भारतमा स्टारलिंकको इन्टरनेट सस्तो बनाउने मस्कको घोषणा, अम्बानीको जियासँग प्रतिस्पर्धा चर्किंदै
बेङ्गलुरु। अमेरिकी अर्बपति एलन मस्कले भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताएका छन्। भारतका मुकेश अम्बानीको कम मूल्यको इन्टरनेट सेवा प्रदायक रिलायन्स जियासँग प्रतिस्पर्धा गर्न मस्कले यस्तो बताएका हुन्। जियाको मातृ कम्पनीले अहिलेसम्मकै ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० ल्याउने तयारी गरिरहेका बेला दुई अर्बपतिबीचको प्रतिस्पर्धा थप चर्किएको छ।
दूरसञ्चार सेवा सञ्चालन गर्ने जियो प्लेटफर्म्सले आईपीओमार्फत आफ्नो कम्पनीको मूल्याङ्कन १०६ अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ।
स्पेसएक्सको स्वामित्वमा रहेको स्टारलिंकजस्तै जियोको आफ्नै स्याटेलाइट इन्टरनेट परियोजनाले पनि सेवा सुरु गर्न अन्तिम सुरक्षा स्वीकृति पर्खिरहेको छ।
भारतमा सस्तो इन्टरनेट डेटा उपलब्ध गराउनु नै जियाको सफलताको मुख्य आधार बनेको थियो। मस्कले पनि केन्याजस्ता बजारमा स्थानीय दूरसञ्चार कम्पनीलाई चुनौती दिन यही रणनीति अपनाएका छन्। अब स्पेसएक्सले अमेरिकाबाट सुरु गर्दै मोबाइल सेवा प्रदायकको बजारमा समेत प्रवेश गर्ने योजना बनाएको छ।
विश्वकै सबैभन्दा सस्तो मोबाइल डेटा उपलब्ध हुने देशमध्ये भारत पनि पर्छ। त्यहाँ प्रतिगिगाबाइट मोबाइल डेटा करिब आठ अमेरिकी सेन्टमा उपलब्ध छ। तर मस्कले भारतमा स्टारलिंकको सेवा कति मूल्यमा उपलब्ध गराउने भन्नेबारे भने खुलाएका छैनन्।
‘भारतमा महँगो भए स्टारलिंक कसैले किन्दैन’
शनिबार आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै मस्कले भारतमा स्टारलिंकको सेवा महँगो भए कसैले नकिन्ने बताएका छन्।
उनले भनेका छन्, “स्पष्ट छ, भारतमा स्टारलिंकको सेवा अत्यधिक महँगो भयो भने कसैले किन्ने छैन। त्यसैले स्पेसएक्सले यसको मूल्य सर्वसाधारणले धान्न सक्ने बनाउनुपर्छ।”
मस्कले प्रतिस्पर्धाले भारतीय सर्वसाधारणलाई थप विकल्प उपलब्ध गराउने र त्यसबाट उनीहरू लाभान्वित हुने पनि बताएका छन्।
“प्रतिस्पर्धाले सधैँझैँ भारतका औसत नागरिकलाई धेरै विकल्प दिएर ठूलो फाइदा पुर्याउनेछ। अम्बानीको नाफा घट्न सक्छ, तर उनको व्यवसाय बन्द हुने छैन,” उनले लेखेका छन्।
‘प्रधानमन्त्री अम्बानी’ भन्दै मस्कको व्यङ्ग्य
भारतको विशाल इन्टरनेट बजारमा स्टारलिंकको प्रवेश रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार र अम्बानीले अवरोध सिर्जना गरिरहेको आरोप मस्कले यसअघि पनि एक्समार्फत लगाउँदै आएका छन्। बजारको अग्रणी कम्पनी जियालाई फाइदा पुर्याउन यस्तो गरिएको उनको आरोप छ।
मोदीसँग लामो समयदेखि सार्वजनिक रूपमा सौहार्दपूर्ण सम्बन्ध राख्दै आएका मस्कको पछिल्लो अभिव्यक्तिले भने उनीहरूबीचको सम्बन्धमा नयाँ मोड आएको संकेत गरेको छ।
भारत सरकारले भने स्टारलिंकलाई प्रवेश दिन कुनै पक्षपात नगरिएको स्पष्ट पारेको छ। भारतमा सेवा सुरु गर्न चाहने तीनवटा स्याटेलाइट इन्टरनेट परियोजनाले अन्तिम सुरक्षा स्वीकृति पर्खिरहेको सरकारको भनाइ छ। तीमध्ये स्टारलिंक र जियोका परियोजना पनि छन्।
शुक्रबार राति मस्कले अम्बानीलाई सीधै सम्बोधन गर्दै व्यङ्ग्यात्मक शैलीमा ‘प्रधानमन्त्री अम्बानी’ भनेका थिए। उनले अम्बानीलाई स्टारलिंकलाई प्रतिस्पर्धा गर्न अनुमति दिने विषयमा विचार गर्न पनि आग्रह गरेका थिए। (सिएनए)