चीनका शीर्ष ५०० निजी कम्पनी : व्यापारबाट प्रविधि र भविष्यका उद्योगतर्फ
सन् २०२६ का लागि सार्वजनिक गरिएको चीनका शीर्ष ५०० निजी उद्यमको सूचीमा परेका कम्पनीले सन् २०२५ मा मात्रै ४४.९३ ट्रिलियन युआन सञ्चालन आम्दानी गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ४.३५ प्रतिशत बढी हो। अझ रोचक तथ्य के छ भने सूचीमा परेका ११० कम्पनीको वार्षिक आम्दानी १०० अर्ब युआनभन्दा माथि छ।
काठमाडौं। चीनको निजी क्षेत्र कति ठूलो छ भन्ने बुझ्न त्यहाँका शीर्ष ५०० निजी कम्पनीको एउटा तथ्यांक नै पर्याप्त छ।
सन् २०२६ का लागि सार्वजनिक गरिएको चीनका शीर्ष ५०० निजी उद्यमको सूचीमा परेका कम्पनीले सन् २०२५ मा मात्रै ४४.९३ ट्रिलियन युआन सञ्चालन आम्दानी गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ४.३५ प्रतिशत बढी हो।
अझ रोचक तथ्य के छ भने सूचीमा परेका ११० कम्पनीको वार्षिक आम्दानी १०० अर्ब युआनभन्दा माथि छ।
अर्थात् चीनको निजी क्षेत्र अब केवल साना–मझौला व्यवसायको समूह होइन। उसले बैंकिङ, प्रविधि, ई–कमर्स, उत्पादन, ऊर्जा, अटोमोबाइलदेखि भविष्यका उद्योगसम्म विश्व बजारमा प्रतिस्पर्धा गर्ने आकार बनाइसकेको छ।
चीनको उद्योग तथा वाणिज्य महासंघले सार्वजनिक गरेको सूचीमा जेडी डटकम, अलिबाबा र हेङ्ली ग्रुप पहिलो तीन स्थानमा छन्। यी कम्पनीको उपस्थिति आफैंमा चीनको निजी अर्थतन्त्र कुन दिशामा गइरहेको छ भन्ने संकेत हो।
नाफाभन्दा अगाडि अनुसन्धान
चीनका ठूला निजी कम्पनीको कथा केवल बिक्री र नाफाको कथा होइन। उनीहरूले भविष्यका लागि कति लगानी गरिरहेका छन् भन्ने पक्ष अझ महत्वपूर्ण देखिन्छ।
शीर्ष ५०० कम्पनीमध्ये तथ्यांक उपलब्ध गराएका कम्पनीले सन् २०२५ मा अनुसन्धान तथा विकास अर्थात् आर एन्ड डीमा १.२६ ट्रिलियन युआन खर्च गरेका छन्।
उनीहरूको कुल आम्दानीको औसत २.९५ प्रतिशत रकम अनुसन्धान तथा विकासमा गएको छ।
यो तथ्यांकले निजी क्षेत्रको प्रतिस्पर्धाको आधार बदलिएको देखाउँछ। पहिले ठूलो बजार, सस्तो उत्पादन र ठूलो बिक्री महत्वपूर्ण थिए। अहिले त्यसमा प्रविधि, अनुसन्धान, नवप्रवर्तन र नयाँ उत्पादन थपिएका छन्।
त्यसैले चीनका ठूला निजी कम्पनीको प्रतिस्पर्धा केवल चीनभित्रका कम्पनीबीच छैन। उनीहरू विश्व बजारमा प्रविधि र उत्पादन क्षमताको प्रतिस्पर्धामा छन्।
नयाँ उद्योगमा प्रवेश
शीर्ष ५०० कम्पनीमध्ये तथ्यांक उपलब्ध गराएका ३११ कम्पनीले रणनीतिक उदीयमान उद्योगका ६७९ परियोजनामा लगानी गरेका छन्।
त्यस्तै ८२ कम्पनीले भविष्यका उद्योगका ११२ परियोजना सुरु गरेका छन्।
यसको अर्थ निजी पूँजी तत्काल नाफा आउने क्षेत्रमा मात्र सीमित छैन। कृत्रिम बुद्धिमत्ता, नयाँ ऊर्जा, उन्नत उत्पादन, डिजिटल प्रविधि र भविष्यमा ठूलो बजार बन्न सक्ने क्षेत्रमा समेत लगानी विस्तार भइरहेको छ।
यही कारण चीनको निजी क्षेत्रलाई केवल ‘व्यापार गर्ने क्षेत्र’ भन्दा पनि नयाँ अर्थतन्त्र निर्माण गर्ने प्रमुख शक्तिका रूपमा हेर्न थालिएको छ।
उत्पादन क्षेत्रको अर्को तस्वीर
चीनको निजी क्षेत्रको औद्योगिक आधार पनि उत्तिकै ठूलो छ।
शीर्ष ५०० निजी उद्यममा रहेका उत्पादनमूलक कम्पनीले सन् २०२५ मा ३२.२२ ट्रिलियन युआन सञ्चालन आम्दानी गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ८.७३ प्रतिशत बढी हो।
कुल शीर्ष ५०० कम्पनीको आम्दानी वृद्धिदर ४.३५ प्रतिशत रहेको अवस्थामा उत्पादन क्षेत्रको वृद्धि ८.७३ प्रतिशत हुनु उल्लेखनीय छ।
यसले चीनको निजी क्षेत्र उत्पादनबाट बाहिरिँदै गएको होइन, बरु उत्पादनलाई प्रविधि र उच्च मूल्य अभिवृद्धिसँग जोड्दै गएको देखाउँछ।
कर तिर्ने निजी क्षेत्र
ठूला निजी कम्पनीको अर्को महत्वपूर्ण पक्ष सरकारको राजस्वमा उनीहरूको योगदान हो।
शीर्ष ५०० कम्पनीले गत वर्ष मात्रै १.३ ट्रिलियन युआन कर तिरेका छन्। तीमध्ये २५४ कम्पनीले प्रतिकम्पनी १ अर्ब युआनभन्दा बढी कर बुझाएका छन्।
निजी क्षेत्रको विस्तार र राज्यको राजस्वबीचको सम्बन्ध यहाँ स्पष्ट देखिन्छ—व्यवसाय ठूलो हुँदै जाँदा उत्पादन, रोजगारी, लगानी र कर योगदान पनि विस्तार हुन्छ।
नेपालको निजी क्षेत्रका लागि प्रश्न
चीन र नेपालबीच प्रत्यक्ष तुलना गर्नु स्वाभाविक रूपमा समान हुँदैन। दुवै देशको अर्थतन्त्रको आकार, जनसंख्या, औद्योगिक आधार, पूँजी बजार र नीतिगत संरचना फरक छन्।
तर चीनको अनुभवबाट एउटा महत्वपूर्ण प्रश्न भने उठ्छ। नेपालको निजी क्षेत्र अबको दशकमा कुन दिशामा जाने?
हामीकहाँ निजी लगानीको ठूलो हिस्सा व्यापार, आयात, घरजग्गा, सेवा र परम्परागत व्यवसायमा केन्द्रित छ। उत्पादन, अनुसन्धान, प्रविधि र नयाँ उद्योगमा निजी क्षेत्रको लगानी अझै सीमित छ।
यसको अर्थ व्यापार गलत हो भन्ने होइन। तर दीर्घकालीन आर्थिक वृद्धि खोज्ने हो भने व्यापारसँगै उत्पादन, प्रविधि, अनुसन्धान, निर्यात र उच्च मूल्य अभिवृद्धितर्फ निजी पूँजीलाई लैजानुपर्ने प्रश्न गम्भीर बन्दै गएको छ।
चीनका शीर्ष ५०० निजी कम्पनीको सूचीले यही एउटा ठूलो तस्वीर देखाउँछ।
ठूला कम्पनी केवल ठूलो कारोबार गरेर मात्र ठूलो हुँदैनन्। उनीहरूले भोलिको बजार आजै खोज्न थाल्छन्। र यहीँबाट निजी क्षेत्रको अर्को यात्रा सुरु हुन्छ- आजको नाफाबाट भोलिको प्रविधितर्फ। (सिन्ह्वाको सहयोगमा)