२०८३ कार्तिक २० गते शुक्रबार

Business Intelligence Platform

भारतमा पहिलो पटक विश्व पहिरो सम्मेलन हुँदै, ७५ देशका वैज्ञानिक सहभागी हुने

नोभेम्बर २३ देखि २७ सम्म फरिदाबादमा हुने सम्मेलनमा पहिरोको जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र कृत्रिम बुद्धिमत्ताको प्रयोगबारे छलफल गरिने

२० कार्तिक २०८३
भारतमा पहिलो पटक विश्व पहिरो सम्मेलन हुँदै, ७५ देशका वैज्ञानिक सहभागी हुने
दृश्य टिभी

काठमाडौं। भारतमा पहिलो पटक विश्वकै ठूलो अन्तर्राष्ट्रिय पहिरो सम्मेलन आयोजना हुने भएको छ। भारतको अमृता विश्व विद्यापीठम्ले अन्तर्राष्ट्रिय पहिरो संघसँगको सहकार्यमा आगामी नोभेम्बर २३ देखि २७ सम्म दिल्ली एनसीआरको फरिदाबादमा सातौं विश्व पहिरो मञ्च (डब्लूएलएफ–७) आयोजना गर्न लागेको हो।

‘सुरक्षित र उत्थानशील समुदायका लागि पहिरो विज्ञान र अभ्यास’ मुख्य विषय रहेको सम्मेलनमा ७५ देशका १ हजार ९०० भन्दा बढी लेखक तथा वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ। सम्मेलनमा ७६० संस्थासँग सम्बन्धित ७०० भन्दा बढी वैज्ञानिक शोधपत्र प्रस्तुत हुनेछन्। एक हजार ३०० भन्दा बढी विदेशी प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ।

यसअघि सन् २००८ मा जापानको टोकियोबाट सुरु भएको यो सम्मेलन इटालीको रोम, चीनको बेइजिङ, स्लोभेनियाको लुब्लियाना, जापानको क्योटो र इटालीको फ्लोरेन्समा आयोजना भइसकेको छ।

पहिरोको पूर्वसूचनामा एआईको प्रयोग

सम्मेलनमा पहिरोको जोखिम पहिचान, अनुगमन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने नयाँ प्रविधिबारे विशेष छलफल हुनेछ। नोभेम्बर २२ मा हुने पूर्वसम्मेलन कार्यशालामा कृत्रिम बुद्धिमत्ता (एआई), भूउपग्रहबाट पहिरोको निगरानी, डिजिटल प्रविधि र भौगोलिक मोडलिङजस्ता विषयमा छलफल गरिनेछ।

मुख्य सम्मेलनमा पहिरोको पूर्वसूचना प्रणाली विकास, पहिरोसम्बन्धी तथ्यांक संकलन तथा अभिलेखीकरण र पहिरोले समाजमा पार्ने प्रभावबारे प्राविधिक सत्र सञ्चालन हुनेछन्। साथै, विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता र संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यसँग पहिरो नियन्त्रणका प्रयासलाई जोड्ने विषय पनि छलफलमा समेटिनेछ।

नेपालका लागि पनि महत्वपूर्ण

मनसुनका बेला हरेक वर्ष ठूलो जनधनको क्षति बेहोर्दै आएको नेपालका लागि यो सम्मेलन विशेष उपयोगी हुन सक्नेछ। पहिरोको जोखिम समयमै पहिचान गर्ने र सम्भावित क्षति कम गर्ने प्रविधिबारे सम्मेलनमा महत्वपूर्ण अनुभव आदानप्रदान हुने अपेक्षा गरिएको छ।

आयोजक अमृता विश्वविद्यालयले सन् २००६ देखि पहिरोसम्बन्धी अनुसन्धान गर्दै आएको छ। विश्वविद्यालयले भारतको केरलास्थित मुन्नारमा वायरलेस सेन्सर प्रणाली प्रयोग गरेको छ भने सिक्किमका ७० भन्दा बढी स्थानमा ३०० भन्दा बढी सेन्सर जडान गरी एआईमा आधारित पहिरो अनुगमन तथा पूर्वसूचना प्रणाली सञ्चालन गरेको जनाएको छ।

विश्वविद्यालयको अनुसन्धानअनुसार इन्टरनेटमा आधारित सेन्सर र एआई प्रविधिलाई एकीकृत गर्दा पहिरो जान सक्ने अवस्थाबारे २४ घण्टाअघिसम्म पूर्वसूचना दिन सकिने सम्भावना छ।

विश्वविद्यालयकी प्राध्यापक तथा उपकुलपति डा. मनीषा वी. रमेशले पहिरोसम्बन्धी अनुसन्धानको अन्तिम उद्देश्य मानवीय जीवन, घर र जीविकोपार्जन जोगाउनु हुनुपर्ने बताउनुभएको छ। विश्वविद्यालयको पहिरोसम्बन्धी कार्यक्रम सन् २०१७ देखि २०२६ सम्म लगातार तीन कार्यकालका लागि पहिरो प्रकोप न्यूनीकरणसम्बन्धी विश्व उत्कृष्टता केन्द्रका रूपमा मान्यता प्राप्त छ।

नेपाली सहभागीलाई छुट र विद्यार्थीलाई अनुदान

नेपाल सार्क सदस्य राष्ट्र भएकाले नेपाली सहभागीले सम्मेलनको प्रारम्भिक दर्ता शुल्कमा छुट पाउने आयोजकले जनाएको छ। स्वीकृत शोधपत्रका लेखक विद्यार्थीका लागि २०० वटा अनुदानको व्यवस्था गरिएको छ। पाँच वा सोभन्दा बढी शोधपत्र पेस गर्ने संस्थालाई १५ प्रतिशत समूह छुट पनि दिइनेछ।

सम्मेलनमा सहभागी हुन, शोधपत्रको सारांश पठाउन तथा कार्यशालामा नाम दर्ता गर्न www.wlf7.org मार्फत अनलाइन आवेदन दिन सकिनेछ।

सम्मेलनलाई भारतीय भूवैज्ञानिक सर्वेक्षण, भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो), राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेका छन्।

थप जानकारीका लागि आयोजकलाई info@wlf7.org मा सम्पर्क गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *