२०८३ मंसिर ९ गते बुधबार

Business Intelligence Platform

लाङ्टाङ: हिमाल हाँस्छ, गाउँ रुन्छ

९ मंसिर २०८३
लाङ्टाङ:  हिमाल हाँस्छ, गाउँ रुन्छ
दृश्य टिभी

लाङ्टाङ (रसुवा)। वरिपरि सेताम्मे हिमाल, अग्ला चट्टानी पहाड र बीचमा सुन्दर उपत्यका। हिमालको काखमा बसेको लाङ्टाङ भ्याली जति सुन्दर छ, यहाँका मानिसको जीवनकथा पनि त्यत्तिकै भावुक छ।

हिमालझैँ मुस्कुराउने र चट्टानझैँ दुःखसँग जुध्ने यहाँका बासिन्दाको जीवन भने सहज छैन। लाङ्टाङकी ५० वर्षीया फुर्पु शेर्पा भन्छिन्, “हामी खुसी हुँदा हिमालझैँ हाँस्छौँ, दुःख पर्दा चट्टानझैँ जुध्छौँ।”

२०७२ सालको भूकम्पमा श्रीमान्, जेठो छोरा र छोरी गुमाएकी फुर्पु अहिले एक्लै जीवन चलाइरहेकी छिन्। उनका दुई छोरीमध्ये एक क्यानडामा र अर्की काठमाडौँमा पढ्छिन्। गाउँ आउने निम्तो गर्दा छोरीले ‘हेलिकप्टर पठाइदिनु, हिँडेर त आउँदिन’ भन्ने गरेको सुनाउँदै उनी मुस्कुराउँछिन्। त्यो मुस्कानभित्र भने सन्तान भेट्ने प्रतीक्षा र एक्लोपनको पीडा लुकेको छ।

यहाँका प्रत्येक परिवारका आफ्नै कथा छन्। ७२ वर्षीय तेन्जेन लामा र उनकी पत्नी याङ्जेन जाङ्डुम्पाका सन्तान पनि विदेशमा छन्। तर, उनीहरूको मन भने आफ्नै गाउँ र हिमालसँग जोडिएको छ।

लाङ्टाङ नेपालको चर्चित पदयात्रा गन्तव्य हो। हिमाली दृश्य, तामाङ तथा शेर्पा संस्कृति र मौलिक जीवनशैलीले स्वदेशी–विदेशी पर्यटकलाई आकर्षित गर्छ। तर, पर्यटकलाई लोभ्याउने यही ठाउँमा स्थानीयले दैनिक उपभोग्य वस्तु महँगो मूल्यमा किन्नुपर्छ। बजारमा रु दुई हजार ५०० पर्ने चामल ढुवानी खर्च जोडिँदा गाउँमा पाँच हजार रुपैयाँसम्म पर्ने स्थानीय बताउँछन्।

बिरामी पर्दा हेलिकप्टरको भर

लाङ्टाङमा स्वास्थ्य सेवा अर्को ठूलो चुनौती हो। बिरामी परे अस्पताल पुग्न हेलिकप्टरको भर पर्नुपर्ने अवस्था छ। फुर्पु शेर्पाका अनुसार हेलिकप्टरको व्यवस्था गर्न बैंक खातामा तीनदेखि पाँच लाख रुपैयाँसम्म हुनुपर्छ। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो खर्च जुटाउनु निकै कठिन हुन्छ।

२०७२ को भूकम्पपछि बिस्तारै उठ्दै गरेको लाङ्टाङमा भोटेकोशीको बाढीले स्याफ्रुबेँसी क्षेत्रमा क्षति पुर्‍याएपछि पर्यटन व्यवसाय पनि प्रभावित भएको छ। पुरानो पदमार्ग बिग्रिएपछि पर्यटकले ठूलो स्याफ्रु हुँदै यात्रा गर्नुपर्ने अवस्था छ। यसले होटल, रेस्टुरेन्ट र स्थानीय व्यवसायको आम्दानी घटाएको व्यवसायी बताउँछन्।

पर्यटकीय सम्भावना ठूलो, व्यवस्थापन कमजोर

लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले स्थानीयले विभिन्न शुल्क र नियमको भार व्यहोर्नुपरेको गुनासो गर्छन्। विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार र नेपालीबाट एक सय रुपैयाँ प्रवेश शुल्क लिइन्छ। तर, पदमार्ग, फोहर व्यवस्थापन र स्थानीय पूर्वाधारमा अपेक्षित सुधार नभएको उनीहरूको भनाइ छ।

पदयात्राका क्रममा कतिपय ठाउँमा पहिरोले बाटो जोखिमपूर्ण बनाएको छ। फोहर सङ्कलन गर्ने व्यवस्था पनि कमजोर छ। स्थानीयले आफ्नै प्रयासमा पदमार्ग मर्मत गरेर पर्यटकलाई गाउँसम्म ल्याउने गरेका छन्।

गोसाइँकुण्ड गाउँपालिका–४ का जनप्रतिनिधि लाक्पा तेन्जिङ तामाङ लाङ्टाङमा पर्यटकीय सम्भावना प्रशस्त भए पनि तीनै तहका सरकारले पर्याप्त प्राथमिकता नदिएको बताउँछन्।

काठमाडौँबाट करिब छदेखि सात घण्टाको बस यात्रापछि ठूलो स्याफ्रु पुगेर लाङ्टाङ पदयात्रा सुरु गर्न सकिन्छ। क्यान्जिन गुम्बा यहाँको प्रमुख आकर्षण हो। त्यहाँबाट करिब चार हजार ९८४ मिटर उचाइको त्सेर्को री पुगेर हिमशृङ्खलाको मनमोहक दृश्य हेर्न सकिन्छ।

प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिएको लाङ्टाङलाई अझ आकर्षक बनाउन सुरक्षित पदमार्ग, स्वास्थ्य सेवा, सहज ढुवानी र प्रभावकारी फोहर व्यवस्थापनमा लगानी आवश्यक छ। हिमालको सुन्दरता हेर्न आउने पर्यटकसँगै यहाँका बासिन्दाको जीवन पनि सहज बनाउनु उत्तिकै जरुरी छ।

 

One thought on “लाङ्टाङ: हिमाल हाँस्छ, गाउँ रुन्छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *