२०८३ मंसिर १२ गते शनिबार

Business Intelligence Platform

तलाउमा सिंगाडा, प्रेमको घरमा चार लाखको कमाइ

पानीमुनि फल्ने सिंगाडाले बाँकेका प्रेम कश्यपलाई दिलायो किसानको पहिचान

१२ मंसिर २०८३
तलाउमा सिंगाडा, प्रेमको घरमा चार लाखको कमाइ
दृश्य टिभी

राँझा (बाँके)। बिहानको घाम तलाउको पानीमा झुल्किँदै गर्दा प्रेम कश्यपको दिन सुरु हुन्छ। हातमा टोकरी लिएर उनी तलाउमा पस्छन्। पानीभित्र डुबुल्की मार्दै, बोटका हाँगा छाम्दै पाकेका सिंगाडा टिप्छन्। केहीबेरमा टोकरी भरिन्छ। अनि सुरु हुन्छ सिंगाडा सफा गर्ने, छाँट्ने र व्यापारीलाई बेच्ने अर्को काम। बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका प्रेमलाई अहिले सिंगाडा टिप्न र बेच्न भ्याइनभ्याइ छ।

गाउँको तलाउमा सिंगाडा पाकेसँगै उनको दिनचर्या बदलिएको छ। वर्षौंदेखि गर्दै आएको पुख्र्यौली खेतीलाई व्यावसायिक रूप दिएपछि प्रेमले एकै सिजनमा करिब चार लाख रुपैयाँ आम्दानी गर्न थालेका छन्।

सिंगाडा सामान्य फलफूलजस्तो रूख वा बोटमा झुन्डिएर फल्दैन। यसको बोट पानीमा फैलिन्छ। पानीको सतहमा पातहरू तैरिएका हुन्छन् भने फल पानीभित्र लाग्छ। सिंगाडाको फलको बाहिरी खोल कडा हुन्छ र यसको आकारमा सिङजस्ता चुच्चा भाग देखिन्छन्। यही अनौठो बनोटका कारण यसलाई सिंगाडा भनिएको हो।

पानीभित्र लुकेर बसेका फल टिप्न किसानले बोट र फल छाम्दै खोज्नुपर्छ। तलाउको पानीमा घण्टौँ बिताएर सिंगाडा टिप्नु सजिलो काम होइन। तर प्रेमका लागि यही मेहनत अहिले आम्दानीको राम्रो आधार बनेको छ।

कश्यपले गाउँपालिकासँग वार्षिक २० हजार रुपैयाँ भाडा तिर्ने गरी १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ लिएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो आम्दानी हुने भएकाले सिंगाडाखेती रोजेको उनी हाँ बताउँछन्।

“अहिले सिंगाडाको सिजन हो । सिजनभर ६० क्विन्टलभन्दा बढी बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल छ हजार रुपैयाँका दरले गाउँबाटै बिक्री भइरहेको छ। व्यापारीहरू आफैँ खोज्दै गाउँमा आउँछन्, बजारको खासै चिन्ता छैन।”

सिंगाडाखेती प्रेमका लागि नयाँ व्यवसाय होइन, बाउबाजेबाट सिकेको सीप र पुख्र्यौली विरासत हो। यही खेतीले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएपछि कश्यप परिवार बिहानदेखि साँझसम्म तलाउमै व्यस्त हुन्छ। तलाउबाट टिपेका सिंगाडा किनारमा ल्याएर सफा गर्ने, छाँट्ने र तौलने काम हुन्छ। त्यसपछि व्यापारीलाई बुझाइन्छ। माग बढी भएका बेला चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाउनुपर्ने हुन्छ।

असारमा बीउ, कात्तिक–मङ्सिरमा कमाइ

सिंगाडाखेतीको चक्र असारबाट सुरु हुन्छ। असारमा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिरमा सिंगाडा टिप्न तयार हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न सकिने कश्यपको अनुभव छ।

“असारतिर पानीमा बीउ हाल्छौँ। कात्तिक–मङ्सिरमा उत्पादन हुन्छ,” उनले भने, “अन्य बालीजस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन।”
उत्पादन राम्रो बनाउन आवश्यकताअनुसार दुई–तीन पटक किराबाट जोगाउने विषादी र भिटामिन प्रयोग गर्ने गरेको उहाँ बताउँछन्।

चाडपर्व र मेलामा सिंगाडाको माग

बाँकेका विभिन्न तलाउ र पोखरीमा सिंगाडाखेती गरिन्छ। वर्षभरि नपाइने भएकाले कात्तिक–मङ्सिरमा यसको माग बढ्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाका बेला सिंगाडाको बिक्री ह्वात्तै बढ्ने गर्छ।

व्रत बस्नेहरूले सिंगाडा उसिनेर खाने, पिसेर हलुवा बनाउने वा तरकारीका रूपमा प्रयोग गर्ने भएकाले यसको बजार राम्रो छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा बिक्री भएको कश्यप बताउँछन्।

नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्। गाउँमै व्यापारी आउने भएकाले प्रेमलाई उत्पादन बेच्न बजार खोज्दै हिँड्नुपर्ने अवस्था छैन।

भारतीय सिंगाडाले स्थानीय किसानलाई चुनौती

उत्पादन र बजार राम्रो भए पनि प्रेमको खेतीमा एउटा चुनौती छ—भारतबाट अवैध रूपमा भित्रिने सिंगाडा।

भन्सार छली गरेर चोरीको बाटो हुँदै आउने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तोमा बिक्री हुन थालेपछि स्थानीय किसानलाई पनि मूल्य घटाउनुपर्ने दबाब पर्ने गरेको कश्यपको गुनासो छ।

“सीमा नाकामा कडाइ गरेर अवैध आयात रोक्न सके हामीजस्ता किसानले अझ राम्रो आम्दानी गर्न सक्छौँ,” उनको भनाइ छ।

गाउँको तलाउमा परम्परादेखि हुँदै आएको खेतीलाई व्यावसायिक बनाएर प्रेमले परिवारको आर्थिक आधार बलियो बनाएका छन्। पानीभित्र फल्ने सिंगाडा टिप्न उनले दिनहुँ गर्ने मेहनतले चार लाख रुपैयाँको आम्दानी मात्र दिएको छैन, गाउँमै बसेर परम्परागत खेतीलाई व्यवसाय बनाउन सकिन्छ भन्ने उदाहरण पनि दिएको छ। (राससको समाचारको अनौपचारिक प्रस्तुति)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *