२०८३ असोज १९ गते सोमबार

Business Intelligence Platform

सिंगापुरले फिनटेक क्षेत्रका लागि २२ करोड सिंगापुर डलर लगानी गर्ने

सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा नवप्रवर्तनलाई तीव्र बनाउन २२ करोड सिंगापुर डलर (करिब १७ करोड ३० लाख अमेरिकी डलर) लगानी गर्ने भएको छ।

१९ असोज २०८३
सिंगापुरले फिनटेक क्षेत्रका लागि २२ करोड सिंगापुर डलर लगानी गर्ने
दृश्य टिभी

सिंगापुर। सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा नवप्रवर्तनलाई तीव्र बनाउन २२ करोड सिंगापुर डलर (करिब १७ करोड ३० लाख अमेरिकी डलर) लगानी गर्ने भएको छ।

सिंगापुरका उपप्रधानमन्त्री तथा व्यापार तथा उद्योगमन्त्री एवं एमएएसका अध्यक्ष गान किम योङले सोमबार यस्तो घोषणा गरेका हुन्। तीन वर्षमा खर्च गरिने उक्त रकम वित्तीय क्षेत्र प्रविधि तथा नवप्रवर्तन (एफएसटीआई) योजनाको चौथो चरणअन्तर्गत परिचालन हुनेछ।

यो योजनाको उद्देश्य सिंगापुरलाई प्रतिस्पर्धी र जीवन्त फिनटेक केन्द्रका रूपमा थप बलियो बनाउनु हो। योजनाले वित्तीय क्षेत्रमा नयाँ प्रविधि अपनाउन आवश्यक पूर्वाधार निर्माण, प्रविधिको विकास तथा दक्ष जनशक्ति उत्पादन र आकर्षणमा सहयोग गर्ने एमएएसले जनाएको छ।

तीन वर्षमा कम्तीमा १ हजार इन्टर्नसिप

एमएएसका अनुसार योजनाले सिंगापुरको फिनटेक क्षेत्रमा युवा प्रतिभाको निरन्तर आपूर्ति सुनिश्चित गर्न सहयोग गर्नेछ। त्यसका लागि इन्टर्नसिप भत्तामा सह-वित्तीय सहयोग उपलब्ध गराइनेछ र आगामी तीन वर्षमा कम्तीमा १ हजार फिनटेक इन्टर्नसिप सिर्जना गर्ने लक्ष्य राखिएको छ। यसका लागि सिंगापुर फिनटेक एसोसिएसनले व्यवस्थापन गर्ने फिनटेक इन्टर्नसीप पोर्टल सञ्चालनमा ल्याइएको छ। पोर्टलले उच्च शिक्षण संस्थाका विद्यार्थीलाई फिनटेक कम्पनीसँग जोड्नेछ।

कम्तीमा तीन महिनाको पूर्णकालीन वा आंशिककालीन इन्टर्नसिपमा सहभागी हुने विद्यार्थीका लागि निश्चित सिकाइ उपलब्धि तय गरिनेछ। योग्य कम्पनीले प्रत्येक इन्टर्नका लागि मासिक भत्ताको ८० प्रतिशतसम्म, अधिकतम १ हजार सिंगापुर डलर प्रतिमहिना प्राप्त गर्न सक्नेछन्। एउटै कम्पनीले एक वर्षमा बढीमा १० जना इन्टर्नका लागि यस्तो सहयोग पाउनेछ।

एआई र नयाँ प्रविधिमा विशेष जोड

एफएसटीआई ४।० अन्तर्गत संस्थागत नवप्रवर्तन, एआई प्रविधि अपनाउने, पूर्वाधार तथा प्लेटफर्म र प्रतिभा विकासलगायत छवटा क्षेत्रमा कार्यक्रम सञ्चालन हुनेछ।

एमएएसले कृत्रिम बुद्धिमत्ता (एआई), डिस्ट्रिब्युटेड लेजर प्रविधि र क्वान्टम प्रविधि जस्ता अग्रणी प्रविधिमा विशेष ध्यान दिने जनाएको छ।

योजनाअन्तर्गत वित्तीय संस्था तथा फिनटेक कम्पनीले विकास र प्रयोग गर्ने नवीन प्रविधिमा सहयोग उपलब्ध हुनेछ। त्यस्ता परियोजनाले व्यावसायिक प्रभाव, प्राविधिक सम्भाव्यता र नवप्रवर्तनको स्पष्ट आधार देखाउनुपर्नेछ।

एआई पाथफाइन्डर कार्यक्रमले बजारमा परीक्षण भइसकेका एआई समाधानको प्रयोगलाई तीव्र बनाउनेछ। त्यस्तै, पूर्वाधार तथा प्लेटफर्म कार्यक्रमले वित्तीय क्षेत्रको दक्षता, उत्पादकत्व र नवप्रवर्तन बढाउने उद्देश्य राखेको छ।

१ हजार ८ सयभन्दा बढी फिनटेक कम्पनी

उपप्रधानमन्त्री गानका अनुसार सिंगापुरमा अहिले १ हजार ८ सयभन्दा बढी फिनटेक कम्पनी सञ्चालनमा छन्। तीमध्ये धेरै कम्पनी क्षेत्रीय बजार हुँदै विश्व बजारसम्म पुगेका छन्।

फिनटेक क्षेत्रमा करिब १० हजार मानिस कार्यरत रहेको उनले बताए। सन् २०२५ मा मात्रै सिंगापुरको फिनटेक क्षेत्रमा करिब ३ अर्ब सिंगापुर डलर लगानी भएको थियो।

सन् २०१५ मा सुरु गरिएको एफएसटीआई योजनाअन्तर्गत अहिलेसम्म ३५० भन्दा बढी फिनटेक परियोजनालाई सहयोग गरिएको छ।

जनशक्तिको अभाव प्रमुख चुनौती

सिंगापुरको फिनटेक उद्योगले दक्ष जनशक्तिको अभाव र कर्मचारी पलायनको चुनौती सामना गरिरहेको छ। सिंगापुर फिनटेक एसोसिएसनको सन् २०२५ को प्रतिभा प्रतिवेदनअनुसार एआई, डाटा साइन्स, साइबर सुरक्षा र क्लाउड आर्किटेक्चर क्षेत्रमा दक्ष जनशक्तिको उल्लेख्य अभाव छ।

कम्पनीहरूले दक्ष कर्मचारी नियुक्त गर्न लामो समय लाग्ने, उच्च पारिश्रमिकको अपेक्षा र करिअर विकास तथा पारिश्रमिकसँग सम्बन्धित कारणले कर्मचारी टिकाउन कठिन हुने समस्या भोगिरहेका छन्।

नयाँ प्रविधिका लागि थप आर्थिक सहयोग

एफएसटीआई ४।० अन्तर्गत योग्य भूमिकामा कार्यरत जनशक्तिको खर्चका लागि सिंगापुरका नागरिकलाई ५० प्रतिशतसम्म र गैरनागरिक, स्थायी बासिन्दासहितका लागि २५ प्रतिशतसम्म सहयोग उपलब्ध हुनेछ। यस्तो सहयोग बढीमा २४ महिनासम्म उपलब्ध हुनेछ।

त्यस्तै, ग्लोबल फिनटेक ह्याकसेलेरेटरका योग्य अन्तिम प्रतिस्पर्धीले आफ्ना समाधान थप विकास तथा परीक्षण गर्न ५ लाख सिंगापुर डलरसम्मको स्केल–अप अनुदान प्राप्त गर्न सक्नेछन्।

एमएएसका अनुसार योजनाको सुरुवातदेखि ह्याकसेलेरेटरका प्रतिस्पर्धीले ३।८ अर्ब सिंगापुर डलरभन्दा बढी लगानी जुटाइसकेका छन् भने ३० भन्दा बढी ‘सेन्टर अफ एक्सिलेन्स’ स्थापना भएका छन्।

अघिल्ला चरणमा पनि ठूलो लगानी

एफएसटीआई योजनाको तेस्रो चरणमा सन् २०२३ देखि २०२६ सम्मका लागि १५ करोड सिंगापुर डलर प्रतिबद्ध गरिएको थियो।

दोस्रो चरणमा सन् २०२० देखि २०२३ सम्म २५ करोड सिंगापुर डलर लगानी गरिएको थियो। कोभिड–१९ महामारीका समयमा साना वित्तीय संस्थालाई दूरस्थ काममा रूपान्तरण गर्न पनि यसले सहयोग गरेको थियो।

पहिलो चरणमा सन् २०१५ देखि २०२० सम्म २२ करोड ५० लाख सिंगापुर डलर लगानी गरिएको थियो। त्यस चरणले सिंगापुरलाई प्रमुख फिनटेक केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गरेको थियो।

सिंगापुर फिनटेक एसोसिएसनले नयाँ योजनाले नवप्रवर्तनमा मात्र नभई प्रविधिको व्यावसायीकरण र विस्तारमा समेत जोड दिएको भन्दै स्वागत गरेको छ। फिनटेक उद्योगका प्रतिनिधिहरूले भने अहिलेको चुनौती नयाँ प्रविधि विकास गर्नु मात्र नभई राम्रा समाधानलाई वास्तविक बजारमा प्रयोग र ठूलो स्तरमा विस्तार गर्नु रहेको बताएका छन्। एआईमा केन्द्रित नयाँ कार्यक्रम र अनुदानले कम्पनीलाई नयाँ उत्पादन विकासमा थप लगानी गर्न प्रोत्साहित गर्ने उनीहरूको भनाइ छ।

सिंगापुर सरकारले भने हङकङलगायत अन्य क्षेत्रीय वित्तीय केन्द्रसँगको प्रतिस्पर्धालाई ‘शून्य–योग’ खेलका रूपमा नहेरेको जनाएको छ। सिंगापुर अझ सक्षम हुँदै जाँदा त्यसबाट क्षेत्रीय वित्तीय उद्योग र प्रविधि क्षेत्रले समेत लाभ लिन सक्ने सरकारको विश्वास छ। स्रोत सिएनए

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *