२०८३ मंसिर १२ गते शनिबार

Business Intelligence Platform

ढोरपाटनमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

१२ मंसिर २०८३
ढोरपाटनमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
दृश्य टिभी

बागलुङ । ढोरपाटनमा अब बिजुलीको चिन्ता केही कम हुने भएको छ। तीन हजार मिटर उचाइमा रहेको यो पर्यटकीय उपत्यका राष्ट्रिय प्रसारणको बिजुलीमा जोडिएसँगै स्थानीयको दैनिकी सहज हुने भएको छ।

बुर्तिबाङदेखि ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी विद्युत् लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण शाखाका प्रमुख दिलिप मरासिनीले जानकारी दिए।

प्राधिकरणको १८ करोड रुपैयाँ लगानीमा निर्माण भएको यो लाइन करिब ३५ किलोमिटर लामो छ। लाइन विस्तारको काम पहिले नै सकिए पनि विभिन्न प्राविधिक समस्याका कारण बिजुली बल्न सकेको थिएन। आवश्यक मर्मत र प्राविधिक समस्या समाधान गरेपछि अहिले विद्युत् आपूर्ति सुरु भएको हो।

ढोरपाटनमा राष्ट्रिय प्रसारणको बिजुली पुगेपछि स्थानीयको दैनिकी सहज हुने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बताए। यसअघि लघुजलविद्युत् र सोलारमा निर्भर यहाँ मौसम बिग्रँदा बिजुली मात्रै होइन, सञ्चार सम्पर्कसमेत विच्छेद हुने गरेको थियो।

बुर्तिबाङ सबस्टेसनको ११ केभी बुर्तिबाङ फिडरबाट सञ्चालन भएको लाइनले बोबाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज गरेको छ। अब यी क्षेत्रका बासिन्दाले राष्ट्रिय प्रसारणको बिजुली उपभोग गर्न पाउनेछन्।

विद्युत् जडान गर्न चाहने उपभोक्ताले बुर्तिबाङस्थित नो लाइट शाखामार्फत जुनसुकै बेला आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।

ढोरपाटनमा बिजुली पुगेपछि अब निसेलढोरसम्म विद्युत् विस्तार गर्ने बाटो पनि खुलेको छ। साथै, आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

बिजुलीको पहुँचले स्थानीयको घरायसी कामदेखि पर्यटन, उद्योग र आर्थिक गतिविधिमा समेत सहजता थप्नेछ। ढोरपाटनमा पर्यटकको चहलपहल बढ्दै जाँदा विद्युत्को माग पनि बढिरहेको छ। गत आर्थिक वर्षमा मात्रै यहाँ ३७ हजार पर्यटक पुगेका थिए।

राष्ट्रिय प्रसारणको बिजुली पुगेपछि ढोरपाटनको पर्यटन र स्थानीय अर्थतन्त्रले थप गति लिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *