२०८३ असोज २३ गते शुक्रबार

Business Intelligence Platform

मेटाले अमेरिका, जापानसहित विभिन्न देशमा टिकटकको विज्ञापनमा प्रतिबन्ध लगायो

फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाको निर्णय तत्काल लागूस टिकटकसँग जोडिएका तेस्रो पक्षका विज्ञापनमा समेत रोक

२३ असोज २०८३
मेटाले अमेरिका, जापानसहित विभिन्न देशमा टिकटकको विज्ञापनमा प्रतिबन्ध लगायो
दृश्य टिभी

काठमाडौं। फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले चिनियाँ कम्पनी बाइटडान्सअन्तर्गतको टिकटकको विज्ञापन आफ्ना प्लेटफर्ममा प्रकाशन गर्न प्रतिबन्ध लगाएको छ। कम्पनीका प्रवक्ताले बिहीबार यसबारे जानकारी दिएका हुन्।

यो निर्णय अमेरिका, क्यानडा, इजिप्ट, इन्डोनेसिया, जापान, थाइल्यान्ड र भियतनाममा तत्काल लागू भएको मेटाले जनाएको छ। ती देशमा टिकटक तथा बाइटडान्सका अन्य सेवासँग जोडिने विज्ञापन सञ्चालन गर्ने तेस्रो पक्षका विज्ञापनदातालाई समेत प्रतिबन्ध लागू हुनेछ।

यो कदम मेटा र बाइटडान्सबीच लामो समयदेखि जारी प्रतिस्पर्धा थप चर्किएको संकेतका रूपमा हेरिएको छ। बाइटडान्सको भिडियो सेयरिङ एप टिकटक प्रयोगकर्ताको सहभागिता, सामग्री निर्माता र विज्ञापनबाट हुने आम्दानीका क्षेत्रमा मेटाको प्रमुख प्रतिस्पर्धी बनेको छ।

मेटाले आफ्नो निर्णयको बचाउ गर्दै प्रतिस्पर्धी कम्पनीलाई आफ्ना प्रयोगकर्तालाई अर्को प्लेटफर्ममा लैजान सहयोग गर्ने उद्देश्यका विज्ञापन सेवा उपलब्ध गराउन आवश्यक नभएको जनाएको छ।

“हाम्रा एपबाट मानिसलाई बाहिर लैजाने उद्देश्य राख्ने प्रतिस्पर्धीको विज्ञापन हामीले चलाउनुपर्दैन,” मेटाले भनेको छ। प्रतिस्पर्धीलाई प्रवर्द्धनात्मक सेवा नदिनु विभिन्न उद्योगमा सामान्य व्यावसायिक अभ्यास भएको पनि कम्पनीको भनाइ छ।

मेटाले आफूहरू उत्पादनको गुणस्तर र प्रयोगकर्ताको अनुभवका आधारमा प्रतिस्पर्धा जारी राख्ने जनाएको छ।

बालबालिकाको सुरक्षालाई लिएर पनि प्रतिस्पर्धा

मेटा र टिकटकबीचको विवाद विज्ञापनमा मात्र सीमित छैन। सामाजिक सञ्जालको प्रयोगले बालबालिकामा पार्ने प्रभाव र उनीहरूको सुरक्षालाई लिएर पनि यी कम्पनीमाथि दबाब बढ्दै गएको छ।

मेटाले अगस्टमा अमेरिकी राज्यहरूसँग बालबालिकामा सामाजिक सञ्जालको हानिकारक प्रभावसम्बन्धी मुद्दा समाधान गर्ने क्रममा १८ अर्ब अमेरिकी डलरसम्मको सम्झौता गरेको थियो। त्यसपछि मेटाले टिकटक र युट्युबलाई पनि किशोरकिशोरीको सुरक्षा बढाउन आफूले स्वीकार गरेका उपाय अपनाउन आग्रह गर्दै आएको छ।

मेटाले फेसबुक र इन्स्टाग्राम प्रयोग गर्ने बालबालिकाका लागि दैनिक प्रयोगको समयसीमा लागू गर्ने, रातिको समयमा प्रयोग सीमित गर्ने र उमेरअनुसार प्रतिबन्धित सामग्रीमा बालबालिकाको पहुँच रोक्ने उपायलाई बलियो बनाउने सहमति गरेको थियो।

टिकटकले मेटाको अभियानबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन। तर सेप्टेम्बरमा अमेरिकाको अलाबामा राज्यसँग सम्झौता गर्दै त्यहाँका प्रयोगकर्ताका लागि प्रयोग समयसम्बन्धी नयाँ सीमा लागू गर्ने र उमेर प्रमाणीकरणका उपाय सुदृढ गर्ने सहमति गरेको थियो। बालबालिकाको सुरक्षामा जोखिम उत्पन्न गरेको र आफ्नो सुरक्षा व्यवस्थाबारे उपभोक्तालाई भ्रममा पारेको आरोपसँग सम्बन्धित विवाद समाधान गर्न उक्त सम्झौता गरिएको थियो।

अमेरिकामा टिकटकको स्वामित्व संरचनामा परिवर्तन

अमेरिकामा दुई करोड होइन, २० करोडभन्दा बढी प्रयोगकर्ता रहेको टिकटकको सञ्चालन अमेरिकी प्रयोगकर्ताको तथ्याङ्क सुरक्षित राख्ने र एपमाथि प्रतिबन्ध लाग्न नदिने उद्देश्यले गरिएको सम्झौतापछि अमेरिकी पक्षको बहुमत स्वामित्व रहेको संयुक्त उद्यममार्फत हुँदै आएको छ।

टिकटकको वेबसाइटमा अन्य सामाजिक सञ्जालका एप खोल्ने वा ती एपमा प्रयोगकर्तालाई लगइन गराउने लिंकलाई समर्थन नगर्ने उल्लेख छ। यद्यपि, प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा अन्य प्लेटफर्मका वेबसाइटमा लैजाने लिंक राख्न सक्छन्।

मेटाको विज्ञापन प्रतिबन्धबारे ८ब्लुमबर्ग न्युज८ले बिहीबार पहिलोपटक समाचार सार्वजनिक गरेको थियो। टिकटक र बाइटडान्सले भने यस विषयमा रोयटर्सले मागेको प्रतिक्रियाको तत्काल जवाफ दिएका थिएनन्।  सिएनए

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *