२०८३ असोज २७ गते मङ्गलबार

Business Intelligence Platform

बजार अनुगमन बढाइँदै, अस्वाभाविक मूल्यवृद्धिमा कारबाही गरिने

२७ असोज २०८३
बजार अनुगमन बढाइँदै, अस्वाभाविक मूल्यवृद्धिमा कारबाही गरिने
दृश्य टिभी

काठमाडौं । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले बजार अनुगमन तीव्र बनाएको छ । चाडपर्वका बेला हुन सक्ने कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र उपभोक्ता ठगी रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएको हो ।

विभागले बजारमा वस्तुको मूल्य, गुणस्तर, मौज्दात र आपूर्तिको अवस्थाबारे निगरानी गर्न नियमित टोलीसँगै थप कर्मचारी परिचालन गरेको छ । काठमाडौं उपत्यकामा नियमित अनुगमन टोलीबाहेक मन्त्रालय र मातहतका निकायबाट ५० जना थप कर्मचारी खटाइएको विभागका महानिर्देशक रितेशकुमार शाक्यले बताए ।

उनका अनुसार चाडपर्वमा बढी माग हुने वस्तुको आपूर्ति, व्यवस्थापन र गुणस्तरमा विशेष ध्यान दिइएको छ । बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन पनि अनुगमन केन्द्रित गरिएको उनले बताए । बजार अनुगमनमा वाणिज्य विभागसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रदेशका सम्बन्धित निकाय परिचालित छन् । उपभोक्ता संरक्षण ऐनअन्तर्गत सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ ।

हाल काठमाडौं उपत्यकामा दैनिक करिब १० वटा अनुगमन टोली परिचालन हुने गरेका छन्। केही टोली उपभोक्ताको उजुरीका आधारमा तत्काल खटिने गरेका छन् भने अन्य टोलीले क्षेत्र निर्धारण गरेर नियमित अनुगमन गरिरहेका छन् ।

ग्यास आपूर्तिमा सहजता ल्याउने प्रयास

हालैको विपद्का कारण मुख्य राजमार्ग र उत्तरी नाकामा अवरोध हुँदा आपूर्ति शृङ्खलामा असर परेको विभागले जनाएको छ। त्यसको प्रभाव ग्यासलगायत उपभोग्य वस्तुको आपूर्तिमा देखिएको छ । ग्यास आपूर्ति सहज बनाउन उपभोक्ताले एउटै कम्पनीको ग्यासमा निर्भर नभई ब्रान्ड परिवर्तन गर्न मिल्ने व्यवस्था गरिएको महानिर्देशक शाक्यले बताए । दीर्घकालीन समाधानका लागि सरकारी निकायबाटै ग्यास बिक्री वितरण गर्ने सम्भावना, सिलिन्डरको आकार र ब्रान्ड व्यवस्थापनबारे नीतिगत छलफल भइरहेको उनले जानकारी दिए ।

चाडपर्वमा चिनीको माग बढ्ने भएकाले उत्पादक तथा आपूर्तिकर्तासँग मौज्दातको विवरण लिने काम पनि भइरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त चिनी मौज्दात रहेको विभागले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब १९० वटा बिक्री केन्द्रमार्फत सहुलियत मूल्यका पसलसमेत सञ्चालन गरिरहेको छ ।

मासुको मूल्यमा पनि निगरानी

मासुजन्य वस्तुको मूल्य बढेको गुनासो आएपछि पशु सेवा विभागसँग समन्वय गरी अनुगमन भइरहेको छ । यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा खसीबोका र च्याङ्ग्रा नल्याएकाले बजार मूल्यको आधार तय गर्न केही कठिनाइ भएको शाक्यले बताए ।

यद्यपि, जिउँदो खसीबोकाको बिक्री मूल्यका आधारमा मासुको सम्भावित मूल्य निर्धारण गरी बजार अनुगमन भइरहेको उनले जानकारी दिए । सबै वस्तुको मूल्य नियन्त्रण गर्न स्पष्ट आधार मूल्य नरहेको पनि शाक्यले बताए । कालोबजार ऐनमा रहेको २० प्रतिशत नाफा मार्जिनसम्बन्धी पुरानो व्यवस्था हटेकाले अहिले विभिन्न फर्मको तुलनात्मक अध्ययनका आधारमा अस्वाभाविक मूल्यवृद्धि भए कारबाही गरिने उनले स्पष्ट पारे ।

उपभोक्ता संरक्षण ऐनअन्तर्गत कसुरको गम्भीरता हेरी तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको विभागले जनाएको छ । बजार अनुगमनको उद्देश्य निजी क्षेत्रलाई नियन्त्रण गर्नु नभई उपभोक्ताको हित संरक्षण गर्नु रहेको शाक्यले बताए । उनले चाडपर्वका बेला व्यवसायीलाई नैतिक आचरण कायम राख्न र उपभोक्तालाई ठगी नगर्न आग्रह गरे । सामान खरिद गर्दा गुणस्तरमा ध्यान दिन र अनिवार्य रूपमा बिलबिजक लिन पनि विभागले उपभोक्तालाई अनुरोध गरेको छ ।

बजारमा ठगी, कृत्रिम अभाव वा अन्य अनियमितता देखिएमा विभागको हटलाइन वा ‘हेलो सरकार’ मार्फत उजुरी गर्न सकिनेछ। उजुरी प्राप्त भएमा तत्काल अनुगमन टोली परिचालन गरिने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *