दृश्य टिभीको अर्थतन्त्रलाई हेर्ने नयाँ दृष्टि
दृश्य टिभी- अर्थतन्त्रको औपचारिक समाचार कभर गर्ने प्लेटफर्ममात्र होइन, त्यसको अर्थ खोज्ने प्रयास पनि हो।
अर्थतन्त्रका समाचार दिनहुँ आउँछन्। बजारमा के भयो, सरकारले के निर्णय गर्यो, कुन कम्पनीले कति कारोबार गर्यो- सूचनाको कमी छैन। तर प्रश्न यति मात्र होइन, त्यसको अर्थ के हो? त्यसको प्रभाव कसलाई पर्छ? र त्यसको पछाडिको वास्तविक कथा के हो?
आर्थिक पत्रकारिताको सार यही प्रश्नको खोजीमा छ।
उद्योगीले भोगिरहेको समस्या, उद्यमीले देखिरहेको सम्भावना, लगानीकर्ताको अन्योल, व्यवसायीले झेलिरहेको नीतिगत जटिलता, सरकारी संयन्त्रबीचको समन्वय अभाव र कठिन परिस्थितिमा पनि अघि बढिरहेका सफल उद्यम- यी सबै अर्थतन्त्रका महत्वपूर्ण कथा हुन्। यिनलाई सतहमा मात्र होइन, तथ्य र सन्दर्भसहित बुझ्न आवश्यक छ।
यही आवश्यकता र जिम्मेवारीबोधका साथ दृश्य टिभी डटकम अब विशुद्ध आर्थिक डिजिटल प्लेटफर्म बनेर नयाँ स्वरूपमा आजबाट सुरु भएको छ । अब यो यसरी नै अघि बढ्दै जानेछ।
हाम्रो पत्रकारिताको आधार हुनेछ- तथ्य, विश्वसनीयता र वस्तुनिष्ठता।
न आग्रहमा प्रशंसा, न पूर्वाग्रहमा आलोचना। तथ्यले प्रश्न उठाए प्रश्न गर्नेछौं। नीतिले समस्या सिर्जना गरेको देखिए त्यसको प्रभाव खोज्नेछौं। सम्भावना देखिए त्यसलाई उजागर गर्नेछौं। र, चुनौतीबीच सफलताको बाटो बनाइरहेका उद्यमी तथा व्यवसायको कथा पनि समाजसम्म पुर्याउनेछौं।
हामी अर्थतन्त्रलाई केवल अंक, तथ्यांक र बजारको उतारचढावका रूपमामात्र हेर्ने छैनौं। उद्योग, लगानी, रोजगारी, उद्यमशीलता, नीति र नागरिकको दैनिक जीवनसँग जोडेर अर्थतन्त्रका कथा खोज्नेछौं।
निजी क्षेत्र र राज्यबीच आरोप-प्रत्यारोपभन्दा संवाद र सहकार्यको वातावरण निर्माण गर्न तथ्यमा आधारित बहस आवश्यक छ। दृश्य टिभी त्यही बहसको एउटा साझा मञ्च बन्न चाहन्छ।
यो यात्रामा पाठक, उद्यमी, व्यवसायिक प्रतिष्ठान, विज्ञ, नीतिनिर्माता र सरकारी निकायको सुझाव तथा आलोचना हाम्रा लागि महत्वपूर्ण हुनेछन्।
दृश्य टिभी- अर्थतन्त्रको औपचारिक समाचार कभर गर्ने प्लेटफर्ममात्र होइन, त्यसको अर्थ खोज्ने प्रयास पनि हो।