कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत
काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष सुरु हुँदा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो। विनिमय दरमा भएको नाफासहित कात्तिक मसान्तसम्म ऋण दायित्व घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ कायम भएको हो।
कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत छ। कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण दायित्व १४ खर्ब ४७ अर्ब ५९ लाख रुपैयाँ रहेको छ।
ऋण उठाउने लक्ष्यको २३ प्रतिशत मात्रै प्राप्त
सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। तर, कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।
सरकारले यस वर्ष आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ परिचालन गर्ने लक्ष्य राखेको छ। कात्तिक मसान्तसम्म आन्तरिक ऋणबाट १ खर्ब २५ अर्ब र वैदेशिक ऋणबाट २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको छ। वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३०.४९ प्रतिशत पुगेको छ भने वैदेशिक ऋण परिचालन ११।६२ प्रतिशत मात्रै भएको छ।
अहिलेसम्म प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८.७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
सरकारले वर्षभरि उठाउने लक्ष्य राखेको ऋणमध्ये अझै ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ प्राप्त गर्न बाँकी छ। यसमध्ये आन्तरिक ऋणतर्फ २ खर्ब ८५ अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ उठाउन बाँकी छ।
चार महिनामै ऋण भुक्तानीमा ३३ प्रतिशत खर्च
सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याएको छ। त्यसमध्ये कात्तिक मसान्तसम्म १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो।
चार महिनामा भएको ऋण सेवा खर्च जीडीपीको २.१४ प्रतिशत पुगेको छ।
ऋण सेवा खर्चमध्ये आन्तरिक ऋण भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।
आन्तरिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि सरकारले यस वर्ष ३ खर्ब २८ अर्ब १४ करोड रुपैयाँ बजेट छुट्याएको थियो। कात्तिक मसान्तसम्म यसमध्ये ३६.३२ प्रतिशत खर्च भएको छ।
आन्तरिक ऋणको साँवा तिर्न ९९ अर्ब ९४ करोड रुपैयाँ र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ। वार्षिक बजेटका आधारमा आन्तरिक ऋणको साँवा भुक्तानीमा ४०.६४ प्रतिशत र ब्याज भुक्तानीमा २३.४० प्रतिशत खर्च भइसकेको छ।
वैदेशिक ऋणको साँवा र ब्याजमा २१ अर्ब खर्च
वैदेशिक ऋण भुक्तानीका लागि सरकारले चालु आर्थिक वर्षमा ८९ अर्ब ७४ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कात्तिक मसान्तसम्म यसमध्ये २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको २४.२३ प्रतिशत हो।
वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड रुपैयाँ र ब्याज तिर्न ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। राससका अनुसार, वार्षिक बजेटका आधारमा वैदेशिक ऋणको साँवा भुक्तानीमा २४.०७ प्रतिशत र ब्याज भुक्तानीमा २४.९० प्रतिशत खर्च भइसकेको छ।