२०८३ असोज १३ गते मङ्गलबार

Business Intelligence Platform

सीपसँगै रोजगारी, सातै प्रदेशमा कार्यक्रम गर्दै सरकार

३० भदौ २०८३
सीपसँगै रोजगारी, सातै प्रदेशमा कार्यक्रम गर्दै सरकार
दृश्य टिभी

विराटनगर । युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला’ सञ्चालन गर्ने तयारी थालेको छ। सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्ने लक्ष्यसहित मन्त्रालयले कोशी प्रदेशको इटहरीबाट मेला सुरु गर्ने निर्णय गरेको हो।

मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) तथा निजी क्षेत्रका प्रतिनिधिबीच सोमबार आन्तरिक रोजगारी प्रवर्द्धन र श्रम बजारलाई व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो। मन्त्रालयको टोलीले इटहरी पुगेर स्थानीय उद्योगी, व्यवसायी तथा अन्य सरोकारवालासँग मेलाको तयारी र प्रभावकारिताबारे छलफल गरेको हो।

सरकारले अघि सारेको ‘रोजगार प्रवर्द्धन दशक २०८३/८४–२०९२/९३’ लाई प्रभावकारी बनाउन इटहरीबाट सुरु हुने मेला क्रमशः सातै प्रदेशमा विस्तार गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मेला औपचारिक कार्यक्रममा मात्र सीमित हुने छैन। रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिको माग पहिचान गरी त्यसअनुसार सीप तथा तालिम प्रदान गर्ने र तालिमपछि रोजगारीमा जोड्ने व्यवस्था मिलाइनेछ।

मेलामार्फत कृषि, अटोमोबाइल, कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्रविधिलगायत क्षेत्रमा आवश्यक सीपमूलक तालिम उपलब्ध गराउने लक्ष्य राखिएको छ। निजी क्षेत्रले खोजेको जनशक्ति र युवाको सीपबीचको दूरी कम गर्ने गरी कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिले मेला सफल बनाउन आवश्यक सहकार्य गर्न आफूहरू सकारात्मक रहेको बताएका थिए। उनीहरूले उद्योग तथा व्यवसायको वास्तविक आवश्यकताअनुसार तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

मन्त्रालयले उद्योग तथा व्यवसायीलाई आगामी पाँचदेखि छ महिनामा आवश्यक पर्ने जनशक्तिको संख्या र आवश्यक सीपको स्तरबारे स्पष्ट माग प्रस्तुत गर्न आग्रह गरेको छ। सोही मागका आधारमा तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गर्न मन्त्रालय तयार रहेको जनाएको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको मुख्य उद्देश्य आन्तरिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउँदै बढीभन्दा बढी युवालाई स्वदेशमै रोजगारीसँग जोड्नु रहेको बताए। निजी क्षेत्रको आवश्यकता र युवाको सीपलाई एकै ठाउँमा जोड्न सके स्वदेशमै रोजगारीका अवसर विस्तार गर्न सकिने उनको भनाइ छ।