नेपालमा निर्धक्क लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह
नयाँ दिल्ली। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँगै दुईदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आह्वान गरेका छन्।
नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया-नेपाल बिजनेस राउन्डटेबल’मा आइतबार सम्बोधन गर्दै उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा नयाँ लगानी गर्न तथा नेपालमा रहेको लगानी विस्तार गर्न आग्रह गरेका हुन्।
“सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्दछु,” उनले भने, “नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस्। नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।”
वाग्लेले नेपालमा लगानी बढाउन सरकारले कानुनी सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको बताए। लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ता लैजान कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको उनको भनाइ थियो।
कार्यक्रममा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र भारतीय उद्योग परिसंघको अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए।
कार्यक्रममा प्रधानमन्त्री शाहको भ्रमण टोलीसँगै भारत पुगेका नेपाली उद्योगी व्यवसायी तथा डेढ दर्जन भारतीय उद्योगी व्यवसायी र प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो।