६ खर्ब ८८ अर्ब रुपैयाँको स्वच्छ ऊर्जा विस्तार गर्न भारत तयार
आयोजनाको पहिलो चरणमा छत्तीसगढ, ओडिशा र पश्चिम बंगाललाई आपसमा जोडिनेछ। यसका साथै राजस्थानको भाडला सौर्य ऊर्जा उत्पादन क्षेत्रबाट नवीकरणीय बिजुली ल्याउने ६ हजार मेगावाट क्षमताको उच्च भोल्टेज प्रसारण प्रणालीसँग पनि यो सञ्जाल जोडिनेछ।
काठमाडौं। भारत सरकारले स्वच्छ ऊर्जाबाट उत्पादन हुने बिजुली देशका एक भागबाट अर्को भागमा पुर्याउन उच्च क्षमताको विद्युत् प्रसारण सञ्जाल निर्माण गर्ने योजना स्वीकृत गरेको छ।
पश्चिम भारतका ऊर्जा उत्पादन केन्द्रबाट पूर्वी क्षेत्रका औद्योगिक तथा सहरी क्षेत्रमा बढ्दो विद्युत् माग पूरा गर्ने उद्देश्यले यो आयोजना अघि बढाउन लागिएको हो।
यस आयोजनाको अनुमानित लागत ६ खर्ब ८८ अर्ब भारतीय रुपैयाँ (करिब ७ अर्ब ३४ करोड अमेरिकी डलर) रहेको छ। आयोजना निर्माण सम्पन्न गर्न करिब ६ वर्ष लाग्ने अनुमान गरिएको छ।
प्रस्तावित प्रसारण सञ्जाल १ हजार १५० किलोभोल्ट (केभी) क्षमताको हुनेछ। यो निर्माण भएपछि भारतकै सबैभन्दा उच्च भोल्टेज क्षमताको विद्युत् प्रसारण प्रणाली बन्नेछ। हाल भारतमा सञ्चालनमा रहेका ७६५ केभीका प्रसारण लाइनभन्दा यसले निकै ठूलो परिमाणमा विद्युत् ओसारपसार गर्न सक्नेछ।
भारतको राष्ट्रिय प्रसारण समितिले मंगलबार सार्वजनिक गरेको बैठकको निर्णयअनुसार उक्त परियोजनालाई स्वीकृति दिइएको हो।
भारतले सन् २०३० सम्म गैरजीवाश्म ऊर्जाबाट ५०० गिगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। अहिले यस्तो ऊर्जा उत्पादन क्षमता ३०० गिगावाटभन्दा बढी पुगिसकेको छ। सौर्य, वायु तथा अन्य नवीकरणीय ऊर्जाको उत्पादनसँगै ब्याट्रीमा विद्युत् भण्डारण गर्ने प्रविधिमा पनि भारतले लगानी बढाइरहेको छ।
कम प्रसारण लाइनबाट बढी विद्युत् ओसार्न सकिने
अहिले प्रयोगमा रहेका ७६५ केभीका प्रसारण लाइनबाट ठूलो परिमाणमा बिजुली ओसार्न थप प्रसारण लाइन र धेरै जग्गा आवश्यक पर्छ। तर १ हजार १५० केभी क्षमताको नयाँ प्रणालीबाट तुलनात्मक रूपमा कम लाइन र कम जग्गा प्रयोग गरेर धेरै विद्युत् ओसार्न सकिनेछ।
यसबाट विद्युत् प्रसारणका क्रममा हुने ऊर्जा क्षति पनि कम हुने अपेक्षा गरिएको छ।
पश्चिम भारतको राजस्थानलगायतका राज्यमा नवीकरणीय ऊर्जाको उत्पादन तीव्र रूपमा बढिरहेको छ। अर्कोतर्फ पूर्वी भारतका ओडिशालगायत औद्योगिक क्षेत्रमा विद्युत्को माग पनि बढ्दै गएको छ। यही अवस्थालाई ध्यानमा राखेर नयाँ प्रसारण सञ्जालको योजना बनाइएको हो।
पहिलो चरणमा तीन राज्य जोडिने
आयोजनाको पहिलो चरणमा छत्तीसगढ, ओडिशा र पश्चिम बंगाललाई आपसमा जोडिनेछ। यसका साथै राजस्थानको भाडला सौर्य ऊर्जा उत्पादन क्षेत्रबाट नवीकरणीय बिजुली ल्याउने ६ हजार मेगावाट क्षमताको उच्च भोल्टेज प्रसारण प्रणालीसँग पनि यो सञ्जाल जोडिनेछ।
यस परियोजनाले भारतमा नवीकरणीय ऊर्जाको उत्पादन मात्र होइन, उत्पादित विद्युत्लाई देशका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउने क्षमतासमेत विस्तार गर्ने अपेक्षा गरिएको छ। सिएनआई समाचार