार

Business Intelligence Platform

खाली जमिनमा सुन्तला, आम्दानीको नयाँ बाटो

३० भदौ २०८३
खाली जमिनमा सुन्तला, आम्दानीको नयाँ बाटो
दृश्य टिभी

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित भएका छन्। परम्परागत अन्नबालीबाट सीमित आम्दानी हुन थालेपछि किसानले सुन्तला खेतीलाई दिगो आम्दानीको विकल्पका रूपमा अपनाउन थालेका हुन्।

केही वर्षअघिसम्म घरायसी प्रयोजनमा सीमित खावाको सुन्तला खेती अहिले व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ। किसानले खाली तथा कम उपयोगमा रहेका जमिनमा व्यवस्थित रूपमा सुन्तलाका बगैँचा विस्तार गरिरहेका छन्।

स्थानीय किसान चण्डालकुमार राईका अनुसार अन्य बालीको तुलनामा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ। सुन्तलासँगै बिरुवा उत्पादन गरेर बिक्री गर्दा थप आम्दानी हुने उनले बताए।

“सुन्तला खेतीसँगै बिरुवा उत्पादन गरेर बिक्री गर्दा थप आम्दानी लिन सकिएको छ,” उनले भने, “यसले घरखर्च चलाउन र बचत गर्नसमेत सहयोग पुगेको छ। पछिल्लो समय खावा केराबारीका किसान व्यावसायिक सुन्तला खेतीमा जुटेका छन्।”

खावा केराबारीको हावापानी, माटो र उचाइ सुन्तला खेतीका लागि अनुकूल रहेको स्थानीय किसान देउराम राईले बताए। यहाँ उत्पादित सुन्तलाको स्वाद, गुणस्तर र आकार राम्रो भएकाले बजारमा मागसमेत रहेको उनको भनाइ छ।

व्यवस्थित रूपमा खेती विस्तार गर्न सके खावा क्षेत्र जिल्लाकै प्रमुख सुन्तला उत्पादन केन्द्रका रूपमा विकास हुन सक्ने राईले बताए।

किसानलाई प्रोत्साहन गर्न टेम्केमैयुङ–५ ले सुन्तला खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको वडाध्यक्ष सुनिल राईले बताए। उनका अनुसार किसानलाई प्राविधिक सहयोगसँगै गुणस्तरीय बिरुवा वितरण गर्ने काम भइरहेको छ।

वडाले कृषि प्राविधिकमार्फत बगैँचा व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, मल व्यवस्थापन र आधुनिक खेती प्रविधिबारे किसानलाई नियमित सहजीकरण गर्दै आएको छ। व्यावसायिक सुन्तला खेती विस्तारसँगै खावा क्षेत्रलाई सुन्तला उत्पादनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको वडाध्यक्ष राईले बताए।