कहिले खुल्छ तातोपानी नाका ?
काठमाडौं । चीनसँगको व्यापारिक आवागमन प्रभावित भइरहेका बेला नेपालले तातोपानी नाका तत्काल खुलाउन कूटनीतिक पहल गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चिनियाँ अधिकारीसँग तातोपानी नाका खोल्न आग्रह गरेका हुन्।
चाइना पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग बुधबार परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खनालले काठमाडौंबाट सबैभन्दा नजिक पर्ने तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताएका थिए।
रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदमा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकासमेत पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले तातोपानी नाका खोल्न आग्रह गरेका हुन्।
‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ मन्त्री खनालले भने, ‘दुई मुलुकबीचको सम्पर्क सञ्जाल विस्तारका लागि यो नाका तत्काल खुलाउन जरुरी छ।’
जवाफमा अध्यक्ष याङले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक काम अघि बढाउने बताए। यद्यपि, नाका कहिलेदेखि सञ्चालनमा आउने भन्नेबारे भेटमा कुनै निश्चित समयसीमा सार्वजनिक भएको छैन।
बारम्बार बन्द हुँदा व्यापार प्रभावित
सिन्धुपाल्चोकस्थित तातोपानी नाका नेपाल र चीनबीचको पुरानो व्यापारिक मार्ग हो। अरनिको राजमार्ग हुँदै काठमाडौंलाई चीनको तिब्बतसँग जोड्ने यो नाका राजधानीबाट चीनसँगको सबैभन्दा नजिकको स्थलमार्ग हो।
२०७२ सालको भूकम्पपछि लामो समय बन्द रहेको नाका २०७६ सालमा सीमित रूपमा पुनः सञ्चालनमा आएको थियो। कोरोना महामारीका क्रममा २०७७ सालमा फेरि बन्द भएको नाकामा त्यसपछि पनि आयात-निर्यात नियमित हुन सकेको थिएन। पछिल्ला वर्षमा सडक अवरोध, पहिरो र सीमा क्षेत्रका पूर्वाधारसम्बन्धी समस्याले यसको सञ्चालन प्रभावित हुँदै आएको छ।
यस वर्ष पनि सडकमा पहिरोको जोखिम देखाउँदै चिनियाँ पक्षले अगस्ट ३१ देखि नाका बन्द गरेको थियो। दसैँका लागि असोज १८ गते तीन दिनका लागि नाका खोलिए पनि त्यसपछि नियमित सञ्चालन हुन सकेको छैन। यसबीच रसुवागढी नाका पनि बाढीले क्षति पुर्याएपछि बन्द छ।
दुई प्रमुख नाका प्रभावित हुँदा चीनबाट हुने सामानको ढुवानी र आपूर्तिमा कठिनाइ थपिएको छ। यस्तो अवस्थामा तातोपानी नाका सञ्चालनमा आए व्यापारिक आवागमन सहज हुनुका साथै आयातकर्तालाई वैकल्पिक मार्ग उपलब्ध हुनेछ।
मन्त्री खनाल र अध्यक्ष याङबीचको भेटमा द्विपक्षीय व्यापार, पूर्वाधार विकास, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध र शिक्षालगायत विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।